विकासन्युज

१५ वर्षदेखि अवैध औषधि पसल, अयोग्य व्यक्तिबाट बिरामी जाँच

काठमाडौं । बाँकेको ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सम्बन्धी  शैक्षिक योग्यता र कानुनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाका सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका गाउँमा विरामीलाई सरकारी स्वास्थ्य चौकी लैजानुको साटो स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमा पुर्याई अयोग्य व्यक्तिबाट जाँच र औषधि सिफारिश हुने गरेको पाइएको हो । नेपालगन्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले गरेको अनुगमन क्रममा जानकी गाउँपालिकामा डेढ दशकदेखि स्वास्थ्यसम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसल फेला परेको छ । औषधि बिक्री मात्र नभई, बिरामीको उपचारसमेत गर्दै आएका जानकी गाउँपालिका-१ जोगाउगाउँका ६३ वर्षीय पञ्चलाल भुजुवालाई औषधि व्यवस्था विभाग नेपालगञ्ज र सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको छ । औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहका अनुसार भुजुवासँँग स्वास्थ्यसम्बन्धी कुनै पनि मान्यता प्राप्त शैक्षिक योग्यता नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै घरलाई औषधि पसलमा परिणत गर्दै भुजुवाले करिब १५ वर्षदेखि लुकीछिपी औषधि बिक्री र बिरामीको उपचार गर्दै आएको खुलेको छ । भुजुवाले अवैध रूपमा औषधि सञ्चय गरी बिक्री-वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको उपचार गर्ने गरेको पाइएको छ । घरभित्र सञ्चालित अवैध औषधि पसलबाट करिब ४० प्रकारका औषधि रहेका तीन कार्टुन बरामद गरिएको छ । ती औषधि बिक्रीका लागि राखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बरामद गरिएका औषधिको गुणस्तर, म्याद र कानुनी स्रोतबारे पनि थप अनुसन्धान भइरहेको औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए ।  औषधि व्यवस्था विभागले पछिल्लो समय यस्ता अवैध औषधि पसल र चिकित्सकमाथि निगरानी बढाएको साहले बताए । बाँकेको नरैनापुर गाउँपालिकामा केही वर्ष अघिमात्रै नक्कली चिकित्सकको उपचारबाट दुई जनाको ज्यान गएको थियो । घटनापछि केही महिना स्वास्थ्य संवेदनशीलताको बारेमा चर्चा भएपनि अहिले फेरि गाउँमा भेटिने नक्कली चिकित्सकबाट स्वास्थ्य परीक्षण र औषधि वितरण हुने गरेको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए । उनले सरकारी नियामक निकायको अनुपस्थिति र जनतामा स्वास्थ्य सचेतनाको अभावले गाउँका अवैध औषधि पसल र नक्कली चिकित्सकबाट स्वास्थ्य जाँच हुने गरेको बताए ।  उपभोक्ता अधिकारकर्मी प्रभात कुमार ठकुरीले छिटपुट कारबाही मात्र पर्याप्त नहुने भन्दै नियमित अनुगमन, जनचेतना, कानुनी कारबाही र ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिए । 

नारायणघाट-बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रे सम्पन्न, ९२ प्रतिशत प्रगति

काठमाडौं । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको नारायणघाट-बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इञ्जिनियर शिव खनालले बताए ।  ‘मुख्य सडकको कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भइसकेको छ । अब सडक सुरक्षा अन्तर्गतको कामहरू मात्र बाँकी रहेका छन् । यो सँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ,’ उनले भने ।  उनका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश खण्डमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको ११३ किलोमिटर लामो नारायणघाट-बुटवल सडक आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब ४८ किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन् । सन् २०१९ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना कोभिड-१९ महामारी, वन क्षेत्रको रूख कटानमा ढिलाइ, विद्युत् तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन । पछिल्ला महिनामा निर्माण कार्यले उल्लेखनीय गति लिएसँगै पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे सम्पन्न भएको हो । यसअघि अधिकांश पुल, कल्भर्ट, नाला, सेवा सडक र अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । सूचना अधिकारी खनालले बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । देशकै अत्यधिक सवारी चाप हुने पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको यो सडक विस्तार आयोजना सम्पन्न भएपछि नारायणघाट-बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ । यसले गण्डकी, लुम्बिनी र बागमती प्रदेशबीचको आवागमन, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । 

सामाजिक सञ्जालबाट ठगी, क्रिप्टोमा डेढ करोड लगानी

काठमाडौं । नेपाल प्रहरीले १ करोड ४८ लाख रुपैयाँ बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा  साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी-५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ प्रजापतिले हालसम्म १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानमा खुलेको जानकारी दिए ।  पक्राउ प्रजापतिको विभिन्न डिजिटल खातामा ७ हजार ४८५ अमेरिकी डलर (नेपाली रुपैयाँ करिब ११ लाख ४१ हजार ९८३) मौज्दात रहेको फेला परेको प्रवक्ता भट्टराईले बताए । उनलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी मानिन्छ ।

आज पनि देशभर पानी पर्ने, ४ प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ । साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बादल रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पेनाल्टीमा अष्ट्रेलियालाई हराउँदै अन्तिम १६ मा इजिप्ट

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको छ । यससँगै इतिहासमै पहिलो पटक इजिप्टले विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा खेल १-१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमार्फत भएको हो ।  डलास स्टेडियममा भएको खेलमा इजिप्टले १३औं मिनेटमै इमाम आशुरको उत्कृष्ट हेडरमार्फत अग्रता लिएको थियो । त्यसपछि अष्ट्रेलियाले लगातार दबाब सिर्जना गर्दै ५५औं मिनेटमा मोहम्मद हानीको आत्मघाती गोलको लाभ उठाएर खेल बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीले केही राम्रो अवसर बनाए पनि थप गोल निस्कन सकेन । पेनाल्टी सुटआउटमा भने इजिप्टका महमुद साबेर, रामी राबिया, मोहम्मद सलाह र हसम अब्देलमागुइदले सबै प्रहार गोलमा परिणत गरे । अष्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनको प्रहार असफल भएपछि इजिप्टले ४–२ को जित हात पार्दै ऐतिहासिक सफलता हासिल गर्यो । ​खेलभर अष्ट्रेलियाले संघर्षपूर्ण प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसर सदुपयोग गर्न सकेन । इजिप्टका कप्तान मोहम्मद सलाहले गोल गर्न नसके पनि टोलीको आक्रमण र पेनाल्टी सुटआउटमा महत्त्वपूर्ण भूमिका निभाए । यस जितसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण जित्दै अन्तिम १६ को यात्रा तय गरेको छ भने अष्ट्रेलियाको अभियान अन्तिम ३२ मै समाप्त भएको छ ।

अर्जेन्टिनाको संघर्षपूर्ण जित, काबो भेर्डेलाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौं । साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत भएको रोमाञ्चक खेलमा डेब्यु टोली काबो भेर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।  मियामीस्थित हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल फर्काउँदै काबो भेर्डेलाई खेलमा फर्काए । अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर काबो भेर्डेले हार नमानी १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालमार्फत बराबरी गोल गर्‍यो ।  खेल पेनाल्टी सुटआउटतर्फ जाने संकेत देखिइरहेका बेला १११औँ मिनेटमा डिनेले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो र त्यसैलाई कायम राख्दै जित हात पार्यो । विश्व वरीयतामा निकै पछि रहेको काबो भेर्डेले साबिक विश्वविजेतालाई अन्तिम क्षणसम्म कडा चुनौती दिँदै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्यो । यो जितसँगै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

७ विश्वविद्यालयका नयाँ उपकुलपतिलाई शिक्षामन्त्री पोखरेलले खुवाए शपथ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई शुक्रबार (आज) मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शुक्रबार (आजै) विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् ।  मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका उपकुलपति देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहट्टालाई शपथ गराएका हुन् ।  त्यस अवसरमा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले विश्वविद्यालयको काम कारबाही गर्न निर्देशन दिए । “सबै जनाले इतिहास बनाउने गरी आफ्नो अवधिमा काम गर्नुहोला, तपाईँहरूलाई सरकार र मन्त्रालयको पूर्ण सहयोग रहन्छ । कसैको दबाबमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोला”, उनले भने । मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आङ्गिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशनसमेत दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्माले नवनियुक्त उपकुलपतिहरूबाट शिक्षा क्षेत्रको समग्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको शाख र गरिमालाई कायम राख्दै निर्भिकता र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए ।  उनीहरुले सरकारद्वार खुला प्रतिस्पर्धाको माध्यमबाट उपकुलपति छनोट प्रक्रियाले आफूहरूको मनोबल उच्च रहेको भन्दै प्रतिबद्धताबमोजिम काम गर्नेमा विश्वास व्यक्त गरे ।  उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो ।  उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनोट गरेको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो । मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसबाट उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब मेसिन जडान कार्य पनि सुरु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यलाई अघि बढाइरहेको जनाएको छ ।