कबिन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो । कुल १ लाख ८ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ मतमात्र सदर र ३ हजार ९ मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरे । बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढी मत प्राप्त गरे । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी नेकपा (एमाले) का मिलन गुरुङ (चक्रे मिलन) ले ३ हजार ८७ मत मात्र पाए । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यमध्येका हुन् । विसं २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुई वर्षमै महामन्त्री बन्न सफल भए । अहिले पनि उनी रास्वपाका महामन्त्री हुन् । उनको जन्म २०३६ साल मङ्सिरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रुपमा धादिङको सल्यानटारमा भएको थियो । पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार-९ मा बसाइँ सरी आएका अभिभावकले उनलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिएका थिए । गोरखा नगरपालिका-१२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी पूरा गरेपछि नयाँ जीवनको सुरुआत गर्न उनी राजधानी काठमाडौं प्रवेश गरे । कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उनी एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्स पढ्न सुरु गरे । स्नातक तह अध्ययन गर्ने सिलसिलामा भने उनी युवा सशक्तिकरणका विभिन्न अभियानको संलग्न भए । फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एन्ड बिजनेस कोर्स अध्ययन गरे । मलेसियाको आइकम इन्स्टिच्युटबाट उनले ‘युथ लिडरसिप’ कोर्स पूरा गरे । त्यसपछि २०५७ सालमा उनले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तिकरण अभियान सुरु गरे । त्यसपछि २०६४ सालमा उनकै नेतृत्वमा देशभरका युवाको संस्थाहरूको सञ्जाल ‘नेपाल युवा संस्था सञ्जाल’ गठन भएको थियो । त्यस लगत्तै उनले २०६९ सालतिर फेरि अर्को युवाहरूको छाता संस्था ‘राष्ट्रिय युवा महासङ्घ’ दर्ता गरेका थिए । यसमा देशभरकै युवा संस्थाहरू आबद्ध थिए । ‘यो महासङ्घमा आबद्ध रहेका धेरै युवा अहिले मसँगै सांसद भएका छन् । यही बीचमा संयुक्त राष्ट्र सङ्घको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ । एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ । तीस वटा देश घुम्ने मौका पाएँ,’ उनले भने । पार्टीका लागि जिउज्यान दिएको प्रतिफल अहिले देश घण्टीमय भएको उनको बुझाइ छ । अहिले देशभरका नागरिकको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नाका पछाडि आफूहरूको इमान्दारिता, क्षमता, दक्षता भएको उनको भनाइ छ । ‘नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा काम गर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन् । अब यो विश्वास र भरोसालाई सदासर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौती हो,’ उनले भने ।
सर्वाधिक मत पाउने सांसदहरु
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमले २९ हजार ५ सय २८ मत ल्याएर रौतहट-२ बाट विजय हासिल गरे । २०८२ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार मध्ये सबैभन्दा बढी भोट ल्याउने सांसद हुन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीका ८४ जना सांसदले मोहम्मद फिरदोस आलमको भन्दा बढी मत ल्याएर विजय हासिल गरे । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले २७ हजार ४ सय ६० मत पाएर रोल्पाबाट विजय हासिल गरे । उनको भन्दा बढी मत पाएर विजय हुने रास्वपाका ९५ सांसद छन् । नेकपा एमालेका मोहम्मद इश्तियाक राईले २४ हजार ६२८ मत ल्याएर बाँके-२ बाट विजय हासिल गरे । उनी एमालेबाट सबैभन्दा बढी मत ल्याउने सांसद हुन । उनले भन्दा बढी मत पाएर विजय हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद १०० जनभन्दा बढी रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी भए । अहिलेसम्म सबैभन्दा बढी मत ल्याएर विजय हुनेमा बालेनको नाम सूचीकृत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकै इन्दिरा राना मगरले ६० हजार ११० मत ल्याएर विजय हासिल गरिन् । उक्त पार्टीबाट १२ जनाले ५० हजार भन्दा बढी मत ल्याएर विजय हासिल गरे । ३६ जनाले ४० हजार भन्दा बढी मत मत पाए । ७० जनाले ३० हजार बढी मत पाए । प्रत्यक्षतर्फ १६५ सीट मध्ये कम्तीमा १२५ अर्थात् ७५ प्रतिशत सीटमा विजय हासिल गरेको यस पार्टीका विजयी हुने उम्मेदवारहरूले विजय हासिल गरेको मतान्तर पनि ज्यादै बढी छ । समानुपातिक तर्फ पनि दोस्रो ठूलो दल नेपाली काँग्रेसको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन गुणा बढी मत पाइरहेको छ ।
‘म्यागासेसे’ को संसद् यात्रा
काठमाडौं । सामाजिक अभियन्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म वि.सं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत माघ ४ गते पदबाट राजीनामा दिएर जन्मथलोमा चुनाव लडेका थिए । अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट वि.सं २०४९ मा स्नातकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका-७ मा रहेको टिकोट माविका प्रअ प्रदीप पुनले बताए । वि.सं २०५८-६४ को समयमा पोखरा, काठमाडौं लगायत सहर बजारमा सहज रुपमा कम्प्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत र तार रहित इन्टरनेट सुविधा विस्तार गरेका थिए । ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकोमा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रुपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गरे । चौरी पालन, माछा पालन, तरकारी खेती गरेर ग्रामीण क्षेत्रका विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने अवधारणा विकास गरेका पुनको अगुवाइमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, नागी, मोहरेडाँडा, टिकोट, डाँडाखर्क र खोप्रा लेकमा सामुदायिक लज सञ्चालन भएको छ । चौरी र सामुदायिक लजको आम्दानी विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ । पुनको अगुवाइमा विसं २०६० को दशकमा टेलिमेडिसिन सेवा सञ्चालन गरेर गाउँका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई सहर बजारमा रहेका चिकित्सको परामर्शमा सेवा दिने अभ्यास गरेका छन् । नागीमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको थियो । उनले नेतृत्व गरेको हिमालयन संरक्षण संस्थाले नागी, बरङजा, झिँ लगायतका ठाउँमा नर्सरी स्थापना गरि बिरुवा उत्पादन र वृक्षारोपण हुँदै आएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन एवं सहयोग गर्न व्यक्तिगत रुपमा लेखनाथ र पोखरामा रहेको २८ रोपनी जग्गा बिक्री गरी स्रोत जुटाएका थिए । आफ्नै जीवन कथाको पुस्तक बेचेर भएको १२ करोड रुपैयाँ आम्दानी वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा परिचालन गरेको छ । पुनले सन् २००२ मा अशोका फेलोसिप, २००७ मा रोमन म्यागासेसे पुरस्कार, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित १० लाख रुपैयाँ नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गरेका छन् । पुनको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि र व्यक्तित्वले मत परिवर्तनको खोजीमा रहेका म्याग्देली मतदाताको मन जितेर राजनीतिक दलहरूको साङ्गठनिक शक्तिमाथि हाबी हुँदै फराकिलो मतान्तरका साथ ऐतिहासिक जित निकालेका म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद आचार्यले बताए । एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पछि पारेर जित हासिल गरेका पुनले २२ हजार ८५० मतका साथ जित निकालेका छन् । ‘राजनीतिक कार्यकर्ताको दबदबा, नेता-कार्यकर्तासँगको सम्बन्ध र पुराना राजनीतिक सम्बन्धका कारण मतदाता खुल्न नसक्ने अवस्थामा भने जस्तो काम गर्न नसकेको झोकमा मन्त्री पद छाडेर चुनाव लड्न आएका महावीरलाई चुनौती हुने आँकलन र पूर्व अनुमान मिलेन,’ सहायक प्रअ आचार्यले भने, ‘यसपालि लोभ, आश्वासन, डर, धम्की र भ्रमले अपेक्षाकृत काम गरेन, बरु यसले महावीरलाई जित्न झन सहज बनाएको देखियो ।’ महावीरको जितले म्याग्दीमा राजनीतिक दल तथा नेताहरूलाई समाजमा कार्यकर्ता बाहेक पनि मानिस छन् र चुनाव जित्नको लागि सङ्गठन, शक्ति र पैसा नै चाहिने रहेछ भन्ने धारणाबाट मुक्त हुन सन्देश दिएको आचार्यले बताए । अब गठन हुने प्रतिनिधिसभा सदस्यमा दलविहीन सांसद पुनमात्र बनेका छन् । पुनले विद्यालय, विश्व विद्यालय, प्राविधिक शिक्षामा राजनीतिकरण र स्वार्थ समूहको प्रभावलाई अन्त्य गरेर शैक्षिक सुधारका लागि नीति निर्माण गर्न अगुवाइ गर्ने प्रतिक्रिया दिए । सामान्य शैलीमा मतदातासँग अनौपचारिक हिसाबले कुराकानी गर्नुका साथै साथै सामाजिक सञ्जालमार्फत चुनाव प्रचार गर्नुभएका महावीरले विजय उत्सव मनाउने र खुसियाली साट्ने नाममा तडकभडक प्रदर्शन र अनावश्यक खर्च नगर्न अनुरोध गरे । महावीरले अपनाएको फरक शैलीको चुनाव प्रचार र मतदाताबाट आर्थिक सहयोग पाएको विषयले चर्चा पाएको छ ।
फोहरलाई मोहर बनाउने केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा
काठमाडौं । बागलुङ नगरपालिका-३ गुठीमा जन्मिएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित भए । खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गरेका थिए । आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका खड्काले बागलुङको छविलाई सुधार्ने योजना रहेको बताए । उनले गुमेको बागलुङको साखलाई फिर्ता ल्याउँदै आर्थिक विकास, रोजगारी, हरित वातावरण र उद्यमशीलतामा जोड दिने बताए । खड्कासँग केमिकल इन्जिनियर, अर्थविद् तथा उद्यमीमा रुपमा काम गरेको अनुभव छ । ‘बागलुङको छोरा, विश्वको ज्ञान, युवा नेतृत्व अबको समाधान’ भन्ने नारासहित उनी चुनावमा होमिएका थिए । समृद्ध बागलुङ र आत्मनिर्भर नेपाल निर्माणको लक्ष्यका साथ राजनीतिमा आएको उनी बताउँछन् । शैक्षिक रूपमा खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उच्च शिक्षा पश्चात् नेपाल फर्किएर खड्का पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत मातृभूमिको सेवामा सक्रिय रहेका थिए । उनले नीति निर्माणलाई उद्यमसँग जोड्न राजनीतिमा आफ्नो उपस्थिति रहेको बताए । उद्यमसँगै नीति निर्माणमा संसदमा आवाज उठाउने खड्काको प्रतिबद्धता छ । ‘बागलुङलाई हरित उद्यमसँग जोड्ने, गुमेको बागलुङको साख फर्काउने, अलपत्र योजना सक्ने, सम्पर्क कार्यालयमार्फत जनताका गुनासा सुन्ने, जनताको घरमा पुगेर समस्या समाधान गर्ने मेरो लक्ष्य छ । फोहोर व्यवस्थापन, बागलुङको समृद्धिको खाका बनाएर काम गर्छु,’ खड्काले भने । खड्काले नेपालमा रेस्टुरेन्ट, कृषि, फोहरमैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी विभिन्न उद्यम स्थापना तथा सञ्चालन गर्दै आएका छन् । खड्काले ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठूलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी सयौँलाई रोजगारी सिर्जना गरेको बताए । खड्काले हिमाली जिल्लाहरूमा सरसफाइ अभियान सञ्चालन, रोटरी इन्टरनेशनल मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रममा सहभागिता, तथा बागलुङका धार्मिक-सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याइसकेका छन् । नीतिगत रूपमा खड्का डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य, पारदर्शी तथा जनमैत्री सेवा प्रवाह, युवालाई स्वदेशमै रोजगारी, उद्यमशीलताको प्रवर्द्धन, कृषिको व्यवसायीकरण, दिगो पर्यटन विकास, प्राविधिक शिक्षालाई राष्ट्रिय केन्द्रका रूपमा विकास तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने योजना रहेको सुनाए । खड्काले बागलुङको सम्भावना, समस्या र अवसरको अध्ययन पश्चात् संघीय संसदमा सशक्त आवाज उठाउन अगुवाइ गर्ने बताउँछन् । जिल्लावासीले पनि उनीबाट केही न केही परिवर्तनको अपेक्षा गरेका छन् । तर त्यसको परिणाम हेर्न भने खड्काको संसदीय यात्रालाई धैर्यका साथ केही समय कुर्नुपर्ने अवस्था छ ।
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको आज शपथ
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबार स्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ । शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ । नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको ब्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिल बहादुर थापा निर्वाचित भएका छन् । यस्तै, मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् । कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन् । त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् ।
जातीय विभेद विरुद्धको आन्दोलनदेखि सांसदसम्म
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरे । उनी वि.सं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्च सभा सदस्य एवं आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए । राई पहिचानवादी नेताका रुपमा समेत परिचित छन् । सानै उमेरदेखि विभिन्न सङ्घ/संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आएका राईले अब प्रतिनिधिसभामा गएर भुइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरुको आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाए । २०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिएका उनी स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् । जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गरेका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको थियो । पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनले जिल्लामा आफूहरूको जित भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताए । दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको खोटाङमा पुरानै राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका थिए । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पनि खोटाङका पाँच जना नेताको समावेश छ । आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे छन् ।
१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ । नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।
समानुपातिकतर्फ ७५ लाख ७५ हजार मत गणना, रास्वपाले ल्यायो ३६ लाख ७२ हजार मत
काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ३८ हजार २७०, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले २ लाख ४० हजार ७६३ मत प्राप्त गरेको छ ।