विकासन्युज

अर्घाखाँची सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु

काठमाडौं, २१ असार । अर्घाखाँची ओपीसी सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु भएको छ । जसको प्रवर्द्धन सिमेन्टका ब्राण्ड एम्बेसडर तथा नेपाली कलाकार सुनिल थापाले गरेका छन् । कम्पनीले जनाएअनुसार उपभोक्तालाई अर्घाखाँची सिमेन्ट गुणस्तरिय भएको थाहा भएपनि बजारकै उत्कृष्ट ओपीसी सिमेन्ट हो भन्ने बुझाउन अभियान सुरु गरेको हो । साथै, उपभोक्ताहरुलाई सहि सिमेन्ट रोज्न र सुरक्षित भविष्यका लागि ध्यान दिन कम्पनीले सबैलाई सचेत पनि गराएको छ । घर निर्माणको कूल खर्चमध्ये करिब १० प्रतिशत खर्च मात्रै सिमेन्टमा प्रयोग हुने गर्छ । निर्माणमा गुणस्तरहिन सिमेन्ट प्रयोग नगरौं भन्ने उद्देश्यले चलाइएको जानकारीमुलक योजना “मूर्खता नगरौं, सहि सिमेन्ट नै रोजौं” पश्चात “आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ” भन्ने अभियानको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले मानेन, लाखौं सेयरधनी तनाबमा

काठमाडौं, २१ असार । माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्जर प्रक्रिया तोडिएको तीन महिना बित्नै लागेको छ । तर नेपाल स्टक एक्स्चेञ्जमा दुबै बैंकको सेयर कारोबार खुला भएको छैन । यी बैंकको सेयर बेच्न तथा सेयर किन्न चाहानेहरु अनिश्चित बाटो कुरिरहेका छन् । आखिरी कारोबार खुल्दैन किन ? दुई बैंकको साधारण सेयरमा लगानी गर्ने एक लाख भन्दा बढी सेयरधनीले प्रश्न गरिरहेका छन् । तर उनीहरुको लागि चित्त बुझ्दो जवाफ कसैले दिएको छैन । ‘प्रश्न मात्र सोध्ने होइन, सेयरधनीले दुबै बैंकको सञ्चालक समितिलाई घेर्नुपर्छ’ राष्ट्र बैंकको एक उच्च अधिकारीले आक्रोशित हुँदै भने–‘मर्जर प्रक्रिया केटाकेटी खेल हो र ?’ दुई बैंकबीच गत असोज ३ गते मर्जर गर्ने सहमति भएको थियो । त्यसमा राष्ट्र बैंकले पुसको अन्तिम साता सैद्धान्तिक सहमति पनि दियो । तर सात महिनापछि मर्जर प्रक्रिया भाँडियो । दुबै बैंकका मर्जर कमिटि, सञ्चालक समितिले मर्जर प्रक्रियाबाट बाहिरीने निर्णय गरे । दुबै बैंकले साधारणसभा गरे । माछापुच्छ्रे बैंकले हकप्रद सेयर र बोनस सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने निर्णय गर्यो । जनता बैंकले पनि हकप्रद सेयर, बोनस सेयर जारी गर्दै पुँजी वृद्धि गर्दै जाने र मर्जरको प्रयास पनि जारी राख्ने निर्णय साधारणसभाबाट गरायो । तर दुबै बैंकलाई यतिबेला राष्ट्र बैंकले अप्ठ्यारोमा पारेको छ । मर्जरको लागि सैद्धान्तिक सहमति दिएको राष्ट्र बैंक मर्जर तोडेकोमा आक्रोसित छ । दुबै बैंकलाई सेयर कारोबार खुला गर्न स्वीकृति नदिएर पुनः मर्जमा जान दवाव दिईरहेको छ । यद्यपी राष्ट्र बैंकको यो प्रयास असफल हुने निश्चित छ । स्रोतका अनुसार दुबै बैंकका सञ्चालक समितिले मर्जर प्रक्रिया तोड्ने सम्बन्धमा गरेको निर्णयसहित सेयर कारोबार खुला गरिदिन नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्स्चेञ्ज, धितोपत्र बोर्ड सबैलाई चैत २८ गते नै पत्राचार गरेका थिए । राष्ट्र बैंकले तत्काल दुबै बैंकलाई मर्जर प्रक्रिया नतोड्न मौखिक रुपमा सुझाव दियो । त्यति मात्र होइन, राष्ट्र बैंकले आफै मध्यस्तता गरेर भएपनि मर्जर सफल बनाउन प्रयास पनि गर्यो । राष्ट्र बैंक स्रोत भन्छ–‘हामीले दुबै बैंकका सञ्चालक समिति र मुख्य सेयरधनीलाई बोलाएर मर्ज प्रक्रिया नतोड्न सुझाव दियो । तर उहाँहरुले मान्नु भएन ।’ स्वाप रेसियो नमिलेका कारण मर्जर प्रक्रिया तोडिएको दुबै बैंकले जनाएका थिए । प्रोफेशनल तरिकाबाट स्वाप रेसियो मिलाउन सकिन्छ भनेर राष्ट्र बैंकले पुनः मर्ज प्रक्रियामा फर्कन सुझाव दिएको थियो । तर दुबै बैंकमा सञ्चालक तथा प्रवद्र्धकले स्वाप रेसियोको ‘मूल्य मिले पनि मन नमिलेपछि मर्ज हुन सक्दैन, बलपूर्वक गरिएको मर्जले परिणाम राम्रो दिदैन’ भन्दै राष्ट्र बैंकको सुझावलाई अस्वीकार गरे । राष्ट्र बैंकको चाहाना र भावना विपरित जान नहुने भन्दै केही सेयरधनीले मर्जर प्रक्रिया अगाडि बढाउनु उपयुक्त हुने धारणा सार्वजनिक नै गरेको थिए । बैशाख २३ गते एक विज्ञप्ति प्रकाशित गर्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष तथा महत्वपूर्ण प्रवद्र्धक सूर्यबहादुर केसीले जनता बैंकसँगको मर्जर प्रक्रिया अगाडि बढाउन सुझाव दिएका थिए । राष्ट्र बैंकले गरेको प्रयास असफल भएपछि जनता बैंक नेपालले पनि साधारणसभा गरेर नयाँ बाटो तय गर्यो। माछापुच्छ्रे बैंकले चैत २९ गते नै साधारणसभाबारे सूचना सार्वजनिक गरिसकेको थियो । राष्ट्र बैंकमा प्रबक्ता त्रिलोचन पंगेनीका अनुसार मर्जरमा जान राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थालाई मर्जर प्रक्रियाबाट वाहिर जान पनि राष्ट्र बैंकको सहमति आवश्यक हुन्छ । मर्जर प्रक्रियालाई हलुका रुपमा लिने सोच र प्रयाप्त गृहकार्य विना मर्जर प्रक्रिया अगाडि बढाउने तथा साना साना विषयमा चुस्की लगाएको भरमा मर्जर प्रक्रिया तोड्ने अभ्यास गलत भएको उनको भनाई छ । राष्ट्र बैंकको स्वीकृतिविना दुबै बैंकको सेयर कारोबार खुला नहुने नेपाल स्टक एक्स्चेञ्जका प्रवक्ता शम्भु पन्तले बताए । ‘मर्जर प्रक्रिया तोडिएको जानकारी दुबै बैंकले हामीलाई दिएका छन् । तर कारोबार खुला गर्न राष्ट्र बैंकको सहमति चाहिन्छ, अहिलेसम्म राष्ट्र बैंकको सहमति पत्र आएको छैन’ उनले विकासन्यूजसँग भने ।

उद्योग महासंघको सल्लाहकार समिति गठन

काठमाडौं, २१ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी कार्यदिशा र मार्गदर्शनका लागि महासंघकै पूर्व अध्यक्ष वासुदेव गिरीको सभापतित्वमा १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । महासंघले २३ औं राष्ट्रिय महाअधिवेशन तथा २०औँ केन्द्रिय महिला उद्यमी सम्मेलनबाट नर्वाचित कार्यसमितिलाई पूर्णता दिंदै महासंघको आगामी कार्यदिशा र मार्गदर्शनका लागि सल्लाहकार समिति गठन गरेको हो । सल्लाहकार समितिको सदस्यहरूमा आङ्गदेण्डी शेर्पा, लता प्याकुरेल, मनु के.सी, डा. विश्वकेशर मास्के, डा. पुष्पराज राजकर्णिकार, महेश कुमार अग्रवाल, डा. इन्दिरा श्रेष्ठ, दिपक नरसिंह श्रेष्ठ, डा. चन्द्रमणि अधिकारी, रामकृष्ण कुंवर र दिव्यदेव भट्ट रहेका छन् । यसैगरी समितिको कार्यकारी सल्लाहकार सदस्यहरूमा कृष्णराज अधिकारी र उर्मिला श्रेष्ठ (ढुंगाना) तथा सचिवमा होमराज आचार्यलाई चयन गरेको जनाएको छ । त्यस्तै, सल्लाहकार समितिको विवरणमा सभापति बासुदेव गिरी, कार्यकारी सल्लाहकार उर्मिला श्रेष्ठ कृष्णराज अधिकार र उर्मिला श्रेष्ठ लगाएत अन्य सदस्यहरु रहेका छन् । सदस्यहरुमा आङ्ग देण्डी शेर्पा, लता प्याकुरेल, डा. पुष्पराज राजकर्णिका, महेश कुमार अग्रवाल, डा. विश्वकेशर मास्के, डा. इन्दिरा श्रेष्ठ, दिपक नरसिंह श्रेष्ठ, मनु के.सी., डा. चन्द्रमणि अधिकारी, रामकृष्ण कुंवर, दिव्यदेव भट्ट र होमराज आचार्य रहेका छन् ।

जगदम्बा सिमेन्टको ‘होम इन्स्योरेन्स योजना’ सकिँदै

काठमाडौं, २१ असार । जगदम्बा सिमेन्टको ‘जगदम्बा सिमेन्ट होम इन्स्योरेन्स’ योजना असार महिनाबाट सकिने भएको छ । योजनामार्फत ५० बोरा भन्दा माथिको जगदम्बा सिमेन्टको खरीदमा ग्राहकलाई १ करोड ५० लाख रुपैँयासम्मको घर बीमा सुविधा उपलब्ध गराइएको थियो । कम्पनीका अनुसार ‘मजबुती र बीमा सुरक्षा दुई गुणा’ नाराका साथ ल्याइएको योजना असार ३२ गतेदेखि सकिने भएको छ । कम्पनीले त्यसअघि नै अफरको फाइदा उठाउन ग्राहकहरुलाई आग्रह गरेको छ । कम्पनीको कुनैपनि उत्पादनको लोडिङमा यसअघि उपलब्ध हुँदै आएको कुनैपनि कुपन नआउने तर डिलर तथा उपभोक्ताहरुको मातहतमा रहेका कुपनहरुको हकमा भने मिति २०७४को असार ३१ गतेसम्म यो मान्य हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस योजनामा सहभागी तथा भावी दिनहरुमा सहभागिता जनाउने उपभोक्ताहरुले योजना अन्र्तगत तोकिएको मितिभित्र आफ्नो घरको बीमा गर्न सक्नेछन् ।

सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, २१ असार । सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रक्रियाको लागि आउँदो असार २८ गते इन्स्योरेन्सको सेयर कारोबार बन्द हुने भएको छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी करिब ५० करोड रुपैयाँ रहेको छ । बजारमा उक्त इन्स्योरेन्सको सेयर करिब १२ सय भन्दा बढी रुपैयाँमा किनबेच भइरहेको छ ।

चार दिनपछि सञ्चालनमा आएको महाकाली राजमार्ग अवरुद्ध

बैतडी, २१ असार । चार दिनपछि सञ्चालनमा आएको महाकाली राजमार्ग आइतबार बिहानदेखि फेरि अवरुद्ध भएको छ । अविरल वर्षापछि पहिरोका कारण बैतडी र दार्चुलाका विभिन्न स्थानमा गएको पहिराले बिहीबार रातिदेखि अवरुद्ध सडक सोमबार मात्रै सञ्चालनमा आएको थियो । बैतडीको सतबाँझदेखि दार्चुलाको गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । लगातार पानी परिरहेकाले अवरुद्ध खडक खुलाउन समस्या भएको छ । उनले भने– “वर्षा रोकिएपछि मात्रै सडक खुलाउन प्रयास हुनेछ ।” बागाबगरमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको छ । यातायातका साधन पूर्ण रुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका सवारी साधन रोकिएको बताइएको छ । सडक अवरुद्ध हुँदा काठमाडौं, भीमदत्तनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । पहिराको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्मा प्रत्येक वर्ष उक्त ठाउँमा बेला बेलामा सडक अवरुद्ध हुने गरेको छ । सोही पहिराका कारण बिहीबार राति दुइटा घर पनि पुरिएका थिए । रासस

टेलिकमको टावरमा खराबी आउँदा समस्या

डोटी, २१ असार । यहाँको ग्रामीण क्षेत्रमा पर्ने लानाकेदारेश्वर गाविसस्थित अत्तरकाँडामा रहेको नेपाल टेलिकमको टावरमा बारम्बार खराबी आएको छ । विसं २०६५ तिर स्थापित टेलिकमको स्काई फोनको टावरमा तीन महिनायतादेखि समस्या आइरहेको लानाकेदारेश्वर गाविस दुधिलाका शिक्षक रामबहादुर बोहराले बताए। सञ्चारको एक मात्र साधन स्काई फोन टिप्ने लानाकेदारेश्वर, मान्नाकापडीलगायत गाविसका बासिन्दा फोनमा आउने गरेको खराबीका कारण हैरान बनेका छन् । “घाम लागेका बेला टावर आउने र वर्षा हुँदा टावर जाने समस्या भएको धेरै भइसक्यो, कसैले पनि ध्यान दिएको छैन”, स्थानीयवासी प्रकाश थापाले राससलाई बताए । टेलिकम डोटीका अनुसार सोलार ब्याट्रीबाट टावरलाई पावर दिनुपर्ने हुँदा समस्या आएको हो । घाम लागेका बेला भने सोलार ब्याट्री सहजै चार्ज हुने हुँदा पावर पुगेर टावर आउने गरेको टेलिकम डोटीका प्रमुख गगनचन्द ठकुरीले बताए । विद्युत् विस्तार नभएका ठाउँमा टावरमा यस्तो समस्या आउने गरेको ठकुरीको भनाइ छ । वर्षात् सुरु भएसँगै टावरमा आएको खराबीका कारण स्थानीयवासी चिन्तित छन् । त्यस क्षेत्रमा छिटफुट मात्रामा अन्य फोन टिप्ने गरे तापनि स्काइ फोनले राम्रोसँग काम गर्ने गरेको छ । टेलिकमका अनुसार समय समयमा आफ्ना प्राविधिक मार्फत टावरको मर्मत र हेरविचार गर्ने गरिएको छ र सोलार ब्याट्री परिवर्तन गर्न केही लगानी आवश्यक छ । रासस

भूकम्प पीडित पहिचान प्रक्रियामा पक्षपात, रातो कार्ड हुनेले घरै नजाँची रकम पाउने

काठमाडौं, २१ असार । सरकारले भूकम्प पीडितको पहिचानमै पक्षपातपूर्ण ब्यबहार गरेको छ । भूकम्प पछिको पुननिर्माणको संयोजन र कार्ययोजना बनाउन गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले पक्षपातपूर्ण ब्यवहार गरेको हो । सरकारले भूकम्प प्रभावित ११ जिल्लामा अनुदान सम्झौता गरेर रकम दिन सुरु गरेपनि अझै २० जिल्लामा यो प्रक्रिया सुरु नै गरेको छैन । सरकारको यस्तो रबैयाले २० जिल्लाका पीडित आक्रोशित भएका थिए । तर अब भने ती २० जिल्लामा छुट्टै मापदण्डका आधारमा पीडित पहिचान गर्ने तयारी प्राधिकरणले थालेको छ । अनुदान सम्झौता दिनु अघि प्राधिकरणले विस्तृत घरधनी सर्वेक्षण गरेको थियो । यस्तो कार्यको लागि इन्जिनियरलाई सरोकारवालाको घरमै पठाउने काम भएको थियो । इन्जिनियरले विस्तृत सर्वेक्षण गरेपछि घरको अवस्था अनुसार बस्न लायक नभए नयाँ बनाउनको लागि २ लाख रुपैयाँ दिने र मर्मत सम्भार गरेर बस्न मिल्ने भए ५० हजार रुपैयाँ दिने कार्यविधि प्राधिकरणले बनाएको थियो । विस्तृत घरधनी सर्वेक्षण कार्यक्रम काभ्रे, सिन्धुली, नुवाकोट, मकवानपूर, रामेछाप, गोरखा, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक, रसुवा र धादिङ जिल्लामा सम्पन्न भइसकेको छ । काठमाडौं उपत्यका सहितका बाँकी २० जिल्लामा भने यस्तो सर्वेक्षण नगरी लक्षित प्रणाली अनुसार नै अनुदान वितरण गर्ने तयारी भएको प्राधिकरणका प्रवक्ता राम थपलियाले जानकारी दिए । ‘प्रक्रिया अगाडि नबढेका २० जिल्लामा विस्तृत घरधनी सर्वेक्षण हुदैन, सुरुमा अवलम्बन गरिएको लक्षितप्रणाली अनुसार नै अनुदान दिइन्छ,’ प्रवक्ता थपलियाले भने । यो प्रणाली अनुसार अनुदान दिने भनेको पहिला वितरण गरिएको भूकम्प प्रभावित परिचयपत्रको आधारमा रकम दिने भनेको हो । छुट्नेले के गर्ने ? विस्तृत सर्वेक्षण नगरी अनुदान दिइने जिल्लामा पनि भूकम्पले घर भत्किएका तर कार्ड लिन छटेकाले पनि अनुदान पाउने गरी योजना बनाउन लागिएको छ । छुटेकाले पुन निवेदन दिएमा त्यस्ताको घर जाँच गरेर अनुदान दिनु पर्ने भए दिने ब्यवस्था मिलाउने प्रवक्ता थपलियाले जानकारी दिए । ‘रातो कार्ड पाउनेको घरमा गएर अनुदान सम्झौता पछि रकम दिन्छौं, यसरी जाँदा कसैले आफू छुटेको दाबी गर्छ भने त्यस्तोको घर जाँच गरेर भत्किएकै रहेछ भने उसलाई पनि समेट्छौं,’ थपलियाले भने ।