निजी सवारी साधनको कर्जा सीमा ९० प्रतिशत पुर्याउन नाडाको माग
काठमाडौं । नाडाले निजी प्रयोजनका सवारी साधनमा प्रवाह हुने कर्जा सीमा ९० प्रतिशत पुर्याउन माग गरेको छ । नाडाले उक्त कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने हालको व्यवस्थालाई पुर्नविचार गरी यसलाई वृद्धि गरी ९० प्रतिशत पुर्याउन नेपाल राष्ट्र बैंकसमक्ष माग गरेको हो । यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले वृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुने नाडाकोे विश्वास रहेको छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकले हायर पर्चेज लोनको सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने अवस्थामा मात्रै ऋण दिनु पर्ने बर्तमान व्यवस्था खारेज गर्न माग गरेको छ । यस व्यवस्थालाई खारेज गरी अटोमोवाइल क्षेत्रलाई चलायमान बनाउँदा सरकारी राजश्वमा पनि बढोत्तरी हुने हुने भएकाले सो व्यवस्था गर्न नाडाले माग गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ५ सदसीय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँगको छलफलमा उक्त माग राखेको थियो । नाडाले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आर्थिक बर्ष २०७७/७८ को मोद्रीक नीतिले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पार्ने प्रभाव र त्यसको समाधानबारे छलफल गरेको थियो । छलफलकोमा अटोमोवाइल व्यवसायीहरुलाई राहत हुने किसिमबाटै मोद्रीक नीति ल्याइने गर्भनर अधिकारीले बताए । साथै, सवारी साधन पैठारीकर्ताहरुले अब सवारी साधनहरुको एसेम्वलिङ्क उद्योग खोल्नेतर्फ पहल गर्न अनुरोध गरेका छन् । त्यसका लागि आवश्यक नीति तथा कार्यक्रमहरु समेत ल्याइने उनले आश्वासन दिए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, सचिव अनुपकुमार बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति समेतको उपस्थिति रहेको थियो ।
एम्पियर इलेक्ट्रिक स्कुटर लकडाउन लगत्तै नेपाल आउँदै, अनलाइन बुक गर्न सकिने
काठमाडौं । ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियर लकडाउन लगत्तै नेपालमा आउने भएको छ । भारतीय बजारमा २० प्रतिशतभन्दा बढी मार्केट शेयर रहेको एम्पियर इलेक्ट्रिकलाई डीएसएम ग्लोबलले नेपाल ल्याउन लागेको हो । ‘नेपालका लागि एम्पियरको डिलर नियुक्त हुन पाउँदा हामी खुसी छौं,’ डीएसएम ग्लोबलका प्रबन्ध निर्देशक देवस्वरुप महर्जनले भने, ‘हामीलाई विश्वास छ, विद्युतीय सवारीसाधनमा ग्रिभ्स कटनले हासिल गरेको दक्षता र अनुभवबाट हामी वातावरणमैत्री र दीर्घकालीन परिवहनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सक्नेछौं ।’ ‘नेपाल सरकारले अहिले ‘न्यु एन्ड क्लिन इनर्जी भेहिकल’लाई प्रोत्साहन दिने नीति लिएको छ । तसर्थ ग्रिभ्स कटन र हामीबीचको साझेदारी ग्राहक र वातावरण दुवैका लागि फाइदाजनक हुनेछ,’ उनले भने, ‘हामी पनि नेपाल सरकारले जारी गरेको निर्देशनको पालना गरिरहेका छौं र लकडाउन हटेपछि मात्र स्कुटरको डेलिभरी थाल्नेछौं । तथापी हामी अहिले नै अनलाइन बुकिङ लिन थालिसकेका छौं ।’ कोभिडपछि छोटो यात्राका लागि इलेक्टिक स्कुटरहरुको प्रयोग बढ्ने अपेक्षा गरेको पनि उनले बताए । अझ यी स्कुटरमा इन्धन र मर्मत खर्च नगन्य हुने भएकाले इलेक्टिक स्कुटरको लोकप्रियता उच्च हुने अनुमान गर्न सकिन्छ । पेट्रोल पम्पहरुमा भीडभाड गरी लाइन बस्न नपर्ने, पैसाको आदान प्रदान हुने र सामाजिक दूरी पनि कायम हुने भएकाले इलेक्ट्रिक स्कुटर बढी सुरक्षित हुनेछन् । साना तथा मझौला व्यापारव्यवसायहरुका लागि त इस्कुटर बरदान समान हुनेछन् । यी स्कुटरहरुको अपेरेटिङ र रनिङ कस्ट भएका कारण इ-कमर्शमा डेरिभरी स्कुटरका रुपमा बढी प्रयोग हुने अपेक्षा डिएसएम ग्लोबलले गरेको छ । एम्पियर इलेक्ट्रिक भारतमा तीव्र गतिमा विस्तार भइरहेको इभी ब्रान्ड हो जसले पारम्परिक पेट्रोल स्कुटरको तुलनामा ८५ देखि ९० प्रतिशतसम्म खर्च बचाउँछ । सार्वजनिक भएको छोटो समयमै भारतमा ५० हजारभन्दा बढी एम्पियर इलेक्ट्रिक स्कुटर विक्री भइसकेका छन् भने दुई सयभन्दा बढी आउटलेट स्थापना भइसकेको छ । सन् २००८ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स कटन लिमिटेडले खरिद गरेको थियो । डीएसएम ग्लोबलले हाललाई रियो र जिल मोडेलका एम्पियर इस्कुटर नेपाल ल्याउने तयारी गरेको छ । यी दुवै लिथियम-आयन ब्याट्री-पावर्ड छन् । एम्पियर जिल भारतमा निकै चर्चित हाई स्पिड मोडेल हो । यसको टप स्पिड ५५ किलोमिटर प्रति घन्टा र माइलेज ७५ किलोमिटर रहेको छ । यसमा डिजिटल डिस्प्ले, पोर्टेबल ब्याट्री प्याक जस्ता फिचर छन् । यसमा ६० भोल्ट पर ३० एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र १२०० वाट को मोटर जडान गरिएको छ । एम्पियर रियो इन्ट्रि-लेभल स्कुटर हो जसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा र माइलेज ५५ देखि ६५ किलोमिटर रहेको छ । ४८ भोल्ट पर २४ एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र २५० वाटको मोटर रहेको छ ।
तीन लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार, मासिक किस्ता १४ हजार मात्रै
काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सक्नेछन् । यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौ सय १३ रुपैयाँ देखि र कमर्शियल मोडेल खरिद गर्दा मात्र ९ हजार सात सय ३४ रुपैयाँ देखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ। फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुनेछ । यसमा फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुने कम्पनिले जनाएकाे छ । यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध रहेनेछ ।