विकासन्युज

अमेरिकाबाट अध्यक्षको राजीनामा, पार्टी र सञ्चालकमाथि संघीन आरोप

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले पदबाट राजीनामा दिएकी छन् । उनले महासंघको ३४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएकी हुन्। उनले आफू अस्वस्थ रहेको र विगत ६ महिनादेखि अमेरिकामा रहेको उल्लेख गर्दै यो बीचमा नेपाल फर्किने सोच भए पनि स्वास्थ्य र सञ्चालक समितिले पनि साथ नदिएपछि राजीनामा दिन बाध्य भएको उनको भनाइ छ ।  मल्लले महासंघकै सञ्चालकहरूले काम गर्न साथ नदिएको, हरेक निर्णयहरू पार्टीकै हितमा गर्नुपर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण नबनेपछि राजीनामा दिएको उल्लेख गरेकी छन् ।  राजीनामामा पत्रमा उनले भनेकी छन् ‘अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रूपमा सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक बैठक पूर्व अनिवार्य रूपमा पार्टीको विभागीय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरू पार्टी हित अनुकूल हुनुपर्ने जस्ता दबाबको कारण मैले स्वस्फूर्त रूपमा योजनाअनुसार काम गर्न सकिनँ । महाप्रबन्धक नियुक्तिदेखि अन्य कार्यालयका महत्त्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन । पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरें । तर, एउटै पार्टीका साथीहरू रहेको बोर्डमा रहे पनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरूको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ ।’ यस्तो छ उनको राजीनामा पत्र  उपरोक्त विषयमा नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लि. नेपालको ३१ औं वार्षिक साधारणसभावाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष काम गर्दै गरेको समयमा अचानक बिरामी भएर स्वास्थ्य उपचार र पारिवारीक भेटघाटका लागि विगत ६ महिनादेखि म संयुक्त राज्य अमेरिकामा छु । गत पुसमा सम्पन्न ३३ औं वार्षिक साधारणसभा भन्दा अगावै स्वदेश फर्कने योजनाका साथ आएको थिए तर स्वास्थ्यमा थप सुधार नभएका कारण साधारणसभामा उपस्थित हुन नसकेर शुभकामना सन्देश पठाएको कुरा साथीहरुलाई अवगत नै छ । अध्यक्षका रुपमा मेरो भूमिकाको सहकारी अभियानले मूल्यांकन गर्ने नै छ । कार्यकालको छोटो अवधिमा पनि मेरो अगुवाईमा हाम्रो टिमले केही सकारात्मक प्रयासको थालनी गरेका हौ भने मलाई लाग्दछ । मन्त्रालयमा रोकिएको बजेटलाई निरन्तरता दिने, सरकारसँग मिलेर सातै प्रदेशमा गोष्ठी गर्ने, सहकारी राष्ट्रिय गित निकाल्ने, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मनाउने, सरकारसंग सहकारी नीति सम्बन्धी सम्बाद, कोअपरेटिभ डिजिटल कन्क्लेभ, सहकारी रोजगार मेलालगायतका धेरै कामहरु भएका थिए ।  ती काम प्रयाप्त थिए म भन्दिनँ, तर कामको शुरुवात भएकै थियो । मेरो कार्यकालको छोटो अवधीमा भोगेका आरोह अवरोह सबै सहकारीकर्मीलाई जानकारी होस् र महासंघमा सुधारका लागि पनि कोशेढुंगा बनोस् भनेर केही अनुभवहरु यहाँहरु समक्ष साझा गर्न चाहान्छु । अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रुपमा पूर्ण सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक वैठक पूर्व अनिवार्य रुपमा पार्टीको विभागिय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरु पार्टी हित अनुकुल हुनुपर्ने जस्ता दवावको कारण मैले स्वस्फूर्त रुपमा योजना अनुसार काम गर्न सकिन । महाप्रवन्धक नियुक्ती देखि अन्य कार्यालयका महत्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन् । यद्यपी टिमका केही साथीहरुको साथ सहयोग र कर्मचारीहरुको सकारात्मक कार्यशैलीका कारण केही महत्वपूर्ण कामहरु पनि भएका छन् ।  पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरें तर एउटै पार्टीका साथीहरु रहेको बोर्डमा रहेपनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरुको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ । गत भदौमा परिवार अमेरिका जाने भनेपछि केही समयका लागि परिवारसँगै विदेशमा रहदा उपचारसँगै तनाव पनि कम हुन्छ भन्ने परिवारको सल्लाह अनुसार अमेरिका आएको हुँ।  यहाँ आएपछि केही परिवर्तन हुन्छ कि ? भन्ने लागेको थियो तर पार्टी नेतृत्वको दवावले नै होला महासंघका साथीहरुले पटक पटक राजिनामा पठाउन दवाव दिनुभयो । राजिनामा नदिए, अविश्वासको प्रस्ताव साधारणसभामा लगेर हटाउने धम्की पनि साथीहरुले दिनुभयो । मैले साधारणसभामा शुभकामना सन्देश पठाए । त्यसपछि पनि धेरै दवाव दिएको कारण म राजिनामा दिने निष्कर्षमा पुगे । काम गर्ने चाहना भएरै दुइ दशक भन्दा बढी समय सहकारी अभियानमा लागे, त्यो पनि महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष भएकी थिए, तल हुँदा सबैलाई साथ दिएकी थिए, सहयोग गरेकी थिए, तर म अध्यक्ष भएपछि मैले सहयोग गरेकाहरुबाट साथ पाइन, उल्टो असहयोग हुने अवस्था सिर्जना भयो ।  राजनीति कति निष्ठुर हुँदो रैछ भन्ने पनि म सहकारी महासंघको अध्यक्ष भएपछि थाहा पाएँ । स्वार्थ मिलेन भने नेताहरु कति कुर हुदा रहेछन त्यो पनि बुझ्न पाए ।  थाहा छैन, महिलाले काम गर्न सक्दैनन् भन्ने लाग्यो कि ? पार्टीमा मैले गुट गर्न सकिन कि ?  उहाँहरुको नजरमा गुट मिलेन कि ? वा पार्टीको सहकारी विभाग र विभागका साथीहरुको कही कतै चित्त दुखाए कि ? म आफैलाई के भयो भन्ने जानकारी छैन, कहाँनिर म चुके भन्ने पनि पत्तो छैन, छ त केबल सहकारीमा कुनै योगदान नभएका मान्छेको आदेश, निर्देशन अनि अनाहकको तनाव। यो सबै कुरालाई मनन गरी आज सारै विक्षिप्त भएर राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अध्यक्ष पदबाट राजिनामा पठाएकी छु ।  मैले वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिएको ६ महिना पुग्दैछ, त्यो भन्दा पहिला पठाएको यो राजिनामा प्रक्रियागत रुपमा स्वीकृत गरी नयाँ नेतृत्व चयन गर्न सहज होस् भन्ने अनुरोध राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, यसका सम्पूर्ण शेयर सदस्य संघ संस्थाहरुका प्रतिनिधिहरु, सम्पूर्ण सहकारीकर्मी साथीहरु, नियमनकारी निकाय लगायत सबैमा अनुरोध गर्न चाहन्छु ।  सहकारीमा पछिल्लो समयमा समस्या आए, समस्या नभएको कुनै क्षेत्र छैन, समस्या हुनु, समस्या आउने विषय जहाँ, जहिले र जतिबेला पनि हुन्छ, सहकारीमा आएका समस्या समाधानका लागि हामी सबैको पहलकदमी पुगेन भन्ने महसुस भएको छ, हामीले मात्रै गरेर नहुने अवस्था देखिएपछि पार्टीहरु, सरकार र अन्य सरोकारवालाहरुलाई अनुरोध गर्न लागियो । तर समस्यालाई गुट हेरेर, अरु व्यक्तिको दवाव र प्रभावमा परेर जव कसैलाई सकाउन लागिन्छ भने त्यसले सहकारी अभियानलाई हित गर्दैन, हिजो सहकारी अभियानमा योगदान गर्ने थुप्रै साथीहरु आज समस्यामा हुनुहुन्छ, कतिपयमा संस्थागत समस्या होला, कतिपयमा व्यक्तिगत समस्या होला, कतिपयको नियत नै खराव होला, समस्या हुनुको कारण पहिचान गरेर समाधानमा लाग्नु पर्नेमा सबैलाई एउटै डालोमा राखेर, एउटै कित्तामा कित्ताकाट गराएर समस्या बढाइदिने खालका गतिविधि सहकारीका नाममा राजनीति गर्नेहरुबाट भएका छन्, चुनावमा सहयोग नगरेको नाममा, सल्लाहकार चयन नगरेको नाममा हुने यस्ता खाले गलत प्रवृति रोक्न सकेमा मात्रै सहकारी अभियान थप प्रभावकारी बन्नेछ ।  आगामी दिनमा यस्ता हस्तक्षेपकारी काम नहुन्, नेपालको सहकारी अभियानलाई सबै मिलेर, सबैको सहभागितामा, सबैको सक्रियतामा थप व्यवस्थित गराउन सकियोस्, त्यसका लागि म वाधक हो कि ? भन्ने केही साथीहरुलाइ परेको छ, मेरा कारणले मात्र समस्या आएको हो भने पनि म त्यसका लागि सजाय भोग्न तयार छु, तर म वाधक होइन, बन्दिन भन्ने प्रतिवद्धताका साथ राजिनामा गरेकी छु । ३३ औ साधारणसभाबाट संशोधनसहित पारित विनियम यथासिघ्घ्र सम्बन्धित सहकारी विभाग र निकायबाट स्वीकृत गराई सोही संशोधित पारित विनियम अनुसार आगामी कार्यकालकोलागि राष्ट्रिय सहकारी महासंघको संचालक समितिको निर्वाचन गराई, नयाँ नेतृत्व चयनतर्फ सम्पूर्ण सभाका सदस्यहरु लाग्नुहुनेछ भन्ने विश्वासका साथ निर्वाचित अध्यक्ष पदबाट राजीनामा गर्दछु । आगामी निर्वाचनको प्रकृयाबाट आउने नयाँ संचालक समितिलाई अग्रीम बधाई तथा शुभकामना समेत व्यक्त गर्दछु ।  हिजोका दिनमा काम गर्ने क्रममा म बाट जानेर वा नजानेर सहकारी अभियानको विरुद्धमा कही कतै गलत भएको रहेछ, मेरा कारण कसैको मन दुखेको रहेछ, कही कतै अप्ठेरो परेको रहेछ भने त्यसका लागि म क्षमा प्रार्थी छु । यो पनि थाहा छ, मलाई माया गर्ने, सहकारी क्षेत्रलाई माया गर्ने, सहकारीको प्रवद्र्धनमा योगदान गरेका साथीहरुलाई मेरो यो निर्णयले अवश्य दुखीः बनाएको होला, तर, पनि म वाध्य छु, सबै भन्दा ठुलो स्वास्थ्य रहेछ, तनावले स्वास्थ्यलाई निकै सताउदो रहेछ, पहिला पहिला अन्यत्र तनाव हुँदा बिसाउने चौतारी सहकारी थियो, तर आज मलाई यही सहकारी क्षेत्रबाट यति ठुलो तनाव हुन्छ, जसलाई साथ सहयोग गरे तिनीहरुले नै तनाव दिन्छन्, मेरो स्वास्थ्यमा समस्या नै आउछ भन्ने लागेको मात्रै भए, सायद अर्कै सोचिन्थ्यो होला । सहकारी क्षेत्रमा काम गर्दा मेरो तनाव थिएन, तल बसेर काम गर्दा नभएको तनाव अध्यक्ष भएपछि कताबाट आयो, कुन हुण्डरीले ल्यायो थाहा भएन, दिनै पिच्छे कसैको दवाव झेलेर नेतृत्वमा बसिरहन पर्छ भन्ने पनि छैन भन्ने सोचका साथ महासंघको औपचारिक जिम्मेवारीबाट बिदा भएको छु, यसबाट सहकारी क्षेत्र र आम साथीहरुमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छु । ओमदेवी मल्ल अध्यक्ष राष्ट्रिय सहकारी महासंघ लिमिटेड  

२ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा शुक्रबार सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य २ हजार ८०० ले र चाँदीको मोल २० ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४९५ निर्धारण भएको छ ।  हिजो बिहीबार एक तोला सुन ३ लाख १७ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधबार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो ।  गत मंगलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु ५ हजार ४१० मा कारोबार भएको थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

होर्मुज जलडमरूमध्यमा अवरोधः विश्वभर तेलको मूल्य वृद्धि र एसियाली बजारमा संकटको बादल

काठमाडौं । विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग होर्मुज स्ट्रेटमा धेरै जहाजमाथि आक्रमण भएको खबर आइरहेका छन् । यूके मरिटाइम ट्रेड कर्पाेरेशनका अनुसार हालै निशाना बनाइएका जहाजमध्ये दुईवटा ट्यांकर पनि रहेका छन् । ती जहाजहरूमा इराकको तट नजिक ‘अज्ञात अस्त्र’ प्रयोग गरेर आक्रमण गरिएको बताइएको छ । यसका साथै युनाइटेड अरब इमिरेट्स (यूएई) को तट नजिक एउटा कन्टेनर जहाजमाथि आक्रमण भएको रिपोर्ट पनि आएको छ । इरानले चेतावनी दिएको छ कि यस जलडमरूमध्यबाट पार गर्न खोज्ने कुनै पनि जहाजलाई आक्रमण गरिनेछ । यद्यपि त्यसका बाबजुद पनि केही जहाजी आवतजावत भने जारी छ । सामान्यतया विश्वको करिब २० प्रतिशत तेल यही जलडमरूमध्यबाट भएर जाने गर्छ । युद्धका कारण अहिले विश्वभर तेलको मूल्यमा ठूलो उछाल आएको छ । होर्मुज जलडमरूमध्य के हो र कहाँ पर्छ ? होर्मुज स्ट्रेट विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री ढुवानी मार्गमध्ये एक हो, विशेषगरी कच्चा तेल आपूर्तिका लागि यो अत्यन्त संवेदनशील र महत्त्वपूर्ण स्थान मानिन्छ । यसको उत्तरतर्फ इरान पर्छ भने दक्षिणतर्फ ओमन र युनाइटेड अरब इमिरेट्स पर्छन् । यसको प्रवेश र निकास क्षेत्र करिब ५० किलोमिटर चौडा छ भने सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर मात्रै छ । यही मार्गले खाडी क्षेत्रलाई अरेबियन सीसँग जोड्छ । यो जलडमरूमध्य यति गहिरो छ कि विश्वका सबैभन्दा ठूला तेल ट्यांकरहरू पनि सजिलै यसबाट आवतजावत गर्न सक्छन् । मध्यपूर्वका प्रमुख तेल तथा ग्यास उत्पादक देशहरू र तिनका ग्राहकहरूले यही मार्ग प्रयोग गर्छन् । यूएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनका अनुमान अनुसार २०२५ मा दैनिक करिब २ करोड बैरल तेल होर्मुजज जलडमरूमध्यबाट पार भएको थियो, जुन वार्षिक रूपमा झन्डै ६०० अर्ब डलर बराबरको ऊर्जा व्यापारसँग सम्बन्धित छ । यस मार्गबाट जाने तेल केवल इरानको मात्र होइन, इराक, कुवेत, कतार, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सबाट पनि आउँछ । यदि यो जलडमरूमध्य बन्द भयो भने के हुन्छ ? सामान्यतया हरेक महिना करिब ३ हजार जहाज यस मार्गबाट गुज्रन्छन् । ऊर्जा बजारसम्बन्धी जोखिम विश्लेषण उपलब्ध गराउने कम्पनी ग्लोबल रिस्क मेनेजमेन्टका प्रमुख विश्लेषक अर्ने लोहमन रासमुसेनले भनेका छन् कि जहाजहरूको सुरक्षामा जोखिम रहँदासम्म तेलको मूल्य र ढुवानी लागत दुवै बढ्नेछन् । उनले सीबीएस न्यूजसँग सँग भनेका छन्, ‘व्यावहारिक रूपमा हेर्दा यो मार्ग बन्द जस्तै भएको छ, किनकि धेरै जहाजहरू यहाँबाट जान डराइरहेका छन् ।’ उनका अनुसार जहाजमाथि आक्रमणको जोखिम, बीमा नपाउनु वा अत्यन्त महँगो बीमा हुनुले जहाजहरूलाई प्रतीक्षा गर्न बाध्य बनाइरहेको छ । यदि यस मार्गबाट आउने तेल र ग्यास रोकियो भने ऊर्जा बजारमा ठूलो प्रभाव पर्नेछ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इसमेल बाघेईले सीएनबीसीसँग कुरा गर्दै यस जलडमरूमध्यबाट जाने तेल ट्यांकरहरूले ‘अत्यन्त सावधानी’ अपनाउनुपर्ने बताएका छन् । युद्ध सुरु भएदेखि ऊर्जा मूल्यमा ठूलो उछाल आएको छ । सोमबार तेलको मूल्य करिब १२० डलरसम्म पुगेको थियो, यद्यपि पछि केही घटेको छ । लन्डन स्टक एक्सचेन्ज ग्रुपका अनुसार मध्यपूर्वबाट चीनसम्म तेल लैजान सुपरट्यांकर भाडामा लिनुपर्ने लागत एक हप्तामा लगभग दोब्बर भएर ४ लाख डलरभन्दा माथि पुगेको छ । एसियामा पर्ने प्रभाव यो मार्ग लगभग बन्द जस्तै भएपछि ऊर्जा निर्यातमा निर्भर देशहरू जस्तै साउदी अरेबियालाई पनि ठूलो असर परेको छ । इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार इरानले दैनिक करिब १७ लाख ब्यारेल तेल निर्यात गर्छ । सेन्ट्रल बैंक अफ इरानका अनुमान अनुसार मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा इरानले ६७ अर्ब डलर बराबरको तेल निर्यात गरेको थियो, जुन पछिल्ला दस वर्षकै उच्च आम्दानी हो । एसियामा यसको असर झन् ठूलो पर्न सक्छ । यूएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनका अनुसार २०२२ मा होर्मुजÞबाट बाहिरिने करिब ८२ प्रतिशत कच्चा तेल र कन्डेन्सेट एसियाली देशहरूतर्फ गएको थियो । विश्व बजारमा इरानले बेच्ने तेलको करिब ९० प्रतिशत चीनले किन्ने गर्छ । चीनले यही तेल प्रयोग गरेर सामान उत्पादन गर्छ र अन्य देशमा निर्यात गर्छ, त्यसैले तेल महँगो हुँदा विश्वभरका उपभोक्ताहरूका लागि सामानको मूल्य पनि बढ्न सक्छ । युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली  

नेपाल पुनर्बीमाबाट बाहिरिँदै युनाइटेड अजोड, पौने १ अर्बको सेयर बिक्रीमा राख्यो

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स नेपाल पुनर्बीमा (नेपाल रिइन्स्योरेन्स) कम्पनीबाट बाहिरिने भएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रूपैयाँको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा युनाइटेड अजोड इन्स्योरेन्सले ८६ करोड ८७ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ५ गतेदेखि चैत १९ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । खरिद गर्न इच्छुकले तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी तोकि आवेदन दिनुपर्नेछ । बोलपत्र पेस गर्दा कम्तीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 

सोपान फर्मास्युटिकल्सले चैत ९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिनेछ । साथै, बाँकी रहेको ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्तालाई सुरक्षित राखेको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

आजदेखि आधा सिलिण्डर ग्यास मात्रै, ७.१ किलोको ९५५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले आज शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ । आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ । निगमले निगमले नियमित रुपमा माग अनुरूप नै एलपी  ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ । 

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि, १६४ नेपालीलाई स्वदेश ल्याइने

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो ।  विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो ।  आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिए ।  यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको हो । 

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ . साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।