उत्तर प्रदेशमा विद्युतीय गाडी खरिद गर्दा २० लाख रुपैयाँसम्म अनुदान, रोड ट्याक्स नलाग्ने
एजेन्सी । छिमेकी मुलुक भारतको उत्तर प्रदेशले विद्युतीय सवारी साधनको खरिद गर्दा खरिदकर्तालाई २० लाख सम्म अनुदान उपलब्ध गराउने भएको छ । यसका साथै सवारी साधन खरिद गरेको पहिलो ३ वर्ष शतप्रतिशत रोड ट्याक्स र रजिष्ट्रेसन शुल्क नलाग्ने भएको छ । यदी विद्युतीय सवारी साधन सो राज्यभित्रै बनाइएको छ भने सो सवारी साधनमा ५ वर्षसम्म कर छुट हुने बताइएको छ । बुधबार मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा भएको क्याबिनेट बैठकले ‘विद्युतीय वाहन निर्माण र गतिशीलता नीति २०२२’ स्वीकृत गरेको छ । सोही नीतिअन्तर्गत उक्त राज्यले विद्युतीय सवारी साधनको खरिदमा भारी मात्रामा अनुदान दिने निर्णय गरेको हो । सो नीति अगाडि बढाउँदा राज्यमा ३० करोड बराबरको लगानी हुने र १० लाख नागरिकले रोजगारी प्राप्त गर्ने अपेक्षा राखिएको छ । कुन विद्युतीय सवारी साधन खरिद गर्दा कति अनुदान ? प्रदेश सरकारले राज्यभित्र खरिद गरिएका विद्युतीय सवारी साधनको फ्याक्ट्री मूल्यमा १५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । जसमा २ पांग्रे पहिलो २ लाख विद्युतीय सवारी साधनमा ५ हजार, तीन पांग्रे पहिलो ५० हजार विद्युतीय सवारी साधनमा १२ हजार र चार पांग्रे पहिलो २५ हजार विद्युतीय सवारी साधनमा १ लाख रुपैयाँ अनुदान खरिदकर्ताले पाउने छन् । सो सँगै सरकारले प्रदेशमा खरिद गरिएका पहिलो ४ सय संख्याका विद्युतीय बसमा २० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । त्यस्तै सरकारले विद्युतीय ढुवानी सवारी साधनको पहिलो १ लाख संख्यामा कारखाना मूल्यको १० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने जनाएको छ । प्रदेश सरकारको सो नीति राज्यमा पर्यावरणमैत्री यातायात प्रणाली विकास गर्न मात्रै नभएर उत्तर प्रदेशलाई विद्युतीय सवारी, ब्याट्री र सोसँग सम्बन्धित उपकरहरुको निर्माणको लागि विश्वव्यापी हब बनाउन ल्याएको जनाइएको छ । नयाँ विद्युतीय सवारी नीति–२०२२ मा तीन तहको प्रोत्साहन प्रणालीको व्यवस्था गरिएको छ । जसअन्तर्गत उपभोक्ताले विद्युतीय सवारीसाधन खरिद गर्न, विद्युतीय सवारी साधनको निर्माण, चार्जिङ र ब्याट्री स्वापिङ सेवाको समेत व्यवस्था गरिएको छ । साथै सो नीतिले इभी ब्याट्री र इभी निर्माणमा लगानी आकर्षित गर्न विशेष महत्व दिएको छ । नयाँ नीति अन्तर्गत, प्रति परियोजना अधिकतम १,००० करोड रुपैयाँ लगानी भएका न्यूनतम पहिलो दुई अल्ट्रा मेगा ब्याट्री परियोजनाहरूका लागि ३ प्रतिशतको दरमा पुँजीगत अनुदान दिइनेछ। जसमा राज्यमा न्यूनतम १ गिगावाट क्षमताको ब्याट्री उत्पादन प्लान्ट स्थापना गर्न १५ सय करोड वा सोभन्दा बढी लगानी गरिनेछ ।
विद्धुतीय गाडी बनाउन होण्डा र सोनीबीच साझेदारी, टेस्लालाई टक्कर दिने लक्ष्य
काठमाडौं । जापानका दुई प्रख्यात कम्पनीहरु होण्डा र सोनी मिलेर विद्युतीय गाडी उत्पादन गर्ने भएको छन् । विश्वभर विद्युतीय गाडीको बजार विस्तार भैरहेको बेलामा जापानीज गाडी निर्माता कम्पनी होण्डाले विद्युतीय सामाग्री उत्पादनमा विश्वभर ख्याती कमाएको सोनीसँग साझेदारी गरेको हो । होण्डा मोटर कम्पनी र सोनी कर्पको संयुक्त लगानीमा सोनी होण्डा मोविलिटी इको स्थापना भएको छ । यस कम्पनीले पहिलो उद्योग दक्षिण अमेरिकामा खोल्ने र सन् २०२६ को दोस्रो त्रैमासमा उपभोक्तासम्म गाडी पुर्याउने घोषणा पनि गरेको छ । यस नयाँ गाडीको बुकिङ २०२५ को पहिले त्रैमासबाट नै शुरु हुने बताइएकाे छ । क्यालिफोर्निया सरकारले लिएको इभीमैत्री नीति र नियामकिय सुविधा राम्रो भएको जनाउँदै जापानी कम्पनीहरुले अमेरिकामा उद्योग बनाउन लागेका हुन् । क्यालिफोर्नियाबाट सन् २०३० सम्म ८ लाख कार बजारमा पठाउने कम्पनीको लक्ष्य रहेको छ । नयाँ गाडीमा विलकुलै नयाँ प्रविधि हुने, सुविधा र मनोरञ्जनको हिसावले संसारकै उत्कृष्ट गाडी बनाउने घोषणा पनि कम्पनीले गरेको छ । यो गाडी सफ्टवेयर प्रविधिमा आधारित हुने र टेस्ला वा एप्पल जत्तिकै उच्च भ्यालुको ब्राण्ड बन्ने कम्पनीको विश्वास छ ।
हुण्डाई टेष्ट ड्राइभ गर्ने शेरबहादुर र हस्तमायाले वर्ल्ड कप हेर्न जान पाउने
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाई टेस्ट ड्राइभ, वाच फिफा वर्ल्ड कप २०२२ को विजेता घोषणा गरेको छ । हुण्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले मंगलबार उक्त योजनाको विजेता घोषणा गरेको हो । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत शेरबहादुर जिसी र हस्त माया गुरुङ्ग विजेता छनौट भएका छन् । दुई विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले आफ्नो नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।