बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले, ५० किलोमिटर छोटो
काठमाडौं । गण्डकी प्रदेशको बेनी-ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी-ढोरपाटन-तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ-काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङदेखि पूर्वीरुकुमको काँक्रीको दूरी १७५ किलोमिटर छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको बा२झ ३५३७ नम्बरको गाडी तकसेरादेखि बिहीबार पहिलोपटक ढोरपाटन-बेनी हुँदै काठमाडौं गएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले सवारी सञ्चालन गर्न सम्भाव्यता अध्ययनका लागि केही दिनअघि मार्ग खुलेको सडक प्रयोग गरेर बेनी हुँदै काठमाडौं गएको बताए । ‘सडक मार्ग नहुँदा पोखरा हुँदै काठमाडौं जान ढोरपाटन-बेनीको बाटो प्रयोग गर्दै आएका थियौँ । पुरानो पद मार्गलाई आधार मानेर अहिले खोलिएको यो सडकलाई स्तरोन्नति गर्न सकेमा पूर्वी, पश्चिमरुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा-काठमाडौं आवतजावत गर्न छोटो र सजिलो हुन्छ,’ उनले भने । तकसेरादेखि गाडीमा पाँच घण्टाको यात्रापछि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा आइपुगेका अध्यक्ष पुनको टोलीलाई उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले स्वागत गरे । ‘बेनीदेखि मुना-खोरिया-मरेनी-जलजला-गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने ७५ किलोमिटर दूरीको सडकको गत पुसमा मार्ग खुलेको थियो,’ धवलागिरिका उपाध्यक्ष पुनमगरले भने, ‘ढोरपाटन र तकसेरा सडकको यही फागुन तेस्रो साता मार्ग खुलेकाले हिउँदयाममा जीप र मोटरसाइकलमा यात्रा गर्न सकिने भएको छ ।’ स्तरोन्नति गर्न र खोलामा मोटर चल्ने पुल बनाउन बाँकी यो सडकले ढोरपाटन, जलजला र तकसेरा घुम्न जाने पर्यटकलाई पनि सहज हुने धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । हाल प्रयोगमा आइरहेको बागलुङदेखि बुर्तिबाङ हुँदै ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ । नयाँ मार्ग खुलेको सडक स्तरोन्नति गरेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पमा छोटो दूरीको सडकका रूपमा विकास हुने सम्भावना छ । बेनीदेखि २०५५ सालमा यो सडक निर्माण सुरु भएको थियो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ५० किलोमिटर दूरी छोटो भएको बताए । बेनीदेखि तातोपानी-बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम-मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुईवटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वीरुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वीरुकुमबाट निर्वाचित हुनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत माघ २८ बेनीमा भएको कार्यक्रममा म्याग्दीदेखि ढोरपाटन हुँदै तकसेरा जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग बनाउने प्रतिबद्धता जनाएका थिए । पूर्वीरुकुम, म्याग्दी र बागलुङको एक हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीहरूको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसर छन् ।
जल यात्राले हतुवागढीसँग तराईको दूरी २५ मिनेटमै छोटियो
काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराह क्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जल यात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका शहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ । दूधकोसी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ । बोट सञ्चालन भएपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय इन्द्र थापाले बताए । भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जल यात्राले निकै सहज बनाएको उनको भनाइ छ । जल मार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने उनले जानकारी दिए । ‘बोट सञ्चालनले दक्षिणी भेगका नागरिकलाई ठूलो राहत मिलेको छ । सडकमार्गबाट यात्रा गर्न नदीमा पुल नहुँदा समस्या छ । अहिले जल यात्रामार्फत एकै दिनमा तराईका सहर पुगेर फर्किन सक्ने वातावरण बनेको छ,’ थापाले भने । बराह क्षेत्रसम्म जलयात्रा गरेको ५०० भाडा रुपैयाँ लाग्छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पतालमा पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताए । हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा-हिले-धनकुटा भएर तराई झर्न करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको उनको भनाइ छ । ‘हामी दक्षिणी क्षेत्रका नागरिकलाई भोजपुर सदरमुकाम हुँदै यात्रा गर्दा दूरी धेरै लामो पर्थ्यो । अहिले बिरामी हुँदा छिट्टै उपचारका लागि सहर पुग्न सकिने भएको छ । यसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको छ,’ राईले भने । बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको हतुवागढी गाउँपालिकाले जनाएको छ । जल यात्रालाई पर्यटनसँग समेत जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार विकासमा गाउँपालिका जुटिरहेको अध्यक्ष प्रेम कुमार राईले जानकारी दिए । हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । ‘पानी जेटबोट सञ्चालनले यहाँका नागरिकलाई धेरै सहज भएको छ र दूधकोसी र अरुणजस्ता ठूला नदीमा पुल निर्माण ढिलाइ हुँदा सवारी आवतजावतमा समस्या छ । जल यात्रालाई पर्यटनसँग जोडेर विकासका काम अघि बढाइरहेका छौँ,’ अध्यक्ष राईले भने ।
सातौंपटक म्याद थप, अब ०.०५ प्रतिशत दैनिक हर्जाना
कोरलानाका जोड्ने कोवाङ-जोमसोम सडक फेरि अलपत्र काठमाडौं । मुस्ताङस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी-जोमसोम) ७४ किलोमिटर सडकको चौथो खण्ड निर्माण कम्पनीको पटकपटकको ढिलासुस्ती र बेवास्ताका कारण सडक स्तरोन्नतिको काम अलपत्र पर्दै आइरहेको हो । बेनी-जोमसोम सडकअन्तर्गत दोस्रो र तेस्रो खण्ड निर्माण सम्पन्न भइसकेर आयोजनालाई हस्तान्तरण भइसकेको छ । तर यहाँको कोरला नाका जोड्ने कोवाङ-जोमसोम सडकको ८५ प्रतिशत भौतिक प्रगति भइसक्दा निर्माण कम्पनीले सडक स्तरोन्नति काम अलपत्र पारेको आयोजनाले जनाएको छ । त्रिदेशीय व्यापारिक मार्गका रूपमा विस्तार गर्ने उद्देश्यले तत्कालीन सरकारले नेपाल-चीन कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक आव २०७३÷७४ देखि सुरु गरेको थियो । सोहीअनुसार कोवाङ-जोमसोम १७ किमी चौथो खण्ड ७० करोड रुपैयाँ लागतमा आयोजनासँग ठेक्का सम्झौता भई काम अघि बढाइएको थियो । यहाँस्थित निर्माणाधीन कोवाङ-जोमसोम अस्फाल्ट कालोपत्र सडक स्तरोन्नतिका लागि पप्पु गौरी पार्वती, कोशी एन्ड न्यौपाने जेभीले ठेक्का सम्झौता गरेको थियो । नालीसहित ११ मिटर चौडा सडकमा कालोपत्र गर्ने भनिए पनि ठेक्का सम्झौता भएको आठ वर्ष बितिसक्दासमेत निर्माण कम्पनीले स्तरोन्नति काम सम्पन्न गर्न सकेको छैन । ठेक्का सम्झौता हुँदाको सुरुआती अवस्थामा जोइन पार्टनर कोशी एन्ड न्यौपानेले कोवाङ-जोमसोम सडक निर्माणको जिम्मा लिएको भए पनि उसले कामलाई गति दिन नसकेपछि जेभीको जोइन मुख्य पार्टनर पप्पु गौरी पार्वती सडक निर्माण सम्पन्न गर्न काममा फर्किएको थियो । कोवाङ-जोमसोम सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएदेखि हालसम्म खन्ती-टुकुचेस्थित थापाखोलासम्म, टुकुचे सिरान टोलीदेखि मार्फासम्म सडक स्तरोन्नति तथा कालोपत्र कार्य सकिएको आयोजनाले जनाएको छ । त्यसैगरी, मुस्ताङको स्याङगाउँ पुछारदेखि पुथाङ एयरपोर्टसम्म कालोपत्र तथा पिसीसी ढलानसहितको काम सकिएको छ । जोमसोम प्रादेशिक अस्पतालदेखि जोमसोम पक्की पुलसम्मको करिब १५ किलोमिटर सडक कालोपत्र विस्तारकार्य सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार थासाङको टुकुचे गाउँभित्रको सडक, मार्फा पुलदेखि स्याङ पुछारसम्म र जोमसोम बजारको नेपाली सेनाको ब्यारेक अगाडिको सडक गरी करिब २ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको भए पनि काम अघि बढ्न सकेको छैन । निर्माणाधीन सडकअन्तर्गत जोमसोमस्थित नेपाली सेनाको ब्यारेक अगाडि कालोपत्रका लागि फिलिङ गर्न माटो थुपारिएकाले सवारी आवागमनमा समस्या परेको छ । त्यसैगरी कालोपत्र ढिलाइ हुँदा त्यहाँस्थित सेनालाई धुवाँ धुलोले पनि असर पुर्याएको देखिन्छ । यसअघि कोर लानाका जोड्ने (कोवाङ-जोमसोम) सडक निर्माण वैशाखभित्र सम्पन्न गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । तर, प्रशासनको उक्त निर्देशनलाई बेवास्ता गर्दै निर्माण कम्पनीले सडक निर्माणको काम अलपत्र पारेको हो । कोवाङ-जोमसोम सडकको निर्माण कम्पनीले गत कात्तिकदेखि कुल ठेक्का सम्झौताको ०.०५ प्रतिशत हुने गरी दैनिक हर्जाना लाग्ने गरी जरिवाना रकम तोकिएको आयोजना प्रमुख शर्माले जानकारी दिए । यहाँको (कोवाङ-जोमसोम) खण्डको सातौंपटक म्याद थप भइसकेको र जरिवाना रकमको अवधि २०० दिने रहने उनको भनाइ छ । ‘चैत महिनासम्म अन्तिम ‘डेटलाइन’ छ, त्यो अवधिसम्म जरिवाना रकम बुझाएर सडकको अधुरो काम सुरु गर्नुपर्ने हुन्छ,’ आयोजना प्रमुख शर्माले भने, ‘यदि त्यसो हुन नसकेमा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भङ्ग हुन्छ र नयाँ ठेक्का प्रक्रियामा जानेछ ।’ निर्माण कम्पनीको चरम ढिलासुस्तीले अलपत्र परेको (कोवाङ-जोमसोम) सडकलाई छिटोभन्दा छिटो सम्पन्न गर्न आयोजनाले ठेक्का सहमति तोडेर नयाँ ठेक्का खुलाउन विभागसँग सहमति माग भए पनि सहमति प्राप्त नभएको आयोजना प्रमुख शर्माको भनाइ छ । दैनिक हर्जाना तोकिएको कोवाङ-जोमसोम अलपत्र सडकको सरकारले सार्वजनिक खरिद ऐन संशोधन नल्याएमा निर्माण कम्पनीले ठेक्का सम्झौता लागत १० प्रतिशत जरिवाना आयोजनालाई बुझाउनुपर्ने आयोजना प्रमुख शर्माले बताए । निर्माणाधीन अलपत्र कोवाङ-जोमसोम सडक निर्माणमा प्रयोग भएका उपकरण थन्क्याएको अवस्थामा छ । सडक निर्माणकार्यका लागि खटिएका जनशक्ति काममा फर्किएका छैनन् ।
१५ करोडमा ढोरपाटन पुग्यो केन्द्रीय लाइन, बाह्रै महिना हिटर चलाउन मिल्ने
काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघु जलविद्युतको भरमा थिए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले ११ केभी विद्युत् लाइन ढोरपाटन पुर्याएको जानकारी दिए । अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरेको भन्दै बिहीबारदेखि नियमित विद्युत् प्रसारण भएको उनको भनाइ छ । १५ करोड रुपैयाँ लागतमा ढोरपाटनमा विद्युत् पुर्याएको प्रमुख मरासिनीले बताए । ढोरपाटनसम्म लाइन पुगेपछि अब स्थानीयका घर घरमा पुर्याउने उनको भनाइ छ । ढोरपाटन जोड्ने ११ केभी प्रसारण लाइन बिहीबारदेखि चार्ज गरिएको उनी बताउँछन् । प्रमुख मरासिनीले भने, ‘पश्चिम बागलुङको बुर्तिबाङमा केन्द्रीय लाइन पुगेको केही वर्ष मात्रै भयो, त्यसभन्दा माथि अधिकारी चौरसम्म दुई वर्ष अगाडि पुगेको थियो, यसपालि ढोरपाटनसम्मै पुर्याएका छौँ, अब सानो हाइड्रोपावरबाट विद्युत् सेवा पाएका नागरिकले केन्द्रीय लाइन बाल्न पाउनेछन् ।’ ढोरपाटन क्षेत्रमा एक बजार बढी घर दूरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघु जलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघु जलविद्युत् आयोजनामार्फत विद्युतीय सेवा लिँदै आएका थिए । वि.सं २०६८ मा सञ्चालनमा आएको गर्पाखोला लघु जलविद्युत् आयोजना र पाँच वर्ष अगाडि आएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले सास्ती भोग्दै आएको ढोरपाटन नगरपालिका-९ का अध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । केन्द्रीय लाइन आएपछि अब सहज हुने उनको भनाइ छ । अध्यक्ष घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ, खाल्डेखुल्डेलगायत करिब २५० बढी घरमा अहिलेसम्म विद्युत् नै नपुगेको बताए । स्थानीयले माग गरेपछि हामीले सहजीकरण गरेर लाइन जडान गर्ने उनको भनाइ छ । ‘ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था छ, स्थानीयले टुकी र दियालो बालेर रात कटाउँदै आएका छन्, केन्द्रीय लाइन आयो, अब सहज हुनेछ,’ अध्यक्ष घर्तीमगरले भने, ‘अब कोही पनि नागरिकले विद्युत सुविधा लिनबाट वञ्चित हुनुपर्ने छैन ।’ ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जलविद्युतबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा विद्युतीय मेसिन चलाउन नपाएको भन्दै अब कपडा धुने मेसिन, हिटरलगायत उपकरण चलाउन सकिने बताए । ढोरपाटनमा अत्यधिक चिसो हुने हुँदा बाह्रै महिना हिटर चलाउनुपर्ने अवस्था रहे पनि अहिलेसम्म स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा चलाउन नपाएको पुनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय ढोरपाटनमा पर्यटकको आकर्षण बढेको छ, होटल व्यवसाय सञ्चालन गर्नेहरूका लागि केन्द्रीय विद्युत् नहुँदा निकै समस्या थियो, चिसो पानीमा कपडा धुनुपर्ने बाध्यता थियो, ठूलो मेसिन चलाउन पाएका थिएनौँ, अब सजिलो हुने भयो, पर्यटकले पनि लाभ लिन सक्ने भए ।’ विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय, आर्मी ब्यारेक र विद्यालयहरूमा पनि लाइन जोडिने भएको छ । ढोरपाटनमा पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय कुलबहादुर विकले स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा ढोरपाटन भरका बस्तीमा विद्युत् नपुगेको बताए । अब हरेक स्थानीयको घरका विद्युत् पुग्ने आस पलाएको उनको भनाइ छ । यहाँका अधिकांश स्थानीय बर्खायाममा ढोरपाटन र हिउँदमा बेँसी क्षेत्रमा बस्ने गर्छन् । बर्खाभरि अँध्यारोमा बस्न बाध्यता रहेको भन्दै अब उक्त समस्या समाधान हुने अपेक्षा लिएको विकले सुनाए ।
डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
काठमाडौं । नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । समिति डब्ल्युटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने प्रभाव र पर्यावरण नीतिहरूले व्यापारमा पर्ने प्रभाव तथा जलवायुसम्बन्धी व्यापारका विषय सम्बोधन गर्ने मञ्च हो । अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने क्रममा रहेको मुलुकका निम्ति प्राप्त यो भूमिका डब्ल्युटीओ सदस्यहरूसँग नजिकबाट सहकार्य गर्दै नेपालको व्यापारलाई विश्वव्यापी बजारमा एकीकृत गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने
काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ । राहदानी विभागबाट प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ । नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकाले उक्त अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ । विभागले नयाँ प्रणाली जडानको प्रक्रिया अगाडि बढाउन लागेको छ । आगामी पाँच महिनासम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ । विभागले नयाँ प्रणालीको सूचना निकट भविष्यमा जारी गर्ने उल्लेख गरेको छ ।
चैत १ गते विद्युत महसुल विवादबारे सुनुवाइ हुने, चित्त नबुझे अदालत जान पाइने
काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत जान पाइने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै केही उद्योगी आयोग गएका थिए । आयोगले निरन्तर रूपमा महसुलका सम्बन्धमा सुनुवाइ गर्दै आएको छ । आयोगले प्रचलित नियम, कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ । आयोगको सूचनाअनुसार प्राधिकरणले तय गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलले निर्णयका लागि आयोगमा आवेदन गरेको थियो । सो आवेदनमा प्राधिकरणले डेडिकेटड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् सप्लाइ लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्याय पूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाउँ भनी माग गरिएको छ । सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित हुन आग्रह गरेको छ । नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरुपण गर्दै आएको छ । आयोगले दिने निर्णय चित्त नबुझेको खण्डमा मात्र आवेदकलाई अदालत जाने मार्ग प्रशस्त हुन्छ ।
मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ । ती प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ । हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण तथा यातायातका साधन सञ्चालनका साथै ती भेगमा यात्रा गर्नेहरूलाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।