विकासन्युज

सामाजिक सञ्जालमा सुशीलाको वाहवाही, नेताहरूले पनि गरे प्रशंसा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्चालमा प्रशंसा हुन थालेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले फागुन २१ गते निर्वाचनको तालिका निर्धारण गरेकी थिइन् ।  यो बीचमा धेरैले निर्वाचन हुने/नहुने विषयमा संशय व्यक्त गरिरहेका थिए । कतिपय नेताहरूले पनि वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए । तर, फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ ।  शान्तिपूर्ण रूपमा निर्वाचन गराएको भन्दै सामाजिक प्रयोगकर्ताले उनको प्रशंसा गरेका छन् ।  विभिन्न राजनीतिक दलका नेताहरूले पनि उनको प्रशंसा गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले भनेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ त्यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन गराएकोमा सरकारलाई धन्यवाद दिएका छन् । आज निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं ।’ ‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ । निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।  यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि  निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन भएको बताएका छन् ।  उनले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति धन्यवाद पनि दिएका छन् ।  ‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ चुनाव सम्पन्न भएपछि उनले फेसबुकमा लेखेका छन् । 

काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना हुने

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै रातिबाट मतगणना सुरु हुने भएको छ ।  काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अधिकारी ठाकुरप्रसाद भट्टराईले काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना सुरु गरिने जानकारी दिए । अहिले सबै निर्वाचन क्षेत्रबाट मतपत्रको बाकस संकलन गर्न काम भइरहेको उनले बताए । काठमाडौंमा शान्तिपूर्ण निर्वाचन भएको उनको भनाइ छ । कहाँ-कहाँ मतगणना हुँदैछ ? क्षेत्र नं १ सहकारी विभाग क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका  क्षेत्र नं ३ चामुन्डा माध्यमिक विद्यालय नारायणटार  क्षेत्र नं ४ बुढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय  क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५  क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली  क्षेत्र नं ७ जुडो हल नयाँबजार  क्षेत्र नं ८ जनउद्दार मावि हरिसिद्धी, काठमाडौं  क्षेत्र नं ९ चन्द्रगिरी नगरपालिका, बलम्बु  क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर

सुन्धारा कारागारमा १०५ कैदीबन्दीले गरे मतदान

काठमाडौं । सुन्धारा कारागारका २ सय १० कैदीबन्दीले मतदान गरेका छन् ।कारागारका अनुसार २३१ कैदीबन्दीका नामावाली रहेको थियो । ५ जना कर्मचारी र १ सय ५ कैदीबन्दीले मतदान गरेको कारागारले जनाएको छ ।  केही कैदीबन्दी छुटेका, अन्य कारागार सरुवा र केही कर्मचारी सरुवा भएका कारणले २१० जनाले मत खसाएका हुन् । बिहीबार देशभर प्रतिनिधि सभाको निर्वाचन भएको छ । १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४०६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए ।

झापामा मतपत्र बाकस संकलन हुँदै, सम्भव भए आजै रातिबाट मतगणना गरिने

काठमाडौं । झापाका सबै निर्वाचन क्षेत्रमा मतपत्रको बाकस संकलन भएको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपत्रको बाकस सुरक्षित भण्डार गरिसकेपछि मतगणनाको कार्य अगाडि बढ्ने छ । आजै राति सर्वदलीय बैठक बस्ने मतगणना सुरु गर्ने आयोगले जनाएको छ ।  मतगणनास्थलमा बस्नेहरूको परिचय संकलन गरिने पनि आयोगले उल्लेख गरेको छ । ‘सम्भव भएमा आजै रातिबाट सबै क्षेत्रको मतगणना सुरु गरिनेछ,’ आयोगका एक अधिकृतले विकासन्युजलाई भने ।

नागरिक उड्डयन प्राधिकरण भन्छ- एयरलाइन्ससँग टिकट बुकिङ कन्फर्म गरेर मात्र विमानस्थल जानू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई नजान अनुरोध गरेको छ । यात्रुलाई एयरलाइन्ससँग समन्वय गरेर मात्र विमानस्थलमा जान प्राधिकरणले आग्रह गरेको हो। मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द तथा रद्द भइरहेका छन् ।  केही वायुसेवाहरूले त्यस क्षेत्रमा अलपत्र परेका तेस्रो मुलुक हुँदै नेपाल आउने ट्रान्जिट यात्रुहरूका लागि विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही मुलुकको विमानस्थलसम्म लैजाने गरेको छ । ‘मध्यपूर्वका देशबाट केही उडान सञ्चालन हुने जानकारी प्राप्त भएको हुँदा र सोही देशबाट तेस्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरुले सम्वन्धित वायुसेवाहरुसँग समन्वय गरी आफ्नो बुकिङ गरेपश्चात मात्र विमानस्थलमा आउनका लागि सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ : ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो अद्यावधिक विवरणअनुसार बेलुका ४ बजेसम्म देशभर करिब ४५ प्रतिशत मत खसेको छ । देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये हालसम्म ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । प्रादेशिक तथ्याङ्कलाई हेर्दा पहाडी र हिमाली क्षेत्रमा मतदाताको उपस्थिति बाक्लो देखिएको छ। गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी ४८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, बागमती र लुम्बिनी प्रदेशमा ४७ प्रतिशत मत खसेको छ। त्यस्तै, कोशी प्रदेशमा ४६ प्रतिशत मतदान भएको छ । सुदूरपश्चिम र मधेस प्रदेशमा भने तुलनात्मक रूपमा कम मतदान भएको छ। सुदूरपश्चिममा ३९ प्रतिशत र मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा सबैभन्दा कम ३७ प्रतिशत मात्र मत खसेको छ । काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा भने मतदाताको सहभागिता निकै उत्साहजनक देखिएको छ । यहाँ दिउँसो पौने ४ बजेसम्म नै ५४ प्रतिशत मत खसिसकेको तथ्याङ्क छ । साँझ ५ बजेसम्म समय तोकिए पनि लाइनमा रहेका मतदाताले मतदान गर्न पाउने भएकाले अन्तिम प्रतिशत अझै बढ्ने देखिन्छ । अहिले पनि धेरै मतदान केन्द्रहरूमा मतदाताको लामो लाइन रहेकाले कुल मतदानको प्रतिशत केही वृद्धि हुने अनुमान पनि गरिएको छ ।

दोलखाको मालुमा रोकिएको मतदान पुनः सुरु

काठमाडौं । दोलखाको मालुमा रोकिएको मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय, दोलखाकी निर्वाचन अधिकारी अप्सरा खत्रीले मालुमा रोकिएको निर्वाचन प्रक्रिया पुनः सुरु भएको जानकारी दिइन् ।  मालुमा केहीबेर अघिमात्र मतदान प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।  उनका अनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए ।  ‘५४ वटा मतपत्र बुको खोसिएको थियो । ४४ वटा मतपत्र फिर्ता गरिएको र दशवटा मतपत्र हराएकै हराइ भयो,’ उनले भनिन् ।

विश्वको ध्यान मध्यपूर्वतर्फ मोडिएपछि युक्रेन संकट ओझेलमा, रोकियो निर्णायक वार्ता

काठमाडौं । मध्यपूर्वमा चर्किएको इरानसम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनबीच यस साता हुने भनिएको नयाँ चरणको वार्ता स्थगित भएको युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले बताएका छन् । अन्तर्राष्ट्रिय ध्यान अहिले मध्यपूर्वतर्फ केन्द्रित भइरहेका बेला किएभले भने इरानी ड्रोनको सामना गर्ने आफ्नो अनुभवबारे विभिन्न देशबाट सहयोगको प्रस्ताव प्राप्त गरिरहेको जनाएको छ । जेलेन्स्कीका अनुसार संयुक्त राज्य अमेरिका र मध्यपूर्वका केही सहयोगी राष्ट्रहरूले इरानद्वारा प्रयोग भइरहेका साहेद ड्रोनविरुद्ध प्रतिरक्षा उपायबारे युक्रेनसँग सहयोग खोजिरहेका छन् ।  रूसले चार वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेपछि हजारौं साहेद ड्रोन प्रयोग गरिसकेको अनुभव युक्रेनसँग रहेको उनले बताए । पछिल्लो समयमा इरानले पनि इरानी लक्ष्यहरूमा भएका संयुक्त अमेरिकी–इजरायली आक्रमणको जवाफ त्यही प्रकारका ड्रोनमार्फत दिएको उल्लेख गरिएको छ । छैटौं दिनमा प्रवेश गरेको इरानसम्बन्धी युद्धले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो सङ्घर्ष मानिएको रूस–युक्रेन युद्धबाट अन्तर्राष्ट्रिय ध्यान केही हदसम्म मोडिएको छ । पश्चिमी सरकार र विश्लेषकहरूका अनुसार रूस–युक्रेन युद्धमा लाखौँ मानिसको ज्यान गइसकेको छ, तर एक वर्षदेखि जारी अमेरिकी नेतृत्वको शान्ति प्रयासले लडाइँ चाँडै अन्त्य हुने सङ्केत भने अझै दिएको छैन । जेलेन्स्कीले बुधबार राति सम्बोधन गर्दै इरान वरपरको सुरक्षा अवस्थाका कारण तीनपक्षीय कूटनीतिक बैठकका लागि आवश्यक वातावरण अझै नबनेको बताए । ‘अहिले इरानसँग सम्बन्धित अवस्थाका कारण त्रिपक्षीय बैठकका लागि आवश्यक सङ्केतहरू प्राप्त भएका छैनन्,’ उनले भने, ‘तर सुरक्षा अवस्था र समग्र राजनीतिक सन्दर्भ अनुकूल हुनेबित्तिकै त्यो कूटनीतिक प्रक्रिया पुनः सुरु गरिनेछ ।’ उनका अनुसार इरानी ड्रोनविरुद्ध प्रतिरक्षा उपायबारे सहयोगका लागि विभिन्न देशहरूले युक्रेनसँग सम्पर्क गरिरहेका छन् । हालैका दिनमा उनले संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, जोर्डन र कुवेतका नेताहरूसँग सम्भावित सहकार्यबारे छलफल गरेका छन् । तर उनले युक्रेनले यस्तो सहयोग आफ्नो सुरक्षा कमजोर नपर्ने अवस्थामा मात्र उपलब्ध गराउने स्पष्ट पारे । साथै यस्तो सहकार्यले रूसी आक्रमण रोक्ने किएभको कूटनीतिक प्रयासलाई सहयोग पु‍र्याउनु पर्ने शर्त पनि उनले राखे । ‘हामीलाई, युक्रेनलाई, युद्धको उचित अन्त्य गर्न सहयोग गर्नेहरूलाई हामी पनि युद्धबाट जोगिन मद्दत गर्न तयार छौं,’ जेलेन्स्कीले भन्नुभयो । यसैबीच, युद्धको अध्ययन संस्थानका अनुसार युक्रेनी सेनाले करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा केही स्थानहरूमा रूसी सेनालाई पछाडि धकेल्न सफल भएको छ । वासिङ्टनस्थित उक्त थिङ्क ट्याङ्कका अनुसार फेब्रुअरीको अन्तिम दुई सातामा युक्रेनी सेनाले स्थानीय स्तरका प्रतिआक्रमणमार्फत गुमाएको भन्दा बढी भूभाग पुनः नियन्त्रणमा लिएको छ । संस्थानले जनवरी १ यता युक्रेनले करिब २५७ वर्गकिलोमिटर (१०० वर्गमाइल) क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याएको अनुमान गरेको छ ।