विकासन्युज

पोर्शेबाट मुक्त भएपनि फक्सवागनमा ‘डु अर डाइ’ को अवस्थामा ब्लुमे

काठमाडौं । फक्सवागनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमे यस वर्ष निर्णायक परीक्षामा रहेको लगानीकर्ताहरू बताउँछन् । चीनमा घट्दो बजार हिस्सेदारी रोक्नसक्ने र प्रतिस्पर्धीहरूसँगको प्रविधि अन्तर कम गर्न सक्ने क्षमता प्रमाणित गर्नु नै जर्मन अटोमोबाइल कम्पनीको सफल पुनरुत्थानका लागि अनिवार्य तत्व मानिएको छ । स्पोट्र्स कार डिभिजन पोर्शे संकटमा परेपछि जनवरीदेखि फक्सवागन र पोर्शे दुवैको सीईओको दोहोरो भूमिका त्याग्न बाध्य भएका ब्लुमेले समूह सीईओका रूपमा पाँच वर्षे करार विस्तार गर्दै विश्वासको मत भने प्राप्त गरे ।  ब्लुमेको कार्यकालमा कम्पनीहरूको संयुक्त बजार मूल्य करिब ४८ अर्ब युरो (५६ अर्ब डलर) ले घटिसकेको छ । यसले ठूलो क्षति बेहोरेका लगानीकर्ताहरू अब देखिनेगरी नतिजा चाहिरहेका छन् । समय बित्दै जाँदा उनीहरूको धैर्य पनि खस्कँदै गएको छ । रोयटर्सले साना सेयरधनीदेखि लिएर शीर्ष १० ठूला फन्डसम्मका छ जना लगानीकर्तासँग कुरा गर्दा सबैको एउटै धारणा देखियो— ब्लुमेमाथि विश्वको दोस्रो ठूलो कार उत्पादक फक्सवागनलाई पुनर्जीवित गर्ने उनको रणनीति वास्तवमै काम गरिरहेको छ भन्ने ठोस प्रमाण देखाउने दबाब बढ्दो छ । सीईओ ओलिभर ब्लुमे । तीन दशकदेखि फक्सवागनसँग जोडिएका ब्लुमेले सेप्टेम्बरमा म्युनिख कार शोमा चुनौती स्पष्ट पारेका थिए । ‘अटोमोबाइल उद्योगमा दशकौंदेखि मनाइँदै आएको पार्टी अहिलेको स्वरूपमा सकिएको छ,’ उनले भनेका थिए, ‘अब पुनःअभिमुखीकरणको समय आएको छ ।’  ब्लुमेले चीनमा बिक्री पुनर्जीवित गर्न स्थानीय कम्पनीहरूसँग सहकार्य गर्दै ‘इन चाइना, फर चाइना’ रणनीतिमा दाउ लगाएका छन् । विश्वकै सबैभन्दा ठूलो कार बजार चीनमा जहाँ फक्सवागनले कुनै समय वर्चस्व जमाएको थियो । पश्चिमी बजारका लागि तयार पारिँदै गरिएको कम्पनीको भावी सफ्टवेयर प्लेटफर्म घाटामा चलिरहेको क्यालिफोर्नियाली ईभी निर्माता रिभियनसँगको उच्च जोखिमयुक्त संयुक्त लगानीमै टेकेको छ । गत साता सार्वजनिक गरिएको अपेक्षाभन्दा राम्रो २०२५ को नगद प्रवाह (क्यास फ्लो) ले ५७ वर्षीय ब्लुमेका प्रयास सही दिशामा छन् भन्ने आशा बढाएको छ । तर साना सेयरधनीहरूको प्रतिनिधित्व गर्ने ९ हजार सदस्यीय संस्था एसडीकेका मार्क लिब्शरका अनुसार ब्लुमेको गल्ती गर्ने सम्भावना झन् साँघुरिँदै गएको छ । ‘उनीमाथिको दबाब अत्यन्त ठूलो छ,’ उनले रोयटर्सलाई भने, ‘अहिले ब्लुमे अत्यन्त कठिन बजार वातावरणमा आफ्ना प्रारम्भिक दाबीहरू प्रमाणित गर्न बाध्य छन् ।’ लगानीकर्ताहरूका अनुसार फक्सवागनले कुनै समय अर्बौं युरो कमाएको चीन बजार ब्लुमेले तत्कालै पुनःजित्नैपर्छ । २०२४ मा फक्सवागनलाई बीवाईडीले उछिनेको थियो भने गत वर्ष अर्को स्थानीय प्रतिस्पर्धी जिलीपछि तेस्रो स्थानमा झरेको छ । पोर्शे र अडी ब्रान्डहरू पनि संघर्षरत छन् । यो गिरावट ब्लुमे सीईओ बन्नुअघि नै सुरु भएको भए पनि शाङ्घाईबाट इन्जिनियरिङमा पीएचडी गरेका ब्लुमेले अन्ततः समस्यालाई सम्बोधन गर्न थालेको भन्दै केही लगानीकर्ताले श्रेय दिएका छन् । ‘अहिलेसम्म उनले गरेका कामहरू आशाजनक छन्,’ शीर्ष २० फक्सवागन लगानीकर्तामध्येका युनियन इन्भेस्टमेन्टका मोरिट्ज क्रोननबर्गले भने । फक्सवागनले प्रमुख प्रविधि र सवारी विकास चीनमै सारिसकेको छ जसले विकास प्रक्रिया छिटो बनाउने र चिनियाँ उपभोक्ताको रुचिअनुसार उत्पादन उपलब्ध गराउने कम्पनीको दाबी छ । ब्लुमे चीनमा बनेका थप गाडी विदेश निर्यात गर्ने सम्भावनामा पनि छन्, यद्यपि कम्पनीको सबैभन्दा ठूलो बजार युरोप भने हालका लागि यस योजनाबाट बाहिर छ । शाङ्घाई अटाे शाे- २०२५ मा राखिएकाे पाेर्शे जीटीथ्री । चीनमा बनेका गाडी वा पार्टपुर्जाको आयात विस्तार गर्न शक्तिशाली जर्मन श्रमिक प्रतिनिधिहरूको स्वीकृति आवश्यक पर्ने एक कम्पनी स्रोतले रोयटर्सलाई बताएको छ । दुई वर्षभन्दा कम समयअघि जर्मनीमा ३५ हजार रोजगारी कटौती गर्न सहमति दिएको वर्क्स काउन्सिलले यसमा कडा विरोध गर्न सक्ने सम्भावना छ । ब्लुमेले चिनियाँ व्यवसायको समस्या चिनेको देखिए पनि यस्ता अवरोधहरूले केही लगानीकर्तालाई चिन्तित बनाएको छ । ‘यो अझै समस्या पहिचानमै सीमित छ, समाधानमुखी देखिँदैन,’ शीर्ष १० लगानीकर्तामध्येका डीडब्ल्यूएसका हेन्ड्रिक स्मिटले भने । पश्चिमका लागि ब्लुमेको ५ अर्ब डलरको सफ्टवेयर दाउ फक्सवागनको चीनमा देखिएको संकटले परम्परागत अटो इन्जिनियरिङमा अग्रणी कम्पनी सफ्टवेयरप्रधान युगमा पछि पर्दै गएको बुझाउँछ ।  ‘आइफोन आएको झन्डै २० वर्ष हुन लाग्यो,’ एसडीकेका लिब्शरले भने, ‘फक्सवागनले आफ्नै सफ्टवेयर समाधान विकास गर्न नसक्नु लज्जास्पदका साथै चकित पार्ने कुरा हो ।’ आन्तरिक सफ्टवेयर इकाइ क्यारियाडमा वर्षौंदेखिका समस्यापछि ब्लुमेले बाह्य सहयोग लिँदै रिभियनसँग ५ अर्ब डलरको संयुक्त लगानी गरेका हुन् । उनीहरू फक्सवागनका परम्परागत पश्चिमी बजारमा बेचिने भविष्यका उन्नत मोडेलका लागि नयाँ इलेक्ट्रोनिक प्लेटफर्म विकासमा सहकार्य गरिरहेका छन् । भविष्यका मोडेलका लागि नयाँ सफ्टवेयर प्रणालीको परीक्षण निर्णायक चरणमा छ, जसमा थप लगानी निर्भर रहने जनाइएको छ ।  विगतमा सफ्टवेयर ढिलाइकै कारण सीईओ हटाइएकाले पनि यो विषय फक्सवागनका लागि अत्यन्त संवेदनशील बनेको छ । अहिले सेयरधनी परिवारहरूको समर्थन भए पनि नेतृत्वले ठोस नतिजा देखाउनुपर्ने दबाब कायमै छ ।

प्राइम टायल्स बन्यो नेपालकै पहिलो एनएस प्रमाणित टायल कम्पनी

काठमाडौं । नेपाली निर्माण सामग्री उद्योगमा प्राइम टायल्स नेपालकै पहिलो र एकमात्र एनएस प्रमाणित टायल कम्पनी बन्न सफल भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्राइम टायल्सलाई ‘एनएस ६१७’ मापदण्ड पूरा गरेको भन्दै गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । यससँगै भित्ता (वाल) र भुइँ (फ्लोर) मा प्रयोग हुने टायल उत्पादनमा नेपाल गुणस्तर चिह्न प्राप्त गर्ने प्राइम टायल्स देशकै पहिलो उद्योग बनेको छ । विभागबाट प्राप्त उक्त प्रमाणपत्रले प्राइम टायल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार कडा परीक्षण र प्रमाणीकरण भएको पुष्टि गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस उपलब्धिले उत्पादनको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आधुनिक डिजाइनप्रतिको प्रतिबद्धता थप प्रमाणित गरेको छ । हाल प्राइम टायल्सका विभिन्न डिजाइन र आकारका टायलहरू घर, कार्यालय तथा ठूला व्यावसायिक भवनका लागि बजारमा उपलब्ध छन् । यो प्रमाणपत्र प्राप्तिसँगै नेपाली उपभोक्ताले अब विदेशी टायलमा निर्भर रहनु नपर्ने र स्वदेशी उत्पादनमै पूर्ण भरोसा गर्न सक्ने कम्पनीको विश्वास छ । करिब ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा रौतहटमा सञ्चालित यस उद्योगको वार्षिक उत्पादन क्षमता ४० लाख वर्गमिटर रहेको छ । सीएमएस र फर्च्युन भेन्चर्सजस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित यस कम्पनीले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति बनाएको छ । हाल देशभर रहेका १२० भन्दा बढी आधिकारिक विक्रेता (डिलर) सञ्जालमार्फत प्राइम टायल्सका उत्पादनहरू ग्राहकसम्म पुगिरहेका छन् ।  

कृषि विकास बैंकद्वारा त्रिवि व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्रमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । यस सहयोगले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल प्रविधियुक्त माध्यमबाट पठनपाठन गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रम बुधबार आयोजित एक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यलाई डिजिटल बोर्ड हस्तान्तरण गरे । कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक सुवेदीसहित विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र अञ्जु दाहाल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, कीर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ तथा बैंकका पूर्व उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी, व्यवस्थापन केन्द्रीय विभागका तर्फबाट विभाग प्रमुख प्रा. भवानी शंकर आचार्य, प्रा. डा. डिल्ली राज शर्मा लगायतका प्राध्यापकहरू, विश्वविद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रा. डा. सुनिता भण्डारी घिमिरेले गरेकी थिइन् ।

डिशहोम गोमार्फत नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ हेर्न सकिने

काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि डिशहोम गोले थप दुई चर्चित नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ उपलब्ध गराएको छ । दर्शकहरूले नेपालभित्र २२५ रूपैयाँ र नेपाल बाहिर युएसडी १.९९ मात्र तिरेर डिशहोम गोमार्फत यी चलचित्र हेर्न सक्नेछन् । टेक पौराखी राईको निर्देशनमा बनेको ‘जय हो’ सशक्त एक्सन–ड्रामा विधाको चलचित्र हो । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको प्रमुख अभिनय रहेको छ । राज के. अधिकारी र सुरज सरकार निर्माता रहेको यस चलचित्रले सामाजिक अन्याय र भ्रष्टाचारविरुद्ध संघर्षरत एक दृढ पात्रको कथा प्रस्तुत गर्छ । व्यक्तिगत पीडा र सामूहिक संघर्षमार्फत परिवर्तनको सन्देश दिने ‘जय हो’ दर्शकमाझ फरक प्रभाव छोड्न सफल भएको छ । त्यसैगरी, सम्राट बस्नेतको निर्देशनमा बनेको ‘लाखे’ नेपाली लोककथा र नाट्य तत्वको संयोजनमा आधारित चलचित्र हो । सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनूप बिक्रम शाही र वर्षा राउतको अभिनय रहेको यस चलचित्रका निर्माता सिजन अर्याल, जी.एम. ठाकुरी र डीपी भण्डारी हुन् । परम्परागत विश्वास, समुदाय र लाखे पात्रको माध्यमबाट आशा र डरको कथा प्रस्तुत गर्ने ‘लाखे’ ले दर्शकलाई फरक स्वादको सिनेमाई अनुभव दिन्छ । डिशहोम गो एक आधुनिक डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध सामग्री सहज रूपमा हेर्न सकिन्छ । जहाँसुकै र जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम गो दर्शकहरूको भरपर्दो डिजिटल साथी बन्दै गएको छ ।  

निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाइने, हेलिकप्टरको प्रयोग गर्न अनुमति माग्नुपर्ने

काठमाडौं । राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि हेलिकप्टरको प्रयोग गर्न निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने भएको छ । आयोगका अनुसार हेलिकप्टरमा चढेर अब २ जनाले मात्र निर्वाचनको प्रचारप्रसार गर्न पाउने छन् । यसका लागि राजनीतिक दलले प्रचारप्रसारको लागि दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ  । आयोगले अनुमति दिएमा मात्र मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न पाउने छन् । यसैगरी, स्थानीय तहका प्रमुख वा मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न पाउने आयोगले उल्लेख गरेको छ ।  नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिएर सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने छन् । प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत आयोगको सहमति लिएर त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगले जनाएको छ । त्यस्तै, स्थानीय तहका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने छैनन् ।  त्यसैगरी, निर्वाचन प्रसारको क्रममा नेपाल सरकारका मन्त्री तथा स्थानीय तहका पदाधिकारीले सरकारी सवारीसाधनको प्रयोग गर्न नपाउने भएका छन् ।  आयोगले निर्वाचन प्रचारप्रसार गर्न सरकारी स्रोतको प्रयोग गर्न नपाइने जनाएको हो ।

एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो ।  आज प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार सुन तोलाको ३ लाख १८ हजार ८ सय र चाँदी ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदी प्रति तोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ५ हजार ५२९ डलरमा कारोबार भइरहेको छ ।

दरबारमार्गको डान्सक्लबमा आगलागी

काठमाडौं । दरबारमार्गमा रहेको उडल्याण्डको ब्ल्याक आउट डान्सक्लबमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख रमेश बस्नेतले दरबारमा रहेको उडल्याण्ड होटलमाथि रहेको डान्सक्लबमा आगलागी भएको विकासन्युजलाई जानकारी दिए । उनका अनुसार अहिले आगलागी करिब नियन्त्रणमा आउने क्रममा जारी छ । घटनास्थलमा दमकल पुगिसकेका छन् । मानवीय क्षति नभएको उनले जानकारी दिए । आगलागी भएको १ घण्टा भइसकेको छ ।  

कांग्रेस पूर्व सांसदहरू आज सर्वोच्च नजाने

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरूको आज बिहीबार सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग समय नमिलेका कारण प्रतिनिधिमण्डलको भ्रमण रोकिएको कांग्रेसले जनाएको छ । कांग्रेसले जारी गरेको सूचनामा विशेष कारण उल्लेख गर्दै निर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ । सूचनामा भनिएको छ, 'डेलिगेसन टोली सर्वोच्च अदालत जाने कार्यक्रम तय भएकोमा विशेष कारणवश उक्त कार्यक्रम स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।'