सलिकोको दुई दिने कर्मचारी अभिवृद्धि तालिम सम्पन्न
इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही पुस १९ र २० गते इटहरीको होटल बरण्डामा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता र क्षमता वृद्धि गर्ने उद्देश्यसाथ तालिम आयोजना गरिएको हो । कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थित थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोदकुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक कविराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम थिए । तालिम प्रशिक्षकहरूमा बजार विभागका नायब महाप्रबन्धक कविराज पौडेल, दाबी विभागका प्रमुख सुभाष दीक्षित, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ विभागका प्रमुख दिवस तिमल्सिन र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा थिए । प्रशिक्षकहरूले बीमा क्षेत्रका साथै अन्य समसामायिक विषयहरूमा जानकारी दिएका थिए भने नेपाल बीमा प्राधिकरणका विनोदकुमार पोख्रेलले बीमा तथा परिपालनसम्बन्धी आफ्नो धारणा राखेका थिए । इनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए, जसले सबै सहभागीहरूलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्यो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।
सिटिजन लाइफले नेपालभर आयोजना गर्यो सम्पत्ति शुद्धीकरण निवारण तालीम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम आयोजना गरेको छ । महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पुर्ण कर्मचारी र केही विभागीय प्रमुख समेतको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत प्रस्तुतीकरण दिएका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । गत सालझै यस वर्ष पनि कम्पनीले देशभर विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौं र अन्तिम स्थान हो । यसभन्दा पहिले मंसिर २७ गते पूर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताका लागि इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागि मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागि कार्तिक १० गते पोखरामा र असोज साथै मङ्सिर ६ गते दुईपटक काठमाडौंमा यस तालिम आयोजना गरिएको थियो । बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपालभरि सम्पन्न गरेको छ ।
गार्डियन माइक्रोको आईपीओ बिक्री खुला, १ लाख कित्ता आवेदन दिन पाइने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेर बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा पुस २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा माघ १० गतेसम्म समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।