राष्ट्रियसभा सदस्यहरूले लिए शपथ
काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा आयोजित विशेष समारोहबीच नव–निर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका हुन् । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभामा १८ जना नयाँ सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार यही फागुन २० गते १९ जना सदस्यको कार्यकाल समाप्त भएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेको छ । माघ ११ गते भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल भएको थियो । उक्त तालमेलका आधारमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए । बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए । यसैगरी, कर्णाली प्रदेशबाट ललितजंग शाही र मीना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।
ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहक खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन २०५८’ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो । ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप ‘एनआईसी एशिया मो–बैंक’मा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरेर आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै नजिकको बैंक शाखाबाट समेत आवेदन दिई प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई–टिडिएस रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुने जनाएको छ । प्यान अद्यावधिक भएपछि ग्राहकको कर कट्टी विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीमार्फत करसम्बन्धी विवरण मिलान हुने बैंकको भनाइ छ । त्यस्तै बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’मा रहेको ‘चेन्ज इमेल’ विकल्पमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । आवश्यक परे नजिकको बैंक शाखामा गई पनि इमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । यसअघि प्यान वा इमेल अद्यावधिक नगरेका ग्राहकले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जनाएको छ ।
युवाको बढ्दो उपस्थिति : ३५ वर्षमुनिका २३ सांसद निर्वाचित
प्रगति ढकाल काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ । यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन् । उनीहरूको जितले नयाँ सोचलाई अवसर दिन चाहेको सन्देश पनि दिएको छ । अब संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने पक्कै दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३५ मुनिका २० जना उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी, नेपाली कांग्रेसबाट एक, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा छिन्, ३० वर्षीया सोविता गौतम । दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य रहेकी गौतम चितवन–३ बाट विजयी भएकी छन् । उनले ५९ हजार २७७ मत ल्याएर विजयी भएकी हुन् । गौतमको निकतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन् । ३० वर्षको उमेरमा उनी दोस्रोपटक प्रतिनिधिसभाको सांसद बनेकी छन् । उनले २०७९ सालको प्रतिनिधिसभामा काठमाडौं–२ बाट जित हासिल गरेकी थिइन् । कानुनमा स्नातक गरेकी अधिवक्ता गौतमले अत्यधिक मतका साथ विजयी भइन् । पैँतीस वर्षमुनिकै अर्का सांसद छन्, सुलभ खरेल । २०५४ साल भदौ बुटवलमा जन्मिएका खरेल २८ वर्षको उमेरमा नै सांसद बन्ने अर्को उम्मेदवार छन् । उनी प्रतिनिधिसभा सदस्यको चुनावमा रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री रहेका नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका थिए । खरेलले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बिए–एलएलबी अध्यायन गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रुविना आचार्य विजयी भएकी छन् । विराटनगरमा जन्मिएकी आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२ हजार ८५० मत ल्याएका थिए । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको चुनावमा बदनकुमार भण्डारी विजयी भएका छन् । भुम्लु गाउँपालिका–२ मा जन्मिनुभएका बदनले ५३ हजार ३४४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याएका थिए । भण्डारी ई–कमर्स व्यवसायी तथा मिडियाकर्मी समेत रहेका छन् । ३३ वर्षीय भण्डारीले स्नातक (बिए) उत्तीर्ण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा क्षेत्र नम्बर १ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी पनि कलिलो उमेरमा नै सांसद बनिन् । उनी २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी थिइन् । डाँगीले यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्ने अवसर पाइन् । उनले ४५ हजार ६८० मतसहित विजय हासिल गरिन् । डाँगीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याएका थिए । विसं २०५३ मा झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी डाँगीले काठमाडौंको जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्यमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छन् । २६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ४१ हजार ३४७ मतसहित विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत ल्याएर उपविजेता भएका थिए । मध्यविन्दु नगरपालिका–६ निवासी खनाल विसं २०५६ असार ११ गते जन्मिएका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गरेका हुन् । अट्ठाइस २८ वर्षीय बब्लु गुप्ता पनि निर्वाचित भएका छन् । उनले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन् । सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनले ४१ हजार ३२२ मतसहित विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७७४ मत ल्याएका थिए । रास्वपाबाटै ३५ वर्षमुनिका निर्वाचित उम्मेदवारमध्ये अर्को नाम हो सन्तोष राजवंशी । ३४ वर्षीय राजवंशी मोरङ–४ बाट विजयी भएका हुन् । सिराहा–२ बाट रास्वपाकै ३० वर्षीया शिवशङ्कर यादव पनि निर्वाचित भएका छन् । रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसकेका छन् । रास्वपाबाटै महोत्तरी–२ मा ३४ वर्षीय दीपककुमार साह निर्वाचित भएका छन् । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् । काठमाडौं–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भएका छन् । २०५२ फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेलले कानुनमा स्नातक गरेका छन् । उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन् । काठमाडौं महानगरपालिका कार्यालयमा सह–विशेषज्ञ भएर काम गरेका पोखरेलको महानगरका सेवा–प्रवाह, कार्यक्रम/परियोजना कार्यान्वयन र नतिजा निकाल्ने कार्यान्वयन क्षमता छ । उनले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका सल्लाहकार भएर काम गरिसकेका छन् । पोखरेलले सांसद कार्यालयमा प्रमुख सहायक भएर काम गरिसकेका छन् । उनमा नीति/अनुसन्धान, जनगुनासा व्यवस्थापन, टोली परिचालन र समन्वयमार्फत काम ‘टुङ्ग्याउने’ कार्यालय व्यवस्थापन नेतृत्व छ । मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय प्रशान्त उप्रेतीले चुनाव जितेका छन् । २०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेती पेसाले पर्यटन उद्यमी हुन् । उनले पर्यटन व्यवस्थापनमा स्नातक गरेका छन् । निर्वाचित हुने अर्का ३४ वर्षीय उम्मेदवारको अर्को नाम हो सागर ढकाल । रास्वपाकै तर्फबाट गुल्मी– १ बाट उनी निर्वाचित भएका छन् । गुल्मीको सत्यवती गाउँपालिका–६, पीपलनेटा स्थायी ठेगना भएको ढकाल पेसाले इन्जिनियर हुन् । पैँतीस वर्षमुनिको अर्का सांसद हुन्, प्युठान– १ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक । काठमाडौं– १ बाट निर्वाचित र ३५ वर्षमुनिका अर्को चर्चित नाम हो, रञ्जु न्यौपाने (दर्शना) । वैकल्पिक राजनीतिका रूपमा उदाएकी ३० वर्षीया रञ्जुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । रास्वपाकै अर्का निर्वाचित सांसद हुन्, ३४ वर्षीय सोम शर्मा । उनी बाग्लुङ–२ बाट निर्वाचित भएका हुन् । रास्वपाकै तर्फबाट स्याङ्जा–२ का उम्मेदवार झविलाल डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन् । कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनालले १९ हजार ५७ मत ल्याएर विजयी भएका छन् । २६ वर्षीय खनालले १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय, ‘क्लिन काष्ठमण्डप’ र ‘काठमाडौं ट्र्यास कलेक्सन’ जस्ता देशव्यापी सरसफाइ अभियानको नेतृत्व समेत गरेका छन् । ‘मैना देवी फाउन्डेसन’ मार्फत बाजुरामा अनाथालय स्थापना, कोरोनाकालमा २०० भन्दा बढी गरिब परिवारलाई सहयोग तथा ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानको नेतृत्व लिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव निर्वाचित भएका छन् । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् । यसैगरी, प्यूठान–१ उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट भने ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट निर्वाचित भएका छन् । यसैगरी, जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित भएका छन् । रासस
श्रम संस्कृति पार्टीले पनि पार गर्यो थ्रेसहोल्ड
काठमाडौं । आमनिर्वाचन २०८२ मा हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड पार गरेको छ । कुल ८९ लाख २४ हजार ९२४ मत गणना हुँदा उक्त दलले ३ लाख १० हजार ९० मत प्राप्त गरेको हो । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड पार गरेपछि न्यूनतम मत प्राप्त गरेर राष्ट्रिय दल बन्ने पार्टीहरूको संख्या ५ पुगेको छ । प्रत्यक्षतर्फ एक सिटमा जित हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थ्रेसहोल्ड कटाउने दौडमा रहेको छ ।
सांसद बन्न नसकेका कांग्रेसका ‘पिएचडी होल्डर’ नेता
काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र अब्बल मानिएका र शैक्षिक योग्यताले पनि विद्यावारिधी पूरा गरेका उम्मेदवारहरू पराजित भएका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका विद्यावारिधि गरेका उम्मेदवारहरू पराजित भएका हुन् । नेपाली कांग्रेसभित्रका प्रभावशाली नेताका रूपमा परिचित र अर्थमन्त्रीसमेत बनिसकेका डा. प्रकाशशरण महत पराजित भए । नुवाकोट १ मा डा. रास्वपाका उम्मेदवार विक्रम तिम्सिनासँग पराजित भएका हुन् । तिम्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएका र डा. महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन् । डा. महतले अर्थशास्त्र विषयमा पिएचडी गरेका छन् । मोरङ-२ मा कृष्ण कुमार (गणेश) कार्कीसँग डा. मीनेन्द्र रिजाल पराजित बनेका छन् । उनले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । कार्कीले ४० हजार ९२४ मत प्राप्त गरेका छन् । डा. रिजालले व्यवसाय प्रशासन क्षेत्रमा विद्यावारिधि गरेका छन् । गुल्मी- २ मा सागर ढकालसँग डा. चन्द्रकान्त भण्डारी पराजित बनेका हुन् । ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा डा. भण्डारीले १३ हजार ५०५ मत पाएका थिए । डा. भण्डारीले समाजशास्त्र विषयमा पिएचडी गरेका छन् । डा. गोविन्दराज पोखरेल प्युठान १ मा रास्वपाका सुशान्त वैदिकसँग पराजित भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दा डा.पोखरेलले १८ हजार ३३८ मत पाएका छन् । डा. पोखरेलले जर्मनीबाट विद्यावारिधि गरेका छन् । उनको पिएचडी अध्ययन र अनुसन्धान मुख्य रूपमा ऊर्जा , जलवायु परिवर्तन र सार्वजनिक नीति जस्ता क्षेत्रमा केन्द्रित रहेको छ। रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुनसँग डा. सुदनकुमार वली पराजित भएका छन् । पुनले २७ हजार ४६० मत प्राप्त गरेका छन् । डा. वलीले १२ हजार ८ मत पाएका छन् । डा. वलीले अर्थशास्त्र विषयमा पीएचडी गरेका छन् । यी विद्यावारिधि गरेकाहरू भए पनि पेशाले डाक्टर भएकाहरू पनि पराजित भएका छन् । डा. सुनिल शर्मा र डा. शेखर कोइराला पूर्व चिकित्सकहरू हुन् । रास्वपाका मोरङ-३ मा सुनिल शर्मा पनि रास्वपाका गणेश कार्कीसँग पराजित बनेका छन् । कार्कीले ३६ हजार ९ सय २४ र शर्माले २४ हजार ३ सय ५४ मत ल्याएका छन् । मोरङ-६ मा डा. शेखर कोइराला पनि पराजित भए । कोइरालाले १२ हजार ८५० मत मात्रै प्राप्त गरे । उनका प्रतिस्पर्धी रास्वपाका उम्मेदवार रुविना आचार्यले ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् ।
बालेनको चुनावी खर्च १४ लाख १७ हजार २८९ रूपैयाँ
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहले चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । झापा ५ बाट निर्वाचित शाहले सोमबार आफ्नो चुनावी खर्च बुझाएका हुन् । बालेनले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । सार्वजनिक विवरणअनुसार उनले सबैभन्दा बढी वडा–स्तरीय प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी सवारीसाधन प्रयोगतर्फ दुई वटा सवारीसाधन १४ दिन प्रयोग गर्दा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको उल्लेख छ । यस्तै, प्रचारप्रसार सामग्री छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च गरिएको छ । क्षेत्रीय निर्वाचन प्रचार कार्यालय सञ्चालनका क्रममा दुई महिनामा पानीमै १ लाख २० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका थिए ।
सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : पूर्वमन्त्री खनाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशील नेपाल आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन् । काठमाडौं क्षेत्र नं ६ अन्तर्गत तारकेश्वर नगरपालिका–९ मा सोमबार आयोजित ‘टोलटोलमा सांसद कार्यक्रम’मा बोल्दै उनले सुशासन, रोजगारी आफूहरूको प्राथमिकता भएको बताएका हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका नेता खनालले स्थानीय तहमा रास्वपाको सरकार नभएकाले स्थानीय तहसँग मिलेर जनताको समस्याको समाधानमा आफू निरन्तर खटिने बताए । काठमाडौं क्षेत्र नं ६ मा खानेपानीको समस्या रहेकाले यसलाई पूरा गर्ने आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गरे । सार्वजनिक सरोकारका विषयलाई निरन्तर संसद्मा पुर्याउने उनको भनाइ छ । उनले आगामी पाँच वर्ष देश रूपान्तरण गर्नका लागि जनताले रास्वपालाई ठूलो आशा र भरोसा दिएको भन्दै देश रूपान्तरणको अभियानलाई खेर नफाल्ने स्पष्ट पारे । उनले काठमाडौं क्षेत्र नं ६ मा देखिएका समस्या समाधानका लागि आफू जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने बताए ।
४ दलले कटाए समानुपातिकको थ्रेसहोल्ड, राप्रपा र श्रम संस्कृति संघर्ष गर्दै
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ चार राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । हालसम्म ८५ लाख २५ हजार ४६९ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आवश्यक मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेका हुन् । आयोगले सार्वजनिक गरेको विवरणअनुसार रास्वपाले सबैभन्दा धेरै ४१ लाख १८ हजार १६४ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १३ लाख २ हजार ६६ मत प्राप्त गरेको छ । नेकपा एमालेले ११ लाख ६५ हजार ५५८ मत समानुपातिकमा प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ४ हजार ९२ मत पाएको छ । हालसम्म प्रकाशित विवरणअनुसार रास्वपाले ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेर पहिलो दल बनेको छ । नेपाली कांग्रेस १६ प्रतिशत मतसहित दोस्रो बन्दा एमाले १४ प्रतिशत मतसहित तेस्रो बनेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ प्रतिशत मत ल्याएर चौंथो दल बनेको छ । श्रम संस्कृति पार्टीले हालसम्म २ लाख ९७ हजार ६१७ मत प्राप्त गरेको छ । तर उक्त मत थ्रेसहोल्ड कटाउन आवश्यक मतभन्दा कम भएकाले समानुपातिकतर्फ प्रतिनिधित्व पाउने सम्भावना अझै कमजोर देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ लाख ४३ मत प्राप्त गरेको छ । निर्वाचन आयोग स्रोतका अनुसार विगतमा ३ देखि ४ लाख मत बदर भएको ट्रेण्ड हेर्दा र अहिले पनि सोही अनुपातमा मत बदर भइरहेकोले १ करोड ५ लाख मत सदर हुने सम्भावना रहेको छ । यदि त्यति मत सदर भए भने राष्ट्रिय दल बन्न न्यूनतम ३ लाख १० हजार मत प्राप्त गर्ने दल राष्ट्रिय दल बन्न सक्छ । राप्रपा र श्रम संस्कृति पार्टी अहिले राष्ट्रिय पार्टी बन्ने दौडमा रहेका छन् ।