उम्मेदवारले बैंकमा एकै प्रकृतिका दुई खाता खोल्न पाउने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो। राष्ट्र बैंकले निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने व्यवस्था गरेको हो । यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने राष्ट्र बैंकको भनाइ छ ।  प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा निर्वाचन अभियान समूहमा नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) को छुट्टै एउटा बैंक खाता खोली कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यलाई बिना धितो १५ लाखसम्म कर्जा दिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एसीएएन) मा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एसीएएनमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो अधिकतम १५ लाख रुपैयाँसम्मको व्यक्तिगत व्यावसायिक (प्रोफेसनल) कर्जा पनि उपलब्ध गराइनेछ । त्यसैगरी, गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा आवास कर्जा तथा सवारी साधन कर्जा समेत प्रदान गर्ने जनाएको छ । हाल बैंकले 'अब आफ्नै घर' भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आएको छ । हाल गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ वटा शाखा कार्यालय, ५१ वटा एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकका नवनियुक्त सीईओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । २१ वर्षदेखि सानिमा बैंकमा निरन्तर रूपमा विशिष्ट योगदान पुर्‍याउँदै आएका आचार्य पदभार ग्रहणअघि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए । आफ्नो लामो सेवाकालमा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्दै बैंकको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शैक्षिक योग्यताका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए । उनको प्रमुख कार्य क्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित रहेको छ । हाल उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्षको रूपमा पनि कार्यरत छन् । बैंकिङ क्षेत्रबाहेक उनले इन्जिनियरका रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव हासिल गर्नुका साथै पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा समेत सेवा प्रदान गरेका छन् । उनको विश्लेषणात्मक क्षमता, रणनीतिक सोच र दीर्घ बैंकिङ अनुभवका आधारमा आचार्यको नेतृत्वमा सानिमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।