सवारी साधनलाई विलासिता होइन, अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले सवारी साधन विलासिता नभई अत्यावश्यक वस्तुको रहेको बताएका हुन् । ‘अटोमोबाइल्स क्षेत्र विलासिताको होइन, आवश्यकताको क्षेत्र हो, हिजो मोबाइल फोन चलाउन विलासिताको वस्तु मानिन्थ्यो, तर आज अत्यावश्यक भएको छ, सडक पूर्वाधारमा गुड्ने सवारी साधन विलासिताको वस्तु होइन,’ उनले भने । पछिल्लो समय नाडाले धेरै राम्रो काम गर्दै आएको बताउँदै अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधनको प्रयोगमा द्रुत गतिमा अगाडि बढ्नु पर्छ बताए । ‘विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ, यो राम्रो विषय हो, यसले उर्जा खपतसँगै वैदशिक मुद्रा पनि बचत गर्न टेवा पुग्छ, यसमा हामी द्रुत गतिमा अगाडि बढ्नु पर्छ,’ अर्थमन्त्री पौडेलले भने । साथै, लोडसेडिङको अन्त्य भएसँगै अब विद्युतीय सवारी साधनको चाप बढोस् भनेर प्रोत्साहन नीति बनाएका उनले सुझाए । त्यस्तै, अर्थतन्त्रका बाह्य क्षेत्रमा सकारात्मक संकेत देखिएको समेत उनले बताए । ५ वर्षभित्र विद्युतीय सवारीको संख्या ५० प्रतिशत पुग्ने नाडाको अनुमानमा अर्थमन्त्री पौडेलले यसमा अझै बढ्नु पर्ने बताएका छन् । त्यस्तै, राजश्व परामर्श समितिले नाडाको संस्थाको सुझाव मान्ने बताउँलै उनले नेपाल थोत्रा विद्युतीय सवारी साधनको डम्पिङ नबनाउन आग्रह गरेका छन् । साथै, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र उद्घाटन हुने चरणमा रहेको र यसको भरपुर प्रयोग गर्न उनले व्यवसायीलाई आग्रह गरेका छन् ।
जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, सडकमा हजारौंको मृत्यु हुँदा कोही बोल्दैनन् : शौरभ ज्योती
काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसनका पूर्व अध्यक्ष शौरभ ज्योतीले सडकमा हजारौं मान्छेको ज्यान जाँदा पनि कोही नबोल्ने गरेको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसियसनको ४६औं वार्षिक साधारणसभामा बोल्दै ज्योतीले जहाज दुर्घटना हुँदा सरकारले गम्भिर रुपमा चासो दिने गरेको भएपनि सडकमा मृत्युु हुनेका बारेमा भने कुनै वास्ता नगरेको बताएका हुन् । ‘जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, अन्तर्राष्ट्रियस्तरमा समेत चासोको विषय बन्छ तर, सडक दुर्घटनामा परेर हजारौंको मृत्युु भइरहेको हुन्छ, कसैले चासो दिँदैनन्,’ उनले भने, ‘सडक सुरक्षाको विषयमा पनि सोच्न आवश्यक छ, सडकमा हजारौंको मृत्युु हुँदा किन कोही बोल्दैनन् ?’ उनले सडकमा हुने दुर्घटना न्यूनीकरणमा सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए । पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख रहेकाले बैंक तथा वित्तीय संथाहरुको ब्याजदर घट्ने अपेक्षा राखेको उनको भनाइ छ । ‘अहिले विस्तारै अर्थतन्त्र सुधार भइरहेको छ, तरलता पनि सहज हुँदैछ, अब ब्याज घटाउनुपर्छ,’ उनले भने । कार्यक्रममा बोल्दै उनले अटो मोबाइल्स क्षेत्रको दीर्घकालीन योजना के हो ? भनेर प्रश्न समेत गरे । नाडाले आफूले गर्नुपर्ने कामको स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे । ‘हामी सरकारलाई मात्रै यो भएन त्यो भएन भनेर प्रश्न गर्छौं तर हामीले कसरी काम गरिरहेका छौं, हामीले १० वर्ष भित्र यति जनालाई रोजगारी दिन्छौं भनेर किन योजना बनाउन सक्दैनौं ?’ उनले भने । अटोमोबाइल्सको विकासका लागि योजना बनाएर जानुपर्ने उनले बताए । साथै, अटो मोबाइल्स विलासिताको वस्तु नभएर आवश्यक वस्तु रहेको बताए ।
टाटा जेनभोल्टज जेनेरेटरमा उपभोक्ताको आकर्षण बढ्यो
काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरले छोटो समयमा नै उपभोक्ताहरूको मन जित्न सफल भएको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरू गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको छ । कम्पनीका अनुसार टाटा जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक वृद्धि भइरहेको छ । विभिन्न प्रयोजनको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढीभन्दा बढी उपभोक्ताहरूमा यसप्रति आकर्षण देखिरहेको कम्पनीको भनाइ छ। टाटा मोटर्सको अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ। सिपिसिबी २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाँउछ । यो उत्पादनमा सुरक्षित एवम् टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता समेत रहेको कम्पनीको भनाइ छ। सिप्रदी ट्रेडिङका ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारीले भने, ‘टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रीत हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गरिरहेको छ।’ नेपालको पूर्वाधार एवम् औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेकोमा विश्वस्त रहेको समेत उनले बताए । निर्माण एवम् पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरूलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ ।