नेशनल लाइफ इन्स्योरेन्सले १३ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी तीन अर्ब नाघ्ने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पुस ३० गते अपरान्ह सम्पन्न इन्स्योरेन्स संचालक समितिको बैठकले गरेको हो । समितिको प्रस्ताव अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको सो मात्राको सेयर सेयरधनीलाई वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । साथै, उक्त लाभांशमा लाग्ने आय करको लागि समेत व्यवस्था प्रदान गर्ने इन्स्योरेन्सले जनाएको छ । संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । साढे १३ प्रतिशत बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।
रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक, बार्षिक ५ प्रतिशतका दरले रकम फिर्ता पाइने
काठमाडौँ । रिलायन्स लाइफइन्स्योरेन्स लि.ले सार्वजनिक गरेको रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मुद्दती निक्षेप जस्तै भएको बताइएको छ । नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण र बीमा अवधिभर बीमाङ्कको बार्षिक ५ प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु रहेका छन् । यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कूल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम (बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिने कम्पनीले जनाएको छ । अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने विशेषता रहेको छ । बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिक रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना ल्याएको जनाएको छ ।
स्वास्थ्य बीमा प्रभावकारी केन्द्रबिन्दु बन्दै बागलुङ, करिब ३८ हजारबढी आवद्ध
काठमाडौं । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य बीमामा बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आवद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या रहेको छ ।सो बीमामा हालसम्म आठ हजार २०४ परिवार आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । सो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताएका छन् । अस्पतालमा स्वस्थ्य बीमा गराएका बिरामी दैनिक २०० को हाराहारीमा आउने गरेका भनाई रहेको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा रु ५० हजारसम्म उपचार खर्च निःशुल्क पाउने नीति छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमाका लागि जिल्लाका ७२ जना दर्ता सहयोगीले घरघरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । रासस