विकासन्युज

ईयूमा नयाँ इतिहास : इलेक्ट्रिक कारको बिक्रीले पेट्रोल कारलाई पछि पार्‍यो

काठमाडौं । युरोपेली संघ (ईयू) मा डिसेम्बर महिनामा पूर्ण रूपमा इलेक्ट्रिक कारको बिक्रीले पेट्रोलबाट चल्ने कारको बिक्रीलाई पहिलो पटक उछिनेको छ । मंगलबार सार्वजनिक गरिएको युरोपको अटो उद्योग संगठन एसीईएको तथ्यांकले यो देखाएको हो । यद्यपि, बजारमा हाइब्रिड कारहरूले अझै पनि सबैभन्दा ठूलो हिस्सा कायम राखेका छन् । यस तथ्यांकले ईयू बिस्तारै इलेक्ट्रिक र हाइब्रिड सवारीसाधनतर्फ सर्दै गएको संकेत गर्दछ । यो परिवर्तन त्यस्तो समयमा देखिएको हो, जब नीति–निर्माताहरूले उत्सर्जनसम्बन्धी नियमहरू खुकुलो बनाउने प्रस्ताव गरेका छन्, जसले आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीसाधनलाई अझ केही समय चलिरहन दिनेछ । स्वतन्त्र अटोमोबाइल विश्लेषक माथियास स्मिटका अनुसार पेट्रोल कारको बिक्री घट्नुको एक कारण केही मोडललाई ‘माइल्ड हाइब्रिड’ का रूपमा पुनःवर्गीकरण गर्नु पनि हो । यस्ता गाडीमा अझै पेट्रोल इन्जिन नै हुन्छ र तिनले उत्सर्जन घटाउन सीमित योगदान मात्रै गर्छन् । उनले भने, ‘युरोपभरि आन्तरिक दहन इन्जिन भएका सवारीसाधनलाई पूर्ण इलेक्ट्रिक कारले साँच्चिकै उछिन्न अझै करिब पाँच वर्ष लाग्न सक्छ, तर यो सुरुआत भने अवश्य हो ।’ युरोपेली ईभी बजारको दौड गत महिना ईयूमा दर्ता भएका कारमध्ये २२.६ प्रतिशत पूर्ण इलेक्ट्रिक थिए, जसले २२.५ प्रतिशत हिस्सामा सीमित पेट्रोल कारलाई झिनो अन्तरले पछि पारे । पेट्रोल–इलेक्ट्रिक हाइब्रिड कारहरू (ब्याट्रीबाट केही दूरी मात्र चल्न सक्ने प्लग–इन हाइब्रिडसहित) ४४ प्रतिशत हिस्सा लिएर सबैभन्दा ठूलो समूह बने । दर्ता संख्या नै बिक्रीको सूचक मानिन्छ । बेलायत र नर्वे समेटिएको वृहत्तर युरोपेली बजारमा भने कार बिक्रीले लगातार छैटौं महिना वार्षिक आधारमा वृद्धि दर्ज गरेको छ । चिनियाँ ब्रान्डहरू बीवाईडी, चाङआन र गिलीबाट बढ्दो प्रतिस्पर्धाले युरोपेली बजारको दौड थप चर्किएको छ । यसैबीच फक्सवागन र बीएमडब्ल्यूजस्ता घरेलु उत्पादकहरूले नयाँ इलेक्ट्रिक मोडलहरू सार्वजनिक गरिरहेका छन् । ईयूले डिसेम्बरमा २०३५ पछि दहन इन्जिन कारमाथि लाग्ने प्रतिबन्ध त्याग्ने योजना सार्वजनिक गरेको थियो । चिनियाँ प्रतिस्पर्धा, अमेरिकी आयात कर र ईभी नाफामा बेच्न कठिनाइ झेलिरहेका कार उत्पादकको दबाबपछि यस्तो निर्णय गरिएको हो । तर उद्योग विज्ञहरूका अनुसार इलेक्ट्रिक कारको बजार हिस्सा अझै बढ्दै जाने अपेक्षा गरिएको छ । ई–मोबिलिटी युरोपका महासचिव क्रिस हेरनले युरोपेली ब्रान्डहरूले सस्तो र नयाँ ईभी मोडल ल्याएर आफूलाई अनुकूल बनाइरहेको बताए । साथै विभिन्न देशहरूले नयाँ प्रोत्साहन योजना पनि ल्याइरहेका छन् । उनले भने, ‘उपभोक्ताहरूको चासो देखिन थालेको छ । हामी विश्वस्त छौं कि २०२६ मा युरोपभर ईभी बिक्री अझ बढ्नेछ ।’ डिसेम्बरमा फक्सवागन र स्टेलान्टिसका दर्ता क्रमशः १०.२ प्रतिशत र ४.५ प्रतिशतले बढे भने रेनोल्टका दर्ता २.२ प्रतिशतले घटे । त्यसैगरी, टेस्लाका दर्ता २०.२ प्रतिशतले घट्दा, चिनियाँ कम्पनी बीवाईडीका दर्ता भने २२९.७ प्रतिशतले उकालो लागे । डिसेम्बरमा ईयूको कुल कार बिक्री झन्डै ६ प्रतिशतले वृद्धि एसीईएका अनुसार ईयू, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) मा डिसेम्बर महिनामा कार बिक्री ७.६ प्रतिशतले बढेर १२ लाख पुगेको छ । सन् २०२५ भरि कुल बिक्री २.४ प्रतिशतले बढेर १ करोड ३३ लाख पुगेको छ, जुन पछिल्लो पाँच वर्षकै उच्च स्तर हो, यद्यपि महामारीअघिको स्तरभन्दा अझै कम छ । ईयूभित्र मात्रै डिसेम्बरमा कार बिक्री ५.८ प्रतिशतले बढेर करिब १० लाख पुगेको छ भने वर्षभरि १.८ प्रतिशतले बढेर १ करोड ८ लाख पुगेको छ । डिसेम्बरमा ब्याट्री इलेक्ट्रिक, प्लग–इन हाइब्रिड र हाइब्रिड इलेक्ट्रिक कारको दर्ता क्रमशः ५१ प्रतिशत, ३६.७ प्रतिशत र ५.८ प्रतिशतले बढेको छ । यी तीनै समूह मिलेर ईयूको कुल दर्ताको ६७ प्रतिशत हिस्सा ओगटेका छन्।

सुनको मूल्य तोलाको ३ लाख १८ हजार ८ सय पुग्यो, चाँदी पनि बढेको बढ्यै

काठमाडौं । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बुधबार सुनको मूल्य तोलामा ९ बजार ५०० रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ त्यति नै चाँदीको मोल सात हजार ३०० रुपैयाँ कायम भएको छ ।  मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार ८७० रुपैयाँ कायम भएको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

होटल फरेष्ट इनको वैदेशिक रोजगारी आईपीओ बाँडफाँड, ४० हजारले पाए सेयर

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सेयर बिक्री गरिएको थियो । उक्त आईपीओका लागि २०८२ माघ ४ गतेदेखि माघ ८ गतेसम्म ‘मेरो सेयर’ एप्लिकेसनमार्फत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । निष्काशन अवधिमा कुल ८१ हजार ७९७ आवेदकबाट १२ लाख ९३ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो । तीमध्ये सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विविध कारण देखाउँदै ६ हजार ६८९ आवेदकबाट प्राप्त १ लाख ४७ हजार २८० कित्ता सेयरका आवेदन रद्द गरेपछि बाँकी ७५ हजार १०८ आवेदकबाट ११ लाख ४५ हजार ७६० कित्ता सेयरका लागि अन्तिम आवेदन स्वीकृत गरिएको थियो । प्राप्त आवेदनमध्ये ९ जना आवेदकले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदनमार्फत १९० कित्ता सेयर माग गरेको पाइएपछि ती आवेदनहरू रद्द गरिएको छ । बाँकी ७५ हजार ०९० जना आवेदकमध्ये गोलाप्रथामार्फत ४० हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँड नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइट तथा एनआईसी एशिया क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।

हवाई दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको निधन, जहाज अवतरणका क्रममा चिप्लिएको थियो

काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । मुम्बईबाट निजी विमानबाट पवार बारामती जाने क्रममा बारामतीमा उनी सवार विमान दुर्घटनामा परेर निधन भएको हो ।  भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो । विमानमा अजीतका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए । सवार सबैको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्री अलपत्र

ढोरपाटन । मंगलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।   बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् । लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए । निरन्तर हिमपात भइरहेकाले तत्काल  सडक सञ्चालन हुने सम्भावना न्यून छ ।  काठमाडौंबाट रुकुम, जाजरकोट, डोल्पालगायत  स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका  प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।   

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो ।  बैंकमा खाता खोल्नको लागि ग्राहकहरूले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रुपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन् ।  यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरु किओस्क मेसिन मार्फ्त प्रदान गर्नुपर्नेछ । तत्पश्चात्, आवश्यक कागजातहरू प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ ।  यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरु उपलब्ध गराइरहेको थियो । भविष्यमा यस्ता सेवालाई बैंकले अरु स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको छ ।  ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।      

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५  किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हुँदै गइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए । उनले भने, ‘थोरैमा मासिक १५ हजारदेखि दुई लाख बढीसम्म कमाउने दूध व्यवसायी यहाँ रहेका छन् ।’ यसअघि दैनिक एक हजार ६०० लिटर दूध बिक्री हुँदै आएकोमा अहिले एक हजार ७०० लिटर दूध सङ्कलन भइरहेको छ । दूधबाट राम्रै आम्दानी हुने देखेपछि किसान उत्साहित भएर गाई थप्दै जाँदा बेमौसमी सिजनमा दूधको परिणाम बढेको उनले बताए । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखराको सुजल डेरी प्रालिमा बिक्री गर्ने गरिएको छ । उत्पादन गरिएको दूध बिक्रीका लागि बजारको कुनै समस्या नभएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षति भएर लागेका हुन् । दमौली बजारमा सञ्चालनमा ल्याइएको दुई पसलबाट दैनिक ७०० लिटर दूध खपत हुने गरेको छ भने एक दिन बिराएर सुजल डेरीले दुई हजार लिटर दूध पोखरा लैजाने गरेको छ । यहाँका व्यासायिक पशुपालनले परिवारको मात्रै नभई सिङ्गो समाजको मुहारमा परिवर्तन ल्याएको संस्थाका सचिव मेघनाथ आचार्यले  बताए । उनले भने, ‘आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानका लागि थप उत्प्रेरण जगाउने कार्य गरिएको आभास गर्न थालिएको छ ।’ यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घर खर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् । कृषकको खरिद मूल्यअनुरुप अहिले दैनिक एक लाख ३४ हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्रति लिटर तीन र व्यास नगरपालिकाबाट दुई अनुदान सहकारीमार्फत पाउने गरेका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर थापाले बताए । गाउँमै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न सहज भएको छ । नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान प्रदान गर्दै आएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । रासस

देशभर कुहिरो र बादल : जनजीवन प्रभावित, हवाई उडान ठप्प

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर बुधबार बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात, हवाई उडान र स्थानीय बासिन्दाको दैनिकीमा ठूलो असर परेको हो ।  काठमाडौंमा बिहानैदेखि दृश्यता निकै कम भएको छ । कुहिरोका कारण सडकमा हिँडडुल गर्न कठिनाइ भएको । यसले दुर्घटनाको जोखिम बढाएको छ । धेरै बिहानको समयमा घरबाट बाहिर निस्कनै हिच्किचाएका छन् । हवाई यात्रुहरू सबैभन्दा बढी मारमा परेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोका कारण अधिकांश उडान ढिलो भएका छन् भने केही उडान रद्ध समेत भएका छन् ।  आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् । यात्रुहरू विमानस्थलमा लामो समय प्रतिक्षा गर्न बाध्य भएका छन् । पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपातले सडक अवरुद्ध हुने, दाउरा तथा घाँस काट्न जानेहरू प्रभावित भएका छन् । कोशी र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाले पनि दैनिक कामकाजमा बाधा पुर्याएको छ ।  मौसम पूर्वानुमानकाअनुसार यो प्रभाव केही दिन कायम रहने देखिएको छ । यात्रा गर्नेहरू, हवाई उडानमा निर्भर व्यक्तिहरू तथा पहाडी क्षेत्रका बासिन्दालाई शतर्क रहन आग्रह गरिएको छ ।