अटो क्षेत्रलाई आतंकित पारिएको व्यवसायीको आरोप, नाडाले बोलायो आपतकालिन बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्न दिएको निर्देशनले आफूहरु आतंकित बनेको प्रतिक्रिया अटो व्यवसायीहरुले दिएका छन् । सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीले राष्ट्र बैंकको निर्देशनले व्यवसायीहरु हतोत्साही भएको बताए । उनले राष्ट्र बैंकले अटो व्यवसायीलाई आंतकित पार्ने काम गरेको आरोप पनि लगाए । ‘गाडी आयातमा गरिएको कडाईको विषयमा आधिकारिक रुपमा पत्र पाइसकेका छैनौं, राष्ट्र बैंकले निर्देशन दिएको भन्ने हामीले विभिन्न मिडियाबाट सुनेका छौं, सो निर्देशन सुन्नासाथ हामी व्यवसायीहरु आतंकित बनेका छौं, आयात नै बन्द गर्ने राष्ट्र बैंकको निर्णयबाट देश डुब्न लागेको संकेत बुझिएको छ, मान्छेहरुलाई आतंकित बनाएपछि उनीहरुले आफूसँग भएको रकम बैंकमा जम्मा नगर्ने, भएको निकाल्ने गर्छन्, त्यसले झनै समस्या चर्कन सक्छ,’ उनले भने । महासचिव उप्रेतीले राष्ट्र बैंकले दिएको निर्देशनले देश डुब्न लागेको संकेत दिएको भन्दै व्यवसायीहरुले देश छोड्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘बैंकले फाइनान्स गर्न सक्छ भने गाडी आयातमा किन कडाई, राष्ट्र बैंकसँग पैसा भएर नै बैंकले फाइनान्स गरेर दिन खोजेको हो कि, देशमा आयात हुने अटोमोबाइल क्षेत्र मात्र हो र, अन्यमा कडाई नगरी किन अटोमोबाइल क्षेत्रमा मात्र कडाई, देशमा अटोमोबाइल नै भएन भने अतिआवश्यक वस्तुको ढुवानी कसरी हुन्छ, जबसम्म अटोमोबाइल क्षेत्र चलायनमान हुँदैन तबसम्म देश समृद्ध बन्न सक्दैन्,’ महासचिव उप्रेतिले भने । बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक तथा नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालकी सदस्य यमुना श्रेष्ठ अटो क्षेत्रमा मात्र राष्ट्र बैंकले कडाई गर्नुका पछाडी सन्देह रहेको बताइन् । आर्थिक रुपमा अप्ठेरो अवस्था सिर्जना भएकोले आयातमा कडाई गरिएको भए गाडीसँगै अन्य वस्तुको आयातमा पनि कडाइ हुनुपर्ने उनको तर्क छ । ‘मैले सुनेअनुसार नुन तेल बाहेक सबै वस्तुको आयातमा कडाई गर्ने भनिएको रहेछ, अब सबै क्षेत्रमा कडाई गरिएको भए अटो व्यवसायी बोल्ने कुरै भएन, यदि मैले सुनेभन्दा फरक भयो भने नाडाबाट प्रतिवाद गछौँ’, उनले भनिन । राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्न दिएको निर्देशन पश्चात नाडाले मंगलबार दिउँसो कार्य समिति बैठक बोलाएको छ । सो बैठकमा राष्ट्र बैंकले दिएको निर्देशकका विषयमा पनि छलफल हुनेछ । यसअघि बैंकले विदेशी मुद्राको संचिति कम भएको भन्दै गाडी आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । यस्तै बैंकले विभिन्न ४७ वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो ।

हिरो मोटोकर्पद्वारा तीन उत्पादनहरू नेपाली बजारमा सार्वजनिक

काठमाडौं । हिरो मोटोकर्पले नेपालीहरूको माग र बजार प्रतिस्पर्धालाई ध्यान दिँदै तीन नयाँ उत्पादन नेपाली बजारमा लञ्च गरेको छ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी गरी तीन उत्पादन नेपाली बजारमा पहिलो पटक सार्वजनिक गरेको हो । हिरो मोटोकर्पको बीएस–छैठौं उत्पादनहरूमा एक्सेन्स प्रबिधि जस्ता सुविधा उपलब्ध रहेका कारण ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । नयाँ उत्पादनहरु हिरो मोटोकर्पका अनुसार एक्सपल्स २०० फोरभीकफ मूल्या चार लाख ५० हजार, ग्लामर एक्सटेकको मूल्य दुई लाख ७६ हजार र म्यास्ट्रो एज १२५ को मूल्य दुई लाख ६६ हजार रुपैयाँ पर्छ । हिरो मोटोकर्पले बहुप्रतिक्षित सवारी अनुभव, एक्सट्रायल्स, काठमाडौमा आयोजना गरी उत्साही चालकहरुका एक अद्धितिय एवं विशेष अवसर प्रदान गर्दैछ । कार्यक्रम भक्तपुरको सल्लाघारीमा २०७८ साल चैत्र २० देखि २३ गतेसम्म सञ्चालन हुनेछ । एक्सट्रायल्सको साथसाथै कम्पनीले एक्सचेन्ज कार्निभल समेत आयोजना गर्दैछ । हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालिलाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्ट्सका बिक्री केन्द्रहरूबाट सेवा प्रदान गरिरहेको छ ।

१५ प्रतिशतसम्म बढ्यो सार्वजनिक सवारीको भाडा, कुनमा कति ? (सूचीसहित)

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सवारीसाधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर १५ प्रतिशतसम्म बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको स्वीकृतिमा विभागले यात्रुवाहक सवारीमा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५ प्रतिशतसम्म भाडादर बढाएको हो । सरकारले पछिल्लो पटक गत असार २८ गते सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको विभागले जनाएको छ । वैज्ञानिक भाडा निर्धारणका १३ सूचक छन् जसमध्ये पेट्रोलियम पदार्थले ३५ प्रतिशत ओगट्छ । अहिले विभागले अन्तर प्रदेश चल्ने सवारीसाधनको भाडादर समायोजन गर्न लागेको हो । संविधानअनुसार दुई वा त्योभन्दा बढी प्रदेशमा चल्ने राष्ट्रिय लामो दूरीको सवारीसाधनको भाडादर सरकारले निर्धारण गर्छ । प्रदेशभित्र चल्ने सवारीसाधनको प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीसाधनको भाडादर सम्बन्धित सरकारले निर्धारण गर्ने व्यवस्था छ । लामो रुटमा भाडादर बढेपछि स्वतः मध्यम र स्थानीय रुटमा चल्ने सवारीसाधनमा भाडादर बढ्ने गर्छ । यस्तो छ नयाँ भाडादरको सूची [pdf id=321637]