एपोलो हाइड्रोले फागुन ११ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँको ४ करोड ७० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गरिनेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-७ र ८ का स्थानीय, ३० प्रतिशत अर्थात् १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बुको लिखुपिके गाउँपालिका-२ र रामेछापको उमाकुण्ड गाउँपालिका-३ का स्थानीय र २० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड गाउँपालिका-२ र गोकुलगंगा गाउँपालिका-१ का स्थानीयलाई बिक्री गरिनेछ । यस्तै, सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाहरूले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेको नेपालीहरूले अधिकतम ९४ हजार कित्ता सेयर आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीयले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा फागुन १४ गते र ढिलोमा फागुन फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजनासँगै लक्ष्मी सनराइज बैंकको किन्जा सोलुखुम्बु, शिवालय र प्रिति रामेछाप, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खिजीदेम्वा ओखलढुङ्गा र सिटिजन्स बैंकको लिखुपिके सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले फागुन १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता सेयर कर्मचारीहरूलाई बाँडफाँट गरिसकेको छ । अब कम्पनीले बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा फागुन २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
रिज लाइन इनर्जीको आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
काठमाडौं । रिज लाइन इनर्जीले आज माघ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा २८ हजार ४४० कित्ता कर्मचारी, ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँको ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा फागुन १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल कायम छन् । यहाँको ५ स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र-३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको मतदानस्थलमा जम्मा ३६ जना मात्रै मतदाता छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्ला मुस्ताङमा समरस्थित समर आधारभूत मतदान स्थलपछि वारागुङ मुक्तिक्षेत्र-५ साङ्तास्थित हिमाली आधारभूत मतदान केन्द्रमा ३९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । साथै जिल्लामा सबैभन्दा बढी मतदाता घरपझोङ गाउँपालिका-४ जोमसोमको जनहित मतदान केन्द्रमा छन् । उक्त केन्द्रमा ६८९ जना मतदाता छन् । विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक हुँदा मुस्ताङमा कूल ११ हजार ३२८ जना मतदाता कायम भएका छन् । घरपझोङ गाउँपालिकामा ६ वटा, थासाङ गाउँपालिकामा ८ वटा, लोघेकर दामोदरकुण्डमा १० वटा ,वारागुङ मुक्तिक्षेत्रमा ९ वटा र लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । मुस्ताङको घरपझोङमा कूल २ हजार ४९२ मतदाता छन् भने जनहित मतदान केन्द्रमा ६८९ जना र सबैभन्दा कम मतदाता छैरो आधारभूत विद्यालयमा ८१ जना मतदाता छन् । थासाङ गाउँपालिकामा २ हजार ९०७ जना मतदाता छन् । जसमध्ये सबैभन्दा बढी जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङमा ६५३ जना र सौरु आधारभूत विद्यालय सौरुमा सबैभन्दा ६५ मतदाता छन् । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १ हजार ५४२ जना मतदाता छन् । जसमध्ये लोघेकर-१ चराङस्थित चराङ आधारभूत विद्यालयमा सबैभन्दा बढी ३१९ मतदाता छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई हजार ३७६ जना मतदाता छन् । जसमध्ये जन शान्ति माध्यमिक विद्यालय कागबेनीमा ५२० जना र सबैभन्दा कम समर आधारभूतमा ३६ जना मतदाता छन् । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा २ हजार ११ जना मतदाता छन् । जसमध्ये सबैभन्दा बढी राष्ट्रिय आधारभूत विद्यालयमा ६२० जना र सबैभन्दा कम दिव्यज्ञान आधारभूत चुमजुङमा १३६ जना मतदाता छन् । निर्वाचन आयोगले बदर मत सङ्ख्या घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले यहाँका ५ पालिकाले सिफारिस गरेका मतदाता शिक्षा प्रदान गर्ने व्यक्तिलाई प्रशिक्षक तालिम बुधबारदेखि सुरु हुने जानकारी दिए । उन जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहले सिफारिस गरेको व्यक्तिलाई मतदाता शिक्षा प्रशिक्षण गराइएपछि यहाँका २५ वटै वडाहरूमा मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाइने उल्लेख गरे ।
६२ प्रतिशत कुखुरामा इकोलाईको समस्या
काठमाडौं । चितवन जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको समस्या देखिएको छ । उनका अनुसार मरेको कुखुराको कलेजोको नमूना परीक्षण गर्दा यो रोगको समस्या पहिचान भएको हो । उनका अनुसार दूषित पानीको प्रयोगले यो रोगको समस्या बढी देखिने गर्दछ । यससँगै ५ प्रतिशत कुखुरामा साल्मोनेला रोगको सङ्क्रमण देखिएको छ । यो रोग दूषित सामग्रीको प्रयोग, दाना र पानीको लसपसबाट सर्न सक्ने उनको भनाइ छ । व्यावसायिक रुपमा कुखुरा पालन गर्ने किसानहरूले खानपानमा ध्यान नदिँदा यो रोगको सङ्क्रमण देखिएको हुनसक्ने प्रमुख श्रेष्ठले बताए । कार्यालयले गरेको परीक्षणका क्रममा एभिएन इन्फ्लुन्जा, रानीखेत, गम्बारो, इन्फेक्सीयस ब्रोङ्गकाइटिस, चिकेन एनिमिया जस्ता रोगको संक्रमण कुखुरामा देखिएको उनले जानकारी दिए । कूल ९४ वटा कुखुराको परीक्षणका क्रममा १४ वटामा एभिएन इन्फ्लुन्जा, ३५ कुखुरा परीक्षणमा ६ वटामा रानी खेत, ५३ कुखुरा परीक्षणमा २६ वटामा गम्बारो रोगको सङ्क्रमण देखिएको उनको भनाइ छ । १८ वटा कुखुरामा इन्फेक्सीयस ब्रोङ्काईटीस परीक्षण गर्दा एउटामा र ९२ वटा कुखुरामा चिकन एनिमिया परीक्षणमा ३० वटामा यो रोगको सङ्क्रमण देखिएको हो । चिकन एनिमिया इलाइजा प्रविधिबाट परीक्षण गर्ने गरिन्छ । रानीखेत र गम्बारो भाइरसका कारण लाग्ने रोग हो । दुवै रोग जैविक सुरक्षा नअपनाउँदा लाग्ने रोग भएकाले कृषकहरूले जैविक सुरक्षाको विधि अपनाउनुपर्ने उनले बताए । कार्यालयले कुखुराको परीक्षण पिसीआर विधिबाट सुरु गरेको छ । कुखुराको र्यालबाट एभिएन इन्फ्लुन्जा परीक्षण गर्ने गरिन्छ । यस प्रविधिबाट १४ वटा कुखुराको परीक्षण गरिएको उनले जानकारी दिए । यो परीक्षणबाट बर्ड फ्लु जस्ता रोगहरु पत्ता लगाउन सहज हुने उनको भनाइ छ । जिल्लामा अहिलेसम्म कुनै पनि कुखुरामा बर्डफ्लु नदेखिएको उनले बताए ।
माग अनुसार ग्यास उत्पादन र वितरण बढाउन विभागको निर्देशन
काठमाडौं । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ । विभागले ठूला ग्यासको उत्पादन कम्पनीलाई पनि आवश्यक निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका उपलब्ध ग्यास बोटलिङ उद्योगको अनुगमनको क्रममा उपभोक्ताको माग अनुसारको उत्पादन र वितरण बढाउन निर्देशन दिएको छ । उद्योगहरूलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता बढाउनै पर्ने विभागको निर्देशन दिएको छ । एलपी ग्यासको वितरण गर्ने डिलर, रिटेलर र सप्लायर्स कम्पनीले उपभोक्ताको मागको प्रभावकारी रेकर्ड राखी ग्याँसको अनावश्यक सञ्चय नहुने गरी सम-न्यायिक वितरण गर्नुपर्नेछ । यस्तै, उपभोक्ता र व्यावसायिक प्रतिष्ठानले अनावश्यक सञ्चय नगरी आफूलाई आवश्यक परिमाणमा मात्र खरिद गरी सहयोग गर्न विभागले आग्रह गरेको छ । विभागले बजारमा ग्यासको उपलब्धता, भण्डारण एवं वितरणको सन्दर्भमा उद्योग स्तरमा, ठूला सप्लायर्स र साना डिलर स्तरमा समेत सोको आपूर्ति श्रृङ्खलाको अवस्थाको समेत अनुगमन एवं विश्लेषण गरेको स्पष्ट पारेको छ ।
६ हजार ७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा वडामा नै एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो । सोही सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको रुपमा तोकेको थियो । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ । आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोरकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागेको हो ।
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
काठमाडौं । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्र संघले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेअनुरुप सन् २०१६ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । विश्वभर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी सबै तहका विषयहरूमा लामो समयदेखि लैङ्गिक असमानता रहँदै आएको छ । महिलाहरूले उच्च शिक्षामा सहभागिता विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरे तापनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व अझै पनि न्यून छ । लैङ्गिक समानता संयुक्त राष्ट्र संघको प्रमुख ‘एजेन्डा’मध्ये एक रहँदै आएको छ । महिला तथा बालिकाहरूको सशक्तीकरण र लैङ्गिक समानताले विश्वको आर्थिक विकासमा मात्र नभई दिगो विकासका लागि २०३० कार्यसूची अन्तर्गतका सबै लक्ष्य तथा उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने उक्त विश्व संस्थाले बताउँदै आएको छ । महिलासम्बन्धी राष्ट्र सङ्घीय आयोगले सन् २०११ मार्च १४ मा सम्पन्न आफ्नो ५५औँ अधिवेशनमा शिक्षा, तालिम तथा विज्ञान र प्रविधिमा महिला तथा बालिकाहरूको पहुँच र सहभागिता विस्तार तथा पूर्ण रोजगारी र सम्मानजनक काममा महिलाको समान पहुँच प्रवर्द्धन गर्ने विषयमा सहमत निष्कर्षसहितको प्रतिवेदन पारित गरेको थियो । त्यसैगरी, सन् २०१३ डिसेम्बर २० मा महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी प्रस्ताव पारित गर्दै सबै उमेर समूहका महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि र नवप्रवर्तनमा पूर्ण तथा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अपरिहार्य भएको बताएको थियो । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा प्रत्येक बालिकाले आफ्नो भविष्यको कल्पना गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने तथा प्रत्येक महिलाले आफ्नो वैज्ञानिक करियरमा निरन्तर प्रगति गर्न सक्ने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । यस अवसरमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले वक्तव्य जारी गर्दै विज्ञान तथा प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।