अर्थतन्त्रले सुधारको बाटो लिइसक्यो, सेयर मार्केटलाई भने सेफ ल्यान्डिङ गराउनु पर्छ- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पैसा नचलेर अर्थतन्त्र नचलेको बताएका छन् । मंगलबारदेखि भृकुटीमण्डपमा सञ्चालन भएको १५ औं संस्करण ‘नाडा अटो शो २०२३’ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पैसा नभएर अर्थतन्त्र नचलेको हैन, पैसा नचलेर अर्थतन्त्र नचलेको हो,’ उनले भने- ‘खर्च गर्नेले खर्च गरौं, सरकारी परियोजना पनि अगाडि बढाऔं ।’ ‘अर्थतन्त्रमा समस्या छ तर सुधारको संकेत देखिइरहको छ,’ उनले थपे- ‘अहिले जग्गा कित्ताकाटको समस्या समाधान भएको छ, विस्तारै अब जग्गाको बिक्री बढ्छ, अटो क्षेत्र पनि चलायमान हुन्छ, आयात पनि बढ्न थालेको छ, निर्यात पनि विस्तारै बढाउँदै जाने छौं ।’ निजी क्षेत्र नै अर्थतन्त्रको वाहक भएकाे उनले बताए । सामाजिक र आर्थिक पूर्वाधारमा निजी क्षेत्र आउन हिच्किचाए पनि अन्य क्षेत्रमा निजी क्षेत्रको निकै ठूलो भूमिका रहेको बताउँदै अर्थमन्त्री डा. महतले सरकारले निजी क्षेत्रको भूमिकालाई उच्च प्राथमिकता दिएको बताए । कार्यक्रममा बोल्दै उनले सेयर मार्केटमा समस्या आएकोले यसलाई सेफ ल्यान्डिङ गर्न जरुरी रहेको बताए । सरकारले ईभीलाई पनि प्राथमिकता दिएको बताउँदै उनले ईभीमा लागेको कर पनि धेरै नबढ्ने बताए । विगतमा लक्जरीको रूपमा हेरिने अटोमोबाईल क्षेत्रबाट अहिले सबैभन्दा बढी राजश्व संकलन भएको उनको भनाई छ । त्यस्तै, उनले चार्जिङ् स्टेशनलाई पनि विस्तार गर्दै लाने र अटोका सोरूमलाई मर्ज गर्नुपर्ने अवस्था देखिएको बताए ।
सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनामा एक लाखसम्मको नगद छुट पाउने
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो । यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस पाउन सकनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्ने जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछ । नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।
बीवाईडीको ‘डल्फिन’ ईभी गाडी सार्वजनिक, मूल्य ३९ लाख ८० हजार रुपैयाँ
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ गाडी सार्वजनिक गरेको हो । कार्यक्रममा बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले डल्फिन गाडी नेपाली बजारमा लोकप्रिय बन्ने अपेक्षा लिएको बताइन् । ‘डल्फिन फिचरका हिसाबले आफैमा सुविधा सम्पन्न गाडी हो, यसको मूल्य पनि थोरै छ, यो गाडी सबैले रुचाउने आशा लिएका छौं,’ उनले भनिन् । यस्तै, ब्राण्ड एम्बेसडर कलाकार हरिवंश आचार्यले डल्फिन गाडीमा आधुनिक प्रविधिको फिचर भएकाले सुविधा सम्पन्न रहेको बताए । ‘ बीवाईडी गाडी कुदाउनदेखि सुविधाका हिसाबले पनि उपयुक्त छ, वातावरणीय हिसाबले पनि ईभीका गाडी उपयुक्त हुने भएकाले अब भविष्य ईभीकै छ,’ उनले भने । कम्पनीका अनुसार डल्फिन ईभी गाडीमा ४४.९ किलोवाट आवर (युनिट) को ब्याट्री जडान भएको छ भने ७० किलोवाट क्षमताको मोटर राखिएको छ । लिथियम-आयन ब्याट्री जडान भएको यस गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ । नयाँ डिजाइन र आकर्षक लुक्स रहेको यो गाडी धेरैको रोजाइमा पर्ने अपेक्षा कम्पनीले राखेको छ । सो गाडीको ग्राउन्ड क्लियरेन्स भने १८५ मिलिमिटर रहेको छ । गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्ड जस्ता सुविधाहरू रहेका छन् । कम्पनीले सो गाडी ४ वटा रङमा उपलब्ध रहेको बताएको छ । गाडीमा १६ इन्चको अलोय ह्विल छ भने ह्विलबेस २ हजार ७ सय एमएम रहेको छ । त्यस्तै, विभिन्न विशेषता रहेको यो गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ ।