गल्फ लुब्रिकेन्टको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न
काठमाडौं । नेपाल ल्युब आयलको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न भएको छ । उक्त सर्भिस क्याम्प पुस ९ गते १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो । स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क बडी चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो । सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहार स्वरूप गल्फको टिशर्ट, किरिङ्ग र पेन प्रदान गरिएको थियो । क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारीक ओइएम सेल्स पार्टनर राजेश ट्रेडर्स एण्ड सप्लायर्सको संयुक्त आयोजनामा भएको हो । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त कम्पनी हो नेपाल ल्युब आयल ।
हुन्डाइ कन्स्ट्रक्सनका डेढ करोड हेभि एक्जाभेटर ९० लाखसम्म पाइने
काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत व्यवसायीहरूले कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सक्नेछन् । कम्पनीकाे अनुसार व्यवसायीहरूले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा एक करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्ने कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार उक्त सेकेन्ड ह्यान्डका उपकरणहरू ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका छन् । यस्तै, कम्पनीले ‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टि दिएकाे छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एच एम सि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको नि: शुल्क मर्मत गर्ने व्यवस्था पनि गरेकाे छ । ग्राहकले यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौं, हेटौँडा र बुटवल सोरुमबाट खरिद गर्न सक्ने कम्पनीले बताएकाे छ । हुन्डाइ कन्स्ट्रक्सन नेपालको हेभि निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनि हो ।
टाटाका नक्कली पार्टस् पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक ढुङ्गेअड्डाबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौंको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ । निज व्यक्तीले लामो समय देखि भारतबाट अबैध रुपमा नक्कली पार्टसहरु झिकाई बिक्री वितरण गर्दै आईरहेको जनगुनासो ब्यापक रुपमा पाईएको हुँदा सो न्यू प्रकाश अटो ट्रेडर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा निज ब्यक्तीले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ । रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा निजले बताएका छन् । प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।