विकासन्युज

नेपाल राष्ट्र बैंक ऐन संशोधन हुने, डिजिटल बैंक र मुद्रामा नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तर्जुमा गरेको छ ।  केन्द्रिय बैंकको उद्देश्य र कार्यलाई केन्द्रिय बैंकको भूमिका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य अवधारणा बमोजिम तादम्यता कायम गर्न, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गर्न ऐन संशोधन गर्न लागिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।   मन्त्रालयकाअनुसार  नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय तथा नियमन कार्यलाई थप प्रभावकारी बनाउन र आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य, नेपाल राष्ट्र बैंकको चौंथो रणनीतिक योजना (२०२२–२०२६) तथा मौद्रिक नीतिमा उल्लेख भए बमोजिम नेपाल राष्ट्र बैंक ऐनमा समयानुकूल परिमार्जन तथा संशोधन गर्न आवश्यक भएकोले ऐन संशोधन गर्न मस्यौदा बनाइएको छ । ऐन संशोधनमार्फत वर्तमान आर्थिक तथा वित्तीय परिवेशअनुरूप ऐनलाई संशोधन गर्दै केन्द्रीय बैंकको स्वायत्तता सुदृढीकरण गरिनेछ भने ऐन संशोधन गरि केन्द्रीय बैंकको उद्देश्य र कार्यक्षेत्रमा थप स्पष्टता गरिनेछ । अथ मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा डिजिटल बैंक तथा डिजिटल मुद्राको अवधारणा ग्रहण र नियमन, जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको प्रवद्र्धन, मुद्रास्फीति नियन्त्रणसम्बन्धी व्यवस्थाको सुदृढीकरण, संघीय संरचनाअनुरूप नेपाल राष्ट्र बैंकको भूमिका मिलान, अन्तर्राष्ट्रिय लेखा मापदण्डअनुरूप वासलात तथा प्रतिवेदन प्रणालीको आधुनिकीकरण, बैंक तथा वित्तीय संस्थाको फरफारख  सम्बन्धी व्यवस्थामा थप स्पष्टता गर्न ऐन संशोधन गर्न लागिएको उल्लेख छ । ऐन संशोधन गर्न तयार पारिएको मस्यौदामा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २ मा संशोधन गर्न खोजिएको छ ।  'वित्तीय संस्था' को परिभाषालाई थप स्पष्ट पार्न खोजिएको छ । मस्यौदामा भनिएको छ, ‘वित्तीय संस्था भन्नाले वित्तीय होल्डिङ कम्पनी, कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनको लागि कर्जा दिने वा सर्वसाधारण जनताबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको वित्तीय संस्था वा डिजिटल बैंक सम्झनु पर्छ र सो शब्दले विप्रेषण कारोबार गर्ने, भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्ने संस्था वा बैंकको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्थालाई समेत जनाउँछ ।’ पछिल्लो समय डिजिटल बैंकिङसँगै अनलाइन भुक्तानी बढेसँगै राष्ट्र बैंकले आफ्नो ऐनलाई समेत समयानुकुल बनाउन खोजेको देखिन्छ ।  मस्यौदामा  ‘डिजिटल बैंक’ भन्नाले भौतिक शाखा वा सञ्जाल बिना डिजिटल माध्यमबाट वित्तीय कारोबार सञ्चालन गर्न बैंकबाट इजाजत प्राप्त वित्तीय संस्था सम्झनुपर्ने उल्लेख गरिएको छ ।  डिजिटल मुद्रालाई पनि चिन्न ऐन संशोधन गर्न खोजिएको छ । ‘मुद्रा भन्नाले करेन्सी, पोस्टल अर्डर, पोस्टल नोट, मनि अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र वा क्रेडिट कार्ड सम्झनु पर्छ र सो शब्दले बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तै प्रकारको मौद्रिक उपकरणलाई समेत जनाउँछ,’ मस्यौदामा भनिएको छ ।  ऐनको दफा १० लाइ संशोधन गर्ने तयारी समेत गरिएको छ ।  मूल ऐनको दफा १० मा  बैंकले आफ्नो उद्देश्य प्राप्तिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सार्वजनिक निकाय वा तिनको एजेन्सी वा निकायसँग आवश्यक समन्वय गर्न सक्नेछ व्यवस्था थप्न खोजिएको छ भने सो दफा भित्र रहेको सार्वजनिक निकाय भन्ने शब्दहरुको सट्टा प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक निकाय, सहकारी, उद्योग व्यवसाय शब्दहरु राख्न खोजिएको छ ।    ऐनको दफा २७ मा समेत संशोधनको तयारी गरिएको छ ।  उक्त दफामा कायम मुकायम भई काम गर्नेसम्बन्धि व्यवस्था छ । प्रस्तावित मस्यौदामा भनिएको छ–‘ बहालवाला गभर्नरको मृत्यु भएमा, पदबाट राजीनामा दिएमा, यस ऐन बमोजिम पदबाट निलम्बन भएमा, गभर्नर विदेश भ्रमणमा जानु परेमा वा बिदामा बसेमा वा कुनै कारणले गभर्नरले बैंकको काम गर्न नसक्ने भएमा गभर्नर पदको कामकाज गर्नेगरी नेपाल सरकारले बैंकको वरिष्ठ डेपुटी गभर्नरलाई कायम मुकायम गभर्नरको रुपमा तोक्नेछ ।’ अर्थमन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा अहिले सर्वसाधरणको सुझाव संकलन गरिँदैछ । उक्त सुझाव समेटेर आउँदो संसद्बाट यो विधेयकलाई अघि बढाउने तयारी गरिएको छ ।   

एसियन स्मार्ट एग्रो कम्पनीको साधारण सभा सम्पन्न, पुँजी वृद्धि गर्ने

काठमाडौं । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको साधारण सभा अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सिराहाको लहानस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । फाल्गुण २ गते आयोजित सभाको उद्घाटन अध्यक्ष लामाले गरेका थिए । सभामा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सञ्चालक तथा सेयरधनीलाई स्वागत गरेका थिए । साधारण सभामा सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको छ । त्यसैगरी, सेयर पुँजीको आधारमा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा सभाको माइन्युटमा हस्ताक्षर गर्ने अधिकार अध्यक्ष र सेयरधनी रामपुजन रायलाई दिने प्रस्ताव पनि पारित गरिएको छ । सभाको अन्त्यमा अध्यक्ष लामाले उपस्थित सबै सेयरधनी तथा सञ्चालकप्रति धन्यवाद ज्ञापन गर्दै विशेष साधारण सभाको समापन गरेका थिए ।

तम्घास–बुर्तीबाङ १३२ केभी लाइन सञ्चालनमा, गुल्मी–बागलुङमा विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तीबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आइतबार (आज)देखि परीक्षणसहित सञ्चालनमा ल्याएको छ ।  आयोजनाअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२, खल्टुबोटस्थित बुर्तीबाङ सवस्टेशनसम्म १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह सुरु गरिएको हो । बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको यो लाइन सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत आपूर्ति थप विश्वसनीय, सुदृढ र स्थिर हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ । उच्च भोल्टेज प्रसारण लाइन भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारण टावरमा नचढ्न, तार वा संरचनालाई नछुन आग्रह गरेको छ ।  प्राधिकरणले टावर वरिपरि अनावश्यक रूपमा नजान तथा घरेलु जनावरलाई त्यहाँ नछोड्न आग्रह समेत गरेको छ । खतरा संकेत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई समेत सचेत गराउन अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।

४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता, सबैभन्दा धेरै कृषिमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।  उद्योग विभागका अनुसार चालु आ.व.को साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको हो । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।  सात महिनामा सबैभन्दा धेरै कृषिका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।  पर्यटन क्षेत्रका १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।  त्यस्तै, सेवामूलक ३४ वटा परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने सूचना प्रविधिमूलक २ सय ८८ परियोजनामा एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।  उद्योग विभागका अनुसार २ वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।  माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो अघिल्लो आ.व. सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो । गत आव माघसम्म २६ अर्ब ८४ करोड १७ लाख बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो । विभागका अनुसार माघसम्म वैदेशिक लगानीका कुल ५ सय २५ उद्योग दर्ता भएको छ । 

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व संकलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म एक खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार संकलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब नौ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।  त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ र मङ्सिरमा भने २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै पुसमा पनि २० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको  छ । कार्यालयले माघमा मात्र २१ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १८ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।   

दुबईमा फ्लाई नेपा ट्राभलको नयाँ कार्यालय उद्घाटन

काठमाडौं । फ्लाई नेपा ट्राभलले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिअन्तर्गत संयुक्त अरब इमिरेट्सको दुबईमा नयाँ कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। कम्पनीका ग्लोबल सीईओ तथा अमेरिका लागि पर्यटन प्रवर्द्धक विनोद अधिकारीको नेतृत्वमा आयोजित विशेष समारोहबीच कार्यालय उद्घाटन गरिएको हो ।  दुबई विस्तारमार्फत नेपाल, यूएई, क्यानडा र संयुक्त राज्य अमेरिका बीचको यात्रु आवतजावत तथा पर्यटन सहकार्य सुदृढ बनाउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । यूएईमा बसोबास गर्ने पाँच लाखभन्दा बढी नेपाली समुदायका साथै स्थानीय इमिराती समुदायलाई सेवा प्रदान गर्ने उद्देश्य पनि राखिएको छ । नयाँ कार्यालयले होलिडे प्याकेज, भिसा सहजीकरण, होटल बुकिङ, यातायात व्यवस्थापन तथा कर्पोरेट ट्राभल व्यवस्थापनजस्ता समग्र यात्रा सेवा उपलब्ध गराउनेछ। कम्पनीले नेपालका प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्याकेजहरू प्रवर्द्धन गर्ने जनाएको छ ।  साथै तिब्बत र भूटानका भ्रमण प्याकेजहरू पनि एएमए एडभेन्चरसँगको सहकार्यमा सञ्चालन गरिने बताइएको छ । काठमाडौंस्थित मुख्यालयबाट सञ्चालन हुँदै आएको फ्लाई नेपा ट्राभलले विश्वव्यापी रूपमा भरपर्दो, सहज र पहुँचयोग्य यात्रा समाधान उपलब्ध गराउने लक्ष्यसहित अन्तर्राष्ट्रिय विस्तारलाई निरन्तरता दिएको जनाएको छ ।

डिसहोम इन्टरनेटको २०० र ३०० एमबीपीएस प्याकेजमा सुविधा

काठमाडौं । डिसहोम इन्टरनेटले भ्यालेन्टाइन डेको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘भ्यालेन्टाइन डे स्पेसल अफर’ अन्तर्गत उच्च गतिको इन्टरनेट सेवामा आकर्षक सुविधा उपलब्ध गराएको हो । यस अफर अन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट प्याकेजको एक वर्षको नयाँ जडान तथा रिन्यु (नविकरण) गर्ने ग्राहकलाई निःशुल्क फ्री फोके स्ट्रिमर उपलब्ध गराइनेछ । त्यसैगरी, १००, २०० तथा ३०० एमबीपीएस स्पिडका नियमित वार्षिक प्याकेज रिचार्ज गर्ने ग्राहकलाई थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेटसँगै डिजिटल मनोरञ्जनमा समेत सहज पहुँच उपलब्ध गराउने उद्देश्य राखिएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको यो अफर सीमित समयका लागि लागू हुने बताइएको छ ।

स्वस्तिक आयलको आम्दानीमा १३० प्रतिशतले उछाल, निर्यात मात्रै ६.९० अर्ब

काठमाडौं । स्वस्तिक आयल इन्डस्ट्रिजले एक वर्षमै साढे १४ अर्ब रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १३०.३८ प्रतिशत अर्थात् ८ अर्ब १२ करोड ८० लाख रुपैयाँले बढी हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले मुख्य रूपमा सनफ्लावर तेल, सोयाबिन तेल, तोरीको तेल, पाम आयल तथा वनस्पति घ्यू बिक्रीमार्फत आम्दानी गर्दै आएको छ । सन् २०२५ मा सञ्चालन आम्दानी उल्लेखनीय रूपमा बढ्नुको प्रमुख कारण भारतले खाद्य तेलमा आयात महसुल बढाएपछि नेपालको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनु र भारततर्फ निर्यात बढ्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीको निर्यात बिक्री सन् २०२५ मा ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा ३५ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ६२ करोड ७० लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै कम्पनीले ६ अर्ब १५ करोड १० लाख रुपैयाँ आम्दानी बुक गरिसकेको छ, जसले कुल निर्यात बिक्रीको करिब ४७ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ । उत्पादन क्षमताको उपयोग सन् २०२५ मा ३६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा १८ प्रतिशत मात्र थियो। यसले कम्पनीको सञ्चालन दक्षतामा उल्लेखनीय सुधार आएको संकेत गर्दछ । स्वस्तिक आयल इन्डस्ट्रिज सन् १९८४ डिसेम्बरमा स्थापना भएको हो । यसको उत्पादन प्लान्ट विराटनगर–९ मोरङमा सञ्चालनमा छ । कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक १ लाख ३५ हजार मेट्रिक टन रहेको छ । यसका अतिरिक्त तोरीको तेल उत्पादनका लागि वार्षिक १० हजार मेट्रिक टन क्षमता समेत रहेको छ ।  स्वस्तिक आयल इन्डस्ट्रिज केएल दुगड ग्रुपद्वारा प्रवर्द्धित उद्योग हो । समूहले खाद्यान्न, प्याकेजिङ, जडीबुटी प्रशोधन, जलविद्युत्, सिमेन्ट, निर्माण तथा बैंकिङ तथा वित्तीय सेवा जस्ता विभिन्न क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएको छ । समूहको औद्योगिक अनुभव र व्यवस्थापन क्षमताले स्वस्तिक आयललाई खाद्यतेल उद्योगको एक महत्त्वपूर्ण उत्पादकका रूपमा स्थापित गरेको छ । कम्पनीका अध्यक्ष विकास दुगडसँग व्यापार तथा उद्योग क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । उनी केएल दुगड ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन् र अन्य विभिन्न कम्पनीहरूमा निर्देशकको भूमिकामा संलग्न छन् ।  केएल दुगड समूहले आफ्ना सहायक कम्पनीहरूमार्फत १८० भन्दा बढी उत्पादनहरू बजारमा आपूर्ति गर्दै आएको छ । यसमा चामल, दाल, अन्न, शिशु आहार, मसला, चिया, पीठो, खाद्यतेल तथा अन्य खाद्यान्न सामग्रीहरू समावेश छन्। समूहका बिक्री डिपोहरू देशका विभिन्न भौगोलिक क्षेत्रमा सञ्चालनमा छन् । स्वस्तिक आयल इन्डस्ट्रिजले आफ्ना खाद्यतेल उत्पादनहरू स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल ब्रान्डमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।  खाद्यतेलको बढ्दो आन्तरिक मागलाई सम्बोधन गर्दै स्वस्तिक आयल इन्डस्ट्रिजले स्वदेशी उत्पादन प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आएको छ । कम्पनीले सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख, सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख, सन् २०२१ मा ११ अर्ब १० करोड र सन् २०२० मा ८ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनी कच्चा खाद्य तेल तथा तोरीजस्ता कच्चा पदार्थका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुका साथै खाद्यतेल कच्चा पदार्थहरू कृषिजन्य तथा मौसमी उत्पादन भएकाले मूल्यमा उच्च उतारचढाव हुने जोखिम कायमै रहेको कम्पनीले जनाएको छ । साथै संगठित र असंगठित धेरै कम्पनीहरूको उपस्थितिका कारण उद्योग अत्यन्त प्रतिस्पर्धी रहेको बताइएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ६ करोड रुपैयाँ ऋण लिएको छ । जसमा १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब ६० करोड ६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।