नाडा अटो शोमा सेरेसको विशेष अफर
काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्रीएक्स अफर ल्याएको छ । अफरअन्तर्गत तीन वर्षको सम्पूर्ण बीमा कभरेज, तीन गुणासम्मको नगद छुट र बुकिङ रकमलाई तीन गुणा बराबरको फाइदा जसले खरिद प्रक्रियामा थप लाभ दिने कम्पनीले जनाएको छ । ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुनेछ । सेरेसले कोरालापास हुँदै ४ हजार ६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ । यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो ।
भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन
काठमाडौं । डेल्टा अटोकर्पले पिपलबोट, बौद्धमा भदौ ३ गते भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ । कम्पनीले ग्राहकहरुलाई बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । डेल्टा अटोकर्प, भेष्पा अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता, नयाँ सेन्टरमार्फत स्कुटरको मर्मत, स्पेयर पार्ट्स र सेवा सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउने बताए । 'हामी हाम्रा ग्राहकहरुलाई सहज, भरपर्दो र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यो नयाँ सर्भिस सेन्टरले यस प्रतिवद्धतालाई अझ प्रभावकारी बनाउनेछ, ' कम्पनीको विज्ञप्तिमा उल्लेख छ । नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र अनुभवी प्राविधिकहरु उपलब्ध छन्, जसले ग्राहकहरुको स्कुटरको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछ । यसले ग्राहकहरुलाई समय बचत र सुविधा दुवै प्रदान गर्ने कम्पनीको विश्वास छ ।
सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताएका छन् । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको बिक्री ४० प्रतिशत बढ्ने आँकलन गरिएको उनको भनाइ छ । यसले बजारमा सुधारको संकेत दिएको ढकालले बताए । पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहे पनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उनको भनाइ छ । सरकारले अबलम्बन गरेका नीतिगत कारणहरुले गर्दा निजी क्षेत्र चलायमान हुन थालेको ढकालले बताए । सरकारले निजी क्षेत्रको सुझाव अनुसार ३० भन्दा बढी कानुनको सुधार गरेको उनको भनाइ छ । अध्यक्ष ढकालले सुधार गरिएको ऐन अनुसार नियममावली बनाउन आवश्यक रहेको बताए । बजेट र मौद्रिक नीति पनि निजी क्षेत्रको सुझावअनुसार नै आएको उनले बताए । बैंकमा प्रशस्त लगानीयोग्य रकम भएको, व्याजदर एकल अंकमा रहेको र कानून पनि निजी क्षेत्रमैत्री रहेको कारण लगानीको लागि योग्य वातारवण बनेको उनले बताए । अध्यक्ष ढकालले सवारी साधनको लागि सरकारले लागू युरो ६ मापदण्ड सकरात्मक रहे पनि केही समय होल्ड गर्न आग्रह गरे । युरो ६ मापदण्ड लागू गर्ने निणय एकाएक भएकोले कतिपय व्यवसायीहरु समस्यामा परेको उनले बताए । अर्डरमा पठाइसकेका, उत्पादन भइसकेका र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरुको नेपालकै लागि बनाइएको सवारीसाधनहरु अलपत्र बनेको उनको भनाइ छ । यसको लागि छोटो समय दिएर अर्डर भइसकेका सवारी साधनहरु ल्याउन दिनुपर्ने उनको माग छ ।