यसकारण युवा माझ लोकप्रिय छ मोटरहेडको टेक्केन २५०

काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले टेक्केन २५० लाई केही वर्षअघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढी रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ । यो मोटरसाइकल लोकप्रिय हुनुको खास कारणमा डुअल–स्पोर्टस् जर्न र मूल्यलाई मान्न सकिन्छ । डुअल–स्पोर्टस मोटरसाइकल भन्नाले अनरोड र अफरोड दुवैमा राम्रो पर्फम गर्न सक्ने मोटरसाइकल भन्ने बुझिन्छ । चाइनिज कम्पनी फ्यूगो पावर्सले बनाएको मोटरहेड टेक्केन २५० मा हालसालै पावर थोरै अपग्रेड गरेर बजारमा ल्याइएको छ । अहिले यसको २२३ सीसी ओयलकल्ड इञ्जिनले १८ बीएचपीको पावर र १७ एनएमको टर्क प्रोड्यूस गर्छ । ६–स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलको पावर–टु–वेट रेसियो पनि राम्रो भएको हुनाले गर्दा राम्रो एक्सलिरेशन र टपस्पिड समेत दिएको छ । ८२० मिलिमिटर सीट हाइट रहेको यो मोटरसाईकल हेर्दा हेभी देखिनुका साथै एडभेञ्चर मोटरसाइकलको लुक्सँग पनि मेल खान जान्छ । एलईडी हेडलाईट दिइएको यो टेक्केन २५० मा डुअल–एक्जस्ट, फ्रन्टमा अपसाइड–डाउन फर्क र रियरमा भने स्विङ्गआर्म एसिस्टेड मोनोशक दिइएको छ । यी मजबुत अपसाइड–डाउन फर्कले मोटरसाइकललाई जस्तोसुकै शक पनि एब्जर्व गर्न मद्दत गर्छ भने यसले मोटरसाइकलको लुक्स पनि बढाएको छ । १७ इञ्च स्पोक व्हिल्स दिइएको यो मोटरसाइकलको टायरहरु फ्रन्टमा ११०/९० र रियरमा १३०/८० सेक्सन छन् । दुईओटै व्हिलहरुमा डुअल–पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको यो मोटरसाइकलमा एबीएस चाहिँ दिइएको छैन । त्यसैगरी, मोटरहेडले यो मोटरसाइकलमा २८ मिलिमिटर डायमिटर भएको फ्याट ह्याण्डलवार दिएको छ जसले अफरोडिङ्गको वेला मोटरसाइकल पल्टेर ह्याण्डल बाङ्गिने समस्याबाट छुट्कारा दिएको छ । कम्पनीले नेपाली बजारमा यो मोटरसाइकलको मुल्य तीन लाख ९२ हजार रुपैयाँ तोकेको छ ।

डीएसएम ग्लोबलले ‘बीएक्स५ एसयुभी’ भित्र्याउँदै, यस्ता छन् विशेषता

काठमाडाैं । डिएसएम ग्लोबल प्रालिले जर्मन एसयुभी ब्रान्ड बगवार्डका एसयुभीहरु नेपाल भित्र्याउने भएको छ । नेपालका लागि बगवार्डको आधिकारिक विक्रेता डिएसएम ग्लोबलले बगवार्ड ग्रुपको क्षेत्रीय उत्पादक तथा वितरक गो ब्रिमेन मोटर्समार्फत् नेपालमा बगवार्ड ब्रान्डको बीएक्स५ एसयुभी भित्र्याउन लागेको हो जुन मलेसियाबाट फ्ल्याग अफ भइसकेको छ । गो ब्रिमेन मोटर्स मलेसिया र आसपासको क्षेत्रको लागि बगवार्ड ग्रुप एजी (जर्मनी र चीन)को एसेम्ब्लिङ तथा वितरण पार्टनर हो । गो ब्रिमेन मोटर्सले मलेसियाको केदाहमा बगवार्ड अटोमोबाइलको एसेम्ब्ली प्लान्ट संचालन गर्दै आएको छ जहाँबाट उत्पादित एसयुभीहरु म्यान्मार, श्रीलंका, बंगलादेश, मरिसस र अन्य मुलुकमा निर्यात हुन्छ । ‘काठमाडौंमा रहेको डीएएम ग्लोबलसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गरिरहेका छौं । हामीले डीएसएम ग्लोबललाई नेपालमा बगवार्ड अटोमोबाइलको सेल्स, सर्भिस, स्पेयर्स र एसेसोरिजको आयात तथा प्रबद्र्धन तथा विक्रीवितरणका लागि नियुक्त गरेका छौं । हामीलाई विश्वास छ, अटो क्षेत्रमा दुई दशकको अनुभव भएको डीएसएम ग्लोबलले एफ्टर सेल्सलाई पनि उत्तिकै प्राथमिकतामा राख्नेछ,’ गो ब्रिमेन मोटर्सको आधिकारिक वेबसाइटमा लेखिएको छ । डीएसएम ग्लोबलले पहिलो चरणमा बगवार्ड बीएक्स५ नेपालमा भित्र्याउन लागेको हो । ४.४ मिटर लामो, १.८ मिटर चौडा र १.६ मिटर अग्लो यो फाइभ-सिटर १.४ लिटर र २.० लिटर गरी दुई वटा पावरट्रेन अप्सनमा उपलब्ध छ । १.४ लिटरको फोर सिलिन्डर टर्बो इन्जिनले ५,५०० आरपीएममा १५० पीएस पावर र ४,५०० आरपीएममा २५० एनएम टर्क उत्पादन गर्छ भने २.० लिटर टर्बो इन्जिनले ५,५०० आरपीएममा २२४ पीएस र ४,५०० आरपीएममा ३०० एनएम टर्क उत्पन्न गर्छ । दुवै इन्जिनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी, २.० लिटर इन्जिन अल ह्विल ड्राइभमा उपलब्ध छ । यसमा एसईडी डीआरएलसहितकाके अटोमेटिक हेलोजिन हेडल्याम्प, एलईडी टेललाइट, किलेस इन्जिन, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्ट, डुअलजोन एअर कन्डिसनिङ, ४.२ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले र क्र्युज कन्ट्रोल रहेका छन् । दुवै भेरियन्टमा ६ वटा एअरब्याग, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम र हिल डिसेन्ट कन्ट्रोल रहेका छन् । जर्मन प्रिमियम ब्रान्ड आउडी, मर्सिडिज र बीएमडब्लुसँग तुलना हुने बगवार्डको स्थापना जर्मनीमा पहिलो विश्वयुद्धलगत्तै सन् १९१९ मा जर्मनीको ब्रिमेनमा भएको थियो । जर्मनीको आर्थिक पुनर्जागरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बगवार्डले हाल सबै सेग्मेन्टका अटोमोबाइल उत्पादन गर्नुका साथै बस, वारुणयन्त्र, पानीजहाज र हवाइ उपकरणको समेत निर्माण गर्छ । सन् १९५५ देखि १९५८ को समयलाई स्वर्णयुगको स्वर्णयुग मानिन्छ जसबेला उसले ५१ भन्दा बढी विश्व रेकर्ड कायम गरेको थियो । केही समयका लागि सुस्ताएको यो ब्रान्ड सन् २००८ पछि फेरि लयमा फर्किएको थियो । पारम्परिक जर्मन डिजाइन र इन्जियिरिङको उत्तम नमुना यसका उत्पादनमा देखिन्छ । हाल बगवार्डले ‘बी-जी-डब्लु’ नीति अबलम्बन गर्दै आएको छ जसको पूर्ण रुप ‘ब्रान्ड हेरिटेज’ (ब्रान्ड सम्पदा), जर्मन इन्जिनियरिङ र ‘वल्र्डवाइड डिस्ट्रिब्युसन’ (विश्वव्यापी वितरण) हो । उसको लाइनअपमा अहिले लाइनअपमा बीएक्स३, बीएक्स५, बीएक्स६, बीएक्स७, बीएक्स७ आईटीएस (इलेक्ट्रिक) र बीएक्सटीएस ७ लिमिटेड एडिसन रहेका छन् ।

लकडाउनमा कार घरमै थन्कियो ? यस्ता सावधानी अपनाउँदा बिग्रिन पाउँदैन

सरकारले अहिले लगातार १५ दिनसम्म गरेको लकडाउनका कारण हामी आफ्नो घरमै बस्न बाध्य छौं । लकडाउन फेरी लम्बिन्छ या लम्बिँदैन भन्ने सन्दर्भमा अहिले नै केहि भन्न सकिने अवस्था पनि छैन । हामी घरमै बसेपछि हाम्रो कार पनि घरमै रहने भयो । यसरी कारलाई लामो समयसम्म नकुदाइकन घरमै राख्नुपर्दा त्यसमा विभिन्न किसिमका खराबीहरु देखा पर्न सक्दछन् । आज तपाईंलाई यस लेख मार्फत् कारलाई कण्डिसनमा राख्ने वारेमा केही सुझाव दिन खोजिएको छ ताकी भविष्यमा कार कुदाउनु पर्दा तपाईंले कुनैपनि किसिमको झन्झट बेहोर्नु नपरोस् । बाहिरी भागको सफाई गर्ने कारको बाहिरी भागलाई राम्रोसँग सर्फ पानीले धुनुहोस् । यदि कारलाई सफा नगरीकनै राखिन्छ भने बाहिरी धुलोहरु कारको रंगसँग टाँसिन पुग्नेछन् । याद राख्नुहोस्, कारलाई धोइसकेपछि एउटा सुक्खा कपडाले राम्रोसँग पुछ्नु पर्ने हुन्छ । इन्टेरियरको सफाई गर्ने हामी अक्सर कारमा चाउचाउ, चक्लेट, बिस्कुट लगायतका कुराहरु राख्ने गर्दछौं । यसरी राखिएका कुराहरु पोखिएका वा छरिएका पनि हुन सक्छन् । छरिएका चिजहरु कुनाकाप्चामा पसेर कारका एसोसरिजहरु जाम हुन सक्छन् । त्यसैले लामो समय सम्म कारलाई थन्क्याएर राख्नुपरेको खण्डमा कारको इन्टेरियरको सफाइमा ध्यान पुर्याउनु राम्रो हो । ग्यारेजमा पार्क गर्नें वा कभरको प्रयोग गर्ने आफ्नो कारलाई हावाहुरी र धुलोबाट जोगाउन जरुरी हुन्छ । त्यसैगरी अहिलेको विदामा केटाकेटीहरु पनि घरमै खेल्ने कुद्ने भएको हुनाले कारमा कोर्न पनि सक्छन् । यी सम्पूर्ण समस्याबाट जोगाउनका लागि आफ्नो कारलाई ग्यारेजमा पार्क गर्ने गर्नुहोस् । यदी घरमा ग्यारेज छैन भनेपनि कार कभरको प्रयोग गरेर यस्ता समस्याहरुबाट मुक्ति पाउन सकिन्छ । ह्याण्ड ब्रेक नलगाउने भिरालो बाटो वा भिरालो जमीन बाहेकका अवस्थामा लामो समयसम्म कार पार्क गर्नुपरेको खण्डमा ह्याण्ड ब्रेकको प्रयोग नगर्नुहोस् । यदि गरिन्छ भने ब्रेक प्याड वा ब्रेक शू लक हुने सम्भावना रहन्छ । ब्याट्रीलाई सुरक्षित राख्ने लामो समयसम्म कार प्रयोग नगरिँदा ब्याट्रीमा समस्या आउन सक्छ । त्यसैले बढिमा पनि ४ देखि ५ दिनमा कारको इञ्जिन १५ मिनेटसम्मका लागि अन राख्नुहोस् । यसरी इञ्जिन अन भइरहँदा कारको ढोकाहरु खुला राख्न नबिर्सिनुहोस् । यसका साथै इञ्जिन अन भएकै वेलामा कारका लाइटहरु, एसी, वाइपरलगायत चिजहरु पनि चेक गर्नुहोस् । ग्रिप र राइड क्वालिटीमा ध्यान दिने यदि कारलाई एउटै स्थानमा लामो समयसम्म राखिन्छ भने टायरमा फ्ल्याट स्पट विकसित हुन सक्छन् । यसले कारको ग्रिप र राइड क्वालिटीमा नकारात्मक असर गर्दछ । यस्तो समस्याबाट बच्नका लागि केहि दिनको अन्तरालमा कारलाई थोरै अघि पछि लैजाने गर्नुपर्दछ ताकि टायरको अवस्थामा परिवर्तन आओस् ।