डोल्पामा ३२८ मेगावाटको भारबुङ आयोजना बन्ने, लागत १ खर्ब ३ अर्ब
काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल ३२८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुने गरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने ३२५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप ३.१० मेगावाट क्षमताका २ वटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका-४ र ५ तथा काईके गाउँपालिका-१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका-४ मा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका-१ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण गरिनेछ । आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका-५ का केही भू-भाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ । आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत १ खर्ब ३ अर्ब ३१ करोड ९ लाख ३१ हजार रुपैयाँ बराबर रहनेछ । प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ बराबर रहेको छ । यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । झ्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युतगृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो । आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो ।
उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयन पत्र दर्ता कायम रहेका उम्मेदवारको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण आयोगले सार्वजनिक गरेको हो । निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेकाले आयोगले कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने उद्देश्यअनुरुप सो विवरण आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल ३ हजार ४८६ उम्मेदवारीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन् ।
एनपीएल घटेपछि माछापुच्छ्रे बैंकको नाफा २५.२४ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ४३ करोड रुपैयाँ
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २५.२४ प्रतिशत बढेर १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको पुसमा ४.५४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) चालु आवको पुसमा घटेर ४.२५ प्रतिशतमा झारेको छ । खराब कर्जा घटेसँगै बैंकको नाफामा केही सकारात्मक प्रभाव परेको देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर २ अर्ब ९४ करोड १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा बैंकले २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २२.१२ प्रतिशत बढेर ८२ करोड ७ लाख ९९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.८३ प्रतिशत बढेर ४ अर्ब २ करोड ६९ लाख ८१ हजार रुपैयाँ र सञ्चालन नाफा १०.२२ प्रतिशत घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख ८० हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ७.२२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख ९० हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ प्रतिशत बढेर १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ, जगेडा कोषमा ६ अर्ब ९८ करोड १८ लाख २५ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन १०.७८ प्रतिशत बढेर २ अर्ब ४ अर्ब ४ करोड ७१ लाख ७५ हजार रुपैयाँ र कर्जा लगानी ८.८८ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब ९५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधि सम्ममा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको आधार दर ५.४८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.९९ प्रतिशत रहेको छ ।
मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली शनिबार दिनभर नै कायम भएको थियो । वर्षा भने शनिबार अपराह्नबाट रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताए । यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उनले जानकारी दिए । विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार, दैलेखमा १४ दशमलव तीन, जुम्लामा १२ दशमलव सात, मुगुमा १२, डोल्पामा १३ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ । विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ । आज साँझ सार्वजनिक गरिएको बुलेटिनमा हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागिरहेको छ । आज राति देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, आइतबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भू–भागका थोरै स्थानमा बिहानीपख हुस्सु रहने जनाइएको छ । रासस
उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ ९१०, अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा ९३० अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारका विवरण आफ्नो आधिकारिक ‘वेबसाइट’मार्फत प्रकाशन गरेको उनले बताए । यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ । उम्मेदवारको वैयक्तिक विवरण आयोगको ‘वेबसाइट’ मा हेर्न सकिने आयोगले जनाएको छ ।
सजिलो छोडेर अफ्ठ्यारो बाटो रोजेँ : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी र निर्वाचन दुवैतिर अफ्ठ्यारो बाटो रोजेको बताए । उनले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताए । विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उनको भनाई छ । उनकाअनुसार विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने थियो । आगामी निर्वाचनमा पनि काठमाडौंको क्षेत्र नम्बर ४ आफ्नो लागी सहज भएपनि जानाजानी अफ्ठ्यारो बाटो रोजेको बताए । काठमाडौं वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौंमा उम्मेदवार समेत नछानेको उल्लेख गर्दै उनले काठमाडौं आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको टिप्पणी गरे । काठमाडौं बाहिर जानुपर्छ भन्ने आफ्नो अठोटले यस पटक सर्लाही क्षेत्र नम्बर ४ रोजेको बताए । अघिल्लो पटक नै काठमाडौ बाहिर जाने रहर भएपनि त्यस्तो निर्णय गर्ने आँट नपुगेको स्वीकार गरे । यसपटक जोखिम लिन तयार भएको उनले बताए । आफ्नो पारिवारिक पृष्ठभुमि उल्लेख गर्दै सभापति थापाले आफूले पहाड र शहर दुवै बुझ्ने अवसर पाएपनि मधेस बुझ्ने अवसर नपाएको बताए । राष्ट्रिय नेता बन्नको लागि सिंगो राष्ट्रलाई आफूभित्र समेट्न सक्नुपर्ने उल्लेख गर्दै उनले मधेस बुझनको लागि आफू सर्लाही झरेको बताए । सर्लाहीबाट सम्पूर्ण मधेस बुझ्ने प्रयास गर्ने बताए । उनले भने, ‘मैले सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेको हुँ, पार्टीमा । म ५ वर्षको लागि निकालिएको हुँ, काँग्रसबाट अस्ती भर्खरै । त्यो विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनुभएको भए, आज म पार्टीबाट निष्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थेँ । म आफ्नो लडाईं लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ, बाँकी नियतिको हातमा छ, भन्ने कुराको विश्वास गर्ने मान्छे हुँ ।’ उनले काठमाडौं क्षेत्र नम्बर–४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको उल्लेख गरे । काठमाडौं क्षेत्र नम्बर ४ को सेवामा पनि आफू सधैँ समर्पित रहने उनले बताए ।
अध्ययन–अनुसन्धान कमजोर हुँदा लगानीको सही क्षेत्र पहिचान हुन सकेन : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले वित्तीय सेवा प्रदायक संस्थाले अध्ययन–अनुसन्धान नगर्दा देशमा तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार भएको बताए । देशमा भित्रिने विप्रेषणको ठूलो भाग उत्पादनशील क्षेत्रमा परिचालन नभएकामा चिन्ता व्यक्त गर्दै अर्थमन्त्री खनालले कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रको आकार विस्तार गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले गम्भीर अध्ययन–अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्नेमा जोड दिए । 'हाम्रा बैंक तथा वित्तीय संस्थाले आफैँ अध्ययन गरेर कुन क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुन्छ, स्वदेशमै रोजगारी तथा उत्पादन बढ्छ भन्ने निर्णय गर्नेभन्दा पनि व्यवसायीले ल्याएका प्रस्तावका आधारमा मात्र लगानी गर्ने गरेका छन्', अर्थमन्त्री भने । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकलाई यस्तो अध्ययन तथा अनुसन्धानको नेतृत्व गर्न सुझाव दिए । अर्थमन्त्री खनालले मुलुकमा भित्रिने विप्रेषण ठूलो हिस्सा उपभोगमा खर्च भइरहेको उल्लेख गर्दै त्यसले दीर्घकालीन आर्थिक रूपान्तरणमा योगदान दिन नसकेको बताए । सरकारी स्वामित्वको बैंक भएका कारण विप्रेषण रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गराउने जिम्मेवारी राष्ट्रिय वाणिज्य बैंकको भएको उल्लेख गर्दै उहाँले त्यसो हुनसके देश आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने बताए । उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नसके तरलताको प्रभावकारी उपयोग हुने, आन्तरिक उत्पादन बढ्ने र आयात घट्ने बताउँदै उनले बैंक तथा वित्तीय संस्थाले उत्पादनमुखी लगानीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय क्षेत्रमा समष्टिगत रूपमा केही समस्या देखिए पनि समग्र वित्तीय प्रणाली कमजोर नरहेको उनले स्पष्ट गरे । फरक प्रसङ्गमा अर्थमन्त्री खनालले वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हो भन्दै समाजका हरेक वर्गले त्यस निम्ति सहयोग गर्नुपर्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंकको ६ महिनामा नाफा १ अर्ब ७५ करोड, निष्क्रिय कर्जा ४.५५ प्रतिशत
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए । 'हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ', उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए । कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै उनले भने, 'बैंकको पूँजीको आधार सुदृढ बनाउन तीन खर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब रुपैयाँ तथा तरलताका आधारमा एक खर्ब ३९ अर्ब रुपैयाँको लगानीयोग्य रकम देखिएतापनि पूँजी पर्याप्ताका आधारमा थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।' कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ भएको बैंकले चालु आवका छ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब रुपैयाँ सङ्कलन तथा १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।