सामाजिक सञ्जालबाट ठगी, क्रिप्टोमा डेढ करोड लगानी

काठमाडौं । नेपाल प्रहरीले १ करोड ४८ लाख रुपैयाँ बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा  साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी-५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ प्रजापतिले हालसम्म १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानमा खुलेको जानकारी दिए । 

पक्राउ प्रजापतिको विभिन्न डिजिटल खातामा ७ हजार ४८५ अमेरिकी डलर (नेपाली रुपैयाँ करिब ११ लाख ४१ हजार ९८३) मौज्दात रहेको फेला परेको प्रवक्ता भट्टराईले बताए । उनलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी मानिन्छ ।

Share News