रिहा भए प्रभु बैंकका सीईओ शेरचन
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरिक्षक डा. मनोज कुमार केसीले जानकारी दिए । उनी गत मंसिर १४ गते बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ परेका थिए । शेरचनलाई म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको हो । अब शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने सीआईबीले जनाएको छ ।
नवप्रवर्तनकर्ता र उद्यमलाई सशक्त बनाउन लक्ष्मी सनराइज बैंकको सहकार्य
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आद्यन्ता एडभाइजरी प्रालि र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल)सँग सम्झौता गरेको छ । यस सम्झौतामार्फत नेपालको प्रविधि र कृत्रिम बौद्धिकता (एआई) नवप्रवर्तन पारिस्थितिकी तन्त्रलाई मजबुत बनाउने प्रयास गरिने बैंकले जनाएको छ । सातौं वर्षमा प्रवेश गरेको डिजिटल डिसेम्बरले अब डिजिटल सचेतना कार्यक्रमको रूपमा मात्र नभई रणनीतिक उद्यम रूपान्तरणको प्लेटफर्मको रूपमा विकास गरेको छ । यसले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपीआई तथा होस्ट(टु(होस्ट जडानमार्फत समाहित गर्ने र व्यवसायिक भुक्तानीको लागि डिजिटल प्लेटफर्मलाई डिफल्ट माध्यमको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । सम्झौताअनुसार लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मूल स्तम्भहरूसँग मिल्दोजुल्दो सहकार्यका क्षेत्रहरू अनुसन्धान गर्नेछ जसमा एपीआई सक्षम पार्ने, प्लेटफर्म जडान, र उद्यम तयारपन समावेश छन् । यस अन्तर्गत नवप्रवर्तनकर्ताहरूलाई उद्यमसँग सम्बन्धित डिजिटल समाधानको प्रोटोटाइप बनाउन चयन गरिएको ओपन एपीआई वा स्यान्डबक्स वातावरणमा पहुँच प्रदान गर्ने, उच्च सम्भावित भेन्चरहरूसँग प्रारम्भिक संलग्नता मार्फत बजार तयारपन र स्केल अप क्षमता मूल्याङ्कन गर्ने, र डिजिटल वित्त, फिनटेक सक्षम विकास र स्टार्टअप तथा स्केल अप पूँजीमा विशेषज्ञद्वारा सत्र सञ्चालन गर्ने योजना रहेको छ । डिजिटल डिसेम्बरको उद्यम भुक्तानीमा केन्द्रित पहललाई नवप्रवर्तन समर्थनसँग जोडेर बैंकले डिजिटल बैंकिङलाई मात्र सञ्चालन सुधारको रूपमा नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहको रूपमा प्रस्तुत गरेको छ । आद्यन्ता एडभाइजरीले कार्यक्रम डिजाइन, परामर्श, र पारिस्थितिकी तन्त्र संलग्नता समन्वय गर्नेछ भने अमच्याम नेपाल र आद्यन्ता फण्ड म्यानेजमेन्टले निजी क्षेत्र नेटवर्कमार्फत दृश्यता, ज्ञान आदानप्रदान र व्यापक सहभागिताको लागि सहयोग पुर्याउनेछ । लक्ष्मी सनराइज बैंक लिमिटेड नेपालका प्रमुख व्यावसायिक बैंकमध्ये एक हो जुन नवप्रवर्तनशील र जिम्मेवार बैंकिङ समाधानमार्फत उद्यम डिजिटलाइजेशन, वित्तीय समावेशिता र दिगो आर्थिक वृद्धिको लागि प्रतिबद्ध छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न अधिकारीले हस्ताक्षर गरे । यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको हो । जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट उपयोग गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ। उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।