सिंहदरबारभित्र उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने
काठमाडौं । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । प्रमुख निकाय भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा चार्जिङ स्टेशन भए पनि तर कम क्षमता थिए । त्यसको अभाव परिपूर्तिका लागि सरकारले ३० किलोवाट क्षमताका पाँच वटा चार्जिङ स्टेशन निर्माण हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको ‘इनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले सो परियोजना निर्माण गर्न लागेको हो । आयोजना हेर्दै आउनु भएका सिनियर डिभिजनल इञ्जिनियर शालिकराम भण्डारीका अनुसार ३० किलोवाट क्षमताका डिसी चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । मन्त्रालय र आसपासका स्थानमा ती स्टेशन निर्माण हुनेछन् । पछिल्ला दिनमा विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएपनि चार्जिङ स्टेशन निर्माणको क्रमले अपेक्षित गति लिन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशन पनि अधिकांश अन्तिम चरणमा पुगेका छन् । कूल ५१ वटा त्यस्ता स्टेशन प्राधिकरणले निर्माण गरेको हो । त्यसमा १२ वटा सञ्चालनमा आएको र ३२ वटाको जडान सम्पन्न भएको छ । सिंहदरबारभित्रै द्रूत गतिको स्टेशन निर्माण भएपछि विद्युतीय सवारी साधनको प्रयोगमा थप अभिवृद्धि हुने सिडिई भण्डारीले जानकारी दिए । चार्जिङ स्टेशन निर्माणका लागि मन्त्रालयले आज बोलपत्रमार्फत् प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । स्टेशन निर्माणका लागि निजी वा सार्वजनिक संस्थाले आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
पुस १० देखि १२ गतेसम्म टाटाको मेगा सर्भिस क्याम्प हुँदै, आकर्षक छुट पाइने
काठमाडाैं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ गतेसम्म मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे हाे । कम्पनीकाे सेवा केन्द्र काठमाडाैंमा बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका छन् भने त्यसैगरी उपत्यका बाहिरका पोखरा, इटहरी, मेची, विरगंज, ढल्केबार, हेटौडा, धनगढी र नेपालगंजमा रहेका छन् । क्याम्पमा टाटाका गाडीहरु जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीले साे अवसरमा म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश: १८, १५ र १८ प्रतिशत छुट दिनुकाे साथै टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि नि:शुल्क प्रदान गर्ने जनाएकाे छ । कम्पनीकाे अनुसार यसको अतिरिक्त क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ ।
रात्रिबस नयाँ बसपार्कमा मात्रै पार्किङ गर्न पाइने
काठमाडौं काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ। ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरि मुलुकको सङ्घीय राजधानी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र पार्किङ गर्नुपर्ने व्यवस्था गरिएको बताए। ‘ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाई ओभर निर्माणसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारी साधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र संचालन गर्नुपर्ने व्यवस्था मिलाएका हौं,’ प्रवक्ता भट्टले भने। यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, गोङ्गबु, माछापोखरी लगायतका क्षेत्रमा पार्किङ गरिँदै थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढङ्गले सेवा संचालन गर्ने गरि यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए। ‘रात्रिबसलाई नयाँ बसपार्कबाट संचालन गर्नेबारे यातायात व्यवसायीलाई कुनै आपत्ती छैन। रातको समयमा व्यवस्थितरुपमा चढाउने र झार्ने गर्नसके यात्रुलाई समेत सहज हुन्छ’, उनले भने। अध्यक्ष स्वाँरले कार्यालयको समयबाहेकका अन्य समयमा चक्रपथ वरपर सहज ढङ्गले चढाउने र झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले ट्राफिक जरिवना रकम पाँच सयबाट बढाएर एक हजार पाँच सय बनाएको भन्दै आपत्ति पनि जनाएका छन्। यातायात क्षेत्रलाई व्यवस्थितरुपमा संचालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने उनको भनाइ थियो। वि सं २०५६ मा काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबिच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर काठमाडौं महानगरपालिका-२६ गोङ्गबुमा १६१ रोपनी क्षेत्रफलमा संचालनमा ल्याइएको नयाँ बसपार्कमा दुई हजारभन्दा बढी सवारी साधन अटाउँछन्। उक्त बसपार्कबाट हाल देशभर ६० भन्दा बढी जिल्लामा सवारी साधन आवतजावत हुँदै आएका छन्।