१ लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन खुल्यो, के-के चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन (म्यादी) प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले बिहीबार सूचना जारी गर्दै निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ । निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ ।
होटेल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ बिक्री गर्ने, २ लाख कित्ता आवेदन दिन सकिने
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँकाे १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँको ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरिनेछ । स्थानीयलाई छुट्याएको सेयरमा बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका वडावासी र विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँको २ लाख २२ हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ८ गतेसम्म आवेदन दिन समय लम्बिनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
विजय लघुवित्तको एफपीओमा आवेदन भर्ने आज अन्तिम दिन
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ)मा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ । पुस २१ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गरेको हो । साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ । सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम् ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, ५० हजारलाई रोजगारी
काठमाडौं । नेपाली लेखा तथा लेखापरीक्षण सेवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी रूपमा स्थापित गर्दै सेवा निर्यातमार्फत रोजगारी र आयआर्जन बढाउने लक्ष्यसहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममार्फत परियोजनाको औपचारिक सुरुआत गरिएको हो । आइक्यानका अनुसार परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नु, रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सिर्जना गर्नु रहेको छ । गेन परियोजनाले पाँच वर्षभित्र वार्षिक ५० हजारभन्दा बढी तथा आगामी १० वर्षमा १ लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यसै अवधिमा सेवा निर्यातमार्फत बर्सेनि करिब ८० अर्ब रुपैयाँ बराबरको आय देशमा भित्र्याउने योजनासमेत छ । परियोजना अन्तर्गत अकाउन्टिङ आउटसोर्सिङका लागि आवश्यक नियामक तथा संस्थागत संरचना विकास, सुरक्षित डिजिटल पूर्वाधार निर्माण, विश्वस्तरका मापदण्डमा जनशक्ति प्रशिक्षण र गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । साथै, आउटसोर्सिङ हब, डिजिटल प्लेटफर्म र इनक्युबेशन सेन्टर स्थापना गरी नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गरिनेछ । आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने जानकारी दिए । उनका अनुसार विश्व बजारमा भारत, बङ्गलादेश, भियतनाम र फिलिपिन्सजस्ता मुलुकले देखाएको प्रभावकारी उपस्थिति हेर्दा नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ । ‘नेपालमै बसेर विश्वका विभिन्न देशका संस्थालाई लेखा सेवा दिन सकिने वातावरण बनाउनुपर्छ । नेपाललाई दक्षिण एसियाको आउटसोर्सिङ हबका रूपमा स्थापित गर्ने उद्देश्यका लागि सीप विकास र नीतिगत स्पष्टता अपरिहार्य छ,’ उनले भने । आइक्यानका नायब निर्देशक सन्तोष विष्टले संस्थाले हाल २०८१-२०८५ का लागि तयार गरिएको पाँच वर्षे रणनीति कार्यान्वयनमा रहेको बताउँदै ठूला अर्थतन्त्र भएका मुलुकलाई नेपालले किफायती र गुणस्तरीय अकाउन्टिङ सेवा दिन सक्ने सम्भावना बलियो रहेको उल्लेख गरे । परियोजनाले बेलायत, अष्ट्रेलिया, अमेरिका, युरोपेली सङ्घ लगायत सम्भावित बजार लक्षित डिजिटल प्रचारप्रसार गर्ने, उच्च गुणस्तरका प्रचार सामग्री उत्पादन गर्ने र विदेशमा रहेका नेपाली समुदायसँग सहकार्यमार्फत अवसर विस्तार गर्ने योजना बनाएको छ । साथै, विश्वस्तरमा प्रयोग हुने लेखा सफ्टवेयर र आउटसोर्सिङसम्बन्धी विशेष प्रमाणपत्र कार्यक्रम सञ्चालन, राष्ट्रिय प्रतिभा दर्ता प्रणाली निर्माण तथा आउटसोर्सिङका पाठ्यक्रम विकासलाई अघि सारिएको छ । कर छुट, मूल्य अभिवृद्धि करसम्बन्धी स्पष्टता, वैदेशिक विनिमय प्रक्रिया सरलीकरण, डेटा संरक्षण कानुन सुदृढीकरण, नेपाली कम्पनीलाई विदेशमा शाखा सञ्चालनको सुविधा र वैदेशिक लगानी शीघ्र स्वीकृत गर्ने लगायत नीतिगत सुधारले परियोजना सफल हुने अपेक्षा आइक्यानले गरेको छ । साथै आइक्यानले परियोजना कार्यान्वयनपछि नेपाली अडिट फर्म र यस पेसामा लागेका व्यक्तिबाट अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बढाउँदै सेवा निर्यातमार्फत मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्ने विश्वास गरेको छ ।
गैरीगाउँमा भएको आगलागीबाट १ करोड ६२ लाख रुपैयाँको क्षति
काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण १ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गैरीगाउँ स्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार मङ्गलबार दिउँसो ३:१५ बजे लागेको उक्त आगो ४:४५ बजे मात्रै दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।
१० लाख नमुना मतपत्र छापिए, अब समानुपातिकको २ करोड ८ लाख छपाइ हुने
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ । केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको हो । केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले मंगलबार र बुधबारमा १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरेको बताए । केन्द्रले बिहीबारदेखि समानुपातिकको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको जानकारी दिँदै करिब केन्द्रले २ करोड ८ लाख समानुपातिक मतपत्र छपाई हुने जानकारी दिए ।
स्थानीय तहबाटै प्यान कार्ड जारी, कर चुक्ता पनि पालिकाबाटै
काठमाडौं । हिमाल पारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरूले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेसँगै उक्त कार्यालयबाट प्रवाह हुने कतिपय सेवासुविधा कोष तथा लेखा नियन्त्रण कार्यालय वा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सरकारको सोही निर्णय बमोजिम चुमनुब्री गाउँपालिका स्थानीय तहबाटै करसम्बन्धी सेवा शुभारम्भ गरेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए । उनका अनुसार पालिकाबाट कर सेवा शुभारम्भ गर्ने सम्बन्धमा बुधबार गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, दमौलीबीच सम्झौता भएको छ । ‘सम्झौताअनुसार पालिकाबाट स्थायी नम्बर (प्यान) र व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) जारी गर्न मिल्छ,’ उनले भने । पालिकाले आफ्नो क्षेत्राधिकार भित्रका करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगायतका कर सिफारिस गर्ने, दर्ता प्रमाणपत्र र इजाजतपत्र उपलब्ध गराउने, संशोधन गर्ने र आफूबाट हुन नसकेका काम सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने सम्झौता भएको उनको भनाइ छ । पालिकाबाट उक्त सेवा सञ्चालन गर्न आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन पालिका आफैंले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत लामिछाने बताउँछन् । ‘गाउँपालिकाले आन्तरिक राजस्व विभागबाट सञ्चालित पोर्टल प्रयोग गरेर करसम्बन्धी सेवा सञ्चालन गर्नुपर्ने हुन्छ । विभागको पोर्टल के, कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा उहाँहरूले नै हाम्रो कर्मचारीलाई आवश्यक तालिम तथा जानकारी दिने सम्झौता भएको छ,’ उनले भने । करदातालाई प्रदान गरिने सेवाको सुनिश्चतता र आवश्यक समन्वयका लागि दुवै पक्षले एक-एक जना अधिकृतस्तरको कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोक्ने निर्णय सम्झौताले गरेको छ । सेवा प्रवाह गर्ने प्रक्रियामा कुनै समस्या आएमा सम्बन्धित आन्तरिक राजस्व विभागसँग आवश्यक सहजीकरण र समन्वय गर्ने सम्झौता भएको छ । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णय बुधबारदेखि लागू भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोनेनिका) का प्रमुख इन्द्रप्रसाद पौडेलले बताए । कर कार्यालय खारेज भएसँगै कोलेनिकाले बुधबारबाटै करसम्बन्धी सेवा प्रवाह सुरु गरेको उनले जानकारी दिए । ‘कोलेनिकाले बुधबार पहिलो दिन करसम्बन्धी सेवा प्रवाह सुरु गरेको भए पनि सेवाग्राहीको सङ्ख्या धेरै नै देखियो । हाम्रा कर्मचारीलाई कर कार्यालयको काम कारबाही बुझ्न समय लाग्ने भएकाले त्यहाँका कर्मचारी केही समय यहीँ बसेर काम गर्नुहुन्छ । बिस्तारै हामी आफैंले आवश्यक कर्मचारी व्यवस्थापन गरेर कर सेवा प्रवाह गर्ने छौँ,’ उनले भने । कार्यालयले पहिलो दिन स्थायी लेखा नम्बर वितरण र कर चुक्ताको काम गरेको प्रमुख पौडेलले बताए ।