इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
फिक्कल । इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । चुनावी प्रतिस्पर्धामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले सात हजार ६६५ मत प्राप्त गरे ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी, पाए २९ हजार ८९६ मत
गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेको सूचना अधिकारी सुवेदीले बताए । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन् ।
संसदीय यात्रामा रहेका पर्यटन व्यवसायीमध्ये कसले जिते, कसले हारे ?
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक दर्जन पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध भएका व्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । होटल, ट्रेकिङ, पर्वतारोहण र पर्यटन व्यवस्थापन क्षेत्रमा सक्रिय उनीहरू विभिन्न दलबाट उम्मेदवार बनेका थिए । पछिल्लो निर्वाचन परिणाम हेर्दा केही उम्मेदवार विजयी भएका छन् भने अधिकांशले हार बेहोर्नुपरेको छ । निर्वाचनमा होमिएकामध्ये डिपी अर्याल, प्रकाशसिंह कार्की, धनञ्जय रेग्मी, योगेश गौचन थकाली र टेकबहादुर गुरुङ मात्रै संसदमा प्रवेश गर्न सफल भएका छन् । डोलप्रसाद अर्याल डिपी ट्राभल, ट्रेकिङ सर्भिस, होटेलसहितका पर्यट व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक उपसभापतिसमेत हुन् । उनले काठमाडौं क्षेत्र नम्बर ९ बाट चुनावमा उठेका थिए । अर्यालले ३५ हजार ९३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याएर दोस्रो भइन् । धनञ्जय रेग्मी पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले रास्वपामार्फत स्याङ्जा–१ बाट चुनाव लडेका थिए । डा. रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरे । ढकालले १८ हजार ८५७ मत प्राप्त गर्दा ढकालले १८ हजार ८५७ मत ल्याएका छन् । प्रकाशसिंह कार्की पर्यटन क्षेत्रमा लामो समय बिताएका प्रकाशसिंह कार्की नेपाली कांग्रेसबाट सोलुखुम्बु १ बाट चुनावमा उठेका थिए । वर्ल्ड फ्रेड कार्गोसहित विभिन्न पर्यटकीय गतिविधिमा सक्रिय कार्कीको संसदमा प्रवेश गर्ने यात्रा साकार भएको छ । उनले नेपाली कम्युनिष्ट पार्टीका असिम राईलाई पराजित गर्दै जीत निकालेका हुन् । उनले १३ हजार १६६ मत प्राप्त गरेका छन् भने राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । योगेश गौचन पर्यटन व्यवसायी योगेश गौचन थकालीले मुस्ताङमा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । उनले नेकपा एमालेका इन्द्र धारा डादु विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका छन् । उनले ३ हजार ३०७ मत प्राप्त गरेका छन् । टेकबहादुर गुरुङ पर्यटन व्यवसायी टेकबहादुर गुरुङले मनाङमा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । उनले पनि यस क्षेत्रबाट जीत हासिल गर्न सफल भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी)लाई १९ सय ६१ मतान्तरले पराजित गरेका हुन् । गुरुङले २ हजार ४१५ मत ल्याउँदा गुरुङले ४५४ मात्रै मत प्राप्त गरेकी छिन् । जसले चुनाव हारे भागिरथ सापकोटा ठमेलमा गोछाली ट्राभल चलाउने पुराना पर्यटन व्यवसायी भागिरथ सापकोटा नवलपुर १ बाट एमालेबाट चुनावमा उठेका थिए । तर उनले जित हासिल गर्न सकेनन् । उक्त क्षेत्रमा रास्वपाका राजन गौतमले जित हासिल गरे । गौतमले ५० हजार ९४५ मतसहित जीत हासिल गर्दा सापकोटा भने ९ हजार १३१ मत ल्याएर तेस्रोमा सीमित भएका छन् । रमेशप्रसाद धमला ठमेलमै केन्द्रित रही पर्यटन व्यवसायमा संलग्न रमेशप्रसाद धमला पनि संघीय संसदको दौडमा नेपाली कांग्रेसबाट धादिङ– २ बाट चुनावमा होमिए । उनी हिमालय इकोलोजी ट्राभलका सञ्चालकसमेत हुन् । उनले पनि जीत हासिल गर्न सकेनन् । उनी दोस्रो स्थानमै सीमित भए । उनलाई रास्वपाका बोध नारायण श्रेष्ठले हराएका हुन् । श्रेष्ठले २६ हजार १४५ मत पाउँदा धमलाले २० हजार २७९ मत ल्याएर दोस्रोमै चित्त बुझाउन बाध्य भएका छन्। मिङ्मा शेर्पा हेली एभरेष्ट र सेभेन स्टार समिटका सञ्चालक मिङ्मा शेर्पाले रास्वपाका तर्फबाट संखुवासभामा संघीय संसदका निम्ति चुनावमा उठे, तर उनले जीत निकाल्न सकेनन् । उनी ११ हजार १३५ मतसहित दोस्रो स्थानमा सीमित भए । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन् । उनले १२ हजार ३९६ मतले विजयी भएका छन् । कृष्ण रिजाल पर्यटन व्यवसायी धाधिङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट चुनावमा उठेका थिए । तर उनको संसदमा प्रवेश गर्ने सपना साकार हुन सकेन । उक्त क्षेत्रमा रास्वपाका आसिका तामाङले ३९ हजार १२८ मत ल्याएर विजयी भएकी छिन् । रिजालले भने १० हजार ८० मत ल्याएर चौंथो नम्बरमा सीमित भए । कृष्णकुमार (किसान) श्रेष्ठ होटल व्यवसायमा लगानी रहेका कृष्णकुमार (किसान) श्रेष्ठ बारा–४ बाट चुनावमा उठेका थिए । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उठेका थिए । तर जीत हासिल गर्न सकेनन् । उनलाई रास्वपाका रहबर अन्सारीले पराजित गरे । अन्सारी ४१ हजार २ सय मत ल्याएर विजयी भएका छन् । श्रेष्ठले भने ११ हजार ६३९ मत ल्याएर दोस्रोमा सीमित भए । सुमन सायमी होटल व्यवसायी सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट काठमाडौं–८ बाट चुनाव लडेका थिए । तर उनलाई रास्वपाका विराज भक्त श्रेष्ठले पराजित गरेका छन् । श्रेष्ठले २४ हजार ५९२ मत ल्याउँदा सायमीले ३ हजार २१७ मत ल्याउर दोस्रोमा सीमित भए । प्रेमकुमार खत्री ठमेलको चर्चित क्लब एलओडीसँगै एसीई दी हिमालयन ट्रेकिङका सञ्चालक प्रेमकुमार खत्रीले नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए । पछिल्लो मतपरिणामअनुसार खत्रीको पराजित सुनिश्चित भइसकेको छ । उक्त क्षेत्रमा रास्वपाका २८ हजार ९६५ मत ल्याउँदा खत्रीले १५ हजार २३० मात्रै प्राप्त गरेका छन्।
पूर्वस्वास्थ्यमन्त्री सबै पराजित
काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका ८ जना पूर्वस्वास्थ्यमन्त्री सबै पराजित भएका छन् । ८ जनामध्ये ६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबाट पराजित भएका छन् भने एक जना नेपाली कांग्रेस र अर्को एकजना नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबाट पराजित भएका हुन्। गगन थापा पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही– ४ मा पराजित भए । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका थापा यसपटक तराई झरेका थिए । उनी रास्वपाका अमरेश सिंहसँग पराजित भएका हुन् । रास्वपाका उम्मेदवार अमरेश सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा गगनले २२ हजार ८ सय ३१ मत ल्याए । २०६४ सालको निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् पसेका थापा २०७० सालको निर्वाचन पछिका हरेक निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुँदै आएका थिए । उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संसदीय यात्रामा पनि ब्रेक लागेको छ । सप्तरी– ३ बाट उम्मेदवार रहेका यादव रास्वपाका अमरकान्त चौधरीसँग पराजित भएका हुन् । चौधरीले ३२ हजार ८ सय ७५ मत ल्याउँदा यादवले १५ हजार २ सय ३० मत मात्र पाए । २०६४ सालको निर्वाचनमा मोरङ र २०७४ सालको निर्वाचनमा सप्तरी २ बाट विजयी भएका यादवको संसदीय यात्रामा ब्रेक लागेको हो । प्रदीप पौडेल नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि पराजित भएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका उनी रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भए । पोखरेलले ३० हजार ७ सय ३७ मत ल्याउँदा पौडेलले १९ हजार ५१ मत ल्याए । प्रदीप यादव पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव पनि रास्वपाका उम्मेदवारबाट पराजित भएका छन् । जसपाबाट स्वास्थ्यमन्त्री बनेका यादव जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरी योपटक पर्सा १ बाट उम्मेदवार बनेका थिए । रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २ सय ७४ मत प्राप्त गरी विजयी हुँदा यादवले १३ हजार ३० मत प्राप्त गरेका थिए । पदम गिरी एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पनि पराजित भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट पर्वत १ बाट उम्मेदवार बनेका उनी रास्वपाका उम्मेदवार सागर भुसालसँग पराजित भएका हुन् । भुसालले २६ हजार ५ सय ६१ मत ल्याउँदा गिरीले १५ हजार ७५ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । शेरबहादुर तामाङ एमालेबाटै चुनाव जितेर स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ पनि पराजित भएका छन् । फागुन २१ गते सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका उनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलालसँग पराजित भएका हुन् । दुलालले २१ हजार ६ सय ९९ मत ल्याउँदा तामाङ १५ हजार ९ सय २६ मत ल्याए । भानुभक्त ढकाल पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेबाट तेह्रथुम–१ मा उम्मेदवार बनेका ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित भएका हुन् । सुब्बाले ११ हजार ५ सय ६१ मत ल्याउँदा ढकालले १० हजार ६ सय ८२ मत ल्याएका थिए । गिरिराजमणि पोखरेल दुई पटक स्वास्थ्यमन्त्री बनेका गिरिराजमणि पोखरेल फागुन २१ गतेको निर्वाचनमा पराजित भएका छन् । नेकपाबाट महोत्तरी –१ मा उम्मेदवार बनेका पोखरेल रास्वपाका प्रमोदकुमार महतोसँग पराजित भएका हुन् । महतोले ३४ हजार ६ सय ३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका थिए ।
दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा
दोलखा । दोलखामा समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो स्थान हासिल गरेको छ । सोमबार सम्पन्न मतगणनामा रास्वपाले ३५ हजार ८८३ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो भने दोस्रो स्थान नेकपा (एमाले) ले प्राप्त गरेको छ । एमाले पार्टीले १५ हजार ८०२ मत प्राप्त गरेर दोस्रो दल हुन सफल भएको हो । त्यसैगरी, नेपाली कांग्रेसले दोलखामा समानुपातिकतर्फ तेस्रो स्थान हासिल गरेको छ । कांग्रेस पार्टीले ११ हजार ५५५ मत प्राप्त गरी तेस्रो दल बनेको हो । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टी (तारा) चिह्न १० हजार २७८ मत प्राप्त गरि चौथो भएको हो । त्यस्तै, अन्य साना दलहरू राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी चिह्न)ले चार हजार १५२ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो चिह्न)ले एक हजार ४९८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार जगदीश खरेल ३२ हजार ३७६ मत ल्याएर निर्वाचित भएको छ । दोस्रो बनेका नेकपा (एमाले)का पार्वत गुरुङले १७ हजार ४४९ मत पाए ।
सुनसरीमा आधा उम्मेदवारले सय मत कटाउन सकेनन्
धरान । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् । जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार रहेका थिए । जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए । चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले १०० मत पनि कटाउन नसकेका हुन् । सुनसरी निर्वाचन क्षेत्र नं १ मा १५ जना उम्मेदवारले १०० भन्दा कम मत प्राप्त गरेका छन् । सय मत नकटाउनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दिलबहादुर बास्तोलाले ९४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बूले ८३, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार लिम्बूले ८३, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठले ६३, जनता समाजवादी पार्टी, नेपालका सञ्जय राई ५३, आम जनता पार्टीका रामबहादुर बिष्ट ५२, मङ्गोल नेसनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ ४६, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू २७, मितेरी पार्टी नेपालका रक्षकुमार राईले १७ तथा स्वतन्त्र उम्मेदवारहरूमा देउमान लिम्बू ७४, सुमित राई ६९, जीवनकला राई ३७, शेषप्रसाद रेग्मी १७ र चेतबहादुर राईले १७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार ओमकृष्ण उदासले सबैभन्दा कम नौ मत प्राप्त गरेका छन् । साथै यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा उज्यालो नेपाल पार्टीका डम्बर लावती ५९०, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू २०२, राष्ट्रिय साझा पार्टी भूपि राई १९१, संयुक्त नागरिक पार्टी नरेश विक १२५ र स्वतन्त्रका सुवास विश्वकर्माले १०७ मत प्राप्त गरेका हुन् । सुनसरी–२ मा भने ११ जना बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र रोशनी राई दुई, भीमबहादुर दाहाल स्वतन्त्र ६, स्वतन्त्रबाट नवराज पौडेल ४५, नेपाल कम्युनिष्ट पार्टीका अतित नेपाल ३१, आम जनता पार्टी (एकल चुनाव चिह्न) निरञ्जन ठाकुर २८, स्वतन्त्र का देवेन्द्र पौडेल २०, स्वतन्त्रका अन्जनादेवी गुप्ता १८, स्वतन्त्र राजकुमार खत्री १४, स्वतन्त्र सत्यनारायण पण्डित १०, स्वतन्त्र डम्बरबहादुर बराइली ६ र नेपाल मजदुर किसान पार्टीका गीतामैयाँ बजिको १४ मत मत प्राप्त गरेका हुन् । सुनसरी–३ मा १० जनाले सयभन्दा कम मत प्राप्त गरेका छन् भने ६ जनाले ५०० भन्दा कम प्राप्त गरेका छन् । रामनारायण थारू जनमत पार्टी ३८९, जागेश्वर यादव उज्यालो नेपाल पार्टी २८६, किशोरकुमार विश्वास समावेशी समाजवादी पार्टी नेपाल २२५, बद्रीप्रसाद यादव जनता समाजवादी पार्टी, नेपाल १७७, आसुतोष ढुङ्गेल नेपाल कम्युनिस्ट पार्टी (माओवादी) १४० र प्रमोद पौड्याल प्रगतिशील लोकतान्त्रिक पार्टी ११९ मत प्राप्त गरेका छन् । सुनसरी–४ मा १८ जनाले सयभन्दा कम मत ल्याएका छन् । तवरेज आलम अन्सारी आम जनता पार्टी ८७, मनकुमार राईमङ्गोल नेसनल अर्गनाइजेसन ७४, रमेशकुमार साह नेपाल जनता पार्टी ६३, अङ्कित कार्की स्वतन्त्र ४९, सत्यनारायण लहुटिया नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)३९, तेजनारायण गोइत स्वतन्त्र ३४, कुन्दन कौसिक स्वतन्त्र ३३, मोसदिक मियाँ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २९, उपेन्द्रकुमार साह स्वतन्त्र २५, देवनारायण महतो स्वतन्त्र १६, शर्मानन्द खतिवडा स्वतन्त्र १६, महेन्द्र सुनचौरी स्वतन्त्र १४, जलाल मियाँ स्वतन्त्र १३, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी १२, पार्वती मुखिया स्वतन्त्र १२, यमुना केसी स्वतन्त्र ११, फुलकुमारी खान स्वतन्त्र चार, बुधेश्वर यादव स्वतन्त्र चार मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान गर्न जाँदा फरार प्रतिवादी स्याङ्जामा पक्राउ
काठमाडौं । स्याङ्जामा मतदान गर्न आएका विभिन्न कसुरमा फरार रहेका तीन जना प्रतिवादीहरू पक्राउ परेका छन् । स्याङ्जा प्रहरीका अनुसार गत २१ गते ४० वर्षीय प्रेमबहादुर दर्जी, ५८ वर्षीय बुद्धिमान शाही र ७४ वर्षीय रामबहादुर कामी पक्राउ परेका हुन् । सोमबार प्रहरीले कैद भुक्तान तथा जरिवाना असुल गर्न जिल्ला अदालत स्याङ्जा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कर्तव्य ज्यान, बैंकिङ कसुर र बहुविवाह मुद्दामा उनीहरू फरार रहेका थिए ।
दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको ऋण ४ अर्ब नाघ्यो, आम्दानी १.३९ अर्ब रुपैयाँ
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले सन् २०२५ मा एक अर्ब रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको छ । कम्पनीका अनुसार सन् २०२५ मा मेडिकल कलेजको कुल सञ्चालन आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ४४.३४ प्रतिशत अर्थात् ४२ करोड ७० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी ९६ करोड ३० लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार बिरामी भर्ना र बाह्य सेवाको संख्या बढ्नुका साथै मेडिकल कलेज सञ्चालन सुरु भएपछि थप आम्दानीको स्रोत सिर्जना भएको छ । यद्यपि सञ्चालन लागत बढेकाले नाफा मार्जिन भने केही घटेको छ । सन् २०२५ मा कम्पनीको नाफा मार्जिन करिब २३ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष २६ प्रतिशत थियो । यसअघि बी एण्ड सी मेडिकलले सन् २०२३ मा ८१ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा १ अर्ब १९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ५३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक छ । सन् २०११ मा स्थापना भएको बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले पूर्वी नेपालमा स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा क्षेत्रमा सेवा दिँदै आएको छ । झापामा रहेको यस संस्थाले विभिन्न विशेषज्ञ सेवा र अत्याधुनिक निदान (डायग्नोस्टिक) सुविधासहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले बिरामीलाई उपचार सेवा उपलब्ध गराउनुका साथै चिकित्साशास्त्र सम्बन्धी शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ । आधुनिक उपकरणसहितको परीक्षण सुविधा तथा अनुसन्धान गतिविधिमार्फत पूर्वी नेपालका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य संस्थाले राखेको छ । बी एण्ड सी मेडिकल कलेजले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल ऋण ४ अर्ब ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ऋण ३ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ थियो । कम्पनीका अनुसार कुल ऋणमध्ये ३ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन ऋण रहेको छ भने १० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । एक दशकभन्दा बढी समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय यस अस्पतालको व्यवस्थापन चार सदस्यीय सञ्चालक समितिले सम्हाल्दै आएको छ । अस्पतालका अध्यक्ष डा. रामबाबु गिरी रहेका छन् । साथै उनको संलग्नता सुनसरीको इनरुवामा रहेको सुपर स्पेसालिटी अस्पतालमा पनि रहेको छ । यस्तै, अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं रहेका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालका प्रवर्द्धक समेत हुन् । यस्तै, सञ्चालक समितिमा इन्दिरा गिरी र डा. निराजन प्रसाईं रहेका छन् ।