गोगोरो स्कुटर नेपालमा, ब्याट्री चार्ज होइन चेन्जको सुविधा
काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी भित्र्याएको छ । गोगोरोले स्मार्ट स्कुटरसँगै नयाँ चार्जिङ प्रविधि पनि भित्र्याएको हो । नेपालमा गोगोरोको आधिकारिक साझेदार नेबुला इनर्जीले गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजीका साथै बीटूबी मोडलको एक स्कुटर नेपाल भित्र्याएको हो । ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने टेक्नोलोजी विकास गरिसकेको छ । गोगोरोले काठमाडौं लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित एक कार्यक्रमका बीच ब्याट्री स्वापिङ र नयाँ स्कुटर गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर लन्च गरेको छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी दिर्देशक यांग चेनले संयुक्त रूपमा गोगोरोको क्रसओभर जीएक्स२५० स्कुटर सार्वजनिक गरेका हुन् । यो स्कुटरमा ७ किलोवाट क्षमताको हाई लोड पावर भएको मोटर उपलब्ध छ । यसमा डेलिभरीका लागि प्रयोग हुने एसाेसरिज जडान गर्न मिल्ने तथा १७० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । यसको लोडिङ क्षमता २०० केजी रहेको कम्पनीले बताएको छ । यो स्कुटरको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । स्कुटर लन्च गर्दै प्रबन्ध निर्देशक घिसिङले चार्जिङमा स्वाप टेक्नोलोजीले विद्युतीय दुई पांग्रेको व्यापार ह्वात्तै बढाउने बताए । ब्याट्री स्वाप टेक्नोलोजीले ५ प्रतिशतको बजार छिट्टै ५० प्रतिशत पुर्याउने प्रबन्ध निर्देशक घिसिङकाे विश्वास छ। घिसिङले दुई पांग्रेमा मात्रै नभइ चार पांग्रेमा पनि स्वाप टेक्नोलोजी आवश्यक रहेको बताए । नेपालमा चारपांग्रे बजार हिस्सा ५० प्रतिशत बढी भए पनि दुई पांग्रेको ५ प्रतिशत मात्रै रहेको छ। नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नेपाल ऊर्जा खपत गर्ने मुलुकमा तल रहेको बताउँदै ऊर्जा खपत बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । यस्तै नेबुला इनर्जीका प्रबन्ध निर्देशक साहायु गोयलले नेपालमा दुई पांग्रे विद्युतीय सवारीको ५ प्रतिशतमात्रै बजार हिस्सा हुनुको मुख्य कारण चार्जिङको समस्याको रहेको बताए । ‘ब्याट्री स्वापिङ इनर्जी प्रविधिले उपभोक्ताले सामना गर्ने समस्या समाधान गर्छ’, उनले भने, ‘अब घरमा ५–६ घण्टा स्कुटर चार्ज गर्नुपर्दैन। चार्जिङ स्टेसनमा गई ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न सकिन्छ। ब्याट्री स्वापिङ इनोभेटिभ तरिका हो ।’ नेबुलाका प्रबन्ध निर्देशक गोयलले काठमाडौं उपत्यकामा पहिलो चरणमा २/३ किलोमिटरको दुरीमा स्वाप चार्जिङ स्टेसन राख्ने योजना रहेको सुनाए । कम्पनीले लाजिम्पाटस्थित आनन्द भवन र त्रिपुरेश्वरको मायाराम भोलाराम पेट्रोलपम्पमा चार्जिङ स्टेशन राखेको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ । नोबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकका लागि गोगोरो स्मार्ट स्मुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउने बताएको छ । स्कुटरहरू दसैंदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ । नेबुला इनर्जिले फुडमाण्डु, जुमजुम, अलोइ नेपाल र गलि म्याम जस्ता कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ । उक्त स्कुटर तथा ब्याट्री स्वाप स्टेशन अनावरण कार्यक्रममा ४० यूनिट स्कुटरसमेत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । गोगोरोले १० वर्षअघि ताइवानमा स्वाप प्रविधि बजारमा ल्याएको थियो । हालसम्म ६ लाख गोगोरो दुईपांग्रे विश्वभर बिक्री भएका छन् ।
टीभीएस अपाचेको आरटीआर १६० सार्वजनिक, मूल्य तीन लाख बढी
काठमाडौं । टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको न्यु-जेन इन्जिनले बेस्ट-इन-क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर-टु-वेट रेसिओमा वृद्धि ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०२४ टीभीएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनाएको छ । यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्टएक्सोनेक्टटीएम सहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । आरटीआर ओभरस्क्वायर न्यु-जेन इन्जिनद्वारा संचालित, २०२४ टीभीएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल-इन्जेक्टेड १५९.७ सीसी सिंगल-सिलिन्डर, दुई-भल्भ ओटा एसओएचसी एयर-कूल्ड इन्जिन रहेको छ । यसको पावर हाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार डबल-क्रयाडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच-स्पीड गियरबक्स र २७० एमएम रोटो-पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ । नेपालमा २०२४ टीभीएस अपाचे आरटीआर १६०- म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ । जसको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
विस्तृत सेवाको साथ सीएफ मोटो र जीहोका बाइक र स्कुटर लन्च
काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटर र बाइक लञ्च गरेको छ । नेपालका लागि सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले इलेक्ट्रिक स्कुटर र बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो । यूरोप र एशियाली देशमा अत्यधिक रुचाईएको सीएफ मोटोका एनके २५० फन, एसआर २५० फन र एनके ४५० मोडल र जीहोका एई६ प्लस तथा एई६ प्लस लङ्ग रेन्ज मोडलका इलेक्ट्रिक स्कुटर र सीटी स्पोट्र्स इलेक्ट्रिक बाइक ऋषि ट्रेड सेन्टरले नेपालीमा बजारमा ल्याएको हो । सन् १९८९ मा स्थापित सीएफ मोटोका १ सय देश र ३ हजार बढी बिक्री तथा बिक्रीपश्चात् सेवा प्रदान गर्ने थ्रीएस सोरूम छन् । विश्व प्रतिष्ठित सीएफ मोटो ब्राण्डले इलेक्ट्रिक उद्योगमा आफ्नो सेवा विस्तार गरेसँगै छोटो समयमै बलियो उपस्थिती जनाउन सफल भएको छ । नेपालमा रिलायन्स ग्रुपले वितरकको पूर्ण जिम्मेवारी लिएसँगै सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटरले आक्रामक व्यवसाय गर्ने अपेक्षा कम्पनीले गरेको छ । रिलायन्स ग्रुपका डाइरेक्टर ऋषि अग्रवाल आफ्नो ग्रुपको व्यापारिक इतिहासमा एक महत्वपूर्ण क्षण रहेको बताउँछन् । बाइक तथा स्कुटर पारखीहरूलाई दुवै प्रकारको साधनको साथै सेवालाई फराकिलो रुपमा विस्तार गर्ने उनले बताए । आन्तरिक र बाह्रय पर्यटनमा बाइकको विशेष योगदान रहने र इलेक्ट्रिक मोबिलिटी मार्फत स्वच्छ वतावरणमा टेवा पुग्ने उनको भनाइ छ । कम्पनीले सीएफ मोटोका एमटी४५० र एनके३०० जस्ता उच्च क्षमता र आकर्षक डिजाइनका मोडलहरू चाँडै लञ्च गर्ने योजना रहेको घोषणा गरेको छ । आफ्नो अर्को योजनानै सर्भिस विथ फन क्याम्प सञ्चालनमा ल्याउने रहेको अग्रवालले बताए । कति पर्छ मूल्य ? सीएफ मोटोका बाइकहरू २५० एनके फनको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ, २५० एसआर फनको ६ लाख ७४ हजार ९ सय रुपैयाँ, ४५० एनकेको ११ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै, जीहोका एई६ प्लसको ३ लाख ४४ हजार ९ सय रुपैयाँ, एई६ प्लस लङ्ग रेन्जको ३ लाख ९४ हजार ९ सय रुपैयाँ, सीटी स्पोट्र्स इलेक्ट्रिक बाइकको लाख ४९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ । रिलायन्स ग्रुपले सामाजिक उत्तर दायित्वको लक्ष्य प्राप्ति गर्न ललितपुर महानगरपालिका अन्तर्गतको नगरप्रहरी बललाई सीएफ मोटो र जीहो ब्राण्डका स्कुटर समेत सहयोग गरेको छ । जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया : पुराना बाइक वा स्कुटरसँग नयाँ स्कुटर साट्ने अवसर धमाधम डिलर नेटवर्क विस्तार गर्दै रिलायन्स ग्रुप