बीमा प्राधिकरणले माग्यो धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदका लागि आवेदन खुलाएको छ । प्राधिकरणले कार्यकारी निर्दैशकदेखि साहायक प्रथमका लागि आवेदन माग गरेको हो । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कद्वारा हुने बढुवा, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा र खुला, समावेशी प्रतियोगितात्मक लिखित परिक्षाबाट कर्मचारी परिपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ । जसअनुसार कार्यक्षमताको मूल्याङ्कद्वारा हुने बढुवा अन्तर्गत एक जना कार्यकारी निर्देशक, ४ जना निर्देशक र २ जना कानून तर्फको उपनिर्देशक सहित ५ जना उपनिर्देशकका लागि आवेदन खुलाएको हो । यसैगरी, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा अन्तर्गत एक जना उपनिर्देशक पदका लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ । खुला तथा समावेशी तर्फ १० जना साहायक निर्देशक र ४ जना सहायक प्रथमका लागि आवेदन माग गरिएको छ । सहायक निर्देशकका लागि स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने छ । यसैगरी, सहायक प्रथमका लागि स्नातक तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । आवेदन दिने अन्तिम मिति माघ १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सकिने छ ।

सूर्यज्योति लाइफबाट एमडीआरटी-२०२५ का लागि ४० जना योग्य, २ जना बने सीओटी

काठमाडौं । अभिकर्ताहरूको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरू एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन् । उक्त ४० जनामध्ये गौरवकुमार शाही र दीपक सापकोटा कोर्ट अफ द टेबल (सीओटी) का लागि योग्य भएको कम्पनीले जनाएकाे छ । गौरवकुमार शाही सीओटीमा दोस्रो पटक छनौट हुन सफल भए । कम्पनीको कोशी प्रदेशबाट २ जना, मधेस प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १७ जना, गण्डकी प्रदेशबाट ५ जना, लुम्बिनी प्रदेशबाट ८ जना, कर्णाली प्रदेशबाट ५ जना र सुदूरपश्चिम प्रदेशबाट २ जना गरी जम्मा ४० जना सन् २०२५ को लागि छनौट भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  प्रकाशविक्रम खत्रीले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि छनौट हुन सफल ४० जना सबैलाई मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरूको भेलामा सहभागी हुन अवसर प्राप्त गरेका अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे । सीईओ खत्रीले कम्पनीसँग आबद्ध भएका हजारौं कर्मठ, लगनशील र मेहनती अभिकर्ताहरूप्रति पनि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा उत्कृष्टता हासिल गर्न आग्रह गरे । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४ हजार १५२ करोड, जीवन बीमा कोष ३ हजार ६०५ करोड, जारी बीमालेख संख्या ३१ लाख , प्रशिक्षित अभिकर्ता संख्या ९९ हजार ५४५ र देशभर रहेका १७६ शाखा सञ्जालद्वारा सेवा प्रदान गरिरहेको छ । बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो आईएसओ ९००१-२०१५  प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न पनि सफल भएको छ ।

सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेस सरकार

महोत्तरी । मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बिमाको सहुलियत पाउने भएका छन् । सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बिमाका लागि मधेस प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ । यसै सन्दर्भमा मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता भएको छ । यो सम्झौताबाट लोकतन्त्र स्थापनाका पक्षमा भएको आन्दोलनमा सहादत प्राप्त गरेका र हराइरहेका व्यक्तिका एक हजार ८१ परिवारले बिमा सुविधा पाउने प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । स्वास्थ्य बिमा गराउने सन्दर्भमा सहिद परिवारको विस्तृत विवरण सङ्कलनमा बोर्डका कर्मचारी खटिएको मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जानकारी दिए । विवरण अद्यावधिक भइसकेपछि मन्त्रालयले बोर्डलाई प्रतिपरिवार तीन हजार पाँच सय रुपैयाँका दरले रकम पठाउने सचिव रिजालको भनाइ छ । वार्षिक तीन हजार पाँच सय रुपैयाँ बोर्डमा जम्मा भएपछि परिवारका पाँच जना सदस्यले स्वास्थ्य बिमाअन्तर्गत सहयोग प्राप्त गर्नसक्ने कानुनी व्यवस्था छ । प्रदेश सरकारले सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका सहिद परिवारका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा ४० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजन गरिएको उक्त रकमबाट सहिद परिवारको स्वास्थ्य बिमा गरिने मन्त्रालयले स्पष्ट गरेको छ । सहिद परिवारको उपचार प्रबन्धका लागि प्रदेश सरकारले लिएको तत्परता र पहलकदमीलाई यहाँका बुद्धिजीवीले सकारात्मक रुपमा लिएका छन् । यसै सन्दर्भमा जलेश्वरस्थित रामनन्दन, विश्वेशर महेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य अजयकुमार झाले सहिद परिवारको खोजी गरी स्वास्थ्य बिमाको व्यवस्थासहित राहतसहयोग उपलब्ध गराउन बजेटसमेत विनियोजन गरेकामा प्रदेश सरकारलाई धन्यवाद दिँदै अझै लोककल्याणकारी एवं जनमुखी कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गरे ।