शाओमीको इलेक्ट्रिक क्रसओभर गाडी वाईयू सेभेनले ७७० किमीसम्मको रेन्ज दिने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी शाओमीको नयाँ इलेक्ट्रिक क्रसओभर एसयूभी वाईयू सेभेनले ७७० किलोमिटर (४७८ माइल) सम्मको ड्राइभिङ रेन्ज दिने बिहीबार सार्वजनिक भएको एक सरकारी दस्तावेजले देखाएको छ । यो गाडी शाओमीको पहिलो एसयूभी हो र यसलाई यो समरमा बजारमा ल्याइने अपेक्षा गरिएको छ । जसले टेस्लाको मोडल वाईलाई टक्कर दिनेछ । यो गाडीले परम्परागत क्रसओभर एसयूभीका विशेषताहरूलाई ब्याट्रीबाट चल्ने ड्राइभट्रेनसँग जोड्छ । साथै यसमा ६७५ किलोमिटर र ७६० किलोमिटर रेन्ज भएका संस्करणहरू पनि उपलब्ध छन् । उद्योग मन्त्रालयको सूचना अनुसार यो गाडीलाई खरिद कर छुट पाउने नवसमाविष्ट मोडेलहरूमा राखिएको छ । टेस्लाले भने फेब्रुअरीको अन्त्यमा आफ्नो नयाँ मोडल वितरण गर्न सुरु गरिसकेको छ । नयाँ डिजाइन गरिएको लङ रेन्ज भेरियन्टले पहिलेको ६८८ किमिबाट बढेर ७१९ किलोमिटर रेन्ज दिनेछ, जबकि रियर-ड्राइभ भेरियन्टले पहिलेको ५५४ किमिबाट बढेर ५९३ किलोमिटर रेन्ज दिनेछ । शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयू सेभेन २०२३ डिसेम्बरमा सार्वजनिक गरेको थियो । साओमीले २०२५ मा ३ लाख कार डेलिभर गर्ने लक्ष्य राखेको छ । यसले २०२४ मा १ लाख ३५ हजारभन्दा बढी कार डेलिभर गरेको थियो । कारन्यूजचाइना पत्रिकाका अनुसार साओमीको प्रारम्भिक डेलिभरी लक्ष्य २०२४ का लागि १ लाख इकाइ थियो, तर बेइजिङ कारखानामा उत्पादन अपेक्षाभन्दा बढी भएपछि कम्पनीले यो संख्या बढाएको हो । साओमीको ईभी प्लान्टको पहिलो चरणमा वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार इकाइ रहेको छ । दोस्रो चरणको विस्तारपछि थप १ लाख ५० हजार इकाइ उत्पादन क्षमता थपिँदैछ, जसले कुल क्षमता ३ लाख इकाइ प्रति वर्ष पुर्‍याउनेछ ।

अपांगता भएका व्यक्तिहरूलाई टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्रमा सम्पन्न भएको थियो । कार्यक्रमले दुवै संस्थाको समुदायलाई दिगो गतिशिलता समाधान मार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो । हस्तान्तरण गरिएका यी विशेष स्कुटरहरू मार्फत उनीहरूले अब स्वतन्त्रतापूर्वक आवतजावत गर्ने सहजताको अनुभव गर्न सक्ने आशा गरिएको छ । अपांगता भएका व्यक्तिहरूका लागि गतिशिलता ठूलो चुनौती हुने गर्दछ । यस पहलले विश्वसनीय, उच्च प्रदर्शन क्षमतायुक्त, सुविधा सम्पन्न स्कुटरहरू प्रदान गरेर उक्त चुनौतीलाई समाधान गर्न केही हद सम्म भएपनि सघाउने उद्देश्य बोकेको छ । टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित छ । तसर्थ, सहयोगले लाभग्राहीहरूका लागि आत्मविश्वासमा वृद्धिका साथै, दक्षताका साथ दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । जगदम्बा मोटर्सले सदैव सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । कम्पनी, समुदायलाई सशक्त पार्ने तथा नवीनतम गतिशील समाधान उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ । भारतीय राजदूतावाससँगको सहकार्यले समावेशी समाज निर्माण गर्ने टिभीएसको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ । ‘हाम्रो मान्यता छ कि गतिशीलता केवल सुविधा मात्र होइन, यो एक मौलिक अधिकार हो । प्रत्येक व्यक्तिलाई, आफ्नो शारीरिक क्षमताको पर्वाह नगरी, हिँडडुल गर्ने, अन्वेषण गर्ने र आफ्नो सपना पुरा गर्ने स्वतन्त्रताको हकदार छ। आज, हामी अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष रूपले डिजाइन गरिएका स्कूटरहरूको प्रस्ताव गर्ने हाम्रो पहलको सुरुवातसँगै समावेशीता र सशक्तिकरणतर्फ महत्त्वपूर्ण कदम चाल्न पाउँदा हामी गर्वित छौं ।’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक, अखिल गुप्ताले भने । यस सहयोगात्मक प्रयासले सामाजिक उत्थानका लागि भविष्यमा पनि यस्ता अभियानहरू सञ्चालन गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ । कार्यक्रमको समापन लाभग्राहीहरूलाई टिभीएस एनटर्क स्कुटर हस्तान्तरण गर्दै गरिएको थियो ।

ट्रम्पको शुल्कका कारण अमेरिकी निर्यातकर्ताले प्रतिशोधात्मक शुल्क सामना गर्नसक्ने टेस्लाको चेतावनी

ह्वाइट हाउसमा टेस्लासँग राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क । काठमाडौं । अमेरिकी अटो निर्माता टेस्लाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक शुल्क नीतिका कारण आफू र अन्य प्रमुख अमेरिकी निर्यातकर्ताहरूले बदलामा प्रतिशोधात्मक शुल्क सामना गर्न सक्ने चेतावनी दिएको छ । टेस्लाका यी टिप्पणीहरूले ट्रम्पका शुल्कहरूबाट चिन्तित धेरै अमेरिकी व्यवसायहरूको विचार झल्काउँछ, तर यो टेस्लाको तर्फबाट आएको हुँदा विशेष रूपमा उल्लेखनीय छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क ट्रम्पका नजिकका सहयोगी हुन् र उनले ह्वाइट हाउसको संघीय सरकारको आकार घटाउने प्रयासको नेतृत्व गरेका छन् । मस्कले सरकारी दक्षता विभागको नेतृत्व पनि गर्छन् । उनले आफूलाई अघिल्लो समयमा स्वतन्त्र व्यापारको समर्थकको रूपमा प्रस्तुत गरेका थिए । २०१८ मा उनले ट्वीटरमा लेखेका थिए, ’व्यापार युद्ध रोक्नाले सबै देशहरूलाई फाइदा पुग्छ ।’ उनले बेलायत र अमेरिकाबीच कुनै पनि प्रकारको शुल्क नलाग्ने स्वतन्त्र व्यापार सम्झौता हुनुपर्ने तर्क गरेका थिए । उनले बाराक ओबामा प्रशासनमाथि चीनसँग शुल्क बराबरी गर्न नसकेको भन्दै आलोचनासमेत गरेका थिए। २०१८ मा ट्रम्पको पहिलो कार्यकालमा उनले ट्रम्पको ट्वीटको जवाफ दिँदै भनेका थिए, ‘के तपाईंलाई लाग्छ कि अमेरिका र चीनले गाडीहरूका लागि समान र न्यायसंगत नियमहरू अपनाउनुपर्छ ? यसको अर्थ उस्तै आयात शुल्क, स्वामित्व सीमाहरू र अन्य कारकहरू हुनु पर्छ । उदाहरणका लागि एउटा अमेरिकी गाडी चीन जाँदा २५ प्रतिशत आयात शुल्क तिर्छ, तर एउटा चिनियाँ गाडी अमेरिका आउँदा मात्र २.५ प्रतिशत शुल्क तिर्छ । यो दस गुणा भिन्नता हो ।’ यो टिप्पणी टेस्लाले अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) लाई पठाएको पत्रमा गरेको हो, जुन उक्त कार्यालयको वेबसाइटमा उपलब्ध छ । मंगलबार मिति राखिएको यो पत्र अमेरिकी व्यापार नीतिबारे कम्पनीहरूले पठाएका सयौं पत्रहरूमध्ये एक हो । टेस्लाले भनेको छ कि ट्रम्प प्रशासनले व्यापार समस्याहरू समाधान गर्ने प्रयास गर्दा अमेरिकी कम्पनीहरूलाई बेकारमा असर नपरोस् भन्ने सुनिश्चित गर्नु महत्त्वपूर्ण छ । यसले अघिल्लो व्यापार विवादहरूमा भोगेको जस्तो बदलाको रूपमा आयातित विद्युतीय गाडीहरूमा थप शुल्क लगाइने जोखिमबाट बच्न उत्सुक रहेको बताएको छ । ‘अमेरिकी निर्यातकर्ताहरू अन्य देशहरूले अमेरिकी व्यापार कदमहरूको जवाफमा तत्काल कदम चाल्दा असमान रूपमा प्रभावित हुन्छन्,’ टेस्लाले भनेको छ । उदाहरणका लागि अमेरिकाको अघिल्लो व्यापार कदमहरूले लक्षित देशहरूबाट तुरुन्तै प्रतिक्रियाको रूपमा विद्युतीय गाडीहरूमा थप शुल्क लगाएको उल्लेख छ । ट्रम्पले अप्रिलको सुरुवातमा विश्वभर बनेका गाडी र पाट्र्समा महत्त्वपूर्ण शुल्क लगाउने विचार गरिरहेका छन् । टेस्लाले चेतावनी दिएको छ कि आपूर्ति शृंखलाको आक्रामक स्थानीयकरण भए तापनि केही पाट्र्स र कम्पोनेन्टहरू अमेरिका भित्रैबाट प्राप्त गर्न गाह्रो वा असम्भव छ । टेस्लाले भनेको छ, ‘अमेरिकी निर्माता र निर्यातकर्ता भएको नाताले, टेस्लाले यूएसटीआरलाई केही प्रस्तावित कदमहरूले अमेरिकी कम्पनीहरूमा पर्ने असरहरू विचार गर्न प्रोत्साहन गर्छ ।’ यस्तै, टोयोटा, फक्सवागन, बीएमडब्ल्यू, होन्डा र हुन्डाईजस्ता ठूला विदेशी अटो निर्माताहरूको प्रतिनिधित्व गर्ने अटोज ड्राइभ अमेरिका नामक व्यापार समूहले पनि यूएसटीआरलाई चेतावनी दिएको छ । समूहले भनेको छ, ‘व्यापक शुल्कले अमेरिकी असेम्ब्ली प्लान्टहरूमा उत्पादन अवरुद्ध गर्नेछ ।’ (एजेन्सीहरूको सहयोगमा) मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा