रोशीका ४४७ विद्यार्थीहरूलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगल जनविजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई जाडो महिनाको पोसाक ट्र्याकसुट वितरण गरेको छ। गत साउन १२ गतेको अविरल वर्षाले प्रभावित क्षेत्रका बालबालिकाहरूलाई पोसाक सहयोग गरेको हो । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पधादिकारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिति थियो। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बीसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्दै असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गरेर स-साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफूलाई पनि खुसी लागेको बताए । उनले बीमा सबैका लागि अवश्यक छ भन्ने कुरामा जोड दिँदै विद्यार्थी भोलिको देशका कर्णधार भएकाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे । कार्यक्रममा उपस्थित समाजसेवी शंखबुद्ध लामाले आफू संस्थापक भएको विद्यालयमा सहयोग गरेकामा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकाले बीमा गर्नुपर्ने कुरामा जोड दिए । बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्यूनीकरण गर्न सक्ने उनले बताए । कम्पनीका एजेन्सी मेनेजर तथा कार्यक्रमका सहजकर्ता अशोकबुद्ध लामाले बीमाले भविष्यमा हुन सक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

यूनाइटेड अजोडको ४ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य २२५ रुपैयाँ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक समूहका २ जना सेयरधीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ७ हजार १८२ कित्ता सेयर बिक्रीमा रोखका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी आइजे ग्रुप प्रालिको नाममा हाल कायम रहेको १४ लाख ५० हजार २३७ कित्ता सेयरमध्ये ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य न्यूनतम २२५ रुपैयाँ तोकिएको छ । यस्तै, संस्थापक सेयरधनी राधेश्याम अग्रवालको नाममा कायम रहेको ३३ हजार १३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य २७५ रुपैयाँ तोकिएको छ । कम्पनीको सो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । विद्यमान संस्थापकहरूले ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफ एनसीएचएलमा आबद्ध, सबै भुक्तानी डिजिटलबाटै हुने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबार नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बाट गर्न सकिने भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबै भुक्तानी एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाटै गर्न सकिने भएको हो । प्रभु महालक्ष्मीको भुक्तानी सम्बन्धी कारोबार गर्ने दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाईं र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यससँगै प्रभु महालक्ष्मीको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन । प्रभु महालक्ष्मी लाइफले एनसीएचएल आईपीएस र आरपीएस प्रणालीहरुमार्फत् प्रिमियम भुक्तानी संकलन, एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायत सेवा उपलब्ध हुने छन् । साथै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरूलाई ऋण भुक्तानी गर्न थालिसकेको छ । भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने कम्पनीले जनाएको छ ।