चीनले टेस्लामा लगाइएको सबै प्रतिबन्ध हटायो

एलाेन मस्क काठमाडौं । विश्वका तेस्रो धनी व्यक्ति एलोन मस्कका लागि उनको अचानक चीन भ्रमण उपयोगी सावित भएको छ । चीनले आफ्नो देशमा टेस्ला कारहरूमा लगाइएको सबै प्रतिबन्धहरू हटाएको छ । चीनले टेस्लाले डाटा सुरक्षा नियमहरूको पालनाको मुख्य परीक्षणहरू पार गरेको उल्लेख गरेको छ । पछिल्ला केही महिनाहरूमा चीनले डाटा सुरक्षाको कारण टेस्ला कारहरूमा प्रतिबन्धहरू लगाएको थियो । डाटा सेक्युरिटी लिक र अन्य कारणले चीनले टेस्लाका कारलाई देशको सैन्य अखडा र सरकारी भवनहरूमा प्रवेशमा रोक लगाएको थियो । तर, टेस्लाको नतिजा सार्वजनिक भएपछि एलोन मस्कले अचानक चीनको भ्रमण गरे र आफ्नो कारमा लगाइएको प्रतिबन्धबारे चीनका प्रधानमन्त्री ली छ्याङसँग कुरा गरे। अहिले चीनले टेस्लाका कारमा लगाइएको सबै प्रतिबन्ध हटाएको छ । एलोन मस्कका लागि यो ठूलो राहतको खबर हो । टेस्ला ७६ मोडलको सूचीमा पर्यो एलोन मस्कको चीन भ्रमणको लगत्तै अटोमोबाइल उत्पादकहरूको चाइना एसोसिएसन र नेशनल कम्प्युटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टोलीले सोमबार देशको डाटा सुरक्षा परीक्षणमा उत्तीर्ण भएका ७६ मोडलका इन्टेलिजेन्ट जडान भएका सवारी साधनहरूको सूची जारी गरेको छ र टेस्ला कारको नाम समावेश गरिएको छ। उल्लेखनीय छ कि एलोन मस्क गत आइतबार अचानक चीन भ्रमणमा बेइजिङ पुगेका थिए । भारत भ्रमण त्यागेर चीन पुगे मस्क एलोन मस्कले यही महिना अप्रिल २१–२२ मा भारत भ्रमण गर्ने थिए तर अचानक उनले आफ्नो भ्रमण रद्द गरे । उनले आफ्नो ट्विटर हेयान्डल एक्समा पनि यो जानकारी सेयर गरेका थिए । तर, आफ्नो भारत भ्रमण स्थगित भएको एक सातापछि अचानक चीनको भ्रमणमा आएका मस्कले आफ्नो एक्स पोस्टमा एक भिडियो सेयर गर्दै भनेका छन्, ‘म चीनको ठूलो फ्यान हुँ र यहाँ मेरा धेरै फ्यान छन् ।’ उनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँगको आफ्नो तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् । नोभेम्बरमा भएको थियो परीक्षण सुरु चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार परीक्षण सूचीमा लि अटो, लोटस, होजोन न्यू एनर्जी अटोमोबाइल र एनआईओ पनि थिए । यी बाहेक बीवाईडी र टेस्ला स्थानीय चिनियाँ विद्युतीय सवारीका मोडेलहरू स्वीकृत गर्ने दुई संस्थाहरूद्वारा संयुक्त रूपमा गरिएको सुरक्षा परीक्षणपछि यो सूची जारी गरिएको हो। पीटीआई रिपोर्टका अनुसार, नोभेम्बर २०२३ मा सुरु भएको परीक्षणहरूमा कारहरूले चार अनुपालन आवश्यकताहरू पूरा गरे कि गरेनन् भनेर मूल्यांकन गरिएको थियो । यसमा कार बाहिरबाट अनुहार र अन्य जानकारीको बेनामीकरण, कारमा डेटाको पूर्वनिर्धारित गैर–संकलन, कारमा डेटा प्रशोधन र व्यक्तिगत जानकारी प्रशोधन समावेश छ । एजेन्सी

गोगोरो स्कुटर नेपालमा, ब्याट्री चार्ज होइन चेन्जको सुविधा

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी भित्र्याएको छ । गोगोरोले स्मार्ट स्कुटरसँगै नयाँ चार्जिङ प्रविधि पनि भित्र्याएको हो । नेपालमा गोगोरोको आधिकारिक साझेदार नेबुला इनर्जीले गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजीका साथै बीटूबी मोडलको एक स्कुटर नेपाल भित्र्याएको हो । ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने टेक्नोलोजी विकास गरिसकेको छ । गोगोरोले काठमाडौं लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित एक कार्यक्रमका बीच ब्याट्री स्वापिङ र नयाँ स्कुटर गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर लन्च गरेको छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी दिर्देशक यांग चेनले संयुक्त रूपमा गोगोरोको क्रसओभर जीएक्स२५० स्कुटर सार्वजनिक गरेका हुन् । यो स्कुटरमा ७ किलोवाट क्षमताको हाई लोड पावर भएको मोटर उपलब्ध छ । यसमा डेलिभरीका लागि प्रयोग हुने एसाेसरिज जडान गर्न मिल्ने तथा १७० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । यसको लोडिङ क्षमता २०० केजी रहेको कम्पनीले बताएको छ । यो स्कुटरको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । स्कुटर लन्च गर्दै प्रबन्ध निर्देशक घिसिङले चार्जिङमा स्वाप टेक्नोलोजीले विद्युतीय दुई पांग्रेको व्यापार ह्वात्तै बढाउने बताए । ब्याट्री स्वाप टेक्नोलोजीले ५ प्रतिशतको बजार छिट्टै ५० प्रतिशत पुर्‍याउने प्रबन्ध निर्देशक घिसिङकाे विश्वास छ। घिसिङले दुई पांग्रेमा मात्रै नभइ चार पांग्रेमा पनि स्वाप टेक्नोलोजी आवश्यक रहेको बताए । नेपालमा चारपांग्रे बजार हिस्सा ५० प्रतिशत बढी भए पनि दुई पांग्रेको ५ प्रतिशत मात्रै रहेको छ। नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नेपाल ऊर्जा खपत गर्ने मुलुकमा तल रहेको बताउँदै ऊर्जा खपत बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । यस्तै नेबुला इनर्जीका प्रबन्ध निर्देशक साहायु गोयलले नेपालमा दुई पांग्रे विद्युतीय सवारीको ५ प्रतिशतमात्रै बजार हिस्सा हुनुको मुख्य कारण चार्जिङको समस्याको रहेको बताए । ‘ब्याट्री स्वापिङ इनर्जी प्रविधिले उपभोक्ताले सामना गर्ने समस्या समाधान गर्छ’, उनले भने, ‘अब घरमा ५–६ घण्टा स्कुटर चार्ज गर्नुपर्दैन। चार्जिङ स्टेसनमा गई ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न सकिन्छ। ब्याट्री स्वापिङ इनोभेटिभ तरिका हो ।’ नेबुलाका प्रबन्ध निर्देशक गोयलले काठमाडौं उपत्यकामा पहिलो चरणमा २/३ किलोमिटरको दुरीमा स्वाप चार्जिङ स्टेसन राख्ने योजना रहेको सुनाए । कम्पनीले लाजिम्पाटस्थित आनन्द भवन र त्रिपुरेश्वरको मायाराम भोलाराम पेट्रोलपम्पमा चार्जिङ स्टेशन राखेको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ । नोबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकका लागि गोगोरो स्मार्ट स्मुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउने बताएको छ । स्कुटरहरू दसैंदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ । नेबुला इनर्जिले फुडमाण्डु, जुमजुम, अलोइ नेपाल र गलि म्याम जस्ता कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ । उक्त स्कुटर तथा ब्याट्री स्वाप स्टेशन अनावरण कार्यक्रममा ४० यूनिट स्कुटरसमेत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । गोगोरोले १० वर्षअघि ताइवानमा स्वाप प्रविधि बजारमा ल्याएको थियो । हालसम्म ६ लाख गोगोरो दुईपांग्रे विश्वभर बिक्री भएका छन् ।

टीभीएस अपाचेको आरटीआर १६० सार्वजनिक, मूल्य तीन लाख बढी

काठमाडौं । टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको न्यु-जेन इन्जिनले बेस्ट-इन-क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर-टु-वेट रेसिओमा वृद्धि ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०२४ टीभीएस अपाचे आरटीआर १६०मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनाएको छ । यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्टएक्सोनेक्टटीएम सहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । आरटीआर ओभरस्क्वायर न्यु-जेन इन्जिनद्वारा संचालित, २०२४ टीभीएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल-इन्जेक्टेड १५९.७ सीसी सिंगल-सिलिन्डर, दुई-भल्भ ओटा एसओएचसी एयर-कूल्ड इन्जिन रहेको छ । यसको पावर हाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार डबल-क्रयाडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच-स्पीड गियरबक्स र २७० एमएम रोटो-पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ । नेपालमा २०२४ टीभीएस अपाचे आरटीआर १६०- म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ । जसको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।