सांग्रिला डेभलपमेन्ट बैंकको १०.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न हुँदै उक्त प्रस्ताव पारित भएको हो । सभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा को ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । बैंकले नगदतर्फ १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा र बोनस सेयरतर्फ १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको लाभांश वितरण गर्नेछ । प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्नेछ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ । बैंकले आम नागरिकको विश्वासका कारण हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तर पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तारलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
महालक्ष्मी विकास बैंकको विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण र सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । बैंकले यस क्रममा जेष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षण सहित स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगको रोकथाम सम्बन्धी कार्यशाला सञ्चालनमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्न ५ थान कम्प्युटर सेट र ५ थान टेबल उपलब्ध गराएको छ । साथै हुम्ला जिल्लाको सिमकोटदेखि ४४ कोष दक्षिण पूर्वको अदानचुली गाउँपालिका वडा नं. १ का ६५ घरधुरीका दलित समुदाय, विपन्न वर्गका मानिस, अनाथ बालबालिका, एकल महिला र पुरुषलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागलुङ्ग जिल्लाका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापाका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय तथा श्री गणेशसुर्य आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबहरूसँगको सहकार्यमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययरत १८० जना विद्यार्थीलाई जाडोबाट बच्न १८० थान न्यानो कपडा वितरण गरिएको छ । गोरखा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गरिएको छ। बैंकले गर्दै आएका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
काठमाडौं । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ । चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइट बैंक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो । नबिलले बैंक ग्यारेन्टी भुक्तानीका लागि सन् २०२३ डिसेम्बर १ मा आह्वानपत्र प्राप्त गरेको थियो । त्यसपछि बैंकले चाइना एभरब्राइट बैंकलाई स्वीफ्ट सन्देशमार्फत जानकारी गराएको थियो । तर सन् २०२३ डिसेम्बर १० मा उक्त बैंकले छेन्दु फाइनान्सियल अदालतबाट जारी भएको निषेधाज्ञा आदेशका कारण काउन्टर ग्यारेन्टीअन्तर्गतको रकम भुक्तानी गर्न असमर्थ रहेको जानकारी गराएको थियो । नबिल बैंकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैंक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो । त्यहाँको अदालतले सन् २०२४ जनवरी १७ मा नबिल बैंकको पक्षमा फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध सुइफा आन्हे ग्रुप कम्पनीले चोइछिङ हाइयर पिपुल्स कोर्टमा पुनरावदेन दायर गरेको थियो । उक्त मुद्दामा सन् २०२५ सेप्टेम्बर २३ मा अदालतले नबिल बैंकको पक्षमा फैसला गरेको थियो । त्रिशूली जलविद्युत् कम्पनीले आयोजनाको निर्माण तीन वर्षमा सक्नेगरी सुइफा आन्हे ग्रुप कम्पनीसँग २०७४ साल फागुन ३० गते ठेक्का सम्झौता गरेको थियो । तर निर्धारित समयमा निर्माण कम्पनीले काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले २०८० साल मङ्सिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो ।