सिद्धार्थ बैंकको नयाँ शाखा गोरखा र उदयपुरमा

काठमाडौं । सिद्धार्थ बैंकले गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि उक्त दुई स्थानमा विस्तारित शाखा सञ्चालनमा ल्याएको हो । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८० (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९९ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

संघीयताले रेशम खेती प्रभावित, प्रदेश सरकारसँग केन्द्रको समन्वय हुन सकेन

काठमाडौं । नेपालमा संघीयतामा गएसँगै रेशमखेती अन्योलमा परेको छ । सरकारले विशेष अनुदान दिएर प्रबद्र्धन गरेको रेशमखेतीको विरुवा एउटा प्रदेशमा, खेती अर्काे प्रदेशमा र प्रवद्र्धनका कार्यक्रम बेग्लै प्रदेशमा परेका कारण अन्योल भएको हो । ४० वर्ष अगाडी काभ्रेको रेशम विकास केन्द्र खोपासीबाट रेशमखेती व्यवसायिक रुपमा सुरु भएको थियो । रेशम खेती प्रबद्र्धन गर्न केन्द्र सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । संघीय सरकारले नै गत वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको व्यवसायिक किट विकास केन्द्रका वाली संरक्षण अधिकृत योजना तथा अनुगमन शाखाका जगग्नाथ शर्माले बताए । सरकारले मौरी पालन, च्याउ खेती, रेशम खेतीलाई व्यवसायिक किट कार्यक्रमको रुपमा आर्थिक वर्ष २०७२÷७३ देखि अगाडी सारेको हो । नेपालमा यस्तो छ रेशम खेतीको अवस्था २०४२ सालमा सरकारीस्तरबाट ४२ वटा जिल्लामा रेशम खेती कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा काभ्रे, स्याङ्जा, पाल्पा र इलाममा किसानले कोया उत्पादन गर्ने कार्यक्रम सफल भयो । देश संघीयतामा गएसँगै अन्य क्षेत्रको रेशम खेती प्रबद्र्धनको जिम्मा सम्बन्धित प्रदेश सरकारले लिएको छ । तर, रेशम खेतीको पहिलो केन्द्र मानिएको काभ्रेको खोपासीमा भने केन्द्र सरकारले नै हेर्ने गरेको छ । व्यवसायिक रुपमा विस्तार हुँदै गरेको रेशम खेतीको उत्पादनका लागि विशेष गरेर किम्बुको बोट आवश्यक पर्छ । किम्बुको पात खुवाएर रेशम किराबाट रेशम धागो उत्पादन गर्ने हुँदा किम्बुको विरुवा सबै भन्दा महत्वपूर्ण तत्व हो । चालु आर्थिक वर्षमा २ सय हेक्टर जमिनमा रेशम खेती गर्ने केन्द्र सरकारको कार्यक्रम छ । तर, यो वर्ष ७० हेक्टर जमिनमा मात्रै रेशम खेती हुने भएको छ । प्रतिहेक्टर १० हजार किम्बुको विरुवा १ क्लस्टरमा लगाउन सक्ने व्यवसायिक किट विकास केन्द्रका वाली संरक्षण अधिकृत शर्माले बताए । व्यवसायिक रेशम खेती कृषकको चाँसो सरकारले ५० प्रतिशत अनुदान दिने भएपछि रेशम खेतीका लागि कृषकहरुको चाँसो बढेको छ । विशेषगरी प्रदेश– ५ सरकारले रेशम खेतीका सम्बन्धमा चाँसो देखाएको छ । रेशमको व्यवसायिक उत्पादन गर्ने विषयमा प्रदेश– ५ का मुख्यमन्त्री र कृषिमन्त्री प्रतिवद्धता जनाएका छन् । अन्य प्रदेशले भने त्यति चासो देखाएका छैनन् । रेशम खेतीका लागि सरकारले १८ वटा आवेदन खुल्ला गरेको थियो, जसका लागि १५ वटा आवेदन दर्ता भए । यस अगाडी १० वटा आवेदन केन्द्रले सिफारिस गरेको थियो । संघीय संरचनाभित्र रेशम खेती देश संघीय प्रणालीमा गएसँगै रेशम खेती वेवारिसे बनेको छ । रेशम उत्पादन गर्न आवश्यक वस्तु एकै प्रदेशमा नभएकाले असर परेको हो । केन्द्र सरकारले मात्र पछिल्लो समय निर्णय गर्न नमिल्ने हुँदा संघीयताले रेशम खेती अन्योलमा परेको व्यवसायिक किट विकास केन्द्रले जनाएको छ । हाल १ करोड भन्दाबढी किम्बुको विरुवा आवश्यक भईरहेको बेलामा केन्द्र सरकार सो मागलाई पूर्ति गर्न असमर्थ रहेको देखिएको छ । बजारमा उच्च माग रहेको रेशम धागो उत्पादनको एक मात्र स्रोतलाई सरकारले चासो नदिएको व्यवसायिक किसानको गुनासो छ ।

६ कराेड लागतमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार स्थापना गरिँदै

बेझाड । कृषिजन्य उपजलाई सुरक्षित भण्डारण गर्न पाल्पाको रामपुर नगरपालिकामा शीतभण्डार स्थापना हुने भएको छ । कृषि शाखा कार्यालयको परिसरमा ३०० मेट्रिक टन क्षमताको भण्डारण बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार (डिपिआर) तयार भइसकेको जनाइएको छ । प्रदेश नम्बर ५ को सशर्त अनुदान रकम रु पाँच करोड ९४ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी डिपिआर तयार भएको नगरपालिकाका सूचना अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो । बोलपत्र आह्वान गरेर निर्माणको प्रक्रिया छिट्टै नै अगाडि बढाइने उनले जानकारी दिए । नगरपालिकाभित्र उत्पादन भएका कृषिउपजले बजार नपाउँदा कृषकले सास्ती खेप्दै आइरहेका छन् । कहिलेकाहीँ बजारमा नबिकेर कृषकले खेतबारीमै कुहाउन बाध्य छन् । कृषकको उत्पादनलाई बिग्रन नदिन शीतभण्डार निर्माण गर्न लागेको नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए । स्थानीय उत्पादनलाई प्राथमिकता दिन शीतभण्डार निर्माणको योजना ल्याइएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिएका छन् । “कृषकको जीवनस्तर माथि उकास्न र उनीहरुले उत्पादन गरेका कृषिजन्य सामग्री नबिग्रियोस र मूल्य पनि राम्रो पाउन, बिचौलियाको चलखेल नहोस् भनेर शीतभण्डार निर्माणमा जोड दिएका हौँ”, उनले भने । शीतभण्डार निर्माण हुने भएपछि यस क्षेत्रका कृषक उत्साहित भएका छन् । रासस