भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने,  २ अर्ब डलरको लगानी योजना

काठमाडौं । भियतनामी विद्युत् सवारीसाधन (ईभी) निर्माता भिनफास्ट हाल भारतमा थप उत्पादन सामग्रीहरू स्थानीय रूपमा प्राप्त गर्न विभिन्न कम्पोनेन्ट निर्माता कम्पनीहरूसँग वार्तामा रहेको छ । यो जानकारी कम्पनीका एसिया क्षेत्रका प्रमुख कार्यकारी अधिकारी फाम सन्ह चाउले सोमबार दिएका हुन् । भारतको दक्षिणी सहर थूत्तुकुडीमा भएको नयाँ कारखाना उद्घाटनका अवसरमा रोयटर्ससँग कुरा गर्दै चाउले भने, ‘हामी हाम्रै केही पुराना सप्लायर्सहरूसँग कुराकानी गरिरहेका छौं, तीमध्ये केहीले आफ्नो उत्पादन भारतको औद्योगिक पार्कमा सार्न चाहेका छन् ।’ विश्वव्यापी निर्माण कम्पनीहरू चीनमा बढ्दो भू-राजनीतिक तनाव, व्यापार प्रतिबन्ध र लागतको कारणले वैकल्पिक उत्पादन स्थलको खोजीमा छन् र भारत विकल्पको रूपमा अगाडि आइरहेको छ । ‘हामीसँग भियतनामकै एक प्लास्टिक उत्पादन कम्पनीबाट पनि सोधपुछ आएको छ, जसले आफ्नो उत्पादन भारतमा सारेर हाम्रो कार उत्पादनलाई सहयोग गर्न चाहन्छ, उनले भने । तर उनले ती कम्पनीहरूको नाम खुलाएका छैनन् । भिनफास्टले यो महिना भारतका सोरूमहरूमा कारहरू उतार्ने योजना बनाएको छ । मूल्य र खास सार्वजनिक मिति भने हालसम्म खुलाइएको छैन । गत वर्ष भिनफास्ट र भारतको तमिलनाडु राज्यबीच २ अर्ब डलरसम्मको लगानीका लागि सहमति भएको थियो, जसमा पहिलो पाँच वर्षभित्र ५० करोड डलर लगानी गर्ने योजना छ । उक्त प्लान्टले वार्षिक रूपमा १ लाख ५० हजारवटा गाडी उत्पादन गर्न सक्ने अनुमान गरिएको छ । चाउले भनेअनुसार भारतस्थित उक्त प्लान्टले श्रीलङ्का, नेपाल र मौरिससबाट अर्डर प्राप्त गरिसकेको छ । यी सुरुवाती अन्तर्राष्ट्रिय अर्डरहरूकै कारण भारतको प्लान्ट निर्यातमुखी उत्पादन केन्द्र बन्ने दिशामा अग्रसर छ । तर हालको ध्यान भारतकै उपभोक्ताको माग पुरा गर्नेमा केन्द्रित रहने उनले बताए । भिनफास्टले सन् २०२५ मा २ लाख कार विश्वव्यापी रूपमा आपूर्ति गर्ने लक्ष्य राखेको छ । कम्पनीले यस वर्षको पहिलो छ महिनामा ७२ हजार १०० युनिट गाडी बिक्री गरिसकेको छ, जुन मुख्यतः भियतनाममै भएको हो । भिनफास्टको स्थापना २०१७ मा भिनग्रुपले गरेको हो । यसको संस्थापक र मुख्य लगानीकर्ता फाम न्हाट भुओङ हुन्, जो भिनग्रुपका अध्यक्ष र भियतनामका धनाढ्य व्यक्ति हुन् । फाम न्हाट भुओङ र भिनग्रुपले भिनफास्टमा हालसम्म १७ अर्ब लगानी गरिसकेका छन्। गाडीको पहिलो कारखाना हाई फोङ्ग नजिक क्याट हाई टापुमा बनाइएको थियो ।

दीपल एस–०७ अब एलएफपी ब्याट्रीमा, खरिदमा ५ वर्षसम्म सबै खर्च कम्पनीले बेहोर्ने

काठमाडौं । दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी एस–०७ आईसीए सार्वजनिक गरेको छ । कम्पनीले ‘५ वर्षे शून्य ओनरशिप कस्ट’ को अभूतपूर्व योजनासहित गाडी सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार ग्राहकले ५ वर्षसम्म गाडीको स्वामित्वसँग सम्बन्धित कुनै पनि खर्च बेहोर्नु पर्दैन । यो योजनाअन्तर्गत ५ वर्षको अवधिका लागि सवारी बीमा, सडक कर, आवधिक मर्मतसम्भार र चार्जिङका लागि आवश्यक बिजुलीसमेत निःशुल्क उपलब्ध गराइने प्रबन्ध निर्देशक सिकारियाले जानकारी दिए ।  ‘नयाँ दिपल एस-०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो,’ सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ इभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’   यो अफरले ग्राहकलाई खरिदपछिको खर्चको चिन्ताबाट पूर्ण रूपमा मुक्त गराउने उनको दाबी छ । गाडीमा (लिथियम आइरन फस्फोट) एलएफपी ब्याट्री राखिएको छ । यसअघि गाडी एनसीएम ब्याट्रीमा मात्र उपलब्ध थियो । सिकारियाले दीपलले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति जनाएको र ग्राहकको विश्वास जित्न सफल भएको बताए ।  कार्यक्रममा ब्राण्ड एम्बेसडर पारस खड्काले यो गाडी चलाउँदाको आफ्नो अनुभव सुनाएका थिए ।  याे गाडी ‘निबोला ब्लू’ रङमा उपलब्ध छ ।  सार्वजनिक गाडीमा ६८.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक जडान गरिएको छ । जसले डब्लुएलटीपी मापदण्डअनुसार एक पटकको फुल चार्जमा ४१० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।  यसअघि बजारमा उपलब्ध एलएफपी ब्याट्रीयुक्त संस्करणमा ६६.८ किलोवाट–आवरको ब्याट्री थियो र त्यसको रेन्ज पनि समान ४१० किलोमिटर नै थियो । ब्याट्री प्रविधि र रङको विकल्पबाहेक गाडीको डिजाइन, फिचर र अन्य प्राविधिक पक्षमा कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एस–०७ फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक फिचरका कारण नेपाली बजारमा स्थापित भइसकेको मोडल हो । कुपे–स्टाइल बनावट, फ्रेमलेस ढोका, २० इन्चको टायर, र क्वालकम स्न्यापड्रागन ८१५५ चिपसेटयुक्त १५.६ इन्चको विशाल सनफ्लावर टचस्क्रिन यसका मुख्य आकर्षण हुन् ।  साथै एडीएएस २.५, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, ३६०–डिग्री क्यामेरा र एक्टिभ इमर्जेन्सी ब्रेकिङजस्ता सुरक्षा फिचरले यसलाई आफ्नो सेग्मेन्टमा अब्बल बनाएको छ । गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  ‘शून्य ओनरशिप कस्ट’ योजना  यो योजनाले ग्राहकलाई गाडी खरिदपछिको ५ वर्षसम्म आर्थिक भारबाट पूर्ण रूपमा मुक्त गर्ने लक्ष्य राखेको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधाहरू दिएको छ । जसमा ५ वर्षको पूर्ण बीमा (अटोप्लस), ५ वर्षको वार्षिक सवारी कर, ५ वर्षको निःशुल्क सर्भिसिङ र आवश्यक पार्टपुर्जा, ५ वर्षसम्म गाडी चार्ज गर्न लाग्ने बिजुलीको खर्च समेत दिएको छ । यसका साथै कम्पनीले ५ वर्षसम्म गाडी चार्ज गर्दा लाग्ने इन्धन (बिजुली) को खर्चसमेत तिरिदिने घोषणा गरेको छ । कम्पनीका अनुसार दुर्घटना नभएको खण्डमा ग्राहकले ५ वर्षसम्म गाडीमा एक पैसा पनि खर्च गर्नुपर्ने छैन ।

बीवाईडी पहिलोपटक फोर्च्युन ग्लोबल १०० भित्र, ९१औं स्थानमा प्रवेश

काठमाडौं । चिनियाँ अटो कम्पनी बीवाईडी सन् २०२५ का लागि सार्वजनिक फोर्च्युन ग्लोबल ५०० सूचीमा ९१औं स्थानमा उक्लिन सफल भएको छ । अघिल्लो वर्ष १४३औं स्थानमा रहेको बीवाईडी यसपटक पहिलोपटक शीर्ष १०० मा प्रवेश गर्न सफल भएको हो ।  सन् २०२२ देखि लगातार फोर्च्युनको सूचीमा पर्दै आएको बीवाईडीका लागि यो ऐतिहासिक उपलब्धि बनेको छ । गत वर्ष बीवाईडीले चार प्रमुख उद्योगको कारोबारमा उल्लेखनीय वृद्धि गर्दै ७ खर्ब ७७ अर्ब चिनियाँ युआन ९९१४ खर्ब रुपैयाँ० आम्दानी हासिल गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढी हो । न्यू इनर्जी भेहिकल क्षेत्रमा बीवाईडीले नयाँ कीर्तिमान स्थापित गर्दै ४२ लाख ७० हजार युनिट बिक्री गर्‍यो, जुन ४१ प्रतिशतको वार्षिक वृद्धि हो । यही द्रुत व्यापारिक वृद्धिका कारण कम्पनीले तेस्रो वर्ष लगातार विश्वकै सर्वाधिक बिक्री गर्ने कम्पनीको उपाधि रक्षा गरेको छ। बीवाईडीका अनुसार यस्तो प्रगति प्रविधिमा आधारित इनोभेसन र आरएन्डडी मा गरिएको लगानीका कारण सम्भव भएको हो । सन् २०२४ मा कम्पनीले ५४ अर्ब २० करोड युआन अनुसन्धान तथा विकासमा खर्च गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत बढी हो । बीवाईडीले उत्पादन गरेको ब्लेड ब्याट्री, ड्युफा इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम र मेगावाट फास्ट चार्जिङजस्ता प्रविधिहरू त्यही लगानीको उपज हुन् । बीवाईडीले सन् २०२५ लाई ग्लोबलाइजेसन र लोकलाइजेसन विस्तारको वर्ष बनाउँदै १ करोड ३० लाख युनिट सवारी उत्पादन गर्ने महत्त्वपूर्ण उपलब्धि पनि हासिल गर्‍यो । चीनबाहिर मात्र ४ लाख ७० हजार युनिट पेसेन्जर भेहिकल र पिकअप ट्रक बिक्री भएका छन् । कम्पनीले युरोपमा मुख्यालय स्थापना गर्दै हङ्गेरी, ब्राजिल र थाइल्याण्डमा उत्पादन र डेलिभरी प्रक्रिया विस्तार गरिसकेको छ । हाल बीवाईडीका न्यू इनर्जी सवारीसाधनहरू ११२ देशमा उपलब्ध छन् । कम्पनीले ‘कुल द अर्थ बाइ १ डिग्री सेल्सियस’ भन्ने दिगो लक्ष्यसहित प्रविधि, नवप्रवर्तन र अन्तर्राष्ट्रिय उपस्थितिमा आधारित रूपमा भविष्यतर्फको यात्रा जारी राख्ने प्रतिबद्धता जनाएको छ ।