वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु, ८ हजार बढी पाँच वर्षमुनिका बालबालिका
काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए । प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै, कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता हुनु, बाँझोपन हुनु, गर्भकालीन मधुमेह हुनु, मानसिक स्वास्थ्य समस्या देखिनु जस्ता समस्या आउने गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डभन्दा नेपालमा वायु प्रदूषण आठ गुणा बढी देखिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । नेपालमा बिहीबार वायु गुणस्तर सूचक १८५ सम्म देखिएको उनले बताए। डब्लुएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । सूक्ष्म कण त्योभन्दा कम भएमा हावामा तैरने सक्ने र जसले स्वासप्रश्वास प्रक्रियामा फोक्सोसम्म पुग्ने गरेको डा. बुढाथोकीले बताए । नेपालमा डब्लुएचओको मापदण्डभन्दा बढी नै प्रदूषण भएको उहाँले बताए । वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सचेत, १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दीर्घरोग र बालबालिका) का लागि हानिकारक मानिन्छ । वायु गुणस्तर सूचक १५१ भन्दामाथि भएमा अस्वस्थ्य मानिने गरिएको छ । यसलाई डब्लुएचओको मापदण्डभित्र पुर्याउन सके हरेक वर्ष नेपालीको आयु तीन दशमलव तीन वर्षले बढ्ने अनुमान गरिएको छ । वायु प्रदूषणकै कारणले वार्षिक ७९ लाख मानिसको मृत्यु हुने गरेको र तीमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशका नागरिक पर्दछन् । वायु प्रदूषण सवारीसाधनबाट निस्केको धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुँवा, सडक र निर्माण कार्यको धुलो, वन डढेलो र किटनाशक र विषादीको प्रयोगलगायतबाट हुने गरेको छ ।
एनआईसी एशिया बैंकले शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई दियो शैक्षिक सामग्री
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । तिलगंगा, काठमाडौंस्थित उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा पठनपाठनलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एक कार्यक्रमका बीच संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । बैंकका अनुसार यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसअघि पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै सातै प्रदेशका विभिन्न विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्ने काम गरिसकेको छ । शान्ति सेवा गृहमा रहेका विद्यार्थीहरूलाई गरिएको शैक्षिक सामग्री सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन तथा शैक्षिकस्तर सुधार गर्न थप सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
किन १४ वर्षअघि नै पृथ्वी फर्कियो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ ?
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाको एक अन्तरिक्षयान अपेक्षाभन्दा धेरै वर्ष पहिला नै पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गरेको छ । नासाका अनुसार ‘भान एलेन प्रोब–ए’ नामक अन्तरिक्षयान बुधबार बिहान ६ बजेर ३७ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो । यो अन्तरिक्षयान सन् २०१२ को अगस्टमा प्रक्षेपण गरिएको थियो र करिब १४ वर्षपछि वायुमण्डलमा फर्किएको हो। उक्त अन्तरिक्षयानलाई यसको जुम्ल्याहा अन्तरिक्षयान ‘भान एलेन प्रोब–बी’ सँगै पृथ्वी वरिपरि रहेको भान एलेन विकिरण घेराको अध्ययन गर्न पठाइएको थियो । अमेरिकी अन्तरिक्ष बलका अनुसार ‘भान एलेन प्रोब–ए’ प्रशान्त महासागरको पूर्वी भागमाथि वायुमण्डलमा पुनःप्रवेश गरेको हो । पृथ्वीको वायुमण्डल हुँदै प्रवेश गर्दा अन्तरिक्षयानको अधिकांश भाग जलेर नष्ट भएको अनुमान गरिएको छ, यद्यपि केही भाग बाँकी रहन सक्ने सम्भावना पनि रहेको नासाले जनाएको छ । यी अन्तरिक्षयानहरूले सन् २०१२ देखि २०१९ सम्म सक्रिय रूपमा काम गर्दै पृथ्वीको विकिरण घेरासम्बन्धी तथ्यांक सङ्कलन गरेका थिए । यस अभियानका क्रममा वैज्ञानिकहरूले तीव्र सौर्य गतिविधिका बेला अस्थायी रूपमा तेस्रो विकिरण घेरा बन्न सक्ने नयाँ तथ्यसमेत पत्ता लगाएका थिए । सन् २०१९ मा दुवै अन्तरिक्षयानको इन्धन समाप्त भएपछि अभियान समाप्त गरिएको थियो । त्यस बेला वैज्ञानिकहरूले ती अन्तरिक्षयान सन् २०३४ तिर पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने अनुमान गरेका थिए । तर हालको सौर्य चक्रमा अपेक्षाभन्दा बढी सौर्य गतिविधि भएका कारण वायुमण्डलीय घर्षण बढ्यो र अन्तरिक्षयानको कक्ष चाँडै घट्दै जाँदा यो अपेक्षाभन्दा पहिले नै पृथ्वीमा फर्किएको हो । नासाका अनुसार यस अभियानबाट संकलित तथ्यांकले अन्तरिक्ष मौसम र त्यसले उपग्रह, अन्तरिक्ष यात्री तथा पृथ्वीका सञ्चार, नेभिगेसन र विद्युत् प्रणालीमा पार्ने प्रभावबारे बुझ्न अझ सहयोग पुर्याइरहेको छ । नासाले ‘भान एलेन प्रोब–बी’ भने सन् २०३० भन्दा पहिले पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश नगर्ने अनुमान गरिएको जनाएको छ ।
हिमालयन लाइफको डिजिटल छलाङ, अब एजेन्सी मेनेजर नै ‘डिजिटल अण्डरराइटर’
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेश गर्न सहज बनाउने उद्देश्यले यस प्रकारको पहुँच दिएको हो । एजेन्सी मेनेजरहरुले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफूले गरेको बीमा प्रस्ताव स्वीकृतीको लागि कम्पनीमा पेश गर्न सकिने व्यवस्था मिलाएको छ । एजेन्सी मेनेजरले बीमा प्रस्तावको लागि तोकिएका कागजात तथा विवरणहरू एजेन्सी पोर्टलमा पेश गरे पछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रकृया पुरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने प्रवन्ध गरिएको छ । एजेन्सी मेनेजरलाई दिईएको यो सुविधाले बीमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ । कम्पनीले एजेन्सी मेनेजरलाई दिएको सुविधाको कारण बीमा प्रस्ताव स्वीकृती छिटो, छरितो र सहज रुपमा हुने भएको छ । कम्पनीले एजेन्सी मेनेजरहरूलाई अण्डरराइटरको हिस्सा बनाउने अभिप्रायबाट यस प्रकारको सुविधाको व्यवस्था गरिएको र निश्चित शर्तहरू पुरा गरे पछि एजेन्सी मेनेजरहरूलाई यो सुविधामा पहुँच दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिलकुमार दाहालले जानकारी गराए । कम्पनीले एजेन्सी मेनेजरलाई पहुँच दिइएको एजेन्सी पोर्टलबाट व्यवसाय सम्बन्धी रिपोर्ट लगायतका विवरणहरू जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गरी कम्पनीको सेवालाई प्रविधिमैत्री बनाउँदै लैजान प्रयास भइरहेको पनि कम्पनीले जनाएको छ ।
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । यसैगरी, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । सभामा अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदनको संक्षेप प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल ढकालले बैंकले समीक्षाधीन अवधिमा हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सेयरधनीहरूले राखेका जिज्ञासा र सुझावहरूको उत्तर अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवैले दिएका थिए । बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको दाबी गरेको छ। विशेषगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहँदै बैंकले ७० वटा न्यानो नानी मेसिनमार्फत हरेक वर्ष २ हजार ५९० भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सफल भएको जानकारी गराइएको छ । राष्ट्रप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले गत आर्थिक वर्षमा मात्रै राज्यलाई ४१ करोड रुपैयाँ कर योगदान गरेको छ। हाल ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले देशभर रहेका ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। सभामा बैंकका सेयरधनीहरू, सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालकहरू, विभिन्न पदाधिकारीहरू र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर
काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ । सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनीमा विज्ञापन राखेकामा सम्झौता सकिएपछि २५ वटा बस बिसौनीमा सोलारसहित राखिएका विज्ञापन सामग्री हटाउन सुरु गरेको हो । महानगरले विसं २०६९ भदौ १४ मा प्रालिसँग पहिलोपटक सम्झौता गरेकामा विसं २०७१ चैत २६ मा पहिलोपटक र २०७८ साल साउन २५ मा दोस्रोपटक सम्झौता नवीकरण गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए । ‘सम्झौताबमोजिम नभएपछि विज्ञापन बोर्ड हटाउन तथा राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हामीले हटाउन थालेका हौं,’ उनले भने, ‘विज्ञापन हटाउने क्रमलाई निरन्तरता दिइनेछ ।’ पछिल्लो सम्झौताबमोजिम महानगरले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक बुझाउनुपर्ने रकम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनुपर्नेमा निर्माण पक्षले कर नबुझाएको वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाले जानकारी दिए। ‘विसं २०८२ वैशाख ११ गते वृद्धि भएको रकम बुझाउन पत्राचार गरिए पनि अहिलेसम्म बुझाएको छैन । हालसम्मको १६ लाख १३ हजार २२४ बुझाउन बाँकी रहेको छ,’ उनले भने, ‘आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट ७०० र आव २०८०/८१ मा प्रतिस्क्वायर फिट एक हजार पुगेको थियो ।’ कोइरालाका अनुसार विज्ञापन कर १५ लाख ८३ हजार ९३९ र नपुग रोयल्टी २९ हजार २८५ दाखिला हुन बाँकी छ ।
प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दा समानुपातिकमा ५७, अन्य दलले कति सिट पाए ?
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत हासिल गरेको छ । प्रत्यक्ष र समानुपातिक दुवै गरेर रास्वपाले एक्लै दुई तिहाइ नजिकको सिट प्राप्त गरेको हो । प्रत्यक्षतर्फ कुल १६५ सिटमध्ये रास्वपाले १२५ सिट जितेको छ । बाँकी ४० सिट अन्य दलहरूले प्राप्त गरेका छन् । समानुपातिकतर्फ भने कुल ११० सिटमध्ये रास्वपाले ५७ सिट प्राप्त गरेको छ । बाँकी ५३ सिट अन्य राजनीतिक दलहरूले बाँडेका छन् । यसरी प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली जोड्दा प्रतिनिधि सभाका २७५ सिटमध्ये रास्वपाले १८२ सिट जितेको छ । निर्वाचन आयोगका अनुसार दोस्रो पार्टी नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी कुल ३८ सिट प्राप्त गरेको छ । तेस्रोमा नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकमा १६ सिट जितेको छ । एमालेले प्रत्यक्ष र समानुपातिक दुवै गरी कुल २५ सिट प्राप्त गरेको छ । चौंथोमा नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकमा ९ सिट प्राप्त गरेको छ । नेकपाले प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल १७ सिट जितेको छ । त्यसैगरी, श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ४ गरेर कुल ७ सिट प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सिट प्राप्त गरेको छ भने समानुपातिकतर्फ ४ सिट जितेको छ । राप्रपाले प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल पाँच सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ कुल १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये ६ लाख ९ हजार १५ मत बदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । सोमध्ये ४ लाख ४५ हजार ५९२ मत बदर भएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको हो । त्यस्तै, आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ ९४.५५ र समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको छ ।
काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो
काठमाडौं । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् । विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले राससलाई जानकारी दिए । उनले भने, ‘पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौं । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।’ यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो। नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।