गोल्यान ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ
काठमाडौं । जेनजी आन्दोलनका सहिदका सन्तानका लागि गोल्यान ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीन बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाका अवसरमा काठमाडौं, पोखरा र सिरहा (लहान) मा उनीहरूले शैक्षिक यात्राको पहिलो पाइला सुरु गरेका हुन् । गोल्यान ग्रुपले २४ असोजमा सहिदका बालबालिकाका लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा गरेको थियो । उक्त योजनामा ३४ बालबालिका आवब छन् । तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन जनाले शुक्रबार अक्षरारम्भ गरेका हुन् । काठमाडौंको बानियाँटारस्थित काठमाडौं युरो स्कुलमा नेल्सन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकेडेमीमा एनिक गुरुङ र सिरहा लहानस्थित स्कुल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका हुन् । तीनै बालबालिका २ वर्षका छन् । काठमाडौं युरो स्कुलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानले बालबालिकाका अभिभावकले देशका लागि दिएको बलिदानीको सम्मान गर्न सामाजिक जिम्मेवारी ग्रहण गरेको बताए । ‘हाम्रो सहयोग दया वा उपहार होइन, जिम्मेवारी हो, हामी बालबालिकाको शिक्षामा दीर्घकालीन रूपमा साथ दिन चाहन्छौं,’ उनले भने, ‘बालिबालिकाहरू पढेर डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी जे बन्न चाहन्छन, त्यो बन्न सकुन्, उनीहरूको सफलताले परिवारमात्र होइन, देशलाई बलियो बनाउने छ ।’ शिक्षाले आत्मविश्वास, अवसर र भविष्यको बाटो देखाउने उल्लेख गर्दै आज अक्षर चिन्ने नानीबाबु भोलि देश बनाउने नागरिक बन्न सक्ने उनले बताए । अक्षरारम्भ समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्यानले पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रुपैयाँको चेक विद्यालयलाई प्रदान गरेका छन् । ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजारका दरले अधिकतम वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च बेहोर्ने गरी सहिद परिवार, सम्बन्धित विद्यालय र गोल्यान ग्रुपबीच त्रिपक्षीय सम्झौता भएको छ । ‘सम्झौता अनुसार बिल–भरपाइँपठाएका विद्यालयलाई शुल्क भुक्तानी पनि भइसकेको छ,’ उनले भनिन्, ‘हामीले प्रतिबद्धता अनुसार शैक्षिकवृत्ति कार्यक्रम कार्यान्वयन गरिरहेका छौं ।’ काठमाडौं युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले जेनजी आन्दोलनका सहिदका बालबालिकाको शिक्षाको जिम्मेवारी बहन गरेर गोल्यान ग्रुपले‍ समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी अझ फराकिलो बनाएको बताए । ‘शिक्षा नै सबैभन्दा ठूलो धन हो भन्ने भनाइ गोल्यान ग्रुपको परोपकारी मनले आत्मसाथ गरेको छ,’ उनले भने, ‘सहिदको सपना पूरा गर्न हामीले पनि आफ्नो दायित्व र जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने छौं ।’ पोखरामा आयोजित अक्षरारम्भ समारोहमा अर्ली चाइल्डहुड एकेडेमीका प्रिन्सिपल सालभी बास्तोला मसानीले सहिदका सन्तानका लागि गोल्यान ग्रुपले गरेको सहयोगले विद्यालय परिवारलाई पनि थप जिम्मेवार महसुस गराएको बताइन् । ‘गोल्यान ग्रुपले सामाजिक क्षेत्रमा गरेको सहयोगबारे हामीले सुनिरहेका थियौं, आज सहिदका बालबालिकालाई पढाउन हाम्रै विद्यालयसँग सहकार्य हुँदा निकै खुसी बनाएको छ,’ उनले भनिन्, ‘अब हामी सबैको सहकार्यबाट बालबालिकाको भविष्य उज्यालो बनाउनुपर्ने अवसर र जिम्मेवारी आएको छ ।’ लहानको स्कुल अफ स्कलरमा विवांशीलाई भर्ना गरेपछि उनका ठूलो बुबा अजय चौधरीले भाइ (सहिद विजय चौधरी) ले छाडेर गएको सपना पूरा हुने विश्वास व्यक्त गरे । उनले गोल्यान ग्रुपप्रति आभार व्यक्त गर्दै भने, ‘सबै धनीहरू गोल्यान ग्रुप जस्तै मनकारी हुँदैनन्, गोल्यानले भने खुला दिलले सहयोग र सहकार्यको हात अघि बढाएको छ ।’
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग
मन्थली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो । निर्वाचनका लागि जिल्लामा आवश्यक निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बताए । रामेछाप जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक रहे पनि हाल आवेदन दिएका ९०० जना निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको छ । यसअघि प्रकाशित सूचनामार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एवं नयाँ आवेदन दिन चाहानेहरूले समेत माघ ११ गतेसम्मका लागि पुनः म्याद थप गरिएको पनि प्रहरी नायब उपरीक्षक भट्टले बताए । रासस
निर्वाचनका लागि बैंक खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैंकलाई पत्राचार
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत गर्न र उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ । कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उमेदवारका नाममा प्राप्त भएको भए उमेदवारको बैंक खातामा जम्मा गर्नुपर्नेलगायत प्रावधान छन् । सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उमेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो । सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको हकसमेतमा लागु हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उमेदवारका लागि बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ । निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उमेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो । रासस
निर्वाचन आचारसंहिता बाधक बन्दा निर्माण व्यवसायी महासंघको चुनाव दुई महिना सर्यो
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको चुनावी सरगर्मीमा तत्कालका लागि 'ब्रेक' लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेसँगै महासंघको आसन्न निर्वाचन र साधारण सभा दुई महिनापछि धकेलिएको हो । महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष एवं आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी आङदोर्जे लामा (एडी) का अनुसार निर्वाचन आयोगले आचारसंहिताको अवधिमा कुनै पनि संघसंस्थाको साधारण सभा र निर्वाचन नगर्न निर्देशन दिएपछि महासंघले यस्तो निर्णय लिएको हो । निर्वाचनका लागि देशैभरबाट करिब २ हजार निर्माण व्यवसायीहरू काठमाडौं आउने तयारीमा थिए । अन्तिम समयमा आएर निर्वाचन रोकिँदा व्यवसायीहरूको रुपैयाँ खेर जाने जोखिम भएपछि महासंघले बेलैमा निर्णय लिएको लामाले बताए । ‘हामीले निर्वाचन आयोगमा सोधपुछ गर्दा बैंक तथा वित्तीय संस्थाहरूको साधारण सभा समेत रोकिएको जानकारी पायौं,’ लामाले भने, ‘२ हजार साथीहरू काठमाडौं आउँदा प्रतिव्यक्ति न्यूनतम १० हजार मात्र खर्च भए पनि २ करोडभन्दा बढी खर्च हुन्छ । अन्तिम समयमा कार्यक्रम रोकिँदा व्यवसायी साथीहरूलाई आर्थिक मर्का पर्ने भएकाले हामीले समयमै निर्णय लिएका हौं ।’ निर्वाचन आयोगले माघ ४ गते महासंघलाई पत्र लेख्दै सोही दिन राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको स्पष्ट पारेको छ । ‘आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागू हुने अवधिभर साधारण सभा गर्न नमिल्ने हुँदा कार्यक्रम स्थगित गर्न अनुरोध छ,’ आयोगको पत्रमा उल्लेख छ । यसअघि तोकिएको मिति सरेपछि अब प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि मात्रै महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । निर्वाचन सरेसँगै चुनावीमा होमिएका व्यवसायीहरू अहिलेलाई आ-आफ्नो कार्यक्षेत्रमा फर्कने भएका छन् ।
केरा दर्जनको १६० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ४५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ७०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २२, भन्टा लाम्चो प्रतिकिलो रु ५०, भन्टा डल्लो प्रतिकिलो रु ६०, कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ११०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ७०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ८५, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ११०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २४०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १२०, स्ट्रबेरी प्रतिकिलो रु ५५० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २६०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,००० ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २३ रुपैयाँ १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
निर्वाचन आयोगले दललाई भन्यो- सामाजिक संस्था र धार्मिक संस्थालाई आर्थिक सहयोग नगर्नू
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई सामाजिक संस्था र धार्मिक संस्थालाई आर्थिक सहयोग नगर्न अनुरोध गरेको छ । आयोगले क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैर-सरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण नगर्न आग्रह गरेको हो । अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा नगर्न पनि निर्देशन दिएको छ ।
कांग्रेसले केन्द्रीय कार्यालय उमेश श्रेष्ठको संयोजकत्त्वमा पुनः निर्माण गर्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको भवन पुनःनिर्माण हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा पुनः निर्माण गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति पनि गठन हुने भएको छ ।