घरमा ताल्चा, एक्ला बूढापाका
काठमाडौं । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुन्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि पाल्पाका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् । एक समय खेतबारीको चहलपहल र मेलापातले गुन्जिने गाउँ अहिले वृद्धवृद्धाको सहारामा मात्र टिकेको छ । गाउँमा रहेका अधिकांश बूढापाका छोराछोरी र नातिनातिनीको प्रतीक्षामा दिन बिताइरहेका छन् । चाडपर्व वा विशेष अवसरमा मात्र परिवारका सदस्य घर फर्कने भएकाले वर्षको अधिकांश समय बूढापाका एक्लोपनसँग जुध्न बाध्य छन् । पाल्पाको तिनाउ गाउँपालिकाकी ७९ वर्षीया धनकला बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि धनकलाले एक्लो महसुस गर्दै छिन् । तानसेन अर्चलेका रामबहादुर बस्याललाई पनि हिजोआज पुरानो गाउँले दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन, ५०-६० घरधुरी थियो, गाउँमा उर्वरभूमि थियो । हरेकले आफूलाई पुग्ने खाद्यान्न र तरकारी फलाउँथे । सबैजसोको बारीमा फलफूल थिए । बस्तुभाउ पाल्नका लागि दुःख थिएन तर समयको त्यो चक्र हेर्दा हेर्दै परिवर्तन भएको छ । एक दशक यता एकपछि अर्को गर्दै छिमेकीहरू बसाइँसराइ गरी तराई र सहरतिर गएपछि उनी एक्लिए । उनका जवानीमा सँगसँगै मेलापात र घाँस दाउरा गरेका दौँतरी अधिकांश गाउँ छोडेर बसाइँ सरेका छन् । यो अवस्था कचल र तानसेनका ग्रामीण क्षेत्रको मात्र होइन सिङ्गो पाल्पाका अधिकांश ग्रामीण क्षेत्र यतिबेला खाली छन् । सुविधा र अवसरको खोजीमा सहर वा तराईमा बसाइँसराइ गर्ने बढेपछि यहाँका घर खाली भएका हुन् । गाउँमा तीव्र गतिमा विकास हुन थाले पनि यहाँका ग्रामीण बस्ती रित्तिँदै गएका छन् । वैदेशिक रोजगारी र सहरमुखी बसाइँसराइका कारण गाउँका धेरै घर वर्षोंदेखि बन्द छन् । कतिपय घर जीर्ण बन्दै गएका छन् भने केही घरका आँगनमा झारपात उम्रिएका छन् । खेतीयोग्य जमिनसमेत बाँझो हुन थालेपछि गाउँको उत्पादन र आर्थिक गतिविधिमा पनि असर परेको छ । वृद्धवृद्धाले स्वास्थ्य सेवा, नियमित हेरचाह र आकस्मिक अवस्थामा सहयोग पाउन कठिनाइ हुने गरेको गुनासो गर्छन् । हरेक गाउँमा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य र सञ्चारमा सुविधा बढ्दै गएको छ तर गाउँबाट सहर झर्नेहरू घटेका छैनन् । गाउँघरमै सिंहदरबार र दैलोमा स्थानीय सरकारको नारा चलिरहे पनि पहाडी जिल्लामा स्थानीय सरकारलाई पुरानो थातथलो छोडेर सहर र तराईमा बसाइँसराइ गरेर जाने प्रवृत्ति रोक्न चुनौती बनेको छ । केही स्थानीय तहले युवालाई रोक्न प्रयास गरे पनि त्यसो हुन सकेको छैन । युवाको पलायन रोक्न नीति तथा कार्यक्रममा केही कार्यक्रम ल्याइएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । कृषि क्षेत्रको विकासमार्फत युवा रोजगारी बढ्ने उनले विश्वास लिए । उनले भने, ‘अब जसरी हुन्छ, बसाइँसराइ रोक्नुपर्नेछ ।’ मान्छेहरू अलिअलि पैसा कमाउन थाले भने बजार नै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोतसाधनको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ स्थानीय सरकारले ध्यान नदिने हो भने गाउँमा बूढाबूढीबाहेक अरू कोही पनि नहुने रिब्दीकोटका गोविन्द पोखरेलको भनाइ छ ।
अर्थका दुई विभागमा २ जना भुसाल, भन्सारमा यमलाल, राजश्वमा भीष्म
काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् भने आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई जिम्मेवारी दिइएको छ । भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ । त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन् । यस्तै, आन्तरिक राजश्व विभागका हालका महानिर्देशक रमेश अर्याल पनि अर्थ मन्त्रालय बाहिर सरुवा भएका छन् । नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिव हालै बसेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी हुन् ।
कर्जा नतिर्ने तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ। यस्तो छ ऋणीहरूको विवरण:
उखु किसानलाई २ अर्ब भुक्तानी, २० करोड अनुदान पनि सिफारिस
काठमाडौं । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब २ अर्ब रुपैयाँ किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्विविनायक सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा बुझाइएको उखुको रकम बापत १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म दुवै उद्योगमा किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु बुझाइएको अभिलेख छ । जम्मा उखुको मूल्य बापत हुने १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँमध्ये १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए । यसैगरी, सरकारले उखु किसानलाई दिने अनुदान बापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ । जिल्ला भुक्तानी समितिले अहिले २० करोड ७ लाख ५९ हजार ११७ रुपैयाँ अनुदान भुक्तानीका लागि सिफारिस गरेको यादवले स्पष्ट पारे । जिल्लामा भुक्तानी सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था छ । यसपालीको उखु बापतको मूल्य र अनुदान सबै भुक्तानी यसै असार मसान्तभित्र भइसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
बर्डफ्लुबाट प्रभावित किसानलाई सरकारले दियो ५२ करोड राहत
काठमाडौं । पशु सेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्ति स्वरूप ५२ करोड रुपैयाँ एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो । विभागका प्रवक्ता मुकुल उपाध्यायले पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दाबी गरेका सम्बन्धित धनीका बैंक खातामा एक साताभित्र रकम भुक्तानी गरिने जानकारी दिइन् । उनका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ । बर्डफ्लु नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिने जनाइएको छ । विभागका प्रवक्ता उपाध्यायले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गरिन् । बर्डफ्लु सङ्क्रमणका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढी प्रभावित भएका छन् । हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको तथा करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ ।
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीतर्फ अघि बढिरहेको थियो । तर, इन्जुरी समयको पहिलो मिनेटमै मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई रोमाञ्चक जित दिलाए । खेलभरि दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरेका थिए । पोर्चुगलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि स्पेनको रक्षापंक्ति र गोलरक्षक मजबुत देखिए । अर्कोतर्फ स्पेनले बलमा नियन्त्रण कायम राख्दै अन्तिमसम्म दबाब बनाइरह्यो र त्यसकै प्रतिफल इन्जुरी समयमा पायो । स्पेनका प्रशिक्षकले खेलपछि टोलीको धैर्यता र अन्तिमसम्म संघर्ष गर्ने मानसिकताको प्रशंसा गरे । मिकेल मेरिनोको निर्णायक गोलले स्पेनलाई उपाधि यात्रामा थप आत्मविश्वास दिलाएको छ । यस जितसँगै स्पेन विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा अन्तिम १६ मै टुंगिएको छ ।
ठमेलमा अश्लिल क्रियाकलापमा संग्लन तीन विदेशी महिला पक्राउ
काठमाडौं । नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल क्रियाकलाप र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका महिलाले ठमेलमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी दुःख हैरानी दिने गरेकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तीन विदेशी महिलालाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप २४८ जना सहकारीपीडितले पाए रकम
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार सो सहकारीका २४८ जनाले बचत फिर्ता पाएका हुन् । हालसम्म उक्त सहकारीका एक हजार ११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः अन्य बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य सञ्चालन भइरहेको छ ।