सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसहित अपरेशनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  प्रदेश  १ र २ मा कार्यरत कर्मचारीहरू सहभागी रहेको कार्यक्रम यही माघ ३ र ५ गते आयोजना गरिएको थियो ।   उक्त नियमित प्रशिक्षण  कम्पनीको प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख सञ्जीव सिंहले प्रदान गरेका थिए । प्रमुख सञ्चालन अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली  र निर्देशन बमोजिमको कार्य  प्रभावकारी रूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधनस्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरूको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो ।  कर्मचारीहरूको क्षमता र सीप अभिवृद्धि  गर्दै बिमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउन यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको आवश्यकता पहिचान गरी उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ ।   साथै उपस्थित विभागीय प्रमुखहरूले कम्पनीमा अभिकर्ता र ग्राहकहरूलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न अपनाउनु पर्ने प्रक्रिया र तरिकाहरुको  बारेमा केन्द्रित थियो ।  हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।

६ महिनामा एक खर्ब नजिक जीवन बीमाको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन-पुस) सम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज (बुधबार) सार्वजनिक गरेको तथ्यांकनुसार १४ जीवन बीमा कम्पनीहरुले पुससम्मममा १ करोड १४ लाख ५५ हजार २३५ बीमालेख जारी गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । जुन रकम अघिल्लो आवको तुलनामा १७ प्रतिशत बढी हो । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरूले कुल ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । ६ महिनाको अवधिमा सबैभन्दा धेरै व्यापार नेपाल लाइफले गरेको छ भने व्यापार वृद्धिको सिहाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि देखिएको छ । पुस मसान्तसम्ममा नेपाल लाइफले २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समिक्षा अवधिमा कम्पनीको व्यापार १३.६० प्रतिशतले बढेको छ । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनलन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको ६ महिनामा ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको यही अवधिको तुलनामा १८.३७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरुले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै तेस्रो धेरै व्यापार गर्ने कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले १० अर्ब २२ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले  ९ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको व्यापार ८.०९ प्रतिशतले बढेको छ । पुस महिनासम्ममा हिमालयन लाइफले ८ अर्ब ६२ करोड २० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड २७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ, एसियन लाइफले ४ अर्ब ६४ करोड २ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ४ करोड ११ लाख रुपैयाँ, सानिमा रियलायन्स लाइफले ३ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब १८ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा हिमालयन लाइफको ३.४९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १२८.२५ प्रतिशत, सूर्यज्योति लाइफले ११.८६ प्रतिशत, एसियन लाइफको १० प्रतिशत, सिटिजन लाइफको १९.४३ प्रतिशत, सानिमा रिलायन्सको १२.२८, मेट लाइफको १३.०२, आईएमई लाइफको ३०.७३, रिलायबल नेपालको २५.१३, प्रभु महालक्ष्मीको १५.२२ र सन नेपालको ५.५३ प्रतिशत व्यापार बढेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको व्यापार १३.३७ प्रतिशतले बढ्यो, कसको व्यापार कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्म २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ६ महिनासम्ममा १४ लाख १९ हजार ५४८ वटा बीमालेख जारी गरेर २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जुन अघिल्लो आवको यही अवधिको तुलनामा १३.३७ प्रतिशतले बढेको छ ।  अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख जारी गरेर २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ लाख ५७ हजार ३५२  बीमालेख जारी गरेर ४ अर्ब १८ करोड ६५ लाख रुपैयाँ आर्जन गरेका छन्। चालु आवको ६ महिनामा अघिल्लो आवको तुलनामा १३ बीमा कम्पनीको व्यापार बढेको छ भने एउटाको घटेको छ । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले व्यापार भित्र्याएको छ भने वृद्धिको हिसाबले हिमालयन एरभेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । पुससम्ममा शिखर इन्स्योरेन्सले १ लाख ४७ हजार ६०९ वटा बीमालेख जारी गरेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष पुससम्म कम्पनीले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ७.१९ प्रतिशतले बढेको छ ।  त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले समीक्षा अवधिसम्ममा १ लाख ३२ हजार २२ वटा बीमालेख जारी गरेर २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवका तुलनामा कम्पनीको व्यापार २.३४ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमाा कम्पनीले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेकोले पुससम्म २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ४५.०७ प्रतिशतले बढेको छ । पुससम्ममा सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीको व्यापार २.७३ प्रतिशलते वृद्धि भएको छ ।  त्यस्तै, पुससम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको तुलनामा चालु आवको पुससम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १९.०५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३३.५५ प्रतिशत, नेको इन्स्योरेन्सको ८.२७ प्रतिशत, युनाइटेड अजोडको २७.२९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ११.५७ प्रतिशत र सानिमा जीआईसीको १९.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८.०५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.६९ प्रतिशत र नेशनल इन्स्योरेन्सको १२.४४ प्रतिशत व्यापार बढ्दा राष्ट्रिय बीमा कम्पनीको २०.३४ प्रतिशतले घटेको छ ।