दुर्गम जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिँदै
काठमाडौं । दुर्गमका १५ जिल्लामा मतपत्र हेलिकप्टरबाट ढुवानी गरिने भएको छ । निर्वाचन सम्पन्न भएपछि बिहीबार निर्वाचन आयोगमा पत्रकार सम्मेलनमा कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार बिहानसम्म मतपत्र मतगणनासम्म पुगिसक्ने बताए । उनका अनुसार दुर्गम जिल्लामा मतपत्र बिहानसम्ममा पुग्नेछ ।
ललितपुरमा खस्यो १ लाख ८३ हजार मत, कुन क्षेत्रमा कतिले गरे मतदान ?
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाका तीन निर्वाचन क्षेत्रमा उल्लेख्य मतदान भएको छ । ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा करिब १ लाख ८३ हजार ९९८ मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको प्रारम्भिक विवरणअनुसार क्षेत्र नम्बर-१ मा कुल ५२ हजार ६३२ मत खसेको छ । जसमध्ये २५ हजार ७४१ महिला र २६ हजार ८९१ पुरुष मतदाता सहभागी भएका छन् । यस्तै, क्षेत्र नम्बर-२ मा कुल ६१ हजार ९७५ मत खसेको छ । जसमध्ये ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुषले मतदान गरेका छन् । यसैगरी क्षेत्र नम्बर-३ मा सबैभन्दा बढी ६९ हजार ३९१ मत खसेको छ । यस क्षेत्रमा ३५ हजार ५५ महिला र ३४ हजार ३३६ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न : महानिरीक्षक कार्की
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित तथा सफलतापूर्वक सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनेलाई धन्यवाद प्रकट गरेका छन् । ‘सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु, उनले भनेका छन् ।
सरकारले विकास नगर्दा मतदाता निर्वाचनमा सहभागी भएननन् : भण्डारी
काठमाडौं । संघीय सरकारले विकास नगर्दा जनताले निर्वाचन बहिष्कार गरेको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले संघीय सरकारले विकास नगर्दा मतदाता रुष्ट भएको बताए । ‘मतदाताहरू निर्वाचनदेखि रुष्ट भएका होइनन्,’ उनले भने । स्वेच्छिक अधिकारलाई आयोगले जबरजस्ती गर्न नमिल्ने उनले बताए । सन्तुष्ट भएपछि मतदाताहरू निर्वाचनमा सहभागी हुने उनको भनाइ छ ।
आज लोकतन्त्रले जितेको छ : वरिष्ठ नेता शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन्, 'हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।'
देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, मत पेटिका सिल गरेर गणनास्थलतर्फ ल्याइँदै
काठमाडौं । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए । उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गरे । दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यवाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुमपश्चिम र बाजुराका मतपेटिका शुक्रबारसम्म हेलिकप्टरबाट सङ्कलन गरिनेछ । आयोगले मताधिकारबाट प्रतिनिधि चुन्ने र शासन सत्ता सञ्चालनको प्रक्रियालाई पूर्णता दिने अभियानमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिएको छ । कतिपय स्थलमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको सन्दर्भमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय स्थानमा मतदाताले मत नदिएको हुनसक्ने भएकाले ती मतदाताले संविधान, प्रणाली र आयोगप्रति भने असन्तुष्टि नभएको बताए ।
देशभर ६० प्रतिशत मत खस्यो: निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ । आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले आयोजित पत्रकार सम्मेलनमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न मतदानको प्रारम्भिक विवरण सार्वजनिक गर्दै देशभर करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार केही मतदान केन्द्रमा अझै मत खसाल्ने प्रक्रिया जारी रहेकाले अन्तिम विवरण आउन बाँकी रहेको छ । निर्वाचन पर्यवेक्षणमा खटिएका संस्थाहरूले भने सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रतिवेदन दिएका छन् । भण्डारीका अनुसार मतपेटिका मतगणनास्थलमा पुगेपछि मतगणना सुरु गरिनेछ। हिमाली क्षेत्रका १५ जिल्लाबाट मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याएर गणना सुरु गर्ने योजना रहेको उनले बताए । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले उल्लेख गरे ।
ऊर्जा क्षेत्रमा परिवर्तनको अपेक्षा गर्दै ऊर्जा व्यवसायीले दिए भोट
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ललितपुर महानगरपालिका-४ जाउलाखेल मतदान केन्द्रबाट भोट दिएका छन् । प्रतिनिधिसभा निर्वाचनबाट आउने सरकारले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानको लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले यसपटकको निर्वाचनमा खासै उत्साह नदेखिएको बताए । यसैगरी, वरिष्ठ उपाध्यक्ष मोहन डांगीले आफ्नो गृहजिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय ह्वाकु मतदान केन्द्रबाट मतदान गरे । उनले देशलाई ऊर्जामा पूर्ण आत्मनिर्भर बनाउन अब जलाशययुक्त जलविद्युत आयोजनामा केन्द्रित हुनुपर्ने बताएका छन् । डांगीले नेपालमा हालसम्म धेरैजसो आयोजनाहरू रन अफ रिभर प्रकृतिका भएकाले हिउँदको माग धान्न कठिन भइरहेको उल्लेख गरे । उनले भने, ‘हामी अहिले पनि ऊर्जामा पूर्ण आत्मनिर्भर हुन सकेका छैनौं । अबको आवश्यकता जलाशययुक्त आयोजना नै हो । सरकारले नाफा-घाटा नहेरी बनाउने बुढीगण्डकीजस्ता आयोजनाभन्दा तेह्रथुममा सम्भाव्यता रहेका आयोजनाहरू आर्थिक रूपमा अझ बढी लाभदायक छन् ।’ आफू तेह्रथुमको विकास र विशेषगरी जलविद्युत क्षेत्रको समृद्धिसँग जोडिएकाले आफ्नो मतदान पनि सोही एजेन्डामा केन्द्रित रहेको उनले स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष डांगीले आठराई क्षेत्रको ऐतिहासिक र शैक्षिक महत्त्वको चर्चा गर्दै यस क्षेत्रलाई शिक्षितहरूको थलोका रूपमा चिनाए । श्री ३ मोहन शमशेरको पालामा स्थापित त्रि–मोहन विद्यालय र विसं. २०१७ सालदेखि नै क्याम्पस सञ्चालनमा आएको सन्दर्भ जोड्दै उनले आठराईको पहिचान जोगाउनु पर्नेमा जोड दिए । ‘आठराई एउटा ब्रान्ड हो, जहाँको शैक्षिक इतिहास निकै पुरानो छ,’ उनले भने । विगतका राजनीतिक आन्दोलनहरूमा सक्रिय सहभागी हुँदै आएको बताउँदै उनले यसपटकको निर्वाचन निकै सौहार्दपूर्ण र शान्तिपूर्ण भएकोमा खुसी व्यक्त गरे । निर्वाचनअघि केही डर र संशय रहे पनि जनताले उत्साहपूर्वक र शान्तिपूर्ण वातावरणमा मतदान गरेको उनले बताए । उनले ७६२ मेगावाटको तमोर जलाशययुक्त जलविधुत् आयोजना नेपाल सरकारले अनुमति पत्र दिएमा सरकारसँग १ पैसा नमागी ऐन/कानुनले तोकेको राजश्व तिरेर आगामी १० वर्षमा निर्माण गर्ने अठोट गरिरहेको बताए। अब आउने सरकारले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । उपाध्यक्ष उत्तम भ्लोन लामाले मकवानपुरको मार्खुको बनदेवी मतदान केन्द्रबाट मतदान गरेका छन् । यस्तै, महासचिव बलराम खतिवाडले काठमाडौं ५ बाट मतदान गरेका छन् । उनले टोखा नगरपालिका ६ हात्तीचोक मतदान केन्द्रबाट भोट दिएका छन् ।