बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त, लिए शपथ

काठमाडाैं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार (आज) नवनियुक्त अध्यक्ष शर्मालाई शपथग्रहण गराए । नवनियुक्त अध्यक्ष शर्माले आजै पदभार ग्रहण गर्ने जनाइएको छ । उनी अर्थमन्त्रालयका सहसचिव हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले गत असार ३० गते सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षमा नियुक्त गरेको थियो । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै अध्यक्षको जिम्मेवारी दिइएको थियो ।  उनी अध्यक्षकै जिम्मेवारी रहेको बेला प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पनि भदौ ३१ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै प्राधिकरणमा हाजिर भएको थिए । सोही दिन प्राधिकरणमा दुई अध्यक्ष पोखरेल र ओझाले हाजिर गरेका थिए ।  गत असार ३० गते सरकारले उनको योग्यतामाथि छानबिन गर्ने निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । तत्कालीन सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यसपछि ओझा अदालत पुगेको थिए । उनको योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । अहिले अन्तरिम सरकार बनेसँगै अर्थमन्त्री रामेश्वर खनालले अर्को व्यक्तिलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका हुन् ।  

दुई महिनामा जीवन बीमकको व्यापार ३५ अर्ब २४ करोड, सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोडभन्दा बढीको व्यवसाय भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार चालित १४ जीवन बीमा कम्पनीहरूले दुई महिनाको अवधिमा ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन्।  भदौ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५९ करोड ६३ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन्।  दुई महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले भदौसम्ममा ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । दोस्रो धेरै व्यवसाय भित्र्याउनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले दुई महिनाको अवधिमा ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । धेरै व्यवसाय आर्जन गर्ने तेस्रो कम्पनी एलआईसी नेपालले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । दुई महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा ४ अर्ब ८० करोड ३ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। 

दुई महिनामा निर्जीवन बीमकको व्यापार ८ अर्ब १२ करोड, धेरै व्यवसाय भित्र्याउनेमा सलिको अगाडि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल ८ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त अवधिमा कम्पनीहरूले कुल ४ लाख ३२ हजार ६९ वटा बीमा पोलिसी बिक्री गरेका थिए ।  बीमा कम्पनीहरूले भदौ महिनामा मात्रै २ लाख १६ हजार ७८४ वटा पोलिसी बिक्री गरेर ३ अर्ब ८० करोड रुपैयाँको व्यापार गरेका छन् । भदौसम्ममा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले गरेको छ । यस अवधिसम्ममा कम्पनीले ४१ हजार २७१ पोलिसी जारी गरेर ८९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।  दोस्रो धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले भदौसम्ममा ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ७७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दुई महिनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६२ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  त्यसैगरी, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ५९ करोड ५० लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड १ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ५७ करोड ४८ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ४९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३५ करोड २ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ३२ करोड ३२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। लघु निर्जीवन बीमा कम्पनीहरूमा नेपाल माइक्रोले ४ करोड २४ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ३५ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले ३ करोड ७० लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्समा ४ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।