विकासन्युज

गुल्मीमा ६ उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने

काठमाडौं । गुल्मी जिल्लाका दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका ४३ उम्मेदवारमध्ये ६ जना उम्मेदवारले भने आफ्नै पक्षमा मतदान गर्न नपाउने भएका छन् । आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा मतदाता नामावली नरहेका कारण उनीहरू मतदानबाट वञ्चित हुने अवस्था आएको हो । गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थीले आफ्नै पक्षमा मत हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीअनुसार पन्थीको नाम काठमाडौं महानगरपालिका–१० मा रहेको छ ।  संघीय संसदको उम्मेदवार हुन देशको जुनसुकै मतदान केन्द्रमा नामावली भए पुग्छ । मतदान भने सम्बन्धित मतदाता नामावली रहेको मतदान केन्द्रबाट मात्रै गर्न पाइने कानुनी व्यवस्था छ । मतदाता नामावली तथा मतदान सम्बन्धी ऐनले देशको कुनै पनि स्थानको मतदाता नामावलीमा नाम रहे उम्मेदवार बन्न रोक लगाएको छैन । तर मतदान गर्न भने आफ्नो नाम दर्ता भएको मतदान केन्द्रमै उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ । यही प्रावधानका कारण पन्थीले गुल्मी–२ मा उम्मेदवारी दिए पनि त्यहीँबाट मतदान गर्न नपाउने भएका हुन्। यस्तै, गुल्मी–१ बाट मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार खड्कबहादुर गुरुङको मतदाता नामावली नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको छ । त्यसैगरी, नेशनल रिपब्लिकन पार्टीबाट गुल्मी–१ का उम्मेदवार लोकबहादुर थापाको मतदाता नामावली बुटवल उपमहानगरपालिका सालघारीमा रहेको छ । उनीहरू दुवैले पनि आफू उम्मेदवार भएको क्षेत्रमा मतदान गर्न पाउने छैनन् । यसैगरी, जनमोर्चाका उम्मेदवार लालबहादुर थापा र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार वेदबहादुर थापाले पनि आफ्नै क्षेत्रमा मत हाल्न नपाउने भएका छन् ।  उनीहरूको मतदाता नामावली सम्बन्धित निर्वाचन क्षेत्रभन्दा बाहिर रहेको छ । लाल बहादुरको मतदाता नामावली काठमाडौंको नागार्जुन नगरपालिका र वेदबहादुरको दाङको घोराही उपमहानगरपालिकामा रहेको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार मैयाँलक्ष्मी त्यातले पनि मतदान गर्न पाउने छैनिन् । भक्तपु्र निवासी त्यात गुल्मी– १ बाट चुनावी मैदानमा उत्रिएकी छन् ।

ग्रामीण महिला उद्यमीलाई अनुदान दिने उज्यालो नेपाल पार्टीको घोषणा

काठमाडौं । उज्यालो नेपाल पार्टीले घोषणापत्रमा महिला पर्यटन उद्यमीलाई वातावरण संरक्षणका लागि अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ । पार्टीको घोषणापत्रअनुसार दिगो तथा समावेशी पर्यटन कोष स्थापना गरी सोही कोषबाट अनुदान उपलब्ध गराइने जनाएको छ । ‘पर्यटनबाट प्राप्त राजस्वबाट पाँच अर्ब रुपैयाँको पर्यटन समृद्धि कोष स्थापना गरी ग्रामीण महिला पर्यटन उद्यमीलाई वातावरण संरक्षणका लागि अनुदान उपलब्ध गराइनेछ,’ घोषणापत्रमा उल्लेख छ । घोषणापत्रअनुसार नेपाल पर्यटन दशक २०२६–२०३५ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सन् २०३५ सम्म वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । धार्मिक, सांस्कृतिक, साहसिक तथा इको–पर्यटनलाई प्रवर्द्धन गर्दै नेपाललाई ‘३६५ दिन पर्यटन गन्तव्य’ का रूपमा विकास गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ । त्यस्तै, पार्टीले पर्यटन पूर्वाधार तथा कनेक्टिभिटी सुधार गर्न स्वदेशी तथा विदेशी हवाई सेवासँग सहकार्य गरी १० प्रमुख विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रूपमा विकास गर्ने उल्लेख गरेको छ । हवाई कनेक्टिभिटी विस्तारसँगै उडान गन्तव्य वृद्धि गर्ने, सडक, केबलकार तथा होमस्टे जस्ता पूर्वाधारलाई सुरक्षित र गुणस्तरीय बनाउने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ ।   

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ ।  आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । बाँकी १० जिल्लाको पनि मतपत्र छपाइ भएको छ भने प्याकिङ बाँकी रहेको उनले बताए । अब ११ लाख ९९ हजार मतपत्रमात्र छाप्न बाँकी रहेको छ ।   हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन र सिराहा गरी ६७ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरी ढुवानीका लागि तयारी भएको हो ।  शनिबारसम्म ६६ जिल्लाको मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको थियो । आज थप एक जिल्लाको मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।  अब काठमाडौं उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको जनाइएको छ । अब दुई दिनमा मतपत्र छपाइ सकेर प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिने जनाइएको छ । हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।  हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।   गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।     छपाइ भएको मतपत्र शुक्रबारदेखि आयोगले पठाउन सुरु गरेको थियो । पहिलो चरणमा कर्णालीमा मतपत्र पठाइएको थियो । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका दुर्गम जिल्लामा पनि मतपत्र पठाइएको आयोगले जनाएको छ । सहरी क्षेत्र र सुगम जिल्लामा भने मतपत्र पठाउन बाँकी छ ।   

बजाजकाे अल–न्यू अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

काठमाडौं । अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ गते बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा राइडर, इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई औपचारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘मनाङ एक्सप्लोरर राइड’ प्रिमियर गरिएको थियो, जसले बाइकको लामो दूरी यात्रा क्षमता र कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई उजागर गरेको थियो । उक्त प्रस्तुतीकरणप्रति उपस्थित दर्शकहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए । अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, राइड-बाइ-वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभर तथा हजार्ड लाइट प्रणालीजस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ । यी फिचरहरूले बाइकको सुरक्षा र राइडिङ अनुभवलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ । उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित सम्पन्न भएको लन्च कार्यक्रमले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित बाइक प्रदान गर्ने बजाज अटाेको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ । सार्वजनिकरणपछि ग्राहकहरूले फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने टेस्ट राइडमार्फत उक्त बाइकलाई नजिकबाट अनुभव गर्न सक्ने बताइएको छ । 

उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो निर्वाचन प्रतिबद्धतापत्र, २०३५ सम्म १११ अर्ब डलर जीडीपी पुर्‍याउने लक्ष्य

काठमाडौं । उज्यालो नेपाल पार्टीले आइतबार (आज) आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आगामी आर्थिक र पूर्वाधार योजना प्रस्तुत गरेको छ ।  पार्टीले २०३०-२०३५ सम्मका लागि देशको आर्थिक रूपान्तरण र विकास लक्ष्यहरू घोषणा गरेको हो । पार्टीका अनुसार सन् २०३०  सम्म कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ७० अर्ब डलर र  २०३५ सम्म १११ अर्ब डलर पुर्याउने लक्ष्य रहेको छ । यसअन्तर्गत २५ हजार मेगावाट विद्युत उत्पादन गरी विदेशी बजारमा निर्यात गर्ने, जसबाट वार्षिक आम्दानी वृद्धि हुने योजना छ । योजना अनुसार जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रवर्द्धन गरी उत्पादन, निर्यात, पूर्वाधार र विप्रेषणबाट जीडीपी बढाइने छ । २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य पनि पार्टीले लिएको छ । यस अन्तर्गत निर्यात २०३० सम्म १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलर  पुर्याउने योजना रहेको छ । त्यसैगरी, श्रममूलक प्रविधि, जलविद्युत, जडीबुटी र नविन प्रविधिको उचित उपयोग गरेर व्यापार घाटा घटाउने योजना पनि प्रतिबद्धतामा समावेश गरिएको छ ।

आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

काठमाडौं । अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको छ ।  बेलायत र संयुक्त राज्य अमेरिकासँगको एयुकेयुएस सम्झौताले अस्ट्रेलियालाई अमेरिकी अत्याधुनिक पनडुब्बीहरूको फ्लीट उपलब्ध गराउने मात्र नभई, उन्नत युद्ध प्रविधिको विकासमा सहकार्य गर्ने मार्ग पनि खोल्ने लक्ष्य राखेको छ । सन् २०३२ देखि पनडुब्बी आपूर्ति सुरु हुने योजना छ र यसलाई प्रशान्त क्षेत्रमा विशेषतः चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने रणनीतिसँग जोडेर हेरिएको छ ।      सम्झौताले आगामी ३० वर्षमा अस्ट्रेलियालाई करिब दुई खर्ब ३५ अर्ब अमेरिकी डलरसम्म खर्च गर्न बाध्य पार्न सक्ने अनुमान गरिएको छ । यसअन्तर्गत भविष्यमा स्वदेशमै पनडुब्बी निर्माण गर्ने प्रविधि हस्तान्तरणसमेत समावेश छ । रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिणी सहर एडिलेड नजिकैको ओसबोर्नस्थित निर्माण स्थललाई परियोजनाको केन्द्रविन्दु हुने बताए । उनका अनुसार दीर्घकालमा सो सुविधामा करिब ३० अर्ब अस्ट्रेलियन डलर लगानी अपेक्षित छ ।      उनले ओसबोर्नमा भइरहेको पूर्वाधार विस्तारले अस्ट्रेलियालाई आउँदा दशकहरूमा आफ्नै आणविक–सञ्चालित पनडुब्बी निर्माण गर्ने सार्वभौम क्षमता दिलाउने मार्गमा अघि बढाएको उल्लेख गरे । प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनडुब्बी निर्माण यार्डमा गरिएको लगानी परम्परागत रूपमा सशस्त्र, आणविक–सञ्चालित पनडुब्बी आपूर्ति सुनिश्चित गर्न निर्णायक हुने बताए । उनले एयुकेयुएस परियोजनाले रक्षा क्षमताको दीर्घकालीन सुरक्षा, रोजगारी सृजना र औद्योगिक समृद्धिमा टेवा पुर्याउने धारणा व्यक्त गरे ।      यसअघि सेप्टेम्बरमा क्यानबेराले पश्चिमी अस्ट्रेलियाको पर्थस्थित जहाज निर्माण तथा मर्मत परिसरलाई भविष्यका आणविक–सञ्चालित पनडुब्बीका लागि रूपान्तरण गर्न एक दशकमा आठ अर्ब अमेरिकी डलर खर्च गरिने जनाएको थियो ।      एयुकेयुएस कार्यक्रम सन् २०२१ मा फ्रान्ससँगको बहु–अर्ब डलरको डिजेल–सञ्चालित पनडुब्बी खरिद सम्झौता रद्द गरेपछि अघि बढाइएको थियो, जसले पेरिससँग कूटनीतिक तनाव उत्पन्न गरेको थियो । गत जुनमा वासिङ्टनले उक्त सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ एजेन्डासँग मेल खान्छ कि होइन भनेर समीक्षा सुरु गरेपछि परियोजना अन्योलमा परेको थियो । तर डिसेम्बरमा पेन्टागनले समीक्षा प्रक्रिया हटाइएको र ट्रम्पले कार्यक्रम ‘पूर्ण रूपमा अगाडि बढाउन’ निर्देशन दिएको जनाएको थियो ।  

इरान र अमेरिकाबीच आणविक वार्ता पुनः सुरु हुने

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीच इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ । स्विट्जरल्यान्डका अधिकारीहरूले  वार्ता जेनेभा सहरमा हुने तयारी गरिएको जानकारी दिएका छन् ।  यसअघि पहिलो चरणको वार्ता अप्रत्यक्ष रूपमा ओमानको मध्यस्थतामा सम्पन्न भएको थियो । उक्त वार्ता इरानको आणविक गतिविधिलाई लिएर अमेरिका र अन्तर्राष्ट्रिय समुदायबीच उत्पन्न असहमति समाधान गर्ने उद्देश्यले आयोजना गरिएको हो । संयुक्त राज्य अमेरिकाले बारम्बार चेतावनी दिँदै इरानको आणविक कार्यक्रम पारदर्शी र सीमित हुनु आवश्यक भएको बताउँदै आएको छ । यदि वार्ता असफल भयो भने त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ ।  अर्कोतिर, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ । इरानी अधिकारीहरूले यसलाई ऊर्जा आवश्यकताका लागि र वैज्ञानिक अनुसन्धानका लागि प्रयोग भइरहेको बताएका छन् ।  पछिल्ला वर्षहरूमा इरान र इजरायलबीच बढेको तनावले वार्ताको वातावरणलाई अझ जटिल बनाएको छ । यी दुई राष्ट्रबीच राजनीतिक र सुरक्षा सम्बन्धमा बढ्दो तनावले क्षेत्रीय अस्थिरता बढाएको छ । यस विषयमा अन्य क्षेत्रीय राष्ट्र र प्रभावशाली राष्ट्रहरूले पनि नजिकबाट ध्यान दिइरहेका छन् । वार्ता सफल भएमा यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय स्थायित्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसले इरानको आणविक कार्यक्रम सीमित गर्ने, शान्तिपूर्ण प्रयोग सुनिश्चित गर्ने र क्षेत्रीय तनाव घटाउने अवसर प्रदान गर्न सक्छ । 

म्युनिख सम्मेलनमा जेलेन्स्कीले भने- पुटिन युद्धको गुलाम हुन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको गुलाम’ भएको आरोप लगाएका छन् । जेलेन्स्कीले यो अभिव्यक्ति जर्मनीमा आयोजित म्युनिख सुरक्षा सम्मेलनमा दिएका हुन् । युक्रेनी राष्ट्रपतिले भने, ‘पुटिन शक्तिबिना बस्न सक्दैनन् र अहिले उनको सम्पूर्ण ध्यान युक्रेनमै केन्द्रित छ । पुटिन सामान्य मानिसजस्तै जीवन बिताउँदैनन् । उनी साधारण गल्लीहरूमा हिँड्दैनन्, तपाईंले उनलाई क्याफेमा देख्नुहुन्न ।’ ‘उनी शक्तिबिना जीवन बिताउने कुरा सोच्नै सक्दैनन् । सामान्य कुराहरूमा उनको कुनै रुचि छैन,’ उनले थपे । अन्त्यमा जेलेन्स्कीले भने, ‘पुटिन युद्धको सोच त्याग्न सक्दैनन् । उनी आफूलाई सम्राट ठान्न सक्छन्, तर वास्तविकतामा उनी युद्धकै गुलाम हुन् ।’ रूस–युक्रेन युद्ध सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेसँगै चर्किएको हो । त्यसयता पूर्वी र दक्षिणी युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण लडाइँ जारी छ । युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् भने ऊर्जा, खाद्य आपूर्ति र विश्व अर्थतन्त्रमा समेत असर परेको छ । म्युनिख सुरक्षा सम्मेलन विश्वका नेताहरू, कुटनीतिज्ञहरू र सुरक्षा विज्ञहरू भेला हुने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ वैश्विक सुरक्षा, युद्ध र भू–राजनीतिक तनावका विषयमा छलफल हुन्छ । यही सन्दर्भमा जेलेन्स्कीले रूसको नेतृत्व र युद्धनीतिमाथि कडा आलोचना गरेका हुन् ।