कञ्चन डेभलपमेन्ट बैंकबाटै जनरल इन्स्योरेन्सको पोलिसी किन्न सकिने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी कञ्चन डेभलपमेन्ट बैंकबाट किन्न सकिने भएको छ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच आइतबार ‘बैङ्कासुरेन्स’ सम्झौता भएको भएसँगै त्यस्तो सुविधा प्राप्त हुने भएको हो । आइतबारका दिन आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा महालक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धारा सेवा प्र्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने भएको छ । यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुक भरका शाखा /उपशाखा तथा एक्स्टन्शन काउण्टर र कार्यालय मार्फत महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी रकम प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

बुटवलमा माघ ११ गतेदेखि बैंकिङ्ग/बीमा एक्स्पो हुँदै, तयारी तीब्र

काठमाडौं । माघ ११ गते बुटवलमा हुने बैंकिङ्ग/बीमा तथा पूँजीबजार सम्बन्धी प्रदर्शनीको तयारी तिब्र भएको छ । उक्त प्रदर्शनीको आयोजना मिडिया इन्टरनेशलले गर्ने भएको छ । वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरंजीवि नेपाल, बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईं, विभिन्न बैंकरहरु, बीमकहरु तथा नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष लगायतका संस्थाबाट प्रतिनिधित्व हुने जनाइएको छ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने उक्त मिडिया इन्टरनेशनलका अध्यक्ष तथा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले उपत्यका बाहिर वित्तीय सचेतना तथा बैंक र सर्वसाधारणबीचको सम्बन्ध, बीमाको पहुँच बढाउँदै उद्यमशीलताको विकास गर्न एक्स्पोको आयोजना गरिएको बताए । प्रदर्शनीको तयारीका लागि बुटवलमा सचिवालय समेत स्थापना भइसकेको छ । बुटवलको कालिकानगर स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गढमा हुने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । दुई दिन सम्म आयोजना हुने एक्सपोको अवलोकन गर्न सकिने छ । एक्स्पोमा प्रदर्शनीबाहेक दुइदिनसम्म बैंकिङ, बीमा र पूँजीबजारबारे लगातार रुपमा सेमिनार आयोजना गरिने छ ।