कामना सेवा विकास बैंक र होटल अशोकाबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चितवनको भरतपुरस्थित अशोका रिसोर्ट प्रा. लि. तथा होटल अशोकासँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अकोमोडेसन तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा ग्राहकहरूले उक्त सुविधा सहज रूपमा लिन सक्ने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीले लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको  छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी तथा होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर ६ जना संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् ।  बैंकका अनुसार विभिन्न ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर आंशकि वा पुरै बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिनुपर्ने जनाएको छ ।  खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर र मूल्य समेत तोकि निवेदन दिनुपर्नेछ । यदि उक्त समय भित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

समृद्धि फाइनान्सको वित्तीय सचेतना अभियान, विद्यार्थी र युवा लक्षित कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा 'स्मार्ट मनी टक्स' नारासहित देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्‍यालीहरू सञ्चालन गरी सम्पन्न गरेको छ । वित्तीय व्यवस्थापनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले फाइनान्सले विभिन्न शाखामार्फत विद्यार्थी, युवा तथा समुदाय लक्षित कार्यक्रमहरू आयोजना गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत खरेन्द्रपुर शाखाले नेपाल राष्ट्र बैंक खरेन्द्रपुरद्वारा आयोजित सचेतनामूलक र्‍यालीमा सहभागिता जनाएको थियो । त्यस्तै, पुतलीसडक शाखाले नेसनल युनाइटेड स्कूलका कक्षा ७, ८ र ९ का ७० विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण प्रदान गरेको छ । पोखरा शाखाले कन्या क्याम्पसका कक्षा ११, १२ तथा स्नातक तहका १५१ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको थियो भने गैर शाखाले श्री बालगोविन्द जनता माध्यमिक विद्यालयका २५ विद्यार्थीलाई वित्तीय साक्षरता तालिम दिएको जनाएको छ । त्यसैगरी बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको छ । मधुबन शाखाले श्री जनता बोर्डिङ स्कूलका ३८ विद्यार्थी, जनकपुर शाखाले मोडेल मल्टिपल कलेजका कक्षा १२ का विद्यार्थी तथा औरही शाखाले द सनराइज बोर्डिङ स्कूलका ४० विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । समृद्धि फाइनान्सले वित्तीय सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा अभियानलाई निरन्तरता दिने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थाले आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोड लगायत डिजिटल बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।