मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
भोजपुर । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा एक करोड २० लाख रुपैयाँ बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले बताए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उनले जानकारी दिए । स्थानीय बजारमा मह प्रतिकेजी एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने उनको भनाइ छ । ‘मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छौँ ।’ नागी क्षेत्रबाट एक वर्षमा एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताए । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उनको भनाइ छ । भौगोलिक रुपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पुर्याउले लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उनले जानकारी दिए । ‘हाम्रो क्षेत्रमा मौरीपालनबाट एक करोड रुपैयाँ बढी भित्रिएको अवस्था छ’, वडाध्यक्ष राईले भने, ‘यहाँका अधिकांश किसानले मौरीपालन गरिरहेका छन् । मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।’ व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब सात लाख ७० हजार रुपैयाँ बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ । ‘मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘यो वर्ष करिब सात लाख ७० हजार रुपैयाँ बराबरको आनुधिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।’ पराम्परागत रुपमा मौरीपालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आनुधिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताए । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उनको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सहजता हुने उनको भनाइ छ । स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिए । ‘हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ’, उनले भने, ‘आफ्नै लगानीमा मौरीपालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।’ गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । किसानलाई व्यावसायिक बनाउन उनीहरुको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भईरहेको उनको भनाइ छ । नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताइन् । ‘गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको छ’, उपाध्यक्ष राईले भनिन्, ‘यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भईरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।’ रासस
नेपाली बजारमा भिभो वाई १८ सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । भिभो स्मार्टफोनले नेपाली बजारमा भिभो वाई १८ सार्वजनिक गरेको छ । कम्पनीले आइतबार बजारमा भिभो वाई १८ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार १७,९९९ रुपैयाँमा सार्वजनिक गरिएको भिभो वाई १८ सोमबारदेखि नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमार्फत खरिदका लागि उपलब्ध हुनेछ । लोबल स्मार्टफोन ब्रान्ड भिभोले यसको अत्याधिक सफल वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । आजका प्रयोगकर्ताहरूका विविध आवश्यकता पूरा गर्न डिजाइन गरिएको भिभो वाई १८ ले उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन, र असाधारण क्यामेरा विशेषताहरू प्रदान गर्दछ, जसले यसलाई तपाईंको उत्तम मनोरञ्जनात्मक सामाजिक साझेदार बनाउने कम्पनीको भनाई छ । ‘भिभो वाई १८ ले वाई १७ एसको विरासतलाई कायम राख्दै दुई विशिष्ट रंग भेरियन्टहरूः मोचा ब्राउन र वेभ एक्वामा एक शानदार डिजाइन प्रदान गर्दछ । यी रङहरू सौन्दर्यशास्त्रभन्दा पर जान्छन्, व्यक्तित्वलाई प्रतिबिम्बित गर्छन् र प्रयोगकर्ताहरूलाई उनीहरूको अद्वितीय शैली व्यक्त गर्न अनुमति दिन्छन् । २.५ डी कर्भ्ड डिजाइनले आरामदायी र सुरक्षित ग्रिप प्रदान गर्दछ, जसले प्रयोगकर्ता अनुभवलाई अझ उत्कृष्ट बनाउँछ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कम्पनीका अनुसार भिभो वाई १८ ले उत्कृष्ट ६+६ जीबी एक्सटेन्डेड र्याम र १२८ जीबीको लागी इन्टर्नल स्टोरेज प्रदान गर्दछ, जसले सजिलो मल्टीटास्किङ र एप्स, फाइलहरू, र मल्टिमिडियाका लागि प्रशस्त स्टोरेज सुनिश्चित गर्छ । मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनले प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा ल्याग–फ्री अनुभवको मजा दिन्छ । साथै, वाई १८ मा लामो समयसम्म टिक्ने ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जुन काम, कन्टेन्ट स्ट्रिमिङ, वा गेमिङका लागि आदर्श छ । आईपी ५४ रेटिङ सहितको भिभो वाई १८ ले हल्का धूलो र पानीका छिटाहरू सजिलै सामना गर्न सक्छ । ९० हर्जको हाई–ब्राइटनेस आई प्रोटेक्सन स्क्रिनले तेज घाममा पनि स्पष्ट दृश्य प्रदान गर्दछ भने लो ब्लू लाइट सर्टिफिकेशनले आँखा थाक्न नदिई लामो समयसम्म हेर्न आरामदायी बनाउने छ । ‘उल्लेखनीय ५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेराको साथ, भिभो वाई १८ यसको असाधारण क्यामेरा सेटअपको साथ प्रत्येक विवरणलाई पूर्ण रूपमा कैद गर्दछ । चाहे तपाईं पोर्ट्रेट मोड प्रयोग गरिरहनु भएको होस् वा सुपर नाइट सीन वा मल्टि–स्टाइल फिल्टरहरू भिभो वाई १८ ले प्रत्येक फोटोलाई उत्कृष्ट बनाउँछ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यो सार्वजनिकता भिभो वाइ ०३ को अपार सफलता र प्रयोगकर्ताहरुको र्याम र क्यामेरा प्रतिको बढ्दो आकर्षणको कारण आएको हो, जुन जुन १, २०२४ मा १४,४९९ रुपैयाँमा सार्वजनिक गरिएको थियो । भिभो वाई १८, यसको सुधारिएको विशेषताहरु र प्रतिस्पर्धी मूल्यका साथ, भिभोको नविनतम र प्रयोगकर्ता मैत्री स्मार्टफोनहरु प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ, जसले विविध प्रयोगकर्ता आवश्यकतालाई सम्बोधन गर्छ, र नेपाली बजारमा भिभोको उपस्थिति थप मजबुत बनाउने कम्पनीको भनाई छ । ।
सुनको मूल्य तोलामा ४ हजारले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आइतबार तोलामा चार हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ ।