महिला सशक्तिकरण अभियान गर्दै दराज

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष “जागृति” अभियान सञ्चानल गर्ने भएको छ । अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु रहेको दराजले बताएको छ । अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा “विमेन एक्ट” नामक एक महिला सशक्तिकरणमा आधारित गैरसरकारी संस्थालाई दिने दराजले बताएको छ । अभियान यहि मार्च ८ देखि मार्च १६ सम्म चल्नेछ । यस्तै दराजसँग एकता देखाउँदै सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५% वा रु १,५०० सम्मको छूट दिने भएको छ । छूटको लाभ लिनका लागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट÷डेबीट कार्ड मार्फत पूर्व भुक्तानी वा “प्रीपेमेन्ट्” गर्नुपर्नेछ । यसबाहेक, दराजमा महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन् । साथै ग्राहकहरूले भाउचर मार्फत रु १५० देखि रु ३५० सम्मको छूट पनि पाउन सक्नेछन् । दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भीडीयोमा रेकर्ड पनि गर्दै आएका छ। उक्त भीडीयोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसाय मार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन्। दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सकिन्छ ।

सिटिजन्स बैंकका ग्राहकलाई पोखराको हेरिटेज होटेलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले पोखराको हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा बाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल र बंगलादेशबीच वाणिज्य वार्ता हुँदै, व्यापार घाटा न्यूनीकरणमा जोड

काठमाडौं । नेपाल र बंगलादेशबीच बंगलादेशको ढाकामा २० र २१ फागुनमा वाणिज्य वार्ता हुने भएको छ । दुई दिनसम्म चल्ने व्यापार वार्ताको लागि नेपाली टोली आज ढाका प्रस्थान गर्ने भएको छ । बैठकमा नेपाल र बंगलादेशबीच विभिन्न ९ ओटा मुद्धामा छलफल हुने छ । नेपालबाट निर्यात योग्य २० प्रकारका नेपाली वस्तुको निर्यात र बंगलादेशीबाट सोही परिमाणको वस्तुको आयातका विषयमा छलफल हुने छ । वार्तामा नेपालले अदुवा, चिया, हर्बलका प्रडक्ट, अम्रिसाेकाे कुच्चो, धागो, तरकारी र फलफुल जस्ता वस्तुको निर्यातको विषयमा छलफल हुने छ । छलफलका क्रममा उक्त वस्तुमा लगाइएको उच्च भन्सारदर घटाउन नेपाली पक्षले पहल गर्ने छ । नेपालबाट बंगलादेशतर्फ विभिन्न करिब ८० ओटा वस्तुको निर्यात सम्भावना छ । नेपालबाट डेरीका प्रडक्ट, तरकारी, धागो लगायतका वस्तु नेपालबाट बंगलादेश निर्यात सम्भावना छ । वार्तामा नेपालको साल्ट ट्रेडिङ र बंगलादेशको नेशनल ट्रेडिङबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर हुनेछ । यस्तै, दुई देशको क्वारेन्टाइनका विषयमा पनि समझदारी पत्रमा हस्ताक्षर हुने छ । सन् २००९ सम्म बंगलादेशसँगको व्यापारमा नेपाल नाफामा थियो । पछिल्लो समयमा नेपालको बंगलादेशसँग व्यापार घाटा छ । नेपालबाट निर्यात बढाएर व्यापार घाटालाई न्यूनीकरण गर्ने विषयमा वार्ता केन्द्रित हुने वाणिज्य सहसचिव नवराज ढकालले बताए । ‘वार्तामा बंगलादेशको बंगलाबन्ध नाकाको स्तरोन्नतीमा पनि नेपालले जोड दिइने छ, दुई देशका नागरिकलाई एकअर्को देशमा भ्रमणमा जाँदा भिषा सहजै उपलब्ध गराउने विषयमा पनि छलफल हुन्छ,’ ढकालले भने ।