कृषि बीमामा सफ्टवेयरको प्रभावकारिता बढ्दो, ४० दिनमै करिब ४ हजार बीमालेख जारी
काठमाडौं । सरकारले कृषि बीमालेख अनलाइनबाट नै जारी गर्नेगरी विकास गरेको सफ्टवेयरको प्रभावकारिता बढ्दो क्रममा रहेको देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत कार्तिक ५ गते कृषि बीमालेख जारी गर्ने रियल टाइम सफ्टवेरको उद्घाटन गरेको थियो । सफ्टवेयरको उद्घाटन कार्तिकमा भएपनि मंसिर १६ गतेदेखि सफ्टवेयरमार्फत आधिकारिकरूपमा बीमालेख जारी गर्न थालिएको थियो । यसरी सफ्टवेयरमार्फत अनलाइनबाट नै बीमालेख जारी गर्न सुरु भएको ४० दिनमा नै अनलाइनबाट ५ हजार बढी बीमितले आवेदन दिएका छन् । यस समाचार निर्माण गर्दै गरेको समय पौष २६ गते दिउँसो ५ बजेसम्म सफ्टवेरमार्फत बीमा गर्नका लागि अनलाइन आवेदन दिने बीमितको संख्या ५ हजार २१ जना पुगेको छ । जसमध्ये ३ हजार ८०४ जनाको बीमालेख जारी भइसकेको छ भने बाँकी बीमितको बीमालेख जारी हुने क्रममा रहेको छ । आमजनताले पनि हेर्न मिल्नेगरी सफ्टवेयरको विकास गरिएको छ । एएलआईएस डट एनआइए डट जीओभी डट एनपी टाइप गरेर जो कसैले उक्त सफ्टवेरमार्फत भएको बीमाको विवरण हेर्न सकिने छ । जहाँ बीमा गर्न आवेदन दिनेको संख्या, जारी बीमालेख संख्या, कुन बीमालेखअन्तर्गत कति संख्याको बीमालेख आवेदन पर्यो, कति बीमालेख जारी भयो, कति बीमाङ्क रकमको बीमालेख जारी भयो भनेर हेर्न सकिन्छ । यस्तै, सरकारले भुक्तान गर्नुपर्ने बीमाशुल्क अनुदान कति भयो, बीमित स्वयमले भुक्तानी कति गर्यो भनेर पनि हेर्न सकिन्छ । त्यस्तै, कुन प्रदेशबाट कति बीमालेख जारी भयो र कुन कम्पनीबाट कति बीमालेख जारी भयो भनेर पनि हेर्न सकिने छ । यसैगरी, दाबी भुक्तानीका लागि कतिले आवेदन दिए, कति रुपैयाँको दाबी पेश भयो, कति रकम भुक्तानी भयो, भुक्तानी हुन कति रकम बाँकी छ भन्ने विषय पनि अनलाइनबाट सबैले हेर्न सकिन्छ । यसरी हेर्दा हालसम्म दुई प्रकारको बीमालेखको मात्र बीमा भएको देखिन्छ । पशुतर्फ पशुधन र कृषितर्फ तरकारी बालीको मात्र बीमालेख जारी भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले हाललाई २ प्रकारको बीमालेख मात्र सफ्टवेयरमार्फत गर्ने गरेको जानकारी दिए । पशुधनतर्फ हालसम्म ३ हजार ७५३ वटा बीमालेख जारी भएको छ भने तरकारी बालीतर्फ ३३ वटा बीमालेख जारी भएको देख्न सकिन्छ । हालसम्म सबैभन्दा धेरै बीमालेख बागमती प्रदेशबाट जारी भएको छ । बागमतीबाट १ हजार ७१६ वटा बीमालेख जारी हुँदा गण्डकी प्रदेशबाट ७४९ वटा, कोशी प्रदेशबाट ३९६ वटा, लुम्बिनी प्रदेशबाट ३९५ वटा, मधेश प्रदेशबाट ३६९ वटा, कर्णाली प्रदेशबाट १०२ वटा र सुदूरपश्चिम प्रदेशबाट ७७ वटा बीमालेख अनलाइनमार्फत नै जारी भइसकेको छ । अनलाइनमार्फत बीमा गर्न कति सहज ? उक्त सफ्टवेयरको लगइन पहुँच बीमित, अभिकर्ता, बीमा कम्पनी, बीमा प्राधिकरण, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लगायतलाई हुन्छ । अर्थात बीमितले यूजर नेम र पासवर्ड विकास गरेर सफ्टवेयरमार्फत अनलाइनबाट नै बीमा गर्नका लागि आवेदन पेश गर्न सक्छन् । जसका लागि बीमितले बीमा गर्ने पशुधन तथा बालीको पुरा विवरण, फोटो लगायत अपलोड गर्नुपर्ने हुन्छ । माग गरिएको सम्पूर्ण कागजातसहितको फर्म अनलाइनबाट भरेपछि समिट गरेर बीमाको आवेदन पेश गर्न सकिन्छ । त्यहाँ कुन कम्पनीबाट बीमा गर्ने भनेर पनि अप्सन दिइएकाे हुन्छ । यसरी समिट गरेपछि सम्बन्धित बीमा कम्पनीले त्यस पशुधन तथा बालीको बीमा गर्न ठीक छ कि छैन भनेर जाँच गर्छ । ठीक भएको खण्डमा बीमालेख जारी गरिदिन्छ । सुरुमा बीमितले अनलाइनको प्रयोग गर्न नजान्लान् भन्ने प्रश्नहरू पनि आउने गर्थ्याे । तर, पछिल्लो ४५ दिनमा अनलाइनबाट भएको बीमालेख संख्या हेर्दा यो भाष्य गलत सावित पुष्टि भएको सूचना अधिकारी निर्मल अधिकारी बताउँछन् । प्राधिकरणका उपनिर्देशकसमेत रहेका अधिकारीले भने, ‘हालसम्म २ वटा बीमालेखमात्र अनलाइनमार्फत गर्न सकिन्छ । जबकि कृषि तथा पशुपंक्षी बीमामा २१ भन्दा धेरै प्रकारका बीमालेख छन् । यसरी २ वटा बीमालेखतर्फ नै ४५ दिनमा ५ हजार बढी बीमाको लागि आवेदन आउनु भनेको धेरै राम्रो कुरा हो । बीमितले अनलाइन प्रयोग गर्न जानेनन् भन्न अब मिल्दैन ।’ यस्तै, नेपालमा पहिलो पटक यसरी अनलाइनमार्फत बीमा गर्न सुरु भएकाले केही बीमित, अभिकर्ता वा बीमा कम्पनीका कर्मचारीलाई पनि असहज लाग्नु स्वाभाविक भएको उनको भनाइ छ । तर, बिस्तारै अनलाइनतर्फ सबैजना फेमिलियर हुने उनको आशा छ । यस्तै, अनलाइनबाट बीमालेख जारी गर्नका लागि प्राधिकरणले तालिम पनि दिने उनले बताए । माघ महिनाको पहिलो साताबाट देशव्यापीरूपमा तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी रहेको उनले बताए । तालिम विशेषगरी बीमा कम्पनीका कर्मचारीलाई, पालिकाको बीमाका फोकल पर्सनलाई, प्राधिकरणका प्रादेशिक कार्यलयका कर्मचारीलाई दिइने उनले जानकारी दिए । सम्भव भएसम्म बीमितलाई पनि तालिम दिने उनले बताए । यस्तै, बीमा कम्पनीलाई पनि तालिम सञ्चालनका लागि निर्देशन दिने उनले जानकारी गराए । सफ्टवेयरले पारदर्शीता बढ्ने कुन बीमितले कहाँको कति रकमको कुन बीमा कम्पनीसँग बीमा गर्यो भनेर सबै डिटेल्स हेर्न मिल्ने भएपछि यसले पारदर्शीता बढाउने सूचना अधिकारी निर्मलको दाबी छ । यसका साथै प्राधिकरण र मन्त्रालयलाई अनुगमन तथा निगरानी गर्न पनि सहज हुनुका साथै सबै डिटेल अनलाइनबाट नै हेर्न मिल्ने भएपछि बीमित र बीमा कम्पनीले जालसाजी गर्ने सम्भावना पनि न्यून रहने उनको भनाइ छ । कृषि र पशुपंक्षीतर्फका सबै बीमालेखमा सफ्टवेयर प्रणाली लागू गर्ने तयारी सफ्टवेयरमार्फत हालसम्म विषयहरूको गहन अध्ययन र विश्लेषणपछि कृषि तथा पशुपंक्षी तर्फका सबै बीमालेख रियल टाइम सफ्टवेयरमार्फत हुने सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । सफ्टवेयरमार्फत गर्न आइपर्ने समस्याहरू के के छन्, तिनको पहिचान गर्ने, सवल पक्षको पनि पहिचान गर्ने, समस्याको समाधानको उपाय खोज्ने र विस्तारै सबै बीमालेखमा सफ्टवेयरमार्फत बीमा गर्ने गरी विश्लेषण गरिने उनले जानकारी दिए । अहिलेको २ वटा बीमालेख ट्रायलको लागि गरिएको भन्दै उनले गहन अध्ययन र छलफलपछि अन्य बीमालेखलाई पनि क्रमश: सफ्टवेयर मार्फत नै गर्ने बताए ।
बीमा प्राधिकरणमा अध्यक्ष छनौट निरङ्कुश शैलीमा, धितोपत्र बोर्डमा जस्तो बखेडा नचल्ने
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अगाडि बढाएको छ । बीमा क्षेत्रमा नियामक निकायको कार्यकारी प्रमुखसहितको भूमिका पाउने अध्यक्ष बन्न इच्छुक र योग्य व्यक्तिले ७ हजार ५०० रुपैयाँ दस्तुरसहित माग १० गतेभित्र आवेदन बुझाउन सक्ने गरी अर्थ मन्त्रालयले सूचना प्रकाशित गरेको छ । तर सरकारले छनौट प्रक्रियामा निरङ्कुश शैली अपनाएको छ । ‘यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ,’ सूचनाको बुँदा ५ (आ)मा उल्लेख छ । यसमा सरकारको निरङ्कुशता, जवाफदेहीहिनता, अपारदर्शीता प्रष्ट अभिव्यक्ति भएको जानकारहरू बताउँछन् । यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा विवाद हुँदा प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो । केपी ओली नेतृत्वमा नयाँ सरकार बनेपछि पनि विवाद लम्बिँदा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया करिब १० महिना लम्बिएको थियो । बोर्डको अध्यक्ष नियुक्त प्रक्रियामा निवेदकहरूले सरकारलाई अप्ठ्यारोमा पार्ने काम गरेकाले यस पटकको सूचना नयाँ सर्त राख्नु परेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । ‘निवेदन हाल्ने तर प्रक्रिया पूरा गर्न सरकारलाई असहयोग गर्ने काम भए । त्यसबाट हामीलाई पनि नयाँ सिकाइ भयो,’ ती अधिकारीले बने । कानुनबमोजिम योग्यता पुगेका व्यक्तिले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा निवेदन पेश गर्नुपर्नेछ । निवेदन साथ ४ प्रति व्यfवसायिक योजना खामबन्दी पेश गर्नुपर्नेछ । प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दाएर गरेपछि अध्यक्ष पद खाली भएको छ । पछिल्लो समय बीमा प्राधिकरण, धितोपत्र बोर्डका अध्यक्षको नियुक्तमा सत्ताधारी दलले ठूलो भष्ट्राचार गर्ने गरेको र यी संस्थाका अध्यक्षले व्यावसायिक ढंगले काम गर्न पनि नसकेको आवाज सबैतिरबाट उठिरहेको छ ।
नेशनल लाइफका ४०० बढी अभिकर्ताले लिए इन्स्योरेन्स इस्टिच्युट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरूमार्फत कोलकातामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई कम्पनीले कोलकातामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल बीके नायकको सभापतित्वमा सम्पन्न तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरू जे सेन, मिहिर गोस्वामी, अनिरवन शाहलगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कलेजका प्रिन्सिपल बीके नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागीहरूलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरूलाई नेपालबाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागी गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकामा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नवीन सोच लिई अगाडि बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेस कन्ट्युनिटी साइकलका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकहरूको रूचि, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्री गर्ने र बिक्रीपश्चात् पनि आफ्ना ग्राहकहरूसँग सधैं सम्बन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्न सक्ने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएका करिब ४०० जनाभन्दा बढी अभिकर्ताहरू र कम्पनीका मार्केटिङ कर्मचारीहरूलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरूले तालिमको प्रमाणपत्र वितरण गरेका थिए । बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको तालिममा सहभागी भई तालिम प्रमाणपत्र प्राप्त गर्नु एउटा ठूलो अवसर भएको र यो अवसर जुराइदिएकामा कम्पनीप्रति आभारी रहेको सहभागी अभिकर्ताहरूले बताएका थिए ।