विकासन्युज

जातीय विभेद विरुद्धको आन्दोलनदेखि सांसदसम्म

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरे ।  उनी वि.सं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्च सभा सदस्य एवं आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए । राई पहिचानवादी नेताका रुपमा समेत परिचित छन् । सानै उमेरदेखि विभिन्न सङ्घ/संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आएका राईले अब प्रतिनिधिसभामा गएर भुइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरुको आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाए ।  २०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिएका उनी स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् । जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गरेका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको थियो । पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनले जिल्लामा आफूहरूको जित भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताए । दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको खोटाङमा पुरानै राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका थिए । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पनि खोटाङका पाँच जना नेताको समावेश छ । आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे छन् । 

१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ । नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ ७५ लाख ७५ हजार मत गणना, रास्वपाले ल्यायो ३६ लाख ७२ हजार मत

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  । निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ३८ हजार २७०, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले २ लाख ४० हजार ७६३ मत प्राप्त गरेको छ ।

रास्वपाको हालसम्म ४० जिल्ला ‘क्लिन स्वीप’, दुईतिहाइ बहुमतनजिक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै देशको राजनीतिमा नयाँ इतिहास रचेको छ । ७७ मध्ये ४० जिल्लाका सबै निर्वाचन क्षेत्र जित्दै रास्वपाले क्लिन स्वीप गरेको छ भने देशव्यापी रूपमा दुईतिहाइ बहुमतनजिक पुगेको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये मतगणना लगभग टुंगिन लाग्दा रास्वपाले १२२ सिट जितिसकेको छ । प्रत्यक्षमा दुईतिहाइका लागि आवश्यक ११० सिटभन्दा धेरै जित हासिल गर्दै रास्वपाले परम्परागत दलहरूको वर्चस्व तोडेको छ । यसअघि २०७९ को निर्वाचनमा रास्वपा २१ सिटसहित चौथो शक्ति बनेको थियो। त्यतिबेला प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ सिट जितेको थियो । तर छोटो समयमै पार्टीले देशव्यापी विस्तार गर्दै अहिले ठूलो राजनीतिक शक्ति बनेको छ । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को संयुक्त नेतृत्वमा चुनाव लडेको रास्वपाले यसपटक देशभर लहर नै सिर्जना गरेको विश्लेषण गरिएको छ । निर्वाचनअघि नै बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर पार्टी चुनावी मैदानमा उत्रिएको थियो । रास्वपाको लहरका कारण परम्परागत दलहरू कमजोर बनेका छन् । नेपाली कांग्रेस ले प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ सिट जितेको छ र केही क्षेत्रमा अग्रता लिएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ७ सिट जितेको छ । नयाँ शक्ति श्रम संस्कृति पार्टीले पनि ३ सिट जितेर चासो बढाएको छ । यो पार्टीका नेता हर्क साम्पाङ को नेतृत्वमा केही समयअघि मात्रै गठन भएको थियो । स्वतन्त्रतर्फबाट महावीर पुन पनि निर्वाचित भएका छन् । देशका सातै प्रदेशमा रास्वपाको प्रभाव देखिएको छ। कोशी प्रदेशमा झापा, मोरङ, उदयपुर र ओखलढुंगासहित ४ जिल्ला क्लिन स्वीप भएका छन् । मधेश प्रदेशमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सासहित ६ जिल्ला क्लिन स्वीप भएका छन्। धनुषामा भने उम्मेदवारी खारेजको कारण विवादित अवस्था बनेको छ । बागमती प्रदेशमा काठमाडौंका १० वटै क्षेत्र, ललितपुर, नुवाकोट, चितवन, भक्तपुर, काभ्रे, मकवानपुरलगायत ११ जिल्ला क्लिन स्वीप भएका छन् । गण्डकी प्रदेशमा कास्की, तनहुँ, गोरखा, स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत र लमजुङ गरी ८ जिल्ला क्लिन स्वीप भएका छन् । मनाङ र मुस्ताङ मात्रै कांग्रेसले जितेको छ । लुम्बिनी प्रदेशमा रुपन्देही, कैलाली, दाङ, गुल्मी, बर्दिया, नवलपरासी, अर्घाखाँची र प्युठान गरी ८ जिल्ला क्लिन स्वीप भएका छन् । सुदूरपश्चिममा कञ्चनपुर, बैतडी र डडेल्धुरामा ३ जिल्ला क्लिन स्वीप भएका छन् । कर्णालीमा भने कमजोर देशभर बलियो लहर देखिए पनि कर्णाली प्रदेशमा भने रास्वपा अपेक्षाकृत कमजोर देखिएको छ । १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत-२ मा मात्रै रास्वपाका रमेश सापकोटा विजयी भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ । प्रत्यक्षमा १२५ सिट नजिक पुगेको रास्वपाले समानुपातिकमा करिब ५९ सिट जिते स्पष्ट दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ । नेपालको इतिहासमा २०१५ सालको चुनावपछि मात्रै दुईतिहाइ बहुमत आएको थियो, जब नेपाली कांग्रेस ले १०९ मध्ये ७४ सिट जितेको थियो । अहिले भने दशकौं पुरानो राजनीतिक समीकरणलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले नयाँ राजनीतिक युग सुरु गरेको चर्चा हुन थालेको छ ।

कैलाली र कञ्चनपुरमा रास्वपाको क्लिन स्वीप, डडेल्धुरा र बैतडीमा पनि जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै कैलाली र कञ्चनपुरका सबै आठ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । कैलालीका ५ र कञ्चनपुरका ३ वटै क्षेत्रमा रास्वपा उम्मेदवारहरूले भारी मतान्तरसहित जित निकाल्दै पुराना दलहरूको प्रभावलाई लगभग समाप्त पारिदिएका छन् । यस्तै, पहाडी जिल्ला डडेल्धुरा र बैतडी मा पनि रास्वपा उम्मेदवार विजयी हुँदै सुदूरपश्चिममा पार्टीको प्रभाव थप बलियो बनेको छ । कैलाली-१ मा रास्वपाकी कोमल ज्ञवाली, कैलाली-२ मा केपी खनाल, कैलाली-३ मा जगतप्रसाद जोशी, कैलाली-४ मा रास्वपाका खेमराज कोइराला तथा कैलाली-५ मा कांग्रेसको परम्परागत गढ मानिने क्षेत्रमा रास्वपाका आनन्दबहादुर चन्द विजयी भएका छन् ।  यसैगरी, कञ्चनपुर-१ मा जनकसिंह धामी, कञ्चनपुर-२ मा पूर्वपत्रकार दीपक बोहरा तथा कञ्चनपुर-३ मा अर्का पूर्वपत्रकार ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् । 

सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा निर्वाचित

काठमाडौं । सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजीव कोइरालालाई हराउँदै थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ५७ हजार ३४८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कोइरालाले १६ हजार ७१ मत प्राप्त गरेका छन् ।  त्यस्तै नेकपा एमालेका सुजन लामाले ८३०३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ मत पाए । सुनसरी-२ मा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

काभ्रे- २ बाट निर्वाचित भएपछि भण्डारीले भने- ठेक्का वा निजी लाभ बढाइदिन सहयोग नमाग्नू होला

काठमाडौं । काभ्रे- २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन कार्कीले कुनै पनि सार्वजनिक कार्यक्रममा अनावश्यक तडकभडक, महँगो स्वागत नगर्नलाई अनुरोध गरेका छन् ।  उनले आफू सादगीमा विश्वास गर्ने बताएका छन् । भण्डारीले पार्टीको नाममा पैसा उठाउन, चन्दा असुल गर्न वा कसैलाई दबाब दिएर सहयोग लिने पक्षमा नरहेको र पारदर्शी राजनीतिको पक्षमा रहेको बताए । ‘सरकारी पदको प्रभाव प्रयोग गरेर आफ्नो व्यापार, ठेक्का वा निजी लाभ बढाइदिन सहयोग नमाग्नु होला,’ उनले भनेका छन्, ‘म पदलाई निजी स्वार्थका लागि प्रयोग गर्दिनँ ।’ कुनै पनि जात, धर्म, क्षेत्र वा समुदायविरुद्ध विभाजनकारी राजनीति गर्न आग्रह नगर्न भण्डारीले आग्रह गरेका छन्।  उनले सबै नेपालीलाई बराबर ठान्ने पनि बताएका छन् ।

साढे ३ लाख रुपैयाँमै बजारमा आयो नयाँ पल्सर

काठमाडौं । बजाज मोटरसाइकल ब्रान्डले बजाज पल्सर १५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बीएस ६ इन्जिन, सिङ्गल–च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल कन्सोल जस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ । यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाइ छ । मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन (एफआई) प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी एबीएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० नेपालभरका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको छ । मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज मोटरसाइकलको आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको छ । कम्पनीले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको जनाएको छ । त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले पहिलेझैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक नपर्ने कम्पनीले जनाएको छ । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले अन–द–स्पट फाइनान्समार्फत सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । नयाँ पल्सर १५० को आगमनसँगै नेपाली युवा र मोटरसाइकल पारखीहरूले अझ शक्तिशाली, स्टाइलिस र प्रविधिमैत्री राइडिङ अनुभव पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । इच्छुक ग्राहकहरूले नजिकैको बजाज शोरुममा गएर मोटरसाइकलबारे थप जानकारी लिन तथा टेस्ट राइड गर्न सक्नेछन् ।