चोरी पैठारीका २३८ वटा पत्रु सवारी साधन बिक्री गर्दै जलेश्वर भन्सार
काठमाडौं । जलेश्वर भन्सार कार्यालय महोत्तरीले चोरी पैठारीका सवारी साधन बिक्री गर्ने भएको छ । कार्यालयले विभिन्न निकायहरूबाट चोरी पैठारीको आरोपमा जफत गरिएका २३८ सवारी साधन लिलाम बिक्री गर्ने भएको हो । भन्सार कार्यालयका अनुसार दर्ता भएन÷भएका पत्रु सवारीहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलामी बढाबढमा बिक्री गरिनेछ । खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले २१ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै आफूले कबोल गरेको रकमको न्यूनतम १० प्रतिशत रकम बैंकमा जम्मा गरी सोको सक्कल भौचर बोलपत्र फाराम साथ पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । चोरी पैठारी लगायत गैरकानुनी रुपमा ल्याइएका सवारी साधन समयमा बिक्री नहुँदा भन्सार कार्यालयमै थन्किएर बस्ने गरेका छन् । यसरी ल्याइएका सवारी साधन समयमा बिक्री वितरण हुने हो भने राज्यलाई करोडौं राजस्व समेत उठ्ने देखिन्छ । तर, समयमा यस्ता सवारी साधन बिक्री नहुँदा भन्सार कार्यालयको ठाउँ समेत ओगट्ने गरेका छन् । अन्ततः कवाडीका रुपमा बिक्री गर्नुपर्ने बाध्यता आउँछ ।
थाइल्यान्डको गाडी उत्पादन जनवरीमा २४.६३ प्रतिशतले घट्यो, बिक्री र निर्यातमा गिरावट
काठमाडौं । थाइल्यान्डको गाडी उत्पादन गत वर्षको जनवरीको तुलनामा २४.६३ प्रतिशतले घटेर १ लाख ७ हजार १०३ युनिटमा सीमित भएको छ । यसको मुख्य कारण कमजोर घरेलु बिक्री र घट्दो निर्यात रहेको थाइल्यान्ड उद्योग महासंघ (एफटीआई) ले सोमबार जनाएको छ । थाइल्यान्ड दक्षिणपूर्वी एसियाको प्रमुख गाडी उत्पादन केन्द्र थाइल्यान्ड दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो गाडी उत्पादन केन्द्र हो । थाइल्यान्ड टोयोटा, होन्डाजस्ता विश्वका ठूला गाडी उत्पादक कम्पनीहरूको निर्यात केन्द्र पनि हो। एफटीआईका प्रवक्ता सुरापोङ्ग पैसिट्पट्टनापोङ्गले भने, ‘म धेरै चकित भएँ । उत्पादन संख्या निकै कम छ ।’ उत्पादन गिरावटका मुख्य कारण डिसेम्बरमा उत्पादन १७.३७ प्रतिशतले घटेको थियो, तर जनवरीको गिरावट अझ गम्भीर भयो । थाइल्यान्डको गाडी उत्पादन घटिरहेको यो लगातार अठारौं महिना हो। गाडी बिक्री र निर्यातमा गिरावट घरेलु बिक्री जनवरीमा १२.२६ प्रतिशतले घटेर ४८ हजार ०९२ युनिट मात्र भयो । यसअघि डिसेम्बरमा २०.९४ प्रतिशतको गिरावट आएको थियो । यसको मुख्य कारण घरेलु ऋणको भार बढ्दा बैंकहरूले कर्जा कडाइ गर्नु हो । गाडी निर्यात जनवरीमा २८.१३ प्रतिशतले घटेर ६२ हजार ३२१ युनिट मात्र भयो, जुन ३३ महिनाको सबैभन्दा न्यून स्तर हो । चिनियाँ गाडीहरूसँगको बढ्दो प्रतिस्पर्धाले निर्यातमा नकारात्मक प्रभाव पारेको छ । डिसेम्बरमा निर्यात १५.४६ प्रतिशतले घटेको थियो, तर जनवरीमा झनै तीव्र गिरावट देखियो । अस्ट्रेलिया, फिलिपिन्स र जापान थाइल्यान्डका प्रमुख गाडी निर्यात बजारहरू हुन् । सरकार र अमेरिकी नीतिहरूको प्रभाव थाइल्यान्ड सरकारले सवारी कर्जामा सहायता गर्ने योजना ल्याउने सम्भावना छ, जसलाई एफटीआईले नजिकबाट निगरानी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि गाडीहरूमा कर लगाउने सम्भावना रहेको बताएका छन्, जसले अन्तर्राष्ट्रिय निर्यातमा प्रभाव पार्न सक्छ । (एजेन्सीहरूको सहयोगमा)
भारतले ईभी चार्जिङ लगानीमा सीमा लगाउँदै, टेस्लाको आगमनसँगै नयाँ नीति ल्याउने
काठमाडौं । भारतले विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ लगानीमा सीमा लगाउने भएको छ । भारतले ईभी नीतिमार्फत् चार्जिङ पूर्वाधारमा गरिने लगानीलाई सीमित गर्दै कार उत्पादनमा बढी जोड दिन लागेको हो । ईभी नीति र टेस्लाको भारत प्रवेश भारतले सन् २०२३ मा एक नीति घोषणा गरेको थियो, जसले टेस्लाजस्ता विदेशी कार निर्माता कम्पनीहरूलाई भारतमा उत्पादन गर्न आकर्षित गर्न आयात करलाई हालको १०० प्रतिशतबाट १५ प्रतिशतमा ल्याउने प्रस्ताव राखेको छ । तर, टेस्ला वा अन्य कम्पनीहरूले कम्तिमा ५०० मिलियन (करिब १० हजार ६४० करोड रूपैयाँ) लगानी गरे मात्र उनीहरूलाई यो कर कटौतीको सुविधा दिइनेछ । चार्जिङ पूर्वाधारमा लगानीको सीमा नयाँ मस्यौदा नीतिअनुसार कम्पनीहरूले आफ्नो कुल ईभी लगानीको मात्र ५ प्रतिशत चार्जिङ पूर्वाधारमा लगानी गर्न गणना गर्न सक्नेछन् । यदि कुनै कम्पनीले चार्जिङ नेटवर्कमा बढी लगानी गरे पनि त्यसलाई कर राहतको हिसाबमा समावेश गर्न दिइने छैन । भारत सरकारको रणनीति किन यस्तो ? सरकारले चार्जिङ पूर्वाधारभन्दा बढी सवारी उत्पादनलाई पहिलो प्राथमिकता दिन चाहन्छ । भारतमा अहिले ईभी बजार विस्तार भइरहेको छ, तर चार्जरहरूको अभावका कारण धेरै उपभोक्ताहरू ईभी किन्न हिचकिचाइरहेका छन्। उद्योगका एक स्रोतका अनुसार भारतले उत्पादन वृद्धि गर्न चाहन्छ, केवल चार्जिङ पूर्वाधार बनाउने होइन । टेस्लाको हालको योजना टेस्लाले हालै भारतमा दुई स्थानमा सोरुम खोल्ने तयारी गरिरहेको छ । टेस्लाले चार्जिङ पूर्वाधारको लागि ’चार्जिङ डेभलपर’ पदका लागि नयाँ कर्मचारी खोजिरहेको छ । तर टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले गत वर्ष भारतमा उत्पादन गर्ने योजना स्थगित गरेका थिए, किनकि ग्लोबल ईभी बिक्रीमा गिरावट आएको थियो । कार निर्माताहरूका लागि नयाँ शर्त भारतमा उत्पादन गर्ने कम्पनीहरूले चौथो वर्षसम्म कम्तिमा ५५७ मिलियन डलरको वार्षिक कारोबार पु¥याउनुपर्ने छ । पाँचौं वर्षसम्म ८६६ मिलियन पुर्याउनु पर्नेछ । यदि उक्त लक्ष्य पुरा गर्न सकेनन् भने १ देखि ३ प्रतिशत सम्मको जरिवाना तिर्नुपर्नेछ। अन्य विदेशी कार कम्पनीहरूको रुचि टेस्ला बाहेक हुन्डाई, टोयोटाजस्ता अन्य कम्पनीहरूले पनि भारतमा ईभी निर्माण गर्न चासो देखाएका छन् । यी कम्पनीहरूले आफ्ना पुराना तथा नयाँ प्लान्टहरूमा ईभी उत्पादन विस्तार गर्न चाहिरहेका छन् ।