इलेक्ट्रिक सवारीको गन्तव्य बन्दै बुटवल, शशीला मोटर्सले सुरु गर्यो देशकै ठूलो चार्जिङ स्टेशन
काठमाडौं । शशीला मोटर्सले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको नेपालकै सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । एकै पटक १४ वटा गाडी चार्ज गर्न सकिने १००० केभीए क्षमताको यो स्टेशन देशमा हालसम्मको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार हो । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मंगलबार उक्त चार्जिङ स्टेशनको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै प्रमुख खाँणले विद्युतीय सवारीको प्रवर्द्धन समयको माग भएको उल्लेख गर्दै यस्ता पूर्वाधारहरूले नेपाललाई हरित यातायाततर्फ डोर्याउने विश्वास व्यक्त गरे । 'निजी क्षेत्रको यस्तो अग्रसरता दिगो विकासमा टेवा पुर्याउने अत्यन्त सराहनीय पहल हो,' उनले भने । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हाल नेपालमा इभीको प्रयोग उल्लेख्य रूपमा बढेको भए पनि आवश्यक चार्जिङ पूर्वाधारको अभाव रहेको जनाउँदै, उक्त कमीको समाधानका लागि आफूहरूले यो पहल गरेको जानकारी दिए । 'यो स्टेशन केवल व्यवसायिक दृष्टिकोणले नभई वातावरणीय उत्तरदायित्वका हिसाबले पनि स्थापना गरिएको हो,' खतिवडाले भने । उनका अनुसार यो स्टेशनमार्फत इलेक्ट्रिक बस, कार, भ्यान लगायत सबै प्रकारका इभीहरूले द्रुत, भरपर्दो र प्राविधिक रूपमा सुरक्षित सेवा पाउनेछन् । उनले निकट भविष्यमा देशका अन्य क्षेत्रहरूमा पनि यस्तै स्टेशन स्थापना गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायीका अध्यक्ष दधिराम खरेलले इभी सञ्चालनका लागि चार्जिङ स्टेशन र वर्कशप अपरिहार्य रहेको उल्लेख गर्दै, आफ्नो संस्थाको निरन्तर प्रयासमा शशीला मोटर्सले यो परियोजना कार्यान्वयनमा ल्याएको बताए । शशीला मोटर्सको यो पहलकदमीले विद्युतीय सवारी क्षेत्रको भविष्य निर्माणमा निजी क्षेत्रको भूमिकालाई बलियो बनाउनुका साथै नेपालको वातावरणीय दिगोपन र स्वच्छ यातायात प्रणालीमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
नेपालमा आयो पेट्रोल र ब्याट्री दुवैबाट चल्ने सस्तो ईभी, मूल्य १० लाख ९० हजार रुपैयाँ
काठमाडौं । नेपाली बजारमा मिनी इलेक्ट्रिक भेहिकल (ईभी) खोज्नेहरूका लागि अर्को एक आकर्षक विकल्प थपिएको छ । हिमालयन ईभी प्रालिले १० लाख ९० हजार रुपैयाँमै खरिद गर्न सकिने ‘एनयू सनसाइन’ नामक नयाँ मिनी कार सार्वजनिक गरेको हो । सहरी यात्राका लागि उपयुक्त यो कार पेट्रोल र ब्याट्री दुवैबाट चल्ने कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले जानकारी दिए । उनका अनुसार यो मिनी कारमा अन्य प्रतिस्पर्धी मोडलमा जस्तो ३ ढोकाको सट्टा ५ वटा ढोका दिइएको छ, जसले पछाडिको सिटमा बस्न सहज बनाउँछ । चालकसहित ४ जनाले आरामले यात्रा गर्न सक्ने यो कारको लम्बाइ २९५० एमएम, चौडाइ १५२० एमएम र उचाइ १६२० एमएम रहेको छ । यसमा १९३० एमएमको ह्वीलवेस, १२ इन्चको ह्वील र १५० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले सामान्य नेपाली सडकमा चलाउन सहज बनाउँछ । ब्याट्री, मोटर र पर्फर्मेन्स एनयू सनसाइनमा १० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ६ किलोवाट–आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक जडान गरिएको छ । यसको अधिकतम गति ४८ किलोमिटर प्रतिघण्टा रहेको छ भने एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यो कारको सबैभन्दा पृथक विशेषता भनेको यसमा रहेको पेट्रोल जेनेरेटर हो । यात्राको क्रममा ब्याट्री सकिएमा चिन्ता लिनु पर्दैन । कारमा उपलब्ध ४ लिटरको फ्युल ट्याङ्क भएको पेट्रोल जेनेरेटर चलाएर ब्याट्री चार्ज गर्न र गाडीलाई निरन्तरता दिन सकिन्छ। यसले गर्दा यो कारलाई ’रेन्ज एक्सटेन्डर’ हाइब्रिड गाडी पनि भन्न सकिने कम्पनीले जनाएको छ । यात्रुको सुरक्षा र सुविधाका लागि कारको चारै चक्कामा डिस्क ब्रेक, रियर ह्वील ड्राइभ, इन्डिपेन्डेन्ट सस्पेन्सन र एयर कन्डिसन (एसी) जस्ता विशेषताहरू दिइएको छ । वारेन्टी र अफर कम्पनीले मोटरमा २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ३०,००० किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी प्रदान गरेको छ । लान्समेन्ट अफरअन्तर्गत कम्पनीले एक वर्षको निःशुल्क बीमा (इन्स्योरेन्स), एक वर्षको सडक कर (रोड ट्याक्स) र स्क्र्याच कुपनमार्फत १० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट सुविधाहरू पनि दिने घोषणा गरेको छ ।
क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो 'फ्याक्ट्री-इन-फ्याक्ट्री' मोडेलमा ब्याट्री उत्पादन
काठमाडौं । क्याटलले चीनको चोंगकिंगस्थित सेरेस सुपर कारखानामा कोश-देखि-प्याक प्रविधियुक्त दुईवटा अत्याधुनिक ब्याट्री प्याक उत्पादन लाइनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यससँगै क्याटलले चोंगकिंगमा पहिलो उत्पादन केन्द्र स्थापना गरेको छ भने ‘कारखानाभित्र कारखाना’ (फ्याक्ट्री-इ-फ्याक्ट्री) सहकार्य मोडेल पनि पहिलोपटक प्रयोगमा ल्याएको छ । उक्त मोडेलले प्रमुख सामग्री आपूर्तिकर्ताहरूलाई सवारी उत्पादन स्थलमै सिधा समावेश गर्ने सुविधा दिन्छ । सेरेस कम्पनीका अनुसार यस प्रणालीले २० मिनेटभन्दा कम समयमा निर्देशन अनुसार उत्पादन लाइन अनुकूलन गर्न सक्नेछ र हजारौँ सामग्रीहरू दैनिक रूपमा आपूर्ति भई सोही दिनको उत्पादन प्रक्रियामा प्रयोग गर्न सकिनेछ । क्याटलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. रोबिन जेङले भने, 'यो उत्पादन लाइन अहिलेसम्मकै सबैभन्दा उन्नत, स्वचालित र डिजिटल प्रविधि प्रयोग गरिएको लाइन हो ।' सेरेस र क्याटलबीचको रणनीतिक साझेदारी सन् २०२२ को अगस्टमा भएको सम्झौताबाट सुरु भएको हो । उक्त सम्झौता अनुसार, अबको पाँच वर्षसम्म ‘आइटो’ ब्रान्डका सबै सवारी साधनहरूमा क्याटलको ब्याट्री मात्र प्रयोग गरिनेछ । नयाँ आइटो मोडेलहरूमा क्याटलको ‘किलिन’ ब्याट्री पनि समावेश गरिने बताइएको छ । ‘आइटो’ ब्रान्ड सेरेस र हुवावेबीचको सहकार्यमा बनेको हो, यद्यपि यो औपचारिक रूपमा संयुक्त लगानी भने होइन । २०२४ को जुलाईमा, सेरेसले हुवावेबाट आइटोको ट्रेडमार्क र पेटेन्टहरू २५ लाख युआन (झण्डै ३४.४ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो। हुवावे अझै पनि आइटो गाडीहरूका लागि मुख्य सामग्री तथा सफ्टवेयर आपूर्तिकर्ताको रूपमा सक्रिय छ र बिक्री सञ्जाल मार्फत आइटो सवारीहरूको बिक्री गरिरहेको छ । ‘आइटो’ ले आफूलाई नयाँ पुस्ताको लक्जरी सवारी ब्रान्डको रूपमा चिनाउँदै आएको छ । हालसम्म आइटो ब्रान्डअन्तर्गत ७ लाखभन्दा बढी सवारी बिक्री भइसकेका छन् । चोंगकिंगस्थित सेरेस सुपर कारखाना आइटोको मुख्य उत्पादन केन्द्र हो । पावर ब्याट्री बजारमा क्याटलको पकड अझै बलियो देखिएको छ । चीन अटोमोटिभ पावर ब्याट्री उद्योग नवप्रवर्तन गठबन्धनका अनुसार, सन् २०२५ को जनवरीदेखि मे महिनासम्म चीनभर २४१.४ गिगाव्याट घण्टा ९न्ध्ज० पावर ब्याट्री प्रयोगमा आएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५०.४ प्रतिशतले वृद्धि हो । यद्यपि गत वर्षको तुलनामा क्याटलको बजार हिस्सा ३.८३ प्रतिशत अंकले घटेको देखिएको छ । पावर ब्याट्रीबाहेक, क्याटल र सेरेसबीचको सहकार्य शून्य-कार्बन लक्षित परियोजनासम्म पनि विस्तार भएको छ । सन् २०२५ को अप्रिलमा, दुबै कम्पनीले सेरेस सुपर कारखानामा ५० मेगाव्याट घण्टा क्षमताको सौर्य ऊर्जा परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेका छन् । यो ऊर्जा प्रणाली राष्ट्रिय ग्रिडमा जडान गरिएको छ र यसले कारखानालाई हरित ऊर्जा आपूर्ति गर्न मद्दत पुर्याउनेछ ।